के चीनले शान्ति सम्झौता गराउन सक्ला ?
सारांश
- इरानी विदेशमन्त्री अब्बास अरागचीले बेइजिङमा आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग भेट गरेका छन्।
- यो भेटघाट तेहरान र वासिङ्टनबिच शान्ति सम्झौता गराउने प्रयासहरू तीव्र भइरहेका बेला भएको हो।
- चीनले इरानमाथि अमेरिकी र इजरायली सैन्य कारबाहीको विरोध गरेको छ भने क्षेत्रीय स्थिरता र व्यापारका लागि जलमार्ग खुलाउन इरानलाई दबाब दिइरहेको छ।
इरानी विदेशमन्त्री अब्बास अरागचीले बुधबार बेइजिङमा आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग भेट गरेका छन्।
अमेरिकी राष्ट्रपतिले स्ट्रेट अफ होर्मुज जबर्जस्ती खुलाउने प्रयासहरू रोकेको घोषणा गरेसँगै तेहरान र वासिङ्टनबिच शान्ति सम्झौता गराउने प्रयासहरू तीव्र भइरहेका बेला यो भेटघाट भएको हो।
यो भ्रमण र यसको समयले अमेरिका-इरान युद्धमा चीनको महत्त्वपूर्ण स्वार्थ रहेको र द्वन्द्वको दिशा तय गर्न बेइजिङले खेल्न सक्ने भूमिकालाई उजागर गरेको विश्लेषकहरू बताउँछन्।
हङकङस्थित फिनिक्स टिभीले सार्वजनिक गरेको भिडियोअनुसार वाङले अरागचीसँगको भेटको सुरुमै भनेका थिए, ‘व्यापक युद्धविराममा कुनै ढिलाइ गर्नु हुँदैन, शत्रुता पुनः सुरु गर्नु उचित छैन र वार्तालाई निरन्तरता दिनु विशेष महत्त्वपूर्ण छ भन्ने हाम्रो मान्यता छ।’
डोनाल्ड ट्रम्पले आगामी मे १४ र १५ मा बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई भेट्नुभन्दा एक हप्ताअघि यो भ्रमण भएको हो। यसअघि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले विश्वको करिब पाँच भागको एक भाग तेल र ग्यास आयात-निर्यात हुने स्ट्रेट अफ होर्मुजमा लगाइएको नाकाबन्दी खुकुलो पार्न इरानलाई दबाब दिन चीनलाई आग्रह गरेका थिए।
इरानले स्ट्रेट अफ होर्मुजमा लगाएको प्रतिबन्ध र अमेरिकाले इरानी बन्दरगाहमा गरेको नाकाबन्दीले विश्व अर्थतन्त्रलाई नै धक्का दिएको छ।
रणनीतिक जलमार्गलाई लिएर तेहरान र वासिङ्टनबिच बढ्दो तनावकै बिच यो भेटघाट भएको हो। युद्ध सुरु भएपछि इरानले स्ट्रेट अफ होर्मुज हुँदै हुने पानीजहाजको आवतजावतमा रोक लगायो भने वासिङ्टनको सर्तअनुसार वार्ता गर्न तेहरानलाई बाध्य पार्ने उद्देश्यले अप्रिलको युद्धविरामपछि अमेरिकाले इरानी बन्दरगाहहरूमा आफ्नै नाकाबन्दी लगायो।
जलमार्ग हुँदै हुने पानीजहाजको आवतजावतमा आएको अवरोधले विश्व अर्थतन्त्रमै धक्का दिएको छ। यसले वासिङ्टन र बेइजिङबिचको तनावलाई पनि बेलाबेला गहिरो बनाएको छ, किनभने खाडी क्षेत्रबाट पूर्वी एसियातर्फ हुने ऊर्जा प्रवाहमा आएको अवरोधले चीन विशेष रूपमा प्रभावित भएको छ।
तर अमेरिकाले पनि मध्यावधि निर्वाचनअघि बढ्दो आन्तरिक इन्धनको मूल्यलगायत आर्थिक मन्दीको महसुस गरिरहेको छ। यस्तो अवस्थामा स्ट्रेट अफ होर्मुज खुलाउन र युद्धविराम सुरक्षित गर्न दुई विश्व शक्ति राष्ट्रबिच देखिएको साझा स्वार्थले कुनै पनि शान्ति सम्झौतामा बेइजिङलाई महत्त्वपूर्ण कूटनीतिक भूमिका खेल्ने ठाउँ दिएको विश्लेषकहरू बताउँछन्।
- चीनको सन्तुलित कूटनीति
द्वन्द्वभरि चीनले अमेरिकाको आलोचना गर्ने र क्षेत्रीय स्थिरताको आह्वान गर्ने कुरालाई सन्तुलनमा राख्ने प्रयास गरेको छ।
इरानको अर्धसरकारी तस्निम न्युज एजेन्सीका अनुसार बुधबारको भेटमा वाङले फेरि इरानविरुद्ध अमेरिकी र इजरायली सैन्य कारबाहीलाई ‘अवैध’ भन्दै निन्दा गरे। बेइजिङले पटक-पटक यो द्वन्द्वलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घनका रूपमा प्रस्तुत गर्दै आएको छ, तर इरानको हरेक कदमलाई पूर्ण रूपमा समर्थन गर्न भने ऊ हिचकिचाएको छ।
चीनले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको हत्यालाई खतरनाक सङ्केत भन्दै अन्तर्राष्ट्रिय राजनीति ‘जङ्गलको राज’तर्फ फर्किन सक्ने जोखिम रहेको भन्दै आलोचना पनि गरेको छ। रुससँगै बेइजिङले स्ट्रेट अफ होर्मुजमा इरानको कदमको निन्दा गर्ने राष्ट्रसंघीय सुरक्षा परिषद्का प्रयासहरूमा भिटो प्रयोग गरेको छ।
त्यसका साथै चीनले तेहरानसँगको आफ्नो आर्थिक सम्बन्धलाई लिएर बढ्दो अमेरिकी दबाबको पनि प्रतिवाद गरेको छ। वासिङ्टनले इरानी तेल खरिद गरेको आरोपमा चिनियाँ कम्पनीहरूमाथि प्रतिबन्ध लगाएको छ। बेइजिङले चिनियाँ कम्पनीहरूलाई ती प्रतिबन्धहरू पालना नगर्न निर्देशन दिएर यसको जवाफ दियो।
यद्यपि, अमेरिकी ट्रेजरी सेक्रेटरी स्कट बेसेन्टले अझै पनि चीनलाई सङ्कट कम गर्न तेहरानसँगको आफ्नो प्रभाव प्रयोग गर्न सार्वजनिक रूपमा आग्रह गरेका छन्। गत वर्षको अन्त्यतिर भएको प्रारम्भिक व्यापार सम्झौतापछि अमेरिका-चीन सम्बन्धमा आएको हालैको सुधारको सङ्केतस्वरूप यो आग्रह आएको हो।
चीनले एकातर्फ इरानमाथि अमेरिकी र इजरायली सैन्य कारबाहीको विरोध गरेको छ भने अर्कोतर्फ क्षेत्रीय स्थिरता र व्यापारका लागि जलमार्ग खुलाउन इरानलाई दबाब दिइरहेको छ।
बेइजिङस्थित सिङ्घ्वा विश्वविद्यालयको सेन्टर फर इन्टरनेसनल सेक्युरिटी एन्ड स्ट्राटेजी (सीआईएसएस) की अनुसन्धाता जोडी वेनका अनुसार चीनको सन्देश धेरैजसो स्ट्रेट अफ होर्मुज वरपर थप अस्थिरता रोक्नमै केन्द्रित छ, जुन चिनियाँ ऊर्जा आयात र व्यापारका लागि महत्त्वपूर्ण मार्ग हो।
वेनले भनिन्, ‘चीनले इरानलाई वार्ताको टेबुलमा फर्काउन र स्ट्रेट अफ होर्मुजलाई पहिले जस्तै खुला राख्न सक्दो प्रयास गर्नेछ भन्ने मलाई लाग्छ।’
- इरान चीनबाट के चाहन्छ?
वर्षौँको अमेरिकी प्रतिबन्धले इरानलाई चिनियाँ व्यापार र लगानीमा गहिरो रूपमा निर्भर बनाएपछि चीन तेहरानको सबैभन्दा महत्त्वपूर्ण आर्थिक जीवनरेखा बनेको छ।
चीनले इरानको तेल निर्यातको ठुलो हिस्सा प्रायः छुट मूल्यमा खरिद गर्छ। त्यसबाट आउने इरानी राजस्व ठुलो मात्रामा चिनियाँ वस्तु र सेवा खरिदमा खर्च हुन्छ। सन् २०२१ मा दुई देशले पूर्वाधार, व्यापार र सुरक्षा सहकार्यलाई समेटेर २५ वर्षे रणनीतिक साझेदारी सम्झौतामा हस्ताक्षर गरेपछि त्यो निर्भरता झनै गहिरिएको छ।
इरान चीनको कूटनीतिक समर्थन र राष्ट्रसंघमा सम्भावित प्रतिबन्धहरू रोक्न बेइजिङको साथ खोजिरहेको छ।
यस्तो पृष्ठभूमिमा अरागचीको भ्रमण द्वन्द्वको यो महत्त्वपूर्ण मोडमा बेइजिङबाट कूटनीतिक समर्थन सुरक्षित गर्ने उद्देश्यले पनि भएको विश्लेषकहरू बताउँछन्।
काउन्सिल फर अरब-ब्रिटिस अन्डरस्ट्यान्डिङका निर्देशक क्रिस डोयलले स्ट्रेट अफ होर्मुजमा तनाव कम गर्न सहमत भए चीनले इरानलाई कतिसम्म समर्थन गर्न तयार छ भन्ने कुरामा तेहरानले स्पष्टता खोजिरहेको हुन सक्ने अल जजिरालाई बताए।
डोयलले भने, ‘यदि उनीहरूले जलमार्ग खुला गर्ने निर्णय गरे बेइजिङले कूटनीतिक रूपमा र संयुक्त राष्ट्रसंघमा समर्थन जारी राख्नेछ भनेर बेइजिङबाट स्पष्टता र आश्वासन खोज्न इरानी विदेशमन्त्री सम्भवतः बेइजिङमा छन्।’
स्ट्रेट अफ होर्मुजसँग जोडिएका कुनै पनि थप प्रतिबन्धहरू रोक्न तेहरानलाई सम्भवतः राष्ट्रसंघमा चिनियाँ समर्थन आवश्यक पर्नेछ। इरानी अधिकारीहरूले आगामी हप्ता ट्रम्पसँग सीको वार्ताका क्रममा बेइजिङले लिने अडान र तेहरानलाई अप्ठ्यारो पर्ने गरी चीनले वासिङ्टनलाई कुनै छुट दिन्छ कि भन्ने विषयमा पनि आश्वासन खोजिरहेको विश्वास गरिएको छ।
वासिङ्टनले बेइजिङलाई इरानमाथिको आफ्नो प्रभाव प्रयोग गर्न निरन्तर दबाब दिइरहेको बेला यो भ्रमणको समय महत्त्वपूर्ण रहेको डोयलले बताए।
उनले भने, ‘आगामी हप्ता ट्रम्प आउँदै छन् र ट्रम्प प्रशासनले हालैका दिनमा बेइजिङमाथि इरानसँगको आफ्नो प्रभाव प्रयोग गरेर युद्ध अन्त्य गर्न र स्ट्रेट अफ होर्मुजको नाकाबन्दी हटाउन वार्ताको टेबुलमा ल्याउन दबाब दिइरहेको छ।’
अमेरिकी सञ्चारमाध्यमका रिपोर्टहरूले पनि चीनले इरानका लागि सैन्य सहयोग बढाउने विचार गरिरहेको सङ्केत गरेका छन्। सीबीएस न्युजले पेन्टागनका गुप्तचर विश्लेषकहरूलाई उद्धृत गर्दै बेइजिङले तेहरानलाई उन्नत रडार र हवाई रक्षा प्रणाली उपलब्ध गराउने कि नगराउने भन्ने विषयमा विचार गरिरहेको रिपोर्ट गरेको छ, यद्यपि अहिलेसम्म त्यस्तो कुनै हतियार दिइएको छ वा छैन भन्ने स्पष्ट छैन।
विश्लेषकहरूका अनुसार इरानको तत्कालको प्राथमिकता सम्भवतः जलमार्गमा आफ्ना गतिविधिहरू कम गर्न सहमत भए चीनले कूटनीतिक समर्थन जारी राख्ने आश्वासन सुरक्षित गर्नु हो।

- चीन इरानबाट के चाहन्छ?
चीनका मुख्य स्वार्थमध्ये क्षेत्रको स्थिरता र धेरै पश्चिमी देशहरूभन्दा तीव्र गतिमा बढिरहेको आफ्नो अर्थतन्त्रका लागि अनुकूल अवस्था सिर्जना गर्नु हो। स्ट्रेट अफ होर्मुज हुँदै वस्तुहरूको निर्वाध आवतजावत त्यसका लागि महत्त्वपूर्ण छ, किनभने लामो समयसम्मको अवरोधले चीनको अर्थतन्त्र र बृहत् विश्व बजारका साथै ऊर्जा सुरक्षामा पनि खतरा उत्पन्न गर्छ।
त्यसैले बेइजिङले तेहरानलाई जलमार्ग खुला राख्न र वार्तामा फर्किन दबाब दिने अपेक्षा गरिएको विश्लेषकहरू बताउँछन्।
साथै, चीनले इरानलाई मध्यपूर्वमा अमेरिकी प्रभावलाई सन्तुलनमा राख्ने महत्त्वपूर्ण क्षेत्रीय शक्तिका रूपमा हेर्छ र इरानी सरकार उल्लेखनीय रूपमा कमजोर भएको देख्न चाहँदैन।
इरानले चीनका लागि ऊर्जाबाहेकका रणनीतिक फाइदाहरू पनि प्रदान गर्छ। तेहरानले तेलको कारोबारमा चिनियाँ युआनको प्रयोगलाई बढवा दिइरहेको छ। अमेरिकी डलरको प्रभुत्वका बिच मुद्राको अन्तर्राष्ट्रिय भूमिका विस्तार गर्ने बेइजिङको बृहत् प्रयासलाई यसले समर्थन गर्छ।
विश्लेषकहरूका अनुसार चीनले यस सङ्कटलाई पूर्वी एसियाबाहिर पनि सम्झौता गराउन सक्ने विश्वव्यापी कूटनीतिक शक्तिका रूपमा आफ्नो छवि सुदृढ गर्ने अवसरका रूपमा पनि हेरेको हुन सक्छ।
पाकिस्तानले यसअघि नै क्षेत्रीय तनावमा बेइजिङलाई ठुलो मध्यस्थताको भूमिका खेल्न आह्वान गरिसकेको छ। अधिकारीहरूले अल जजिरालाई बताएअनुसार चीनलाई अमेरिका-इरान वार्ता स्थिर गर्न मद्दत गर्न सक्ने विश्वसनीय पात्रका रूपमा हेरिएको छ।
सफल कूटनीतिक हस्तक्षेपले साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सजस्ता खाडीका ऊर्जा उत्पादक राष्ट्रहरूमा चीनको प्रभाव बढाउनेछ भने एसियाभरिका ऊर्जा आयात गर्ने देशहरूमाथिको दबाब पनि कम गर्नेछ।
- चीनले अब के गर्न सक्छ?
आगामी दिनहरू निकै महत्त्वपूर्ण हुन सक्ने विश्लेषकहरू बताउँछन्।
जर्मनीको डीपीए समाचार एजेन्सीका अनुसार अमेरिका र खाडीका सहयोगी राष्ट्रहरूले स्ट्रेट अफ होर्मुज हुँदै सुरक्षित आवतजावतको ग्यारेन्टी गर्ने उद्देश्यले राष्ट्रसंघीय प्रस्तावको मस्यौदा तयार पारेका छन्। रिपोर्टअनुसार उक्त मस्यौदाले इरानलाई पानीजहाजहरूमाथिको आक्रमण रोक्न, समुद्री माइनहरू हटाउन र ट्रान्जिट शुल्क लिन बन्द गर्न आह्वान गरेको छ।
रुस र चीन दुवैबाट समर्थन जुटाउने प्रयासस्वरूप हालैका दिनमा यो प्रस्ताव परिमार्जन गरिएको छ।
डोयलले यो सङ्कटले बेइजिङलाई आफूलाई प्रमुख कूटनीतिक मध्यस्थकर्ताका रूपमा स्थापित गर्ने दुर्लभ अवसर प्रदान गरेको बताए।
सन् २०२३ मा साउदी अरेबिया र इरानबिचको सम्बन्ध सुधार गर्न बेइजिङले खेलेको भूमिकातर्फ औँल्याउँदै डोयलले भने, ‘यी सबै कुरामा मध्यस्थकर्ता बन्नु चीनका लागि एउटा ठुलो अवसर हुनेछ।’
‘यदि राष्ट्रपति सी र राष्ट्रपति ट्रम्पले केही निष्कर्ष निकाल्न सके दुवै विजेताका रूपमा देखा पर्न सक्छन् र विश्व अर्थतन्त्रलाई सङ्कटबाट फिर्ता ल्याउन मद्दत गर्न सक्छन्।’
तर डोयलले परिस्थिति अझै अस्थिर रहेको भन्दै चेतावनी दिए। उनले भने, ‘धेरै कुराहरू बिग्रन सक्छन्– यस क्षेत्रमा ठुलो तनाव छ, धेरै सैन्य उपकरणहरू छन् र सबै पक्षहरूबिच विश्वासको निकै कमी छ।’
तैपनि, ट्रम्प बेइजिङ भ्रमणको तयारीमा रहेको र अमेरिका र चीन दुवै गहिरो आर्थिक सङ्कटबाट बच्न आतुर रहेको अवस्थामा कूटनीति र दीर्घकालीन शान्ति सम्झौताका लागि सानो बाटो खुल्न सक्ने विश्लेषकहरूले आशा व्यक्त गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो संस्करणको ‘इन्डियन एम्बेसेडर्स क्रिकेट प्रतियोगिता’ सुरु
-
न्युजिल्यान्डविरुद्ध बेल्जियमको गोलवर्षा
-
धार्मिक आस्था र जैविक विविधताको अनुपम संगम : पार्वती कुण्ड
-
जहाँ प्रकृतिसँग लुकामारी गर्दै संस्कृतिसँग साक्षात्कार गर्न पाइन्छ (तस्बिरहरू)
-
बेल्जियमको अग्रता दोब्बर, ट्रसयार्डको दोस्रो गोल
-
बजेट कार्यान्वयन सुधारका लागि कर्णालीमा सधैँ उस्तै नीति, अवस्था ज्युँका त्युँ !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण