सरकारको स्वेच्छाचारी प्रवृत्तिलाई नियन्त्रण गर्न प्रेसले अझै सशक्त भूमिका खेल्नुपर्छ : आङ्देम्बे
सारांश
- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संघीय संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारको स्वेच्छाचारी प्रवृत्तिका विरुद्ध सशक्त 'वाचडग' को भूमिका खेल्न प्रेस जगतलाई आह्वान गरेका छन्।
- आङ्देम्बेले स्वतन्त्र प्रेस लोकतन्त्रको अभिन्न खम्बा भएको र यसको सुरक्षा एवं सम्मानका लागि कांग्रेस सदैव प्रतिबद्ध रहेको बताएका छन्।
- उनले सूचना प्रदूषणको चुनौतीबीच सत्य र गुणस्तरीय सूचनामार्फत विवेकशील नागरिक तयार पार्न पत्रकारहरूको भूमिकामा जोड दिएका छन्।
काठमाडौँ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संघीय संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रेस जगतलाई शुभकामना दिँदै सरकारको स्वेच्छाचारी प्रवृत्तिका विरुद्ध सशक्त 'वाचडग' को भूमिका खेल्न आह्वान गरेका छन्।
आइतबार एक शुभकामना सन्देश जारी गर्दै उनले स्वतन्त्र प्रेस लोकतन्त्रको अभिन्न खम्बा भएको र यसको सुरक्षा एवं सम्मानका लागि कांग्रेस सदैव प्रतिबद्ध रहेको स्पष्ट पारेका हुन्।
आङ्देम्बेले नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रता, विचार र अभिव्यक्तिको स्वतन्त्रता, सञ्चारको हक र सूचनाको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको स्मरण गराए। यी संवैधानिक अधिकारहरूलाई सुरक्षित र सार्थक बनाउन नेपाली कांग्रेसले सधैँ पहरेदारी गर्ने उनको भनाइ छ। प्रेस स्वतन्त्रताका लागि संघर्ष गर्ने र साहसपूर्ण योगदान दिने विश्वभरका पत्रकारहरूप्रति उनले उच्च सम्मान समेत प्रकट गरे।
वर्तमान प्रविधिको युगमा सूचना प्रदूषण एउटा ठुलो चुनौती बनेको उल्लेख गर्दै आङ्देम्बेले आम मानिसलाई भ्रमबाट बचाउन पत्रकारिता जगतको जिम्मेवारी थपिएको बताए। सत्य र गुणस्तरीय सूचनामार्फत विवेकशील नागरिक तयार पार्न पत्रकारहरूले विशेष भूमिका खेल्नुपर्नेमा उनले जोड दिए। जिम्मेवार, जवाफदेही र पारदर्शी शासन सुनिश्चित गर्न प्रेसले राज्यका निकायहरूमाथि कडा निगरानी राख्नुपर्ने उनको तर्क छ।
सरकार र राज्यका निकायहरूमा बढ्दै गएको स्वेच्छाचारी प्रवृत्तिलाई नियन्त्रण गर्न व्यवसायिक प्रेस जगतले सचेत सक्रियता देखाउने विश्वास आङ्देम्बेले व्यक्त गरे। प्रेस विरुद्ध हुने कुनै पनि खाले नियन्त्रण र आक्रमणको कांग्रेसले कडा प्रतिकार गर्ने चेतावनी दिँदै उनले यस क्षेत्रको नीतिगत सुधार र पत्रकारहरूले भोग्नुपरेका समस्या समाधानमा आफ्नो दलको पूर्ण साथ र समर्थन रहने प्रतिबद्धता जनाए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
-
पोखरा लेकसाइड नजिकै दुर्घटना, एक युवकको मृत्यु
-
राहदानी छपाइमा १० अर्ब १३ करोडको भ्रष्टाचारः कसलाई कति बिगो मागदाबी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण