बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
आईपीएल २०२६

राजस्थान र दिल्ली भिड्दै : वैभवलाई छक्काको कीर्तिमान बनाउने अवसर

शुक्रबार, १८ वैशाख २०८३, १७ : ००
शुक्रबार, १८ वैशाख २०८३

सारांश

  • राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीच आईपीएल २०२६ को ४३औँ खेल जयपुरमा हुँदैछ ।
  • राजस्थानका वैभव सूर्यवंशी टी-२० क्रिकेटमा सबैभन्दा छिटो १०० छक्का प्रहार गर्ने कीर्तिमानको नजिक छन् ।
  • यस खेलमा मिचेल स्टार्क दिल्ली क्यापिटल्सका लागि उपलब्ध हुनेछन् भने लुङ्गी एनगिडी अनुपस्थित रहनेछन् ।

जयपुर । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ४३औँ खेल राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबिच हुँदै छ । यो प्रतिस्पर्धा जयपुरस्थित सवाई मानसिंह स्टेडियममा बेलुका ७:४५ बजेदेखि सुरु हुनेछ । यस सिजन यी दुई टोलीबिच यो पहिलो भिडन्त हो । 

राजस्थानका वैभव सूर्यवंशी टी–२० क्रिकेटमा सबैभन्दा छिटो १०० छक्का प्रहार गर्ने कीर्तिमानको नजिक छन् । उनले २७ पारिमा ५११ बल खेल्दै ९९ छक्का प्रहार गरिसकेका छन् । हाल यो कीर्तिमान वेस्टइन्डिजका किरोन पोलार्डको नाममा छ, जसले ८४३ बलमा १०० छक्का पूरा गरेका थिए ।

यसका साथै, सूर्यवंशीले आईपीएल २०२६ मा १६७ बलमै सबैभन्दा छिटो ४०० रन बनाउने कीर्तिमान पनि कायम गरिसकेका छन् । अङ्क तालिकामा राजस्थान ९ खेलमा ६ जित र ३ हारसहित चौथो स्थानमा छ भने दिल्ली ८ खेलमा ३ जित र ५ हारसहित सातौँ स्थानमा छ ।

हेड–टु–हेड: राजस्थानको पल्लाभारी

आईपीएलमा यी दुई टोलीबिच हालसम्म ३० वटा खेल भएका छन् । जसमा राजस्थानले १५ खेल जितेको छ भने दिल्लीले १४ खेलमा जित हात पारेको छ । एक खेल टाई भएको थियो, जसलाई पछि सुपर ओभरमा दिल्लीले जितेको थियो ।

उत्कृष्ट लयमा वैभव

यस सिजन राजस्थानका लागि वैभव सूर्यवंशीले ९ खेलमा ४०० रन बनाइसकेका छन्, जसमा १ शतक र २ अर्धशतक समावेश छ । उनको २३८.०९ को स्ट्राइक रेटले टोलीलाई आक्रामक सुरुवात दिइरहेको छ । 

बलिङतर्फ जोफ्रा आर्चरले महत्त्वपूर्ण भूमिका निभाइरहेका छन् । उनले ९ खेलमा १४ विकेट लिएका छन् भने ३/२० उनको उत्कृष्ट प्रदर्शन हो ।

केएल राहुलमा निर्भर दिल्लीको ब्याटिङ

दिल्लीको ब्याटिङ धेरै हदसम्म केएल राहुलमा निर्भर छ । राहुलले ८ खेलमा ३५८ रन बनाएका छन्, जसमा १ शतक र २ अर्धशतक समावेश छ । उनको स्ट्राइक रेट १८५.४९ रहेको छ । 

kl rahul

बलिङतर्फ अलराउन्डर अक्षर पटेल महत्त्वपूर्ण साबित भइरहेका छन् । उनले ८ खेलमा ७ विकेट लिएका छन् र ८.३३ को इकोनोमीमा रन रोकेका छन् ।

राजस्थानविरुद्ध एनगिडी खेल्ने छैनन्

लुङ्गी एनगिडीले राजस्थान रोयल्सविरुद्धको खेल गुमाउनेछन् । अप्रिल २५ मा पन्जाब किंग्सविरुद्धको खेलमा उनको टाउकोमा गम्भीर चोट लागेपछि अस्पताल भर्ना हुनुपरेको थियो । कन्कसनका कारण डाक्टरहरूले उनलाई ७ दिन आराम गर्न सल्लाह दिएका छन् । 

ngidi

यही कारण बेंगलुरुविरुद्धको खेल गुमाएका उनी राजस्थानविरुद्ध पनि मैदानबाहिर हुनेछन् । उनको पुनरागमन मे ५ मा चेन्नई सुपर किंग्सविरुद्धको खेलमा हुन सक्ने सम्भावना छ ।

मिचेल स्टार्कको पुनरागमन

अन्ततः पखाईको घडी समाप्त भएको छ । शुक्रबार राति जयपुरमा राजस्थान रोयल्सको सामना गर्दा दिल्ली क्यापिटल्सका लागि तीव्र गतिका बलर मिचेल स्टार्क खेल्न उपलब्ध हुनेछन् । 

काँधको चोटबाट मुक्त हुँदै गरेका स्टार्क केही दिनअघि मात्र टोलीमा समावेश भएका थिए । तीन महिनाभन्दा बढी समयदेखि कुनै प्रतिस्पर्धात्मक खेल नखेले पनि उनी दिल्लीको नेटमा बलिङ गरिरहेका छन् र मैदान उत्रिन आतुर छन् ।

नजरमा रहने खेलाडी 

  • जोफ्रा आर्चर

यस सिजन जोफ्रा आर्चर आफ्नो उत्कृष्ट लयमा छन्, विशेष गरी पावरप्लेमा । उनले चार पटक खेलको आफ्नो पहिलो ओभरमै विकेट लिएका छन्, जसमा तीन पटक त पहिलो बलमै विकेट झारेका छन् । पावरप्लेमा उनी एक पटक मात्र विकेटविहीन रहेका छन् । दिल्लीको अघिल्लो खेलको अवस्थालाई हेर्दा, उनीहरूका ब्याटरहरू आर्चरको चुनौतीसँग सतर्क हुनेछन् ।

  • समीर रिजवी

अर्कोतर्फ, समीर रिजवीले यो सिजन ७० (नटआउट) र ९० रनको स्कोरसहित उत्कृष्ट सुरुवात गरेका थिए । तर त्यसपछि उनको प्रदर्शन खस्किएको छ । 

पछिल्ला पाँच पारिमा उनी चार पटक एकल अङ्कमै आउट भएका छन्, जसमा दुई पटक शून्यमा आउट (डक आउट) भएका हुन् । यसले दिल्लीको मध्यक्रममा ठूलो खाली ठाउँ सिर्जना गरेको छ । टोली व्यवस्थापन उनी पुरानै लयमा फर्किउन् भन्ने चाहन्छ ।

जयपुरको पिच र मौसम

सवाई मानसिंह स्टेडियमको पिचमा नयाँ बलले फास्ट बलरहरूलाई सुरुवातमा केही मुभमेन्ट दिन्छ । तर, एक पटक ब्याटर सेट भइसकेपछि बाउन्स र फास्ट आउटफिल्डका कारण सट खेल्न निकै सहज हुन्छ । 

यस मैदानमा आईपीएलको पहिलो पारिको औसत स्कोर करिब १६६ रन रहेको छ भने दोस्रो पारिमा १५० देखि १६० को बिचमा हुन्छ ।

आज जयपुरको मौसम तातो रहनेछ । खेल सुरु हुँदा तापक्रम ३६ देखि ४० डिग्री सेल्सियसको बिचमा हुनेछ । आर्द्रता करिब १४ प्रतिशत रहनेछ र वर्षाको कुनै सम्भावना छैन । 

राति शीतले ठूलो भूमिका खेल्न सक्छ । दोस्रो पारिमा बलरहरूलाई बल ग्रिप गर्न गाह्रो हुनेछ, जसको फाइदा ब्याटरहरूले उठाउन सक्छन् ।

टोली समाचार र सम्भावित प्लेइङ-१२

पन्जाब किंग्सलाई पराजित गरेको टोलीलाई नै राजस्थानले निरन्तरता दिन सक्छ, जसको अर्थ रवि विश्नोई पुनः बेन्चमै बस्न सक्छन् ।

• राजस्थान रोयल्स (सम्भावित): यशस्वी जैसवाल, वैभव सूर्यवंशी, ध्रुव जुरेल (विकेटकिपर), रियान पराग (कप्तान), डोनोभान फरेरा, शुभम दुबे, दासुन शनाका, रवीन्द्र जडेजा, जोफ्रा आर्चर, नान्द्रे बर्गर, ब्रिजेश शर्मा, यश राज पन्जा ।

स्टार्क भित्रिएसँगै काइल जेमिसन बेन्चमा बस्नुपर्ने हुन सक्छ । लुङ्गी एनगिडीले प्रशिक्षण सुरु गरेका छन् तर उनी छनोटका लागि उपलब्ध छैनन् ।

• दिल्ली क्यापिटल्स (सम्भावित): केएल राहुल (विकेटकिपर), साहिल पारख, नीतिश राणा, समीर रिजवी, ट्रिस्टन स्टब्स, डेभिड मिलर, विप्रज निगम, अक्षर पटेल (कप्तान), मिचेल स्टार्क, कुलदीप यादव, दुष्मन्था चमिरा, टी नटराजन ।

तथ्याङ्क

• यस सिजन सूर्यवंशी र जैसवालले ५०.११ को औसत र १२.१३ को रन रेटमा ४५१ रनको साझेदारी गरेका छन् ।

• सूर्यवंशीले टी–२० क्रिकेटमा मात्र २७ पारिमा ९९ छक्का प्रहार गरिसकेका छन् ।

• आईपीएल २०२६ मा, दिल्लीले पावरप्लेमा प्रतिओभर ८.२० को दरले रन बनाएको छ । यस चरणमा लखनउ सुपर जायन्ट्स (७.९३) मात्र दिल्लीभन्दा सुस्त छ ।

• ध्रुव जुरेलले सिजनका आफ्ना सुरुवाती चार पारिमा १८१.४४ को स्ट्राइक रेटमा १७६ रन बनाएका थिए । तर, पछिल्ला पाँच पारिमा उनले ११०.७७ को स्ट्राइक रेटमा मात्र ७२ रन जोड्न सकेका छन् ।

• दिल्लीले यस सिजन जम्मा ३६ विकेट मात्र लिएको छ, जुन पन्जाब किंग्ससँगै प्रतियोगिताकै सबैभन्दा कम हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप