मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
पूर्वाधार कार्यालयमा बेथिति

सरुवाको पत्र नबुझी पूर्वाधार कार्यालय बाराका प्रमुख सम्पर्कविहीन

प्रदेश सरकारको १ अर्ब ३८ करोडको ३७८ वटा योजना अलपत्र
बिहीबार, १७ वैशाख २०८३, १४ : १९
बिहीबार, १७ वैशाख २०८३

सारांश

  • पूर्वाधार विकास कार्यालय बाराका प्रमुख राजेन्द्र साह सरुवाको पत्र नबुझी सम्पर्कविहीन हुँदा कार्यालयको सम्पूर्ण आर्थिक तथा प्रशासनिक काम अलपत्र परेको छ ।
  • प्रमुख साह सम्पर्कविहीन हुँदा चालु आर्थिक वर्षको १ अर्ब ३८ करोड लागतका ३७८ वटा योजना अलपत्र परेका छन् ।
  • मधेस प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले नयाँ कार्यालय प्रमुख पठाएर समस्या समाधान गरिने जनाएको छ ।

बारा। पूर्वाधार विकास कार्यालय कलैयाका प्रमुख राजेन्द्र साह सरुवाको पत्र नबुझी सम्पर्कविहीन भएका छन् । उनी ४ महिनाअघि नै संघीय भौतिक पूर्वाधार तथा विकास मन्त्रालयमा सरुवा भएका हुन् ।

सरुवा भए पनि ‘रमाना पत्र’ नबुझी उनी सम्पर्कविहीन भएपछि पूर्वाधार विकास कार्यालयको सम्पूर्ण आर्थिक तथा प्रशासनिक काम अलपत्र भएको छ । साह संघ मातहतका कर्मचारी हुन् भने पूर्वाधार विकास कार्यालय प्रदेश मातहतको निकाय हो ।

pp6pp7

साहले सम्बन्धित कार्यालय, तालुक मन्त्रालय तथा स्थानीय प्रशासन प्रमुखलाई समेत कुनै जानकारी नगराई सम्पर्कविहीन भएको पूर्वाधार कार्यालयकी सूचना अधिकारी आरती चौधरीले जनाइन्।

कार्यालय प्रमुख साह कहाँ, कुन प्रयोजनको कामका लागि गएको भन्ने विषयमा कार्यालयमा कसैलाई जानकारी नभएको चौधरीको भनाइ छ । साहले प्रयोग गर्दै आएको कार्यालयको मोबाइल नम्बरसमेत लामो समयदेखि बन्द छ ।

‘कार्यालय प्रमुखले सरुवाको रमाना पत्र नबुझी सम्पर्कविहीन हुँदा सम्पूर्ण आर्थिक तथा प्रशासनिक काममा अवरोध भएको छ,’ इन्जिनियर चौधरीले भनिन्, ‘नयाँ कार्यालय प्रमुख कहिले आउनुहुन्छ भन्ने पनि टुङ्गो छैन । हामी अन्योलमा छौँ ।’

pp3

चालु आर्थिक वर्षको १ अर्ब ३८ करोडका योजना अलपत्र

पूर्वाधार विकास कार्यालयमा प्रमुख नहुँदा चालु आर्थिक वर्षको प्रदेश सरकारको १ अर्ब ३८ करोड ९ लाख ९८ हजार लागतका ३७८ वटा योजना अलपत्र भएका छन् ।

जिल्लाको १६ वटा पालिकाका १० लाखसम्मका १६ वटा योजना छन् भने १० देखि २५ लाखसम्मका २४४ वटा, २५ देखि ५० लाखसम्मका ८६ वटा र ५० लाख माथिका ३२ वटा योजना छन् ।

पूर्वाधार विकास कार्यालयले २५ लाख मुनिका योजना उपभोक्ता समिति मार्फत र २५ लाखदेखि ५० लाखसम्मका योजना ३० दिने सार्वजनिक सूचना (टेन्डर) गरेर ठेकदारमार्फत कार्यान्वयन गर्दछ ।

pp1

इन्जिनियर चौधरीले ५० लाखमाथिका ३२ वटा बहुवर्षीय योजनाको हकमा भने भुक्तानीमा समस्या भए पनि काम नरोकिएको बताइन् ।

वैशाख दोस्रो साता बितिसक्दा हालसम्म कुनै पनि उपभोक्ता समिति गठन नभएको र टेन्डरको सार्वजनिक सूचनासमेत जारी नभएकाले यस वर्ष कुनै पनि योजना कार्यान्वयन गर्न नसकिने पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

प्रदेश भौतिक पूर्वाधार मन्त्रालयको कमजोरी र लापरवाहीका कारण यो वर्ष जिल्लामा आएका विकास निर्माणका सम्पूर्ण काम प्रभावित भएको छ ।

विवादित व्यक्तिलाई कार्यालय प्रमुखको जिम्मेवारी

यसअघि कारवाहीमा परेका पूर्वाधार कार्यालयका प्रमुख साहलाई प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले राजनीतिक पहुँचका आधारमा पुनः जिम्मेवारी दिएको थियो । गत वर्ष मदन भण्डारी आवास निर्माण र निधि निवास कार्यक्रमका नाममा १४ करोड हिनामिना गरेको आरोपमा साहविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।

पछि अदालतबाट सफाई पाएलगत्तै साह पुन पुरानै कार्यालयमा फर्किएका हुन् । जिल्ला प्रशासन कार्यालय स्रोतका अनुसार साह राजनीतिक पहुँच र पैसाको बलमा पुनः पुरानै कार्यालय फर्किएको जनाइएको छ ।

साहले अख्तियारबाट निलम्बनमा परेपछि पनि उपभोक्ता समिति अध्यक्ष र साहको संयुक्त नाममा खाता सञ्चालन भएको भेटिएको थियो । साहले महागढीमाई नगरपालिका–१०, गञ्जभवानीपुरमा रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखामा ६ वटा, वीरगञ्ज शाखामा ६ वटा र निजगढमा २ वटा खाता सञ्चालन गरेको भेटिएको छ । बैंकका ती शाखाबाट मात्रै १४ करोडभन्दा धेरै रकमको आर्थिक कारोबार भेटिएको थियो।

जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले पूर्वाधार विकास कार्यालयमा भएको बेथिति तालुक मन्त्रालयका मन्त्री र सचिवले नियन्त्रण गर्नुपर्ने बताए ।

उनले भने, ‘यो प्रदेशस्तरीय कार्यालय भएकाले प्रदेश मन्त्रालयका मन्त्री, सचिवले नै यसलाई नियन्त्रण गर्नुपर्ने हुन्छ,’ प्रजिअ मिश्रले भने, ‘प्रदेशस्तरको कार्यालय प्रमुखलाई प्रमुख जिल्ला अधिकारीले कारवाही गर्नसक्ने स्पष्ट कानुनी व्यवस्था नभएकाले भोलि अवज्ञा गर्दा के हुने भन्ने समस्या हुनसक्छ ।’

pp4

पूर्वाधार विकास कार्यालय प्रमुख साह लामो समयदेखि सम्पर्कविहीन भएको, कार्यालयमा उपस्थित नभएको विषयमा स्थानीय प्रशासनलाई कुनै जानकारी नभएको उनले बताए ।

भोलिदेखि नयाँ कार्यालय प्रमुख आउनुहुन्छ : प्रदेश सचिव

मधेस प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका निमित्त सचिव सञ्जय साहले पूर्वाधार विकास कार्यालय कलैयाको प्रमुखमा नयाँ व्यक्तिलाई जिम्मेवारी दिएर पठाइने बताए ।

उनले राजेन्द्र साह बिनाजानकारी सम्पर्कविहीन भएको र ४ महिनाअघि नै उनको सरुवा भइसकेकाले मन्त्रालयले सो कार्यालयमा भोलि नै नयाँ प्रमुख पठाउन लागेको बताए ।

‘नयाँ कार्यालय प्रमुख गएपछि पुराना प्रमुख सरुवा भएको ठाउँमा रमाना लिएर जानुहुन्छ,’ उनले भने, ‘बिचमा कर्मचारीका करण समस्या थियो । अब नयाँ प्रमुख गएपछि सबै समाधान हुन्छ ।’

sanjaya-shaha

निमित्त सचिव साहले चालु आर्थिक वर्षका प्रदेशका योजना कार्यान्वयन गर्न सक्ने/नसक्ने विषयमा नयाँ कार्यालय प्रमुखले जिम्मेवारी सम्हालेपछि फाइल अगाडि बढाइने बताए ।

‘यस वर्ष पनि बजेट ढिला आउनुमा प्रदेश अर्थ मन्त्रालयले चैत महिनासम्म बजेट लक गरेर राखेको अवस्था थियो । बल्ल काम अगाडि बढेको छ,’ उनले भने ‘अझै हामीसँग २ महिना समय छ । काम गर्न खोज्नुभयो भने भ्याउन सकिन्छ ।’

सचिव साहले यस वर्ष सबै योजना कार्यान्वयन गर्न नसके पनि २० लाख, २५ लाखका योजनामा काम गर्न २०/२५ दिन पर्याप्त हुने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप