अजम्मरी मार्क्स : मखमली सम्झना
सारांश
- कार्ल मार्क्सको जन्म दिवसको अवसरमा कम्युनिस्ट घोषणापत्रको ऐतिहासिक महत्व र नेपाली वामपन्थको वर्तमान अवस्थाबारे चर्चा गरिएको छ।
- कम्युनिस्ट घोषणापत्रले वर्ग संघर्ष र क्रान्तिबारे वैज्ञानिक निचोड दिएको थियो, जसको प्रभाव विश्वभरि फैलियो र नेपालमा पनि यसले कम्युनिस्ट लहर ल्यायो।
- नेपाली वामपन्थ विभाजन, अहंकार र नव-उदारवादको प्रभावले कमजोर बनेको छ, जसको परिणाम निर्वाचनमा लज्जास्पद हार बेहोर्नु परेको छ।
आज मई ५, संसारका उत्पीडित वर्गका मार्गदर्शक महान् दार्शनिक कार्ल मार्क्सको जन्म दिवस । जसको सम्झनामा आज लाखौँ आलेख लेखिने गर्छन् । हामी पनि यिनै क्रान्तिकारी व्यक्तित्वलाई आज मखमली सम्झना गरौँ ।
खासमा यो आलेख २१ फरबरीको लागि बनाउन सुरु गरिएको थियो र लेख्दालेख्दै संयोगवश आजका दिनसँग जोडिन आइपुग्यो । किनकि सन् १८४८, २१ फरबरीको दिन कार्ल मार्क्स र फ्रेरडिक ऐन्जेल्सले लन्डनमा कम्युनिस्ट पार्टीको घोषणापत्र निकाल्नु भएकाले यस मेनिफेस्टोलाई संसारका सबै मेहनतकशहरुको क्रान्तिकारी बैचारिकी (चेतना) बढाउने ऐतिहासिक र मुक्तिदायी कृतिका रूपमा सम्झना गर्ने गरेको दिन समेत हो ।
यो किताब सन् नोभेम्बर १८४७ ताका सुरुमा कम्यनिुष्टहरुको विश्वासपात्र, मान्यतापात्र र कम्युनिष्टहरुको सिद्धान्त भन्नेगरी मस्यौदा भएपनि प्रेसमा छापिँदा कम्युनिस्ट पार्टीको घोषणापत्र नामकरण गरी जर्मन भाषामा निकालियो । यो किताबभन्दा पहिला धेरै मानिसहरू आफ्ना दुखकष्टको अन्त र मुक्तिमार्गको खोजी धर्मग्रन्थहरूमा गर्ने गर्थे । तर यस पुस्तकले मानवीय दुखको स्थायी अन्त्य वर्गसंर्घष, सामाजिक–आर्थिक क्रान्ति र पुँजीबादी प्रणालीको उन्मूलनले मात्रै गर्छ र यो कार्य कामदार वर्गको एकतामा मात्रै सम्भव छ भन्ने वैज्ञानिक निचोड दिएको थियो । यो किताब लेख्दाका बखत वहाँहरू दुबै जना युवा अवस्थामा नै हुनहुन्थ्यो । हुन त मार्क्सले त पहिल्यैबाट मजदुर आन्दोलन र सामाजिक परिवर्तनका मुद्दामा उत्कृष्ट लेख रचना प्रकाशित गरिरहनु भएको थियो पनि ।
यद्यपि सुरुमा तेइस पाने पर्चामा निकालिएको यस मेनिफेष्टोले संसार गज्जबले हल्लायो । राहुल सांस्कृत्यायनका अनुसार यो दस्ताबेज संसारकै उत्कृष्ट राजनीतिक निबन्ध थियो र यसका एक–एक वाक्य संरचना र शब्दले मानवजातिको मुक्तिबोधको सपना बोकेको थियो जसले मानव समाजलाई अब समानताको नवीन वैज्ञानिकी सिद्धान्तसहित साम्यवादी युगमा जान अनुरोध गरेको थियो । यो पुस्तक सुरुमा जर्मन र पछि परिमार्जन गर्दै अङ्ग्रेजी, फ्रेन्च र रसियन भाषामा निस्केको देखिन्छ । अहिले त यो नेपाली भाषासहित सयभन्दा बढी भाषामा अनुवादित छ । जो विश्वव्यापी छ । यो मेनिफेष्टो पनि मार्क्सकै प्रख्यात कृति पुँजी (दास केपिटल) जस्तै वजनदार छ ।
राज्यको उत्पत्तिसँगै उत्पादन इतिहासको विकास क्रममा सामन्तवादलाई प्रतिस्थापन गरी श्रमिक वर्ग, बृहत् पुँजी र मेसीनरी संयन्त्रसहित जब पुँजीवाद जन्मियो तब उसले आफ्नो विकासको नाफामा देख्यो अनि यसैका लागि श्रम शोषण बढाउँदै थप अतिरिक्त मूल्य बढाउँदै गयो । यो अतिरिक्त मूल्य उसले निजी सम्पत्ति र धन सञ्चयमा परिणत गर्यो । वास्तवमा यो यो मजदुरहरूको पसिना थियो, जो पुँजीपतिले कब्जा गर्थ्यो । यस्तो अन्यायपूर्ण उत्पादन प्रक्रियामा नै बुर्जआ वर्ग र मजदुर वर्ग जन्मे ।
सीमित बुर्जुवाहरूले समाजका सबै उत्पादनका साधन, नाफा, धन-सम्पत्ति र पुँजी कब्जा गर्थे । समाजको ठुलो हिस्सा बनेका मजदुरहरू केही नभएका सर्वहारा वर्गका रूपमा रूपान्तरण भइरहेका थिए । अर्थात् उनीहरूसँग श्रमबाहेक केही थिएन । उनीहरू रात-दिन १६ घण्टा काम गरे पनि दुःख र कष्टमा फसेका थिए । यस्तो सामाजिक अवस्था नै अन्याय र विभेदको राज्य प्रणाली थियो । यो हजारौँ वर्षदेखि चल्दै आएको थियो जसलाई फ्याँक्नै पर्थ्यो । त्यसैले यो अन्यायबाट मुक्ति पाउन– "संसारका सबै मजदुर एक होऔँ!" भन्ने आह्वानसहित "सर्वहारा वर्गसँग हार्नका लागि केही पनि छैन तर जित्नका लागि सम्पूर्ण संसार छ" भन्दै यो किताब आएको थियो ।
जसले कामदार वर्गको एकता र क्रान्तिकारी चेतना बढाउनमा जोड दिएको थियो । चार भागमा बाँडिएको यो घोषणापत्रको पहिलो खण्डमा सर्वहारा वर्ग र पुँजीपति वर्गको जन्म, उत्पादन इतिहासको विश्लेषण, अतिरिक्त मूल्य र नाफा सञ्चिति, वर्ग-संघर्ष र पुँजीवादको विकाससँगै यसको सङ्कट र पतनबारे उल्लेख छ । यो तथ्यपरक, वस्तुवादी र वैज्ञानिक विश्लेषण हो ।
यसैबाट आम मानिसहरू र सर्वहारा वर्गले यति शक्तिशाली पुँजीवादी प्रणालीको पनि अन्त्य हुन सक्दो रहेछ भन्ने ज्ञानको मूल आधार भेट्टाए र यसै वरिपरि गोलबन्द भए । एसिया, अफ्रिका, अमेरिका र युरोपभर यसको प्रभाव फैलियो । नेपालमा पनि पुष्पलालले नेपाली भाषामा यसको अनुवाद गर्नुभयो । देशव्यापी कम्युनिस्टको लहर बढेर गयो । धेरै कम्युनिस्ट पार्टीहरू गठन भए । सामाजिक अन्यायको अन्त्यका लागि मार्क्सवाद सर्वव्यापी र अजम्मरी विचार भएर नै फैलिएको देखिन्छ ।
यहीँनिर अचम्म लाग्छ, संसारभर एकजुट हुनुपर्ने र एकढिक्का बन्नुपर्ने वामपन्थीहरू भने नेपालमा धेरै गुटमा देखिए । कार्ल मार्क्सले मजदुर वर्गको आन्दोलनबारे गरेको व्याख्या नेपालजस्तो अर्ध-सामन्ती उत्पादन सम्बन्ध भएको र पुँजीवाद पूर्णतः विकसित भइनसकेको समाजका लागि थप सान्दर्भिकता खोज्दा हाम्रा वामपन्थी अग्रजहरूले चिनियाँ जनवादी क्रान्ति, माओवाद, भियतनामी क्रान्ति र ल्याटिन बोलिभार–पेरुभियन गोन्जालो विचारसँग मिलेको देखे । फलतः नेपालको वाम आन्दोलन किसान संघर्षसँगै हिँड्नुपर्छ भनेर विश्लेषण भयो । यिनै आधारमा धेरै आन्दोलनहरू भए, जनयुद्ध (छापामार युद्ध) समेत भयो । जसले प्रचण्डपथ पनि जन्मायो र कम्युनिस्ट विचारलाई अझ व्यापकता दियो ।
संसारभर एकजुट हुनुपर्ने र एकढिक्का बन्नुपर्ने वामपन्थीहरू भने नेपालमा धेरै गुटमा देखिए । कार्ल मार्क्सले मजदुर वर्गको आन्दोलनबारे गरेको व्याख्या नेपालजस्तो अर्ध-सामन्ती उत्पादन सम्बन्ध भएको र पुँजीवाद पूर्णतः विकसित भइनसकेको समाजका लागि थप सान्दर्भिकता खोज्दा हाम्रा वामपन्थी अग्रजहरूले चिनियाँ जनवादी क्रान्ति, माओवाद, भियतनामी क्रान्ति र ल्याटिन बोलिभार–पेरुभियन गोन्जालो विचारसँग मिलेको देखे । फलतः नेपालको वाम आन्दोलन किसान संघर्षसँगै हिँड्नुपर्छ भनेर विश्लेषण भयो । यिनै आधारमा धेरै आन्दोलनहरू भए, जनयुद्ध (छापामार युद्ध) समेत भयो । जसले प्रचण्डपथ पनि जन्मायो र कम्युनिस्ट विचारलाई अझ व्यापकता दियो ।
नेपालले समावेशी लोकतन्त्र, गणतन्त्र र सङ्घीयता पायो । तर जनवादी (समाजवादी) व्यवस्था पाउन सकेन । जे भए पनि नेपालमा वि.सं. २००६ बाट २०८२ सम्म आउँदा व्यापक कम्युनिस्ट जनलहर भने देखियो । दुई ठुला कम्युनिस्ट पार्टीहरू बने– एमाले र नेकपा । अरू साना-साना अठारवटा वाम दलहरू पनि भए । यसैले होला नेपालका कम्युनिस्टहरूलाई धेरै भाइहरू जस्तो मानेर 'यदुवंशी कम्युनिस्ट' पनि भन्ने गरिन्छ ।
महाभारत ग्रन्थ पढ्दै जाँदा आउँछ– जब महाभारत युद्ध सकियो त्यसपछि यदुवंश (कृष्णका सन्तानहरूले राजकाज गर्दा) राज्य भयानक शक्तिशाली रूपमा फैलिँदै त थियो तर उनीहरू त्यही शक्ति-उन्मादले गर्दा ज्यादै घमण्डी भए, त्यही घमण्ड र सँगै गान्धारीको पूर्ववत् श्राप समेत थपिँदा भाइ-भाइ बीच लडाइँ गर्दै जाँदा लाखौँ यदुवंशीहरू आ-आफैमा लडेर सर्वनाश भएको कथा छ । हो, नेपालका कम्युनिस्टहरू पनि ठ्याक्कै यस्तै अहंकारी बने, जो आफैमा लड्दै छन् र अब सर्वनाशको यात्रातिर जाँदै छन् भन्ने सन्दर्भ ठ्याक्कै मिल्छ ।
यसैले आज मार्क्सलाई सम्झँदै नेपालको वामपन्थी इतिहास, मार्क्सवादको नेपाली समाजमा गरिएको प्रयोग र यदुवंशी चरित्रको पीडादायी हाम्रो वामपन्थ पनि सम्झिँदै यसै वरिपरि छलफल गर्नतिर लागौँ ।
अवश्य हो, यति धेरै वामपन्थी सङ्ख्या देखिए तापनि नेपालको वि.सं. २०८२ को आम निर्वाचनमा यिनीहरूले लज्जास्पद पराजय व्यहोरेको उदेकलाग्दो दृश्य देखा परेको छ । यतिबेला नेपाली वामपन्थ पतनोन्मुख देखिन्छ । यो अवस्था युवापुस्ताको 'जेन-जी' आन्दोलनका क्रममा निरन्तर विकसित भइरहेको थियो । किनकि जेन-जी आन्दोलनताका एमालेका केपी ओली प्र.म. थिए । उनी वामपन्थी भए तापनि निरङ्कुश र सर्वसत्तावादका नाइके बन्दै जेन-जीहरूउपर ठूलो दमन गरे । पछि जनदबाबले प्र.म. बाटै हटे । उनको यो तानाशाही शैली समग्र नेपाली कम्युनिस्ट आन्दोलनका लागि प्रत्युत्पादक भइदियो । यसैले होला नवयुवाहरूको जमात लोकप्रियतावाद र नवउदारवाद (बालेन र अन्य) का पक्षधर बन्दै गयो; फलतः यो चुनावमा एमालेका केपी, नेकपाका प्रचण्ड र अन्य वामपन्थीहरू समेतले शर्मनाक हार व्यहोरे ।
यस्तो हुनाको कारणबारे विद्वान्हरू भन्छन्– नेपालका कम्युनिस्टहरूले कार्ल मार्क्स, फ्रेडरिक एंगेल्स, लेनिन, माओ, किम र होचिमिन्हबारे फिटिक्कै पढेनन् । ऐतिहासिक क्रममा मार्क्स, लेनिन र माओले विकास गरेका भौतिकवादको दर्शन र सामाजिक क्रान्तिका रणनीतिक ढाँचाहरू यतिबेलाको समाजमा कति सान्दर्भिक छन् वा यिनमा के-कति र कसरी थप विकास गर्नुपर्ने हो ? नेपाली समाजको वस्तुगत अर्थ-राजनीतिक र खास सामाजिक अन्तरविरोध के हो ? यहाँको वर्ग संरचना, वर्ग-सङ्घर्ष (धनी–गरिब द्वन्द्वात्मकता) र शोषणको रूप–प्रकृति के हो ? शोषण, असमानता र विभेद कसरी भइरहेको छ ? स्थानीय–राष्ट्रिय–वैश्विक वित्तीय पुँजीवाद (नवउदारवाद) को चरित्र के हो ? वामपन्थी संसद्वादले सामाजिक शोषण र विभेदको समस्या किन हल गरेन ? अनि यहाँको मौलिक जनवादी/समाजवादी क्रान्तिका ठोस प्रारूप कस्तो हुन्छ ? हाम्रा क्रान्तिका अवरोधक को हुन् ? अर्थात् नयाँ उत्पादन शक्ति र नयाँ उत्पादन सम्बन्ध विकास गर्न रोक्ने बाधक को हुन् त ? परम्परागत किसान–विद्यार्थी विद्रोहबाट टाढिँदै कसरी सहरी जेन-जी विद्रोह सम्भव भयो ? जेन-जी विद्रोह किन नव-उदारवादी वर्गको पोल्टामा गयो ? नेपालको भू-राजनीति (साम्राज्यवाद–विस्तारवादको गठबन्धन समेतको भू-राजनीति) परिवेशमा यसलाई कसरी बुझ्ने र अबको उत्तर–आधुनिक वाम क्रान्ति कसरी सम्पन्न गर्ने ? र कसरी क्रान्ति टिकाउने पनि ? अब देशका युवाहरूलाई वामपन्थपट्टि कसरी ल्याउने ? भन्ने जस्ता आधारभूत सवालमा अझै पनि नवीन वाम दृष्टिकोण बनाउन सकेको देखिन्न । न त यिनले जनताका बीचमा गएरै सोध्न सक्छन्– 'अब के गर्ने हो?' भनेर ।
थप, यिनले कम्युनिस्ट मेनिफेस्टो पनि पढ्दैनन् । सरकार र सत्ता पाउँदा यी कम्युनिस्टले परिश्रमी जनता, कामदार वर्ग, किसान वर्ग, युवा वर्गका निमित्त केही गर्नै सकेनन् । संसदीय सुधारवाद नै सही, कमसेकम सार्वजनिक शिक्षा र जनस्वास्थ्य प्रणाली निःशुल्क त गर्न सक्थे । तर गरेनन्, उल्टो अभिजात वर्ग र बुर्जुवा वर्गको चाकर भएर पो बसे । निजी शिक्षा र निजी अस्पताल अभिजात वर्गसँगको मिलेमतोमा खोलेर जनता लुट्ने गोरखधन्दा चलाए नेपाली कम्युनिस्टहरूले ।
विडम्बना, यी संसदीय भासमा डुबेका विलासी, भ्रष्ट र तरमारा वामपन्थी भए । तसर्थ अब नेपालको वाम आन्दोलनलाई नव-उदारवादले सिध्याउने छाँटकाँट देखियो । यो २०८२ मा थोरै सिट त जिते तर यस्तै हो भने सायद आउँदो संसदीय चुनावमा यो बचेखुचेको साख पनि सकिन्छ । नसुध्रिने हो भने अब महापराजय व्यहोर्नेछन् यिनले । खासमा हिजोसम्म दुई-तिहाइ बहुमत रहेको धाक लगाउने यी वाम दलहरू आज आफ्नै अहंकार, उन्मत्तता र जनताका पक्षमा फिटिक्कै काम नगरी धोका दिएका कारण ज्यादै अलोकप्रिय भए । यसैले नै नेपालको वामपन्थ अब सर्वनाशको यात्रामा जान्छ भन्नेहरू धेरै भेटिन्छन् ।
नेपाली वामपन्थको ओरालो यात्रा
नेपालमा जेन-जी विद्रोह किन भयो ? युवापुस्ताले देशमै भविष्य किन देखेन त ? यसको नेतृत्व र राजनीतिक उद्देश्यहरू के रहेछन् ? दुईदिने यो आन्दोलनले पुराना र स्थापित राजनीतिक पार्टीलाई तासको घरझैँ कसरी ढलायो ? देशको संसद् विघटन र नयाँ सरकार दिनुपर्ने स्थिति उत्पन्न किन भयो ? किन आम निर्वाचन–२०८२ मा नेपाली वामपन्थी दलहरू लज्जास्पद रूपले पराजित भए ? यसैमा आउने कठोर प्रश्न हो– नेपालको वामपन्थ जेन-जीका अगाडि यति कमजोर कसरी भयो ? यसका वस्तुगत कारणहरू के होलान् ? यस प्रश्नको उत्तर त तिनै पार्टीहरूले खोज्नुपर्छ, तापनि हाम्रो वाम इतिहास, सफल जनसङ्घर्षहरू र नेपालको सामाजिक लोकतन्त्रको चलायमानता बुझ्न मार्क्सवादी बौद्धिकहरू पनि लागेको पाइन्छ; जो यिनै तथ्यहरू जनताबाटै जान्न खोजिरहेका छन् ।
खासमा नेपालको वामपन्थी राजनीतिले किन बाटो बिरायो ? समाजवादप्रति समर्पित नेपाली क्रान्तिकारी आन्दोलन बीचैमा तुहिने गरी यति कमजोर कसरी भयो ? जेन-जीसँग कांग्रेस र कम्युनिस्टहरूले निर्वाचनमा यस्तो पराजय किन भोगे ? यसमा वाम विचार, दर्शन, पार्टी सङ्गठन वा वाम नेतृत्वमध्ये को बढी जिम्मेवार छ त ? भन्नेमा सर्वसाधारणका बीच यस निर्वाचन र हालका क्रममा चलेका सयौँ सार्वजनिक बहस-विमर्शहरूमा यस्ता तथ्य बढी देखिँदै छन्:
– जेन-जी पुस्ताको आन्दोलन देशभित्र मौलाइरहेको बेथिति, भ्रष्टाचार र दलीय कुशासन अन्त्यका लागि थियो, जो आवश्यक पनि थियो । यो विषय सत्ताधारी कम्युनिस्टहरूले सम्बोधन गर्न सक्थे । तर कम्युनिस्टबाटै जनताउपर गोली हान्ने कार्य भयो, राज्यले गलत गर्यो । यो वाम सर्वसत्तावादको प्रदर्शन हो । यसको जिम्मेवार तत्कालीन प्र.म. केपी हुन् । जेन-जीले संविधान मान्छौँ भनेका थिए । यिनीहरूले राज्यद्रोह गरेका होइनन् । यिनीहरू उच्च तहमा शासकीय सुधार चाहन्थे र तत्काल डेलिभरी चाहन्थे । उनीहरूको आवाज संविधानप्रदत्त प्रजातान्त्रिक हक र मानव अधिकार नै थियो । विडम्बना, राज्यले यिनलाई आतङ्ककारी जस्तो मान्यो र बर्बरता देखायो ।
– घनश्याम भुसाल भन्छन्– ओली भस्मासुर भएर आज वामपन्थ सकियो । जेन-जीका प्रश्न सही छन् । अब कम्युनिस्टहरू एकता गरौँ । सुरेन्द्र पाण्डे भन्छन्– अहंकारी केपी ओलोकै कारण नेपाली वामपन्थ ओरालो लाग्यो ।
– तथापि केपी ओली र उनको एमाले रत्तिभर आत्मालोचित छैनन् । केवल अहंकार देखाइरहेका छन् । यिनले जेन-जी आन्दोलन 'विदेशी षड्यन्त्र' भन्छन्, जो तर्क त्यति विश्वसनीय देखिन्न ।
– यतिबेला सबैभन्दा बढी प्रचण्ड र माओवादी निराश छन्, पश्चात्तापमा छन् । क्रान्तिकारी छवि धमिलिएको छ । उसले जनयुद्ध लडेकै युवाहरूको भविष्य र सामाजिक न्यायका लागि हो । रगतले ल्याएको संविधान र गणतन्त्र जोखिममा पर्छ कि भन्छन् उनीहरू । पहिले उसका मुद्दा एमाले र मधेसवादीले अपहरण गरे, अहिले जेन-जीले लग्यो भन्ने छ ।
– संसदीय सत्ताको गोलचक्करमा लाग्नुको औचित्य पुष्टि गर्न गाह्रो परेको छ प्रचण्डलाई । उनले साना वाम दलहरूसँग एकता बढाइरहेका छन् र एमालेसँग एकता गर्ने आशा पनि राखेका छन् । यो नैराश्यता चिर्ने साहससम्म हो । मधेसवादीहरूमा पनि पश्चात्ताप छ जो निरन्तर सत्ताको पिछलग्गु बने ।
– तसर्थ समग्र सामाजिक छलफल हेर्दा देश चिन्तामा छ । खासगरी वामपन्थको ओरालो यात्राप्रति मार्क्सवादी विचारमा सदाशयता राख्नेहरू झनै बढी चिन्तित देखिन्छन् ।
नव-उदारवादको सारथि बन्यो नेपाली वामपन्थ
वामपन्थीहरू मार्क्सवादमा विश्वास गर्छन् । यसले 'सृजनात्मक विनाश' (क्रिएटिभ डिस्ट्रक्सन) मान्छ भने पुरानोको अन्त्य र नयाँको सृजना इतिहास विकासको अनिवार्य नियम हो भन्छ । यस्तो परिवर्तनको व्याख्या भौतिकवाद र समाजभित्रकै अन्तर्विरोधको आधारमा गर्नुपर्छ भन्छ; जो द्वन्द्वात्मक भौतिकवाद हो । अर्थात्, जनताहरू विद्यमान अन्याययुक्त समाजको अन्त्यसँगै नयाँ परिवर्तन चाहन्छन् र सबैखाले शोषणको अन्त्य, सामाजिक न्याय र आर्थिक समानता समाजवाद (साम्यवाद) ले मात्रै गर्न सक्छ भन्छन् ।
त्यही लक्ष्य प्राप्तिका लागि कम्युनिस्ट पार्टी बनाइन्छन् र उक्त पार्टीहरू 'जनवादी केन्द्रीयता' को सिद्धान्तमा चल्छन् । यहाँ बहुमत नेतृत्वले निरङ्कुशता र सर्वसत्तावाद लाद्न पाउँदैन भन्ने हो । पार्टीमा फरक विचार र अल्पमतको कदरसँगसँगै जाने भन्ने हो । द्वन्द्ववाद (डायलेक्टिक्स) भनेकै दुईभन्दा बढी बहुध्रुवीय मन्थन हो । यो प्रजातन्त्रको कोर आत्मा हो । 'नो डायलेक्टिक्स, नो डेमोक्रेसी' भनेकै यसैले हो, जसले मोनोपोली वैचारिकी अस्वीकार गर्छ । यही डायलेक्टिक्सले थेसिस–एन्टिथेसिस–सिन्थेसिसको अविच्छिन्न प्रक्रियालाई ऊर्ध्वगामी बनाउँछ र श्रेष्ठतम विचार पत्ता लगाउँछ । पुँजीपतिहरूले भन्ने गरेको डेमोक्रेसी नै डायलेक्टिक्सको जगमा निर्माण हुन्छ, जो सार्वभौम मानव चेतना हो । समस्या के भयो भने, यही डायलेक्टिक्सको प्रक्रियामा विचारको मन्थन र परिष्करण कम्युनिस्टहरूले गर्न नजानेका हुन् । नेपाली वामपन्थ पनि यसैको सिकार भयो ।
थप, नेपालका दुई ठुला वामपन्थी पार्टीहरूमा भएको अभ्यास हेर्दा के देखियो भने, यी पार्टीका शीर्ष नेताहरूले जे अह्राए, कार्यकर्ताले त्यही माने । कार्यकर्ता 'एस-म्यान' भए वा 'झोले' भए; भलै त्यो गलत थियो भने आलोचना गर्न सक्नुपर्ने हो तर गर्दैनन् । यस्तो सामन्तवादी संस्कृति मौलाएको छ वामपन्थी दलहरूभित्र । उफ! दासत्व स्वीकार गर्छन् कम्युनिस्ट कार्यकर्ताहरू । यो अवस्था कसरी पैदा भयो त? भन्दा कम्युनिस्ट पार्टीभित्र आन्तरिक विचार-मन्थन नहुँदा लोकतन्त्र (आन्तरिक जनवाद) समेत कमजोर भयो ।
जसबाट कार्यकर्ताको सृजनात्मक क्षमता विकास नै भएन । उनीहरू मार्क्सवाद, लेनिनवाद, माओवाद वा अन्य समसामयिक दर्शनहरू पढ्दैनन् । दर्शन र विचार-प्रणालीमा आएका सृजनात्मक विकास र समाजमा भएका नवीन प्रयोगहरू बारेको अध्ययन पनि कमजोर छ । अझ परम्परावाद, संशोधनवाद र जडसूत्रवादसँग कठोर वैचारिक लडाइँ गर्दै उत्तर-आधुनिक मार्क्सवादको गहकिलो वैश्विक बहस प्रारम्भ गरेका क. मदन भण्डारीको पनि पूरा अध्ययन गरेको देखिन्न यहाँका कम्युनिस्टहरूले ।
अझ राष्ट्रिय-अन्तर्राष्ट्रिय विषय प्रस्तुतीकरण गर्न डलरे एनजिओ ल्याउँछन् वामपन्थीहरू । यसले 'कोलोनियल वामपन्थ' लाई प्रश्रय दियो । यस्तो कमजोर छ ज्ञान-प्रणाली र चेतनास्तर हाम्रा वामपन्थी साथीहरूको । विचारको बहस, छलफल, वादविवाद, डिस्कोर्स, मीमांसा र प्रश्नोत्तर हुन छोडेको छ । प्रश्नोत्तर नै नभएपछि नेतृत्वले निरङ्कुशतावाद र देवत्वकरण लाद्दै गयो । पार्टी समितिहरू र संसद्हरूमा खल्तीका मानिस र पैसावालाको बोलवाला रह्यो । पार्टीको आदर्श, विचार, दर्शन र नीतिहरू कमजोर र अप्रभावी भए । आलोचनात्मक चेत हरायो, जो कम्युनिस्ट कार्यकर्ताको धारिलो औजार हो । यही भएर जनमुखीभन्दा पनि दलालमुखी र नवउदारवादी राजकीय नीतिहरू बने । आम जनताको जीवनस्तर बदलिएन तर दलाल बिचौलियाको जीवनस्तर उच्चस्तरीय भयो । यसैले नेपालमा सम्भ्रान्त र जमिनदार कम्युनिस्टहरू जन्मे ।
फुटैफुट नेपालका कम्युनिस्ट: पीडादायी प्रहसन
वर्ग-सङ्घर्षमार्फत सामाजिक न्याय, आर्थिक समानता र जनताकै शासन प्रणाली स्थापनाको परिकल्पना गरी साम्यवाद ल्याउने लक्ष्य बोकेका नेपालका बीसवटा भन्दा बढी कम्युनिस्ट पार्टीहरूलाई यति लज्जाबोध हुनुपर्ने हो कि जेन-जीको दुईदिने विद्रोहले यिनीहरूलाई नराम्रो गरी थेचारेको छ । दुई-तिहाइ जनता आफ्नो पक्षमा रहेको नेपाली वामपन्थ यतिबेला दुःखद पीडाबोधमा छ । यतिबेला जनपक्षीय, वामपन्थी, प्रगतिशील तप्का र मार्क्सवादी बुद्धिजीवीहरूलाई समेत शर्मिन्दा बनाएको छ । कम्युनिस्टहरू एकजुट हुने र एकीकृत पार्टी निर्माणभन्दा पनि फुटको बाटोमा छन्, जो इतिहासको पीडादायी लज्जाबोध हो ।
संसदीय प्रणालीको तीस वर्षयता सधैँजसो सत्ताको चास्नीमा डुबेका यी सक्कली कम्युनिस्ट नै थिएनन् कि भन्ने शङ्का छ । नयाँ इतिहास निर्माण र समाज परिवर्तन गर्ने वैचारिकी सामर्थ्य राखेको यो पक्षले सुनौलो समयलाई खेर फाल्यो । एमाले र माओवादी घटकले सत्तारोहण वरिपरि झैझगडा र घोचपेच गर्दै बिताए ।
यिनले कम्युनिस्ट प्रहसन जारी राखे । राज्यदोहनमार्फत व्यक्तिगत लाभ र निजी सम्पत्ति कसरी बढाउने ध्याउन्नमा मात्रै लागे उनीहरू । 'नेपो-बेबी' हुर्काए । करोडौँका विलासी बङ्गलामा बस्छन् नेपाली कम्युनिस्टहरू । निजी सम्पत्ति-मोह अति भएका वामपन्थी बने ।
शासक वर्गले गरेको ऐतिहासिक अन्याय, विभेद, दलन, सीमान्तकरण र थिचोमिचो सदाका लागि अन्त्य गरी इतिहासको कोर्स परिवर्तन, राज्य संरचनाहरूको समूल रूपान्तरण र श्रमजीवी जनताहरूको जीवनयापनमा समृद्धि ल्याउने सोचै गरेनन् । उत्पादनका साधनहरू र राजकीय पुँजी ब्रह्मलुट गर्न उल्टो बुर्जुवा वर्ग (कांग्रेस) सँगै चोचोमोजो मिलाए र सर्वसत्तावादका मतियार भए ।
एमालेको अहंकार, दम्भ र गैरजिम्मेवारपना यसमा दोषी देखिन्छ भने माओवादी पनि उत्तिकै गलत ठहरिन्छ भनेर शुभचिन्तकहरू भन्दैछन् । यसले एकातिर चरम आर्थिक असमानता पैदा गर्यो भने अर्कोतिर समाजको प्रगतिशील परिवर्तनलाई रोक्यो ।
यहीँबाट उत्पन्न जनआक्रोशले यिनलाई मिल्कायो पनि । 'संसारका कम्युनिस्टहरू एकजुट होऔँ' भनिएको अपीललाई नै मजाक बनाए । तापनि यसमा उनीहरू आत्मालोचित भई पश्चात्ताप गर्ने र गल्तीबाट शिक्षा लिनेतिर अझै गएका छैनन्; उल्टै जेन-जीलाई "किन आन्दोलन गर्यौ?" भनेर प्रश्न पो गर्दैछन् । यो ठूलो महाभूल हो ।
राज्य चलाउँदा गरिबी, असमानता, अन्याय, विभेद र बेरोजगारी अन्त्यका लागि इतिहास बदल्ने दुईवटा औजार यिनीहरूसँग थियो । सके क्रान्तिकारी परिवर्तन (समग्र उलटफेर) गर्ने, नसके उच्चस्तरीय आर्थिक-सामाजिक सुधारहरू मार्फत जनतालाई यथेष्ठ सामाजिक न्याय दिने । संविधानले पनि समाजवादउन्मुख नीति लिएको थियो, जसमा उनीहरूले संसदीय बहुमतका आधारमा सुधारवादी कानुन बनाई जनताका आधारभूत आवश्यकताहरू डेलिभरी गर्ने गरी उच्चस्तरको परिवर्तन ल्याउन सक्थे । कम्युनिस्टका लागि यस्तो परिस्थिति अनुकूल थियो नेपालमा ।
अग्रगमनको बाधक सामन्तवाद अन्त्य गर्न प्रथमतः क्रान्तिकारी भूमिसुधार र यसमा आधारित उद्यम-व्यावसायीकरणले राष्ट्रिय उत्पादन, रोजगारी र बचत बढाउने थियो; त्यो पटक्कै गरेनन्, चुके । यसैबाट समाजवादको आधारस्तम्भ औद्योगिकीकरण र राष्ट्रिय पुँजी निर्माण गर्न सक्थे । त्यो पनि गरेनन् । गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीमा समाजवादी प्रारूप ल्याउनै पर्थ्यो, त्यतापट्टि पनि हेरेनन् । उनीहरू नव-उदारवाद र मक्किएको-थोत्रो दलाल पुँजीवादलाई काखी च्याप्दै प्रतिगमनको यात्रामा रमाए ।
यिनले समाजलाई अग्रगमनपट्टि लानै चाहेनन् । सीमित नेतृत्व धनाढ्य भए, आम जनता बेरोजगारी र गरिबीको चक्रव्यूहभित्र परिरहे । अनि जनआक्रोश चुलियो । एमालेले हमेशा माओवादी निषेधको योजना बनायो जो घातक थियो र वस्तुगत थिएन । उनीहरूका मिल्ने एजेन्डाहरू धेरै थिए, तर मिलेनन् । आपसमा लडे ।
नेपाल: ए घोस्टल्यान्ड अफ कम्युनिज्म
महान् जननेता मदन भण्डारीले रुस र पूर्वी युरोपमा कम्युनिस्टहरू ढल्दै गर्दा नेपालमा 'जनताको बहुदलीय जनवाद' (अब जबजलाई अद्यावधिक गरी 'जलोज' अर्थात् जनताको लोकतान्त्रिक जनवाद बनाउन सकिन्छ) को खाका कोर्दै मार्क्सवादको रक्षा गर्नुभयो; तब 'न्युजविक' पत्रिकाले "मार्क्स नेपालमा जीवितै छन्, नेपाल असली कम्युनिस्ट देश हो" भनेर लेखेको थियो । कति गौरवशाली क्षण थियो त्यो नेपालका लागि । यसरी नै जनयुद्धका कमान्डर एवं जनवादी 'फ्युजन थ्योरी' का परिकल्पनाकार प्रचण्डलाई पनि बीबीसीले माओ र चे ग्वेभारा जस्तै संसारकै महान् क्रान्तिकारी नेताको सम्मान दिएको थियो । विडम्बना, यी दुई नेतृत्वका वाम पार्टीहरू एक आपसमा लड्दैछन् आज । यो निर्वाचनमा पनि मिलेनन् । सायद आजभोलि मिल्ने त भन्दैछन्, तर विचारले कि व्यक्तिगत स्वार्थले? इतिहासले सोध्दैछ ओली र प्रचण्डलाई ।
एक आपसमा लड्दा-लड्दै कमजोर भएका यी वामपन्थीहरू जेन-जीबाट पनि पछारिएका हुन् । नसच्चिने हो भने भोलि समाजबाटै पछारिन्छन् र बचेखुचेको इज्जत पनि सकिन्छ । त्यसपछि सायद उही पत्रिकाले यसरी लेख्ला– "नेपालः ए घोष्टल्याण्ड अफ कम्यूनिज्म"।
एक आपसमा लड्दा-लड्दै कमजोर भएका यी वामपन्थीहरू जेन-जीबाट पनि पछारिएका हुन् । नसच्चिने हो भने भोलि समाजबाटै पछारिन्छन् र बचेखुचेको इज्जत पनि सकिन्छ । त्यसपछि सायद उही पत्रिकाले यसरी लेख्ला– "नेपालः ए घोष्टल्याण्ड अफ कम्यूनिज्म"। अझ तल पारेर यसरी लेख्न सक्छ– "मेनी कम्यूनिष्ट डिक्टेटर, स्टील एलाईभ इन नेपाल"। थप लेख्ला– कम्युनिस्टहरू मासिएको देश, कम्युनिस्टहरू सर्वनाश भएको देश र नेपाल: कम्युनिस्टहरूको मसानघाट हो । अनि नेपाली कम्युनिस्ट पिशाच भए । अनि वामपन्थी प्रेतात्मा (घोस्ट) घुम्दै गरेको देश नेपाल भनेर पनि लेख्न सक्छ । उफ! कस्तो पीडादायी इतिहास बन्दैछ ।
धिक्कार छ, नेपालको सत्तालम्पट वामपन्थलाई! तिम्रो सर्वसत्तावाद र मैमत्ता अहंकारले हजारौँ सहिदका बलिदानमाथि आगो लगायौ र मेहनतकश-सर्वहारा वर्गको मुक्तिको सपना पनि पोल्यौ । तत्काल माफी माग समाज र आम जनतासँग र उठ, एकता गर, एकजुट बन– खरानी नहुँदै । अन्यथा समग्र वामपन्थी इतिहासको अन्त्य निश्चित छ नेपालमा ।
सारमा भन्दा, हामी गलत भयौँ । यो वामपन्थी पुस्ता साँच्चै नालायक बन्यो । यदुवंशी वामपन्थप्रति आउनुहोस् हामी समर्थकहरू आत्मालोचित बनौँ र कालान्तरको पनाति पुस्ताले फेरि समाजवादको लडाइँ गर्ला नि भनौँ । त्यतिसम्म आशा राखौँ अहिले । किनकि विचारका रूपमा मार्क्सवाद अजेय छ, यो अजम्बरी छ । जबसम्म समाजमा संरचनात्मक अन्याय, अत्याचार, विभेद र असमानता रहन्छ अनि पुँजीवादी शोषण रहन्छ, तबसम्म मार्क्सवाद पनि जीवित रहन्छ । यसैले कम्युनिस्ट मेनिफेस्टो जाग्नेछ फेरि नेपालमा, मार्क्स र एंगेल्सका सपना जाग्नेछन् फेरि । अनि हाम्रो क्रान्तिकारी इतिहासको न्यायका लागि इमानदार नेपाली नाति-पनातिहरू पनि मार्क्सकै अवतारमा जाग्नेछन् फेरि-फेरि ।
तसर्थ, उल्लेखित परिदृश्यमा आजको दिनलाई समग्र उत्पीडित वर्गले कम्युनिस्ट मेनिफेस्टो, अजम्बरी मार्क्सवाद, द्वन्द्वात्मक भौतिकवादभित्रको वैज्ञानिक विश्वदृष्टि-दर्शन-विचारसहित यसका जन्मदाता कार्ल मार्क्सलाई सम्झना गरौँ । मार्क्सबाट प्रेरणा लिऔँ, मानवतावादी र सृजनशील कम्युनिस्ट बनौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा विश्वकप २०२६: नकआउटमा पुग्ने र बाहिरिने टोलीहरू को–को हुन्?
-
नेपालमा भू–राजनीतिक तानातानी बढ्यो : वर्षमान पुन
-
प्रधानमन्त्री बालेनलाई मेयर रिनाको आग्रह : मौलापुर नगरपालिकालाई काम गर्न दिनुस्
-
के हामी स्ट्याटसबाट शासित हुन अभिशप्त छौँ?
-
थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा
-
चुरे बस्तीमा बाघ आतङ्क
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण