मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

आईपीएल रोमाञ्च : प्लेअफको दौडमा को कहाँ ?

आइतबार, २० वैशाख २०८३, ११ : २०
आइतबार, २० वैशाख २०८३

नयाँ दिल्ली । चेन्नई सुपर किंग्सले आईपीएलमा शनिबार मुम्बई इन्डियन्सलाई ८ विकेटले पराजित गरेको छ। चेन्नईले यस सिजन मुम्बईलाई दोस्रो पटक पाखा लगाएको हो। 

यस जितसँगै चेन्नईले प्लेअफमा पुग्ने आफ्नो सम्भावनालाई जीवितै राखेको छ भने मुम्बई इन्डियन्सको बाटो निकै कठिन बनेको छ।

मुम्बईलाई हराएपछि चेन्नईले चालू सिजनको अंक तालिकामा दिल्ली क्यापिटल्सलाई पछि पार्दै छैटौं स्थान ओगटेको छ। ऋतुराज गायकवाडको टोलीले यस सिजन ९ खेल खेलिसकेको छ। 

टोलीले चौथो जित हासिल गरेको छ। टोली ८ अंकका साथ एक स्थान सुधार गर्दै छैटौं नम्बरमा उक्लिएको छ।

मुम्बईले सातौं हारको सामना गर्नुपरेको छ। टोलीले ९ मध्ये २ खेल मात्र जित्न सकेको छ। मुम्बईले यहाँबाट सबै खेल जितेमा उसको १४ अंक हुनेछ। पछिल्ला चार आईपीएल सिजनमा केवल एक पटक मात्र कुनै टोली १४ अंकका साथ प्लेअफमा पुगेको छ। 

यस्तो अघिल्लो सिजनमा मात्र भएको थियो। २०२२, २०२३ र २०२४ मा चौथो स्थानमा रहेर प्ले-अफ खेल्ने सबै टोलीले कम्तीमा १६ अंक हासिल गरेका थिए।

आईपीएलमा आइतबार दुईवटा खेल हुनेछन्। पहिलो खेल कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीच हैदरावादमा दिउँसो ३:३० बजेदेखि खेलिनेछ। त्यस्तै, दोस्रो खेल गुजरात टाइटन्स र पञ्जाब किंग्सबीच अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा बेलुका ७:३० बजेदेखि हुनेछ।

  • पुनरागमनको बाटोमा कोलकाता: 

कोलकाता नाइट राइडर्सको टोली पुनरागमनको प्रयासमा छ। टोलीले पछिल्ला दुई खेल जितेर आएको छ। उसलाई आज जितको ह्याट्रिक गर्ने अवसर छ। टोलीले अहिलेसम्म ८ मध्ये २ खेल मात्र जितेको छ। यस्तो अवस्थामा उसले अब बाँकी रहेका ६ वटै खेल जित्नुपर्नेछ। एउटा मात्र खेल हारे पनि उसले अन्य टोलीको भर पर्नुपर्ने हुन्छ।

  • प्लेअफको सँघारमा सनराइजर्स हैदरावाद: 

हैदरावादको टोली प्लेअफको सँघारमा छ। टोलीले ९ मध्ये ६ खेल जितेको छ र १२ अंकसहित तेस्रो स्थानमा छ। प्याट कमिन्सको टोलीलाई आज अंक तालिकाको शीर्ष स्थानमा पुग्ने अवसर छ।

  • शीर्ष-४ को दौडमा गुजरात कायम: 

गुजरातको टोली पनि प्लेअफको दौडमा कायम छ। टोलीले ९ मध्ये ५ खेल जितेको छ। ऊ १० अंकसहित पाँचौं स्थानमा छ। आज गुजरातसँग जित हात पार्दै शीर्ष-४ मा स्थान बनाउने अवसर छ। यद्यपि, प्लेअफमा पुग्न उसले बाँकी ६ मध्ये कम्तीमा ३ खेल जित्नुपर्ने हुन्छ।

  • प्लेअफको दौडमा सबैभन्दा अगाडि पञ्जाब: 

अंक तालिकाको शीर्ष स्थानमा रहेको पञ्जाबको टोली प्लेअफको दौडमा सबैभन्दा अगाडि छ। टोली ८ मध्ये ६ खेल जित्दै अंक तालिकाको शीर्ष स्थानमा छ। एउटा नतिजाविहीन खेलको सहारामा उसको १३ अंक छ। श्रेयस अय्यरको टोलीले आजको जितसँगै प्लेअफको यात्रा थप नजिक पुर्‍याउनेछ।

  • ओरेन्ज क्यापको लिडरबोर्डमा कुनै परिवर्तन छैन

चेन्नई-मुम्बई खेलपछि ओरेन्ज क्यापको लिडरबोर्डमा कुनै परिवर्तन भएको छैन। केएल राहुल ४३३ रनसहित आईपीएल सिजनको सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा पहिलो स्थानमा छन्। आजको खेलमा अभिषेक शर्मा र हेनरिक क्लासेनसँग ओरेन्ज क्याप हात पार्ने अवसर छ। उनीहरू क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।

  • पर्पल क्यापको दौडमा अंशुल कम्बोज दोस्रो स्थानमा

चेन्नईका फास्ट बलर अंशुल कम्बोजले मुम्बईविरुद्ध ३ विकेट लिए। ९ खेलमा उनको १७ विकेट पुगेको छ। अंशुल पर्पल क्याप होल्डर भुवनेश्वर कुमारको बराबरीमा छन्। आज हैदरावादका इशान मलिङ्गा र गुजरातका कागिसो रबाडासँग पर्पल क्याप हात पार्ने अवसर हुनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप