मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ओरेन्ज क्यापमा क्लासनको कब्जा

बिहीबार, २४ वैशाख २०८३, १५ : १९
बिहीबार, २४ वैशाख २०८३

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपिएल) २०२६ मा सनराइजर्स हैदरावादले आफ्नो उत्कृष्ट लय कायम राख्दै अङ्क तालिकाको शीर्ष स्थान ओगटेको छ ।

बुधबार राति भएको उच्च स्कोरको खेलमा पञ्जाब किंग्सलाई ३३ रनले पराजित गर्दै हैदरावादले नयाँ उचाइ तय गरेको हो । हैदरावादले प्रस्तुत गरेको २३५ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा २०२ रन मात्र बनाउन सक्यो। यस खेलसँगै व्यक्तिगत विधाका दुवै ‘क्याप’ तालिकाहरूमा रोचक फेरबदल आएका छन् ।

हैदरावादका भरपर्दा ब्याटर हेनरिक क्लासनले सिजनभरिको उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै ओरेन्ज क्याप (सर्वाधिक रन बनाउने) को सूचीमा पहिलो स्थान हासिल गरेका छन्। पञ्जाब विरुद्ध ६९ रनको अर्धशतकीय इनिङ्स खेलेका क्लासनले ११ इनिङ्समा ४९४ रन पुर्‍याएका छन्। उनको स्ट्राइक रेट १५७.३२ रहेको छ भने यो सिजनको उनको पाँचौँ अर्धशतक हो ।

हैदरावादकै अर्का प्रभावशाली ब्याटर अभिषेक शर्मा ४७५ रनका साथ दोस्रो स्थानमा छन्। उनले पञ्जाब विरुद्ध १३ बलमा ३५ रनको आक्रामक योगदान दिएका थिए ।

दिल्ली क्यापिटल्सका ओपनर केएल राहुल ४४५ रनसहित तेस्रो स्थानमा रहँदा हैदरावादका इशान किशन ४०९ रनका साथ चौथो स्थानमा उक्लिएका छन्। राजस्थान रोयल्सका वैभव सूर्यवंशी (४०४ रन) र चेन्नई सुपर किंग्सका सञ्जु सामसन (४०२ रन) पनि ४०० रनको आँकडा पार गर्दै शीर्ष ६ भित्र अटाएका छन् ।

पञ्जाबका कपुर कोनोलीले ५९ बलमा १०७ रनको अविजित शतकीय इनिङ्स खेले पनि टोलीलाई जिताउन सकेनन्। उनी ३७७ रनका साथ तालिकाको ११ औँ स्थानमा पुगेका छन् ।

पर्पल क्यापः भुवनेश्वर कुमारको अग्रता कायमै

बलिङतर्फ भने रोयल च्यालेन्जर्स बेंगलुरुका भुवनेश्वर कुमार १७ विकेटका साथ पर्पल क्यापको दौडमा अगाडि छन् । चेन्नईका अंशुल कम्बोजको पनि १७ विकेट नै भए तापनि किफायती इकोनोमी रेटका आधारमा भुवनेश्वर शीर्ष स्थानमा छन् ।

पञ्जाब विरुद्ध १ विकेट लिएका हैदरावादका ईशान मलिङ्गा १६ विकेटका साथ तेस्रो स्थानमा उक्लिएका छन् । गुजरात टाइटन्सका कागिसो रबाडाको पनि १६ विकेट नै रहेको छ। राजस्थान रोयल्सका जोफ्रा आर्चर १५ विकेटसहित शीर्ष पाँचको अन्तिम स्थानमा छन्।

अङ्क तालिकामा हैदरावाद शीर्ष स्थानमा पुग्दा पञ्जाब दोस्रो स्थानमा झरेको छ । यो सिजन ब्याटर र बलर दुवैका लागि निकै चुनौतीपूर्ण र रोमाञ्चक बन्दै गएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप