शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

भीष्मराजले भने– सरकारले नागरिकप्रति ‘निर्मम र दमनकारी’ व्यवहार गर्‍याे

शुक्रबार, १८ वैशाख २०८३, २१ : ३५
शुक्रबार, १८ वैशाख २०८३

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुमबासी बस्ती हटाउने क्रममा भइरहेको सरकारी कदमप्रति आपत्ति जनाएका छन् ।

शुक्रबार उनले सरकारमाथि आफ्नै नागरिकप्रति 'निर्मम र दमनकारी’ व्यवहार गरेको आरोप लगाउँदै तत्काल रोक्न माग गरेका छन् । आङ्देम्बेले सुकुमबासी बस्तीमा डोजर चलाउने कार्यलाई केवल संरचना भत्काउने प्रक्रिया नभई राज्यको चरित्र उजागर गर्ने द‌ृश्य भएको टिप्पणी गरेका छन् । 

उनले प्रश्न गरेका छन्, 'के राज्य आफ्नै नागरिकसँग युद्ध लड्दैछ ? यदि होइन भने सुकुमबासी व्यवस्थापनको नाममा किन यस्तो निर्दयी व्यवहार भइरहेको छ ?’

उनका अनुसार वास्तविक सुकुमबासी नछुट्याई सबैलाई एकै रूपमा व्यवहार गर्दै उठिबास लगाउने कार्य अमानवीय र निन्दनीय छ। उनले सेनासहितको सुरक्षा निकाय परिचालन गरेर गरिएका गतिविधिले राज्यलाई संरक्षक होइन, ’त्रासको प्रतीक’ बनाउने जोखिम बढाएको दाबी गरेका छन् ।

आङ्देम्बेले मनोहरा बस्तीका एक किशोर र बल्खुस्थित बागमती किनारमा बस्ने एक वृद्धले आत्महत्या गरेको घटनाको उल्लेख गर्दै राज्यको नीतिगत व्यवहारले मानवीय सङ्कट गहिरिँदै गएको बताएका छन् । उनले मृतकका परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र प्रभावितहरूको उचित व्यवस्थापन गर्न सरकारसँग माग गरेका छन् ।

त्यस्तै कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका सुत्केरी, असहाय तथा ज्येष्ठ नागरिकको मानवीय व्यवस्थापन गर्न र बिरामीलाई निःशुल्क उपचारको व्यवस्था गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले सिडिओमार्फत स्थानीय तहलाई बस्ती हटाउन निर्देशन दिने र सेनाबाट सुकुमबासीको लगत सङ्कलन गरिनु ’गलत अभ्यास’ भएको दाबी गर्दै यसलाई लोकतान्त्रिक मूल्य विपरीतको कदम भनेका छन् ।

आङ्देम्बेले भनेका छन्,’जनताले दिएको जनमतको प्रतिफल यस्तै क्रूरतापूर्ण उठिबास हो भने त्यसप्रति हामी गम्भीर छौँ। यस्तो अमानवीय गतिविधि तत्काल रोक्न सरकारलाई आग्रह गर्दछौँ। अन्यथा यसको परिणाम गम्भीर हुनेछ ।’

उनले नेपाली कांग्रेस संसदीय दलको तर्फबाट उक्त कदमको घोर भर्त्सना गर्दै सरकारलाई तत्काल हस्तक्षेप रोक्न आग्रह गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप