युद्ध अन्त्यका लागि इरानको १४ बुँदे नयाँ प्रस्ताव: के ट्रम्पले गर्लान् स्वीकार ?
सारांश
- युद्ध अन्त्यका लागि इरानले अमेरिकालाई १४ बुँदे प्रस्ताव अघि सारेको छ।
- यो प्रस्ताव अमेरिकाको नौ बुँदे योजनाको जवाफमा तयार पारिएको हो र यसमा ३० दिनभित्र सबै समस्याको समाधान खोजिएको छ।
- प्रस्तावमा भविष्यमा हुने आक्रमणविरुद्धको ग्यारेन्टी, अमेरिकी सेनाको फिर्ती, रोक्का गरिएको इरानी सम्पत्ति फुकुवा र प्रतिबन्ध हटाउने कुरा समावेश छन्।
अमेरिकी सैन्य प्रभुत्वको सीमिततालाई उजागर गरेको र विश्व अर्थतन्त्रलाई हल्लाएको युद्धलाई स्थायी रूपमा अन्त्य गर्ने पछिल्लो कूटनीतिक कदमअन्तर्गत इरानले अमेरिकालाई नयाँ १४ बुँदे प्रस्ताव अघि सारेको छ।
मध्यस्थकर्ता पाकिस्तानमार्फत तेहरानले पठाएको अघिल्लो प्रस्तावप्रति असन्तुष्टि व्यक्त गरेको भोलिपल्ट शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ प्रस्तावको अध्ययन गरिरहेको बताएका छन्। तर इरानसँग सम्झौता हुन सक्नेमा आफू विश्वस्त नभएको उनको भनाइ छ।
बिहीबार राति तेहरानले उक्त प्रस्ताव पाकिस्तानलाई पठाएको थियो। पाकिस्तानकै पहलमा दुई पक्षबिच युद्धविरामको सहमति भएको थियो। इरानी समाचार एजेन्सी तस्निमका अनुसार अमेरिकाको नौ बुँदे योजनाको जवाफमा यो १४ बुँदे योजना तयार पारिएको हो।
अप्रिल ८ मा युद्धविराम सुरु भएको हप्तौँ बितिसक्दा पनि वासिङ्टन र तेहरानबिच शान्ति सम्झौता हुन सकेको छैन। तेहरान युद्धको स्थायी अन्त्य चाहन्छ। तर ट्रम्पले इरानले पहिले स्ट्रेट अफ होर्मुजको प्रभावकारी नाकाबन्दी अन्त्य गर्नुपर्ने सर्त राखेका छन्। विश्वको कुल तेल र ग्यास निर्यातको पाँचौँ हिस्सा यही जलमार्ग हुँदै जाने गर्छ। अमेरिकी राष्ट्रपतिले इरानको आणविक क्षमताको विषयलाई ‘रेड लाइन’ पनि बनाएका छन्।
अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि आक्रमण गरेपछि इरानले त्यसको जवाफस्वरूप उक्त जलमार्गमा अघोषित नाकाबन्दी गरेको थियो। युद्धविराम सम्झौता भए तापनि ट्रम्प प्रशासनले इरानी बन्दरगाहहरूमा गरेको नौसैनिक नाकाबन्दीले तनाव झनै बढाएको छ।
अमेरिका र इरानले एकअर्काका पानीजहाजहरूमाथि आक्रमण गर्ने, कब्जामा लिने र रोक्ने क्रम पनि जारी राखेका छन्। यसले स्ट्रेट अफ होर्मुजमा अझै पनि नौसैनिक युद्ध चलिरहेको सङ्केत गर्छ।
त्यसोभए नयाँ प्रस्ताव के हो र के राष्ट्रपति ट्रम्पले यसलाई स्वीकार गर्लान् त ?
- युद्ध अन्त्य गर्न इरानको १४ बुँदे प्रस्ताव के हो ?
इरानी सञ्चारमाध्यमका रिपोर्टअनुसार मुख्यतया दुई महिनाको युद्धविरामको माग गरिएको वासिङ्टन समर्थित नौ बुँदे शान्ति प्रस्तावको जवाफमा तेहरानको नयाँ प्रस्ताव आएको हो।
यद्यपि आफ्नो पछिल्लो शान्ति प्रस्तावमा इरानले युद्धविराम लम्ब्याउनुको सट्टा युद्ध अन्त्य गर्नमा ध्यान केन्द्रित गर्न चाहेको बताएको छ। उसले ३० दिनभित्र सबै समस्याको समाधान खोजेको छ।

नयाँ प्रस्तावमा भविष्यमा हुने आक्रमणविरुद्धको ग्यारेन्टी, इरानको वरपरबाट अमेरिकी सेनाको फिर्ती, अर्बौं डलर बराबरको रोक्का गरिएको इरानी सम्पत्ति फुकुवा र प्रतिबन्धहरू हटाउने कुरा समावेश छ। यसका साथै युद्धको क्षतिपूर्ति, लेबनान लगायतका सबै शत्रुताको अन्त्य र स्ट्रेट अफ होर्मुजका लागि नयाँ संयन्त्रको माग पनि गरिएको छ।
गत जुनमा अमेरिका र इजरायलको आक्रमण भोगेको इरान भविष्यमा हुने आक्रमणविरुद्ध ग्यारेन्टी चाहन्छ। यसअघि इजरायलले इरानी आणविक वैज्ञानिकहरूलाई लक्षित गर्दै उसका आणविक स्थलहरूलाई नष्ट गर्ने अभियान चलाएको थियो।
आणविक हतियार अप्रसार सन्धि (एनपीटी) को हस्ताक्षरकर्ताको रूपमा तेहरान युरेनियम प्रवर्द्धन गर्ने आफ्नो अधिकारको सुनिश्चितता पनि चाहन्छ। तर ट्रम्पले आणविक मुद्दालाई रेड लाइन बनाएका छन्। इरानले कुनै पनि सम्झौताको एक भागको रूपमा आफ्नो अर्थतन्त्रलाई तहसनहस पार्ने दशकौँ पुराना प्रतिबन्धहरू हटाइएको हेर्न चाहेको छ। जलमार्गबाट हुने आवतजावत र युद्धको क्षतिपूर्तिको माग वार्ताका अन्य जटिल विषयहरू हुन्।
इरानी राष्ट्रिय प्रसारक आईआरआईबीको एक रिपोर्टअनुसार प्रस्ताव बुझाएपछि उपविदेशमन्त्री काजेम गरिबाबाडीले अब कूटनीतिको बाटो रोज्ने वा भिडन्तको दृष्टिकोणलाई निरन्तरता दिने भन्ने बल अमेरिकाको कोर्टमा रहेको बताएका छन्।
कतारस्थित जर्जटाउन विश्वविद्यालयका सहप्राध्यापक पल मुसग्रेभले इरानले आफ्नो प्रस्तावलाई थोरै नरम बनाएको बताएका छन्। उनले अल जजीरालाई बताएअनुसार समाचार रिपोर्टहरूले प्रस्तावमा केही लचकता अपनाइएको सङ्केत गर्छन्। यसको अर्थ इरान पक्षले स्ट्रेट अफ होर्मुजमा इरानी आवतजावतमाथि अमेरिकाले लगाएको टाढाको नाकाबन्दी हटाउनुपर्ने पूर्वसर्त छोडेको हुन सक्ने बुझिन्छ।
‘यसबाहेक उक्त प्रस्तावमा युरेनियम प्रवर्द्धन गर्ने इरानको सार्वभौम क्षमता कायम राख्ने, उसको आणविक कार्यक्रम र स्ट्रेट अफ होर्मुजमा पानीजहाजको आवतजावतमा 'नियन्त्रण संयन्त्र' जस्ता धेरै कुराहरू समावेश भएको बताइएको छ,’ उनले थपे।

मुसग्रेभका अनुसार युरेनियमको प्रवर्द्धन र उच्च प्रवर्द्धित युरेनियमको स्थानान्तरण जस्ता दुई ठूला मुद्दामा अमेरिका र इरान अझै पनि धेरै टाढा छन्। इरानले आफ्नो आणविक क्षमता आत्मसमर्पण गर्नुपर्ने कुरामा राष्ट्रपति ट्रम्प अडिग रहेको उनको भनाइ छ।
न्युयोर्कस्थित गैरनाफामूलक संस्था सुफान सेन्टरका वरिष्ठ फेलो केनेथ काट्जम्यानले ट्रम्पप्रति इरानको अविश्वास नै ठूलो बाधा रहेको बताएका छन्। उनले भनेका छन्, ‘आणविक मुद्दाहरूमा रहेको मतभेद वास्तवमा अब त्यति ठूलो छैन। यो अझै पनि महत्त्वपूर्ण छ तर यसलाई कम गर्न सकिन्छ। मुख्य समस्या इरानले ट्रम्प र अमेरिकालाई पटक्कै विश्वास गर्दैन र यो नाकाबन्दी नहटेसम्म पूर्ण रूपमा छलफलमा अघि बढ्न चाहँदैन।’
यो समस्याले अमेरिकी आक्रमणलाई बढावा दिन सक्ने काट्जम्यानको बुझाइ छ। ट्रम्पले जलमार्गमा रहेको इरानी नियन्त्रण तोड्नुपर्छ भन्ने जानेका कारण समस्या त्यहीँ रहेको उनी बताउँछन्। काट्जम्यानका अनुसार दुवै पक्ष निराश भए तापनि निकट भविष्यमै कसैले पनि वार्ता त्याग्ने सम्भावना छैन।
- अमेरिकाले कसरी दियो जवाफ ?
ट्रम्पले आफूले इरानको प्रस्तावको समीक्षा गरिरहेको बताएका छन्। तर तेहरानले दुर्व्यवहार गरेमा वासिङ्टनले पुनः आक्रमण सुरु गर्न सक्ने चेतावनी उनले दिएका छन्।
शनिबार एयर फोर्स वानमा चढ्नुअघि फ्लोरिडामा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफूलाई ‘सम्झौताको अवधारणा’ बारे जानकारी गराइएको पुष्टि गरे। कूटनीतिक खुलापनको बाबजुद राष्ट्रपतिले युद्धविरामपछि रोकिएको द्वन्द्व पुनः सुरु हुने सम्भावनाको बारेमा आफ्नो स्वभाव अनुरूप ठाडो स्वरमा कुरा राखे।

आक्रमण पुनः सुरु हुन्छ भनी सोधिएको प्रश्नमा ट्रम्पले इरानले कुनै नराम्रो काम गरेमा त्यसो हुने सम्भावना रहेको बताए। ट्रम्पले अमेरिका 'धेरै राम्रो स्थितिमा' रहेको थप्दै महिनौँको द्वन्द्व र नौसैनिक नाकाबन्दीले इरान तहसनहस भएकाले सम्झौताका लागि हतारिएको दाबी गरे।
क्विन्सी इन्स्टिच्युट फर रेस्पोन्सिबल स्टेटक्राफ्टका त्रिता पारसीले अल जजीरालाई बताएअनुसार इरानी बन्दरगाहहरूमा लगाइएको नाकाबन्दीको आर्थिक लागत ह्वाइट हाउसले अनुमान गरेभन्दा बढी छ। यसले अमेरिकालाई पुर्याएको व्यापक रणनीतिक क्षति सायद अझ बढी महत्त्वपूर्ण रहेको उनको तर्क छ। पारसीले इरान ४७ वर्षदेखि सबै प्रकारका आर्थिक दबाब र प्रतिबन्धमा रहेको अल जजीरालाई बताए। तीमध्ये कुनैले पनि इरानीहरूलाई तोड्न वा आत्मसमर्पण गर्न बाध्य पार्न नसकेको उनको भनाइ छ।
शनिबार ढिलो गरी ट्रुथ सोसलमा एक पोस्ट गर्दै ट्रम्पले इरानी प्रस्ताव स्वीकार्य हुने कल्पना गर्न गाह्रो भएको बताए। पछिल्लो ४७ वर्षमा इरानले मानवता र विश्वका लागि गरेको कामको 'पर्याप्त ठूलो मूल्य अझै नचुकाएको' उनको भनाइ छ।
जर्जटाउन विश्वविद्यालयका मुसग्रेभका अनुसार ट्रम्पले नयाँ इरानी प्रस्तावलाई नपढीकन वा त्यसबारे जानकारी नलिईकन अस्वीकार गरेको देखिन्छ।
- द्वन्द्व अन्त्य गर्ने यसअघिका शान्ति प्रस्तावहरू के-के हुन्?
इरानको पछिल्लो प्रस्ताव अप्रिल ८ मा लागू भएको कमजोर तीन हप्ते युद्धविरामको बिचमा आएको हो। यसले इरानमाथिको अमेरिका-इजरायल युद्धलाई रोकेको छ।
युद्धविरामको अघिल्लो दिन इरानले १० बुँदे शान्ति योजना प्रस्ताव गरेको सरकारी समाचार एजेन्सी इरनाले जनाएको थियो। जसमा यस क्षेत्रका द्वन्द्वको अन्त्य, स्ट्रेट अफ होर्मुज हुँदै सुरक्षित आवतजावतका लागि प्रोटोकल, प्रतिबन्ध फुकुवा र पुनर्निर्माण जस्ता विषय समावेश थिए।
ट्रम्पले इरानको १० बुँदे योजना एक महत्त्वपूर्ण प्रस्ताव भए पनि पर्याप्त रूपमा राम्रो नभएको बताएका थिए।

मार्च २५ मा अमेरिकाले तयार पारेको १५ बुँदे योजनाको जवाफमा इरानबाट अप्रिल ७ को प्रस्ताव आएको थियो। वासिङ्टनको योजनामा पाकिस्तानमार्फत युद्ध अन्त्य गर्ने सर्तमा दुई पक्षबिच वार्ता भइरहँदा एक महिनाको युद्धविराम गर्ने कुरा समावेश थियो।
इजरायलको च्यानल १२ का अनुसार उक्त योजनामा नतान्ज, इस्फाहान र फोर्डोमा रहेका इरानका आणविक सुविधाहरू भत्काउने र इरानले कहिल्यै आणविक हतियार नबनाउने स्थायी प्रतिबद्धता जनाउनुपर्ने कुरा समावेश थियो। साथै इरानले पहिले नै प्रवर्द्धन गरिसकेको युरेनियमको भण्डार अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) लाई हस्तान्तरण गर्ने, देशको बाँकी आणविक पूर्वाधारका सबै पक्षको अनुगमन गर्न संयुक्त राष्ट्रसङ्घीय निगरानीकर्तालाई अनुमति दिने इरानको प्रतिबद्धता पनि त्यसमा थियो। स्ट्रेट अफ होर्मुज पुनः खोल्ने, इरानमाथिका सबै प्रतिबन्धहरू अन्त्य गर्ने र प्रतिबन्धहरू पुनः लगाउन अनुमति दिने राष्ट्रसङ्घीय संयन्त्रको अन्त्य गर्ने कुराहरू पनि उक्त योजनामा समेटिएका थिए।
यद्यपि इरानले यो योजना अस्वीकार गर्यो। अस्थायी युद्धविरामले अमेरिका र इजरायललाई पुनः सङ्गठित हुन र थप आक्रमण गर्न समय दिने बताउँदै इरानले बदलामा आफ्नो १० बुँदे योजना प्रस्ताव गरेको थियो।
- अहिलेको वास्तविक अवस्था कस्तो छ?
युद्धविराम भए तापनि अघिल्ला सन्धिहरूप्रति अमेरिकाको प्रतिबद्धता अभावलाई औँल्याउँदै इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले शनिबार आफू युद्धमा फर्कन पूर्ण रूपमा तयारी अवस्थामा रहेको बताएको छ।
आइतबार एक्समा एक पोस्ट गर्दै आईआरजीसीको गुप्तचर इकाईले यसलाई बुझ्ने एउटै मात्र तरिका रहेको बताएको छ। जसमा ट्रम्पले असम्भव सैन्य कारबाही वा इरानसँगको खराब सम्झौतामध्ये एउटा रोज्नुपर्ने र अमेरिकाको निर्णय गर्ने ठाउँ साँघुरिएको उल्लेख छ।
इरानी समुद्री माइनहरूको उपस्थिति लगायत स्ट्रेट अफ होर्मुज पुनः खोल्नका लागि रहेका प्राविधिक बाधाहरूले यो गतिरोधलाई अझ जटिल बनाएको छ। फेब्रुअरी २८ मा युद्ध सुरु भएदेखि नै तेहरानले जलमार्ग बन्द गरेपछि विश्वव्यापी रूपमा तेल र ग्यासको मूल्य बढेको छ।

जलमार्ग खोल्न इरानलाई दबाब दिन अमेरिकाले अप्रिल १३ मा सबै इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएपछि तेल र ग्यास सङ्कट झनै बढेको छ। शुक्रबार ०८:०८ जीएमटीमा अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल १११.२९ डलर पुगेको छ। युद्ध अघि यसको मूल्य करिब ६५ डलर थियो।
ट्रम्पले भर्खरै अमेरिकी नौसैनिक नाकाबन्दीलाई धेरै लाभदायक व्यापारको रूपमा चित्रण गरेपछि तनाव झनै बढेको छ।
शनिबार अमेरिकाको फ्लोरिडा राज्यमा आयोजित एक कार्यक्रममा ट्रम्पले आफूहरूले कार्गो र तेल कब्जा गरेको बताउँदै यसलाई धेरै नाफामूलक व्यापारको संज्ञा दिए। ‘हामी एक प्रकारले समुद्री डाँकु जस्तै छौँ भनेर कसले सोचेको थियो होला, तर हामी खेल खेलिरहेका छैनौँ,’ उनले भने।
तेहरानको विदेश मन्त्रालयले यी भनाइहरूलाई समात्दै यसलाई समुद्री डकैतीको निन्दनीय स्वीकारोक्तिको संज्ञा दिएको छ।
क्विन्सी इन्स्टिच्युटका पारसीले अल जजीरासँग कुरा गर्दै इरानमाथिको अमेरिकी नौसैनिक नाकाबन्दीले ट्रम्पलाई नै उल्टो असर गरेको र अवस्थालाई अझ खराब बनाइरहेको बताए। वार्ता भइरहेको र नाकाबन्दीको बाबजुद पनि यसलाई निरन्तरता दिन सकिने अवस्था रहेको उनको भनाइ छ।
इरानीहरू वार्ताको टेबुलमा आउनुसँग नाकाबन्दीको कुनै सम्बन्ध नभएको पारसीले उल्लेख गरे। यसले अरू केही नभई कूटनीतिक प्रगतिलाई रोक्ने काम मात्र गरिरहेको उनी बताउँछन्।

नाकाबन्दी लगाउनु अघि नै ट्रम्पले कूटनीतिमार्फत आफ्नो सबैभन्दा ठूलो फाइदा सुरक्षित गरिसकेको उनको तर्क छ। ‘उनले युद्धविराम गराउन सफल हुने बित्तिकै उनीमाथिको प्राथमिक दबाब, युद्ध नै र त्यसले ग्यासको मूल्य बढाइरहेको अवस्था हटेको थियो। यदि उनी त्यही परिदृश्यमा रहेर समयलाई आफ्नो फाइदाको लागि प्रयोग गरेका भए उनी इरानीहरूको तुलनामा धेरै बलियो स्थितिमा हुने थिए। किनभने इरानीहरूले आफूले चाहेको मुख्य कुरा अर्थात् प्रतिबन्ध फुकुवा पाउन सकेका थिएनन्,’ पारसीले भने।
यसको सट्टा नाकाबन्दी लगाएर ट्रम्पले बजारबाट थप तेल हटाए। युद्धको समयमा भन्दा अहिले युद्धविरामको समयमा तेलको मूल्य बढी भएको बताउँदै पारसीले यी सबै आर्थिक सूचकहरूले नाकाबन्दीका कारण ट्रम्पका लागि अवस्था अझ खराब बनिरहेको देखाउने प्रष्ट पारे।
यद्यपि ट्रम्पले तेल सङ्कट समाधान गर्न स्ट्रेट अफ होर्मुजमा आवतजावतको स्वतन्त्रता पुनर्बहाली गर्न म्यारिटाइम फ्रिडम कन्स्ट्रक्ट (एमएफसी) नामक नौसैनिक गठबन्धन स्थापना गर्ने लगायतका विकल्पहरू खोजिरहेका छन्।
अमेरिकी सञ्चारमाध्यमका रिपोर्टअनुसार सदस्य राष्ट्रहरूबिच गुप्तचर सूचना आदानप्रदान गर्ने, कूटनीतिक प्रयासहरूको समन्वय गर्ने र जलमार्गबाट हुने पानीजहाजको आवतजावत व्यवस्थापन गर्न प्रतिबन्धहरू लागू गर्ने काम यस नौसैनिक गठबन्धनको मुख्य कार्य हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
-
विश्वकपमा केप भर्डेको सनसनी, इतिहास रच्ने संघारमा
-
इजरायली प्रधानमन्त्रीका दाजु ५० वर्षअघि कुन मिसनमा मारिएका थिए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण