बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

लुम्बिनीमा मगर र थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग

बुधबार, २३ वैशाख २०८३, १७ : ४०
बुधबार, २३ वैशाख २०८३

बुटवल । लुम्बिनी प्रदेशमा मगर र थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग गरिएको छ । बुधबार मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष विभिन्न आदिवासी जनजाति संघ–संस्थाले भाषा, संस्कृति र पहिचानसँग सम्बन्धित माग राख्दै ज्ञापनपत्र बुझाउँदै सो माग गरेका हुन् ।

नेपाल मगर संघ लुम्बिनी प्रदेश समितिले मगर भाषालाई प्रदेशस्तरका सरकारी कामकाजको भाषाका रूपमा लागू गर्न माग गरेको छ।  आज संघका अध्यक्ष खलुप्रसाद पुनमगरद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा प्रदेशमा मगर भाषा व्यापक रूपमा बोलिने भएकाले सरकारी कार्यालय, सूचना तथा सेवा प्रवाहमा यसको प्रयोग सुनिश्चित गर्नुपर्ने उल्लेख गरिएको छ।

संघले मगर भाषा जान्ने कर्मचारीको व्यवस्थापन, आवश्यक तालिमको व्यवस्था तथा स्थानीय तहसँग समन्वय गरी प्रभावकारी कार्यान्वयन गर्नुपर्ने मागसमेत गरेको छ। यसबाट मगर समुदायलाई सरकारी सेवा प्राप्त गर्न सहज हुने र समावेशी शासन प्रणाली सुदृढ हुने विश्वास व्यक्त गरिएको छ।

यसैगरी, थारु कल्याणकारिणी सभा दाङले पनि थारु भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिन माग गर्दै मुख्यमन्त्रीसमक्ष ज्ञापनपत्र पेश गरेको छ। सभाका अध्यक्ष अशोककुमार चौधरीले लुम्बिनी प्रदेशमा थारु समुदायको उल्लेखनीय जनसङ्ख्या रहेको र भाषा आयोगको सिफारिससमेत भएकाले तत्काल कार्यान्वयन गर्नुपर्ने माग गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार  दशरथ घिमिरेले बताए । 

भेटमा मुख्यमन्त्री आचार्यले आदिवासी जनजातिहरूको भाषा, संस्कृति र सभ्यताको संरक्षण तथा प्रवर्द्धनका लागि प्रदेश सरकारले आवश्यक नीति तथा कानुन निर्माण गर्ने प्रतिबद्धता जनाएको सल्लाहकार घिमिरे जानकारी दिए । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप