सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
राजनीति

हर्क साम्पाङसँगको शक्ति बाँडफाँटमा कुरा नमिलेपछि सुदन किरातीले निकाले ‘साझा अभियान’ को कुरा

आइतबार, २० वैशाख २०८३, १४ : ५७
आइतबार, २० वैशाख २०८३

सारांश

  • पूर्वमन्त्री सुदन किराती र हर्क साम्पाङ नेतृत्वको ‘श्रम संस्कृति पार्टी’ बिच एकता शक्ति बाँडफाँट र पदको विषयमा कुरा नमिलेपछि प्रभावित भएको छ ।
  • किरातीले सामाजिक सञ्जालमार्फत देशलाई ‘कुलिनहरूको राज्य’ बनाइएको टिप्पणी गर्दै नागरिकको जनजीविका र आत्मसम्मानको रक्षाका लागि ‘साझा अभियान’ को आवश्यकता रहेको उल्लेख गरेका छन् ।
  • उनले पुराना पार्टीहरूले विश्वास गुमाएको र नयाँ भनिएकाहरूमा पनि तानाशाही प्रवृत्ति देखिएको भन्दै सबै सचेत नागरिकलाई एकताबद्ध हुन अपिल गरेका छन् ।

काठमाडौँ । पूर्वमन्त्री सुदन किराती र हर्क साम्पाङ नेतृत्वको ‘श्रम संस्कृति पार्टी’ बिच गर्ने भनिएको एकता प्रभावित बनेको छ । साम्पाङसँगको शक्ति बाँडफाँट र पदको विषयमा कुरा नमिलेपछि एकता हाललाई प्रभावित भएको स्रोतको भनाइ छ । 

यस्तो स्थितिमा किरातीले सामाजिक सञ्जालमार्फत छुट्टै ‘साझा अभियान’ को आवश्यकता रहेको भन्दै यसबारे धारणा राखेका छन् । 

किरातीले आइतबार आफ्नो सामाजिक सञ्जालमा देशलाई ‘कुलिनहरूको राज्य’ (ओलिगार्ची स्टेट) बनाइएको टिप्पणी गर्दै नागरिकको जनजीविका र आत्मसम्मानको रक्षाका लागि ‘साझा अभियान’ को आवश्यकता रहेको उल्लेख गरेका छन्। 

उनले पुराना पार्टीहरूले विश्वास गुमाएको र नयाँ भनिएकाहरूमा पनि तानाशाही प्रवृत्ति देखिएको भन्दै सबै सचेत नागरिकलाई एकताबद्ध हुन अपिल गरेका हुन्।

प्रगतिशील लोकतान्त्रिक पार्टी परित्याग गरेपछि किराती केही समयदेखि हर्क साम्पाङको श्रम संस्कृति पार्टीसँग निकट रहेर संवादमा थिए। 

स्रोतका अनुसार यसअघि दुई पक्षबिच किरातीलाई ‘वरिष्ठ नेता’ को जिम्मेवारी दिने, उपाध्यक्षसहित तीन पदाधिकारी र १५ जना केन्द्रीय सदस्य किराती पक्षलाई दिने ‘भद्र सहमति’ भएको थियो। 

तर, पछिल्लो समय साम्पाङ पक्षले उक्त सहमति कार्यान्वयन गर्न आलटाल गरेको स्रोतको दाबी छ ।

हर्क साम्पाङसँगको संवादमा गतिरोध आएपछि किरातीले प्रधानमन्त्री बालेन शाहको कार्यशैलीको आलोचना गर्दै फेसबुकमा एउटा लामो स्टाटस लेखेपनि त्यही स्टाटसमा छुट्टै अभियानको कुरा समेत निकालेर साम्पाङलाई दबाब दिने प्रयास गरेको स्रोतको दाबी छ। 

यस विषयमा बुझ्न किरातीलाई सम्पर्क गर्दा साम्पाङसँग संवाद चलिरहेको बताए ।  तर उनले हर्कसँग भएको सहमति र कुराकानीको विषय भने खुलाउन चाहेनन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप