सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
सुकुमबासी समस्या

होल्डिङ सेन्टरमा बस्ने सुकुमबासीको चिन्ता : कहिलेसम्म अर्काको आश्रयमा बस्ने ?

आइतबार, २० वैशाख २०८३, १७ : ५६
आइतबार, २० वैशाख २०८३

सारांश

  • थापाथली र गैरीगाउँका अनधिकृत बस्तीमा डोजर चलेपछि विस्थापित सुकुमबासीहरू कीर्तिपुरको राधास्वामी सत्सङ्ग केन्द्रमा आश्रय लिइरहेका छन्।
  • सुन्दरीघाटस्थित राधास्वामी सत्सङ्ग केन्द्रमा हाल १९५ जना सुकुमबासी, ८ वटा कुकुर र १ बिरालो आश्रित छन्।
  • आश्रयस्थलमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ, जहाँ अधिकांशमा उच्च रक्तचाप र मधुमेह देखिएको छ भने बालबालिकाहरूमा मानसिक तनाव छ।

काठमाडौँ । अघिल्लो शनिबार र आइतबार थापाथली तथा गैरीगाउँका नदी किनारका अनधिकृत बस्तीमा डोजर चलेपछि विस्थापित भएका सुकुमबासीहरू अहिले कीर्तिपुरस्थित सुन्दरीघाटमा रहेको राधास्वामी सत्सङ्ग केन्द्रमा आश्रय लिइरहेका छन्। 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा काठमाडौँ उपत्यका विकास प्राधिकरण र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले ‘स्क्रिनिङ’ गरेपछि उनीहरूलाई अस्थायी व्यवस्थापनका लागि यो ठाउँ उपलब्ध गराइएको हो।

1-IMG_20260503_123029061

सुकुमबासीहरूको वास्तविक अवस्था र त्यहाँको व्यवस्थापन बुझ्न रातोपाटीको टोली आइतबार सुन्दरीघाट पुग्दा सुरक्षा व्यवस्था कसिलो देखियो। सुरुमा प्रहरीले सञ्चारकर्मी र क्यामेरालाई प्रवेशमा रोक लगाए पनि पछि वस्तुस्थिति बुझ्नका लागि क्यामेरा र माइक बाहिरै राखेर भित्र जाने अनुमति मिल्यो। भित्रको दृश्य निकै अन्योलपूर्ण र कारुणिक देखिन्थ्यो ।

हाल राधास्वामी सत्सङ्ग केन्द्रमा ७६ जना महिला, ६० जना पुरुष, ३० जना बालक र २९ जना बालिका गरी कुल १९५ जना आश्रित छन्। विस्थापित भएर आउँदा उनीहरूले आफूले पालेका ८ वटा कुकुर र एउटा बिरालोलाई समेत साथमै ल्याएका छन् ।  जो अहिले सोही केन्द्रमा उनीहरूसँगै बसिरहेका छन् ।

महानगरपालिकाको स्वास्थ्य विभागले त्यहाँ नियमित स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ। आइतबार आँखा अस्पतालको टोलीसँगको सहकार्यमा स्वास्थ्य परीक्षण भइरहँदा आश्रय लिइरहेका अधिकांश व्यक्तिहरूमा उच्च रक्तचाप र मधुमेहको समस्या देखिएको छ।

2-IMG_20260503_123206536

स्वास्थ्य टोलीका अनुसार, एक २४ वर्षकी युवतीमा समेत १७०/१०५ सम्मको उच्च रक्तचाप भेटिएको छ, जसलाई थप उपचारका लागि अस्पताल पठाइएको छ। विशेष गरी बालबालिकाहरूमा आफ्नो विद्यालय, समुदाय र साथीभाइबाट एक्कासि छुट्टिनुपर्दा गहिरो मानसिक तनाव देखिएको स्वास्थ्यकर्मीहरू बताउँछन्।

आश्रयस्थलमा खानपानको व्यवस्थापन बुधबारदेखि राधास्वामी सत्सङ्ग केन्द्रले नै सम्हालिरहेको छ। यसअघि महानगरपालिकाले खानाको व्यवस्था गरेको भए पनि हाल यो संस्थाले सोमबारसम्मका लागि खाना खुवाउने जिम्मा लिएको एक सेवकले जानकारी दिए। 

सुकुमबासीहरूका लागि निश्चित ‘मेन्यू’ नै तयार पारिएको छ। जसअनुसार बिहान ७ बजे चिया–बिस्कुट, साढे १० बजे दाल–भात र तरकारी, दिउँसो २ बजे खाजा र बेलुका साढे ६ बजे पुनः खाना खुवाउने तालिका बनाइएको छ।

5-IMG_20260503_125827700

सेल्टरमा रहेका महिलाहरूसँग गरिएको अनौपचारिक कुराकानीमा उनीहरूले तत्कालका लागि गाँस र बासको व्यवस्था भए पनि भविष्यलाई लिएर निकै त्रसित रहेको बताए। ’अहिले त खान र बस्न दिइएको छ, तर हामी कहिलेसम्म यसरी अर्काको आश्रयमा बस्ने ? हाम्रा छोराछोरीको स्कुल र भविष्य के हुने ?’ उनीहरूको भनाइ थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

उषा काफ्ले
उषा काफ्ले
लेखकबाट थप
सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप