बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
विजय मल्ल भाग–७

विजय मल्लको साहित्यिक यात्रा

शनिबार, २६ वैशाख २०८३, ०९ : ००
शनिबार, २६ वैशाख २०८३

सारांश

  • विजय मल्ल बाल्यकालदेखि नै साहित्यमा रुचि राख्थे र आफ्ना बुबा तथा दाजुबाट प्रेरित भई कविता लेख्न थालेका थिए ।
  • उनका साहित्यिक यात्रामा बुबा, भवानी भिक्षु, सिद्धिचरण श्रेष्ठ, केदारमान व्यथित, लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौड्याल र बालकृष्ण सम जस्ता व्यक्तित्वहरूको प्रभाव परेको थियो ।
  • विजय मल्लको पहिलो कृति 'विजय मल्लका कविता' २०१६ सालमा प्रकाशित भएको थियो, जसमा मानवतावादी, अस्तित्ववादी र स्वच्छन्दतावादी दृष्टिकोण झल्किन्छ ।

विजय मल्लले बाल्यकालमै साहित्य बुझेका थिए । आफ्ना बुबा ऋद्धिबहादुर मल्लको साहित्यप्रतिको निष्ठाबाट उनी खूबै प्रेरित थिए । साथै आफ्ना दाजु गोविन्दबहादुर मल्ल ‘गोठाले’को सिर्जना पनि उनको प्रेरणा बनेको थियो । त्यसैले दरबार स्कुलमा पढेताका नै उनले कविता लेख्न थालेका थिए । त्यस स्कुलबाट विद्यार्थीद्वारा भित्ते पत्रिका प्रकाशित हुन्थ्यो । त्यही भित्ते पत्रिकामा उनले पनि ‘दुई पसले’ शीर्षकको एउटा कथा लेखेका थिए । 

त्यसै कथाले उनलाई त्यस बेला गुरुहरूमाझ परिचित गराएको थियो । त्यसपछि नै उनी शुक्रमण्डलीको भित्ते पत्रिकाको सम्पादकसमेत बनेका थिए । उनको साहित्यप्रतिको आकर्षण देखेर हेडमास्टर रूद्रराज पाण्डेले उनलाई ‘भविष्यको एउटा तारा’ भनेर सम्बोधन गरेका थिए ।

विजय मल्ल बालखैदेखि साहित्यसित सहोदरी थिए । उनी आठ वर्षको हुँदा नै उनको भित्री गोजीमा कागजका खोस्टा र चुरोटको बट्टाका टुक्राहरू हुन्थे । यसरी कागजका टुक्रा र चुरोटको बट्टामा कविता कोर्न उनले महाकवि लक्ष्मीप्रसाद देवकोटाको सिको गरेका थिए । उनको त्यो चालामाला देखेर एक पटक उनका बुबाले उनलाई भनेका थिए, ‘तँ त अचम्मकै प्राणी रहेछस् । बहुलाले झैँ कागजका टुक्राले खल्ती भरिछस् ।’ 

आफ्ना बुबाको कुरा सुनेर उनले जबाफ दिएका थिए, ‘यी कागजका टुक्राहरूमा मेरा कविता छन् ।’ उनको साहित्य उपरको झुकाव देखेर उनका बुबा उनीसित खुसी थिए । अनि केही दिनपछि उनका बुबाले उनलाई एउटा रजिस्टर कापी दिँदै भनेका थिए, ‘तैँले तेरा ती सबै कविता यसै कापीमा सार् ! अनि तेरा कविता सधैँलाई सुरक्षित हुन्छन् ।’ त्यसपछिदेखि भने विजय मल्लले पनि त्यसै गरेका थिए ।

विजय मल्ललाई साहित्यलेखनमा अभिप्रेरित गर्ने उनकै बुबा थिए । आफ्नो साहित्यलेखनका प्रथम गुरु आफ्नै बुबा भएको बेहोरा उनले सधैँभरि भन्दै पनि आएका थिए । यसै प्रसङ्गमा उनले लेखेका पनि थिए, ‘अहिलेसम्म पनि जब–जब म कुनै कपीमा कविता, कथा, नाटक लेख्न सुरु गर्छु, त्यस बखत मेरा बुबाको त्यस बेलाको अनुहार र उपदेशलाई सम्झन म थाल्छु र आजसम्म पनि मेरो मनस्थिति यस्तै प्रकारको रहेको छ ।’ 

एक दिन उनका बुबाले उनको त्यो बेहोरा थाहा पाए । अनि भोलिपल्टै उनका बुबाले बजारबाट विजय मल्लका हातमा दुईवटा किताब थमाइदिएका थिए ।

विजय मल्ल सानैमा उपन्यास पढ्थे । त्यति बेला प्रायः किशोरहरू जासुसी उपन्यास नै पढ्ने गर्थे । उनलाई जासुसी उपन्यास पढ्न उर्मिला राणाका छोरा शङ्करले उक्साएका थिए । त्यसैले उनले जासुसी उपन्यास खोजीखोजी पढ्न थाले । उनी एकान्त जहाँ छ, त्यहाँ उपन्यास लिएर पुग्थे । उनी शौचालयमा समेत पसेर त्यस्तै खाले उपन्यास पढ्थे । 

एक दिन उनका बुबाले उनको त्यो बेहोरा थाहा पाए । अनि भोलिपल्टै उनका बुबाले बजारबाट विजय मल्लका हातमा दुईवटा किताब थमाइदिएका थिए । आफ्ना बुबाबाट प्राप्त ती दुई कृति हिन्दी भाषामा लेखिएको प्रेमचन्द्रको ‘निर्मला’ उपन्यास र टोल्सटोयको अङ्ग्रेजी भाषाको ‘एक्काइस कथा’ थिए । उनले औपचारिक रूपमा पढेका प्रथम साहित्यिक कृति पनि तिनै थिए ।

विजय मल्ललाई लेख्न र पढ्न उद्धत गर्ने प्रमुख पात्र भवानी भिक्षु देखिए । भिक्षुकै कारण मल्ल साहित्यको भर्‍याङ चढ्न थालेका थिए । भिक्षुकै पारामा लागेर उनले प्रायः हिन्दी र अङ्ग्रेजी भाषामा लेखिएका कृति पढेका थिए । यसबारे उनले लेखे, ‘भवानी भिक्षु काजी दाइ (सिद्धिचरण श्रेष्ठ)का साथ हाम्रो घरमा आउनुभएको थियो र त्यसपछि उहाँ र बुबा घनिष्ठ मित्र हुनुभयो । उहाँले हिन्दीमा लेखेको ‘मानवकथा’ बुबाले नेपालीमा अनुवाद गरी ‘शारदा’मा प्रकाशित गरिदिनुभयो र त्यसपछि भिक्षु आफू स्वयम्ले नेपालीमै कथा लेख्न थाल्नुभयो र कैयौँ कथाहरू ‘शारदा’मा प्रकाशित भए । म पनि भिक्षुका साथमा हिन्दी बोल्ने अभ्यास र कविता लेख्ने प्रयास गर्न थालेँ । एक प्रकारले भिक्षुको ममाथि साहित्य र विचारको ठुलो प्रभाव परेको छ । भिक्षुको प्रेरणाले म शरच्चन्द्र, रवीन्द्रनाथ ठाकुर, प्रेमचन्द, जयनेन्द्रकुमार, भगवतीशरण बर्मा, अस्कर, मन्टो आदि कैयौँ लेखकका रचनाहरू हिन्दी भाषामा पढ्ने गर्ने र यसले गर्दा ममा साहित्यप्रतिको आस्था र रुचि जाग्रत् भयो र लेख्ने प्रेरणा प्राप्त भयो । यसै रीतले हिन्दीका तत्कालीन कविहरू महादेवी बर्मा, पन्त र बच्चन आदिसँग मेरो परिचय भयो । अङ्ग्रेजी र हिन्दी भाषाका अधिकांश लेखकहरूका रचना मैले पढ्न थालेँ । यसै प्रकारले रुसी, फ्रान्सेली, अमेरिकी साहित्यसँग मेरो परिचय बढ्दै गयो ।’

नेपाली भाषा सिक्दै गरेका भवानी भिक्षु विजय मल्लका नेपाली साहित्यिक गुरु थिए । भिक्षु आफू लेख्दै जान्थे र मल्लका अघि पनि कापीकलम राखिदिने गर्थे । यस विषयमा मल्लले आफ्नो डायरीमा पनि लेखे— ‘भवानी भिक्षुको विचारको ममाथि ठुलो प्रभाव पर्‍यो । उनैका कारण साहित्यप्रतिको मोह, आस्था र रुचि मभित्र जागृत भयो । त्यसपछि मैले पनि साहित्य लेख्न थालेँ ।’ 

त्यति मात्र होइन सिद्धिचरण श्रेष्ठ र केदारमान व्यथित पनि मल्लको साहित्यिक यात्राको भरपर्दो लिस्नो थिए । 

सिद्धिचरण श्रेष्ठसित चाहिँ विजय मल्लको घरायसी, आत्मीय र भरपर्दो सम्बन्ध थियो । यसैबारे मल्लले आफ्नो टिपोटमा पनि उल्लेख गरे, ‘म सिद्धिचरण श्रेष्ठलाई आफ्नै दाजुसमान काजी दाइ भनेर सम्बोधन गर्थेँ र अहिलेसम्म पनि उहाँलाई सम्झँदा काजी दाइ नै भनेर सम्झने गर्छु । लक्ष्मीप्रसाद देवकोटाका ‘सुन्दरीजल’, ‘यात्री’ आदि कविताहरू मैले ‘शारदा’मै पढेको थिएँ र मेरा बुबाकै कोठामा देवकोटाजीले प्रकाशित हुनुअगाडि नै ‘मुनामदन’ लय हालेर पढेर सुनाउनुभएको मैले सुन्ने अवसर पाएको थिएँ । काजी दाइ अर्थात् सिद्धिचरणको ‘मेरो प्यारो ओखलढुङ्गा र ‘जाऊँ गोमा त्यस देशमहाँ पीर कुनै पनि छैन जहाँ’ यो भनाइ भएको ‘गोमा’ शीर्षकको कविता ‘शारदा’ पत्रिकामा प्रकाशित हनुभन्दा अगाडि नै उहाँका मुखबाट सुन्ने अवसर पाएको थिएँ र मलाई त्यसले अत्यन्त प्रभावित पारेको थियो । काजी दाइलाई बुबाले बाल्यकालमा पढाउनुभएको हुनाले सधैँ आफू शिष्यझैँ छोरासमान व्यवहार गर्नुहुन्थ्यो र उहाँ पनि बुबालाई पाजू (मामा) भनेर सम्बोधन गर्नुहुन्थ्यो ।’

विजय मल्लले दरबार हाईस्कुलको भित्ते पत्रिकामा कविता लेखेर साहित्यलेखनको औपचारिक श्रीगणेश गरे । तर ‘शारदा’मा चाहिँ १९९७ सालमा ‘स्मृति’ शीर्षकको कविता लेखेर उनको मुद्रणका माध्यमको लेखन आरम्भ गरेका थिए ।

विजय मल्लले नौदस वर्ष भएदेखि नै नेपाली साहित्यका महारथीहरूको सामीप्य पाएका थिए । कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटा प्रायः ‘शारदा’को कार्यालय पुगिरहन्थे । विजय मल्ल भने उनीहरू कतिखेर आउलान् भनेर बाटो ढुकिरहन्थे । तिनै त्रिमूर्तिलाई पनि गुरु थापेर उनी आफ्नो सिर्जना गर्थे । त्यस बेला उनी लेख्दै त्रिमूर्तिलाई आफ्ना रचना सुनाउने गर्थे । 

त्यति बेलै आफ्नै घरमा शुक्रराज शास्त्री, सरदार रुद्रराज पाण्डे, गुरुप्रसाद मैनाली, गोपालप्रसाद रिमाल, पुष्करशमशेर, हृदयचन्द्रसिंह प्रधानसित पनि उनले सधैँ भेटघाट गर्ने अवसर पाएका थिए । त्यसै बेलादेखि उनका अर्का घनिष्ठ पात्र थिए— श्यामदास वैष्णव । मल्ल बाँचुन्जेल वैष्णवसित उनको घाँटी जोडिइ नै रहेको थियो ।

विजय मल्लले दरबार हाईस्कुलको भित्ते पत्रिकामा कविता लेखेर साहित्यलेखनको औपचारिक श्रीगणेश गरे । तर ‘शारदा’मा चाहिँ १९९७ सालमा ‘स्मृति’ शीर्षकको कविता लेखेर उनको मुद्रणका माध्यमको लेखन आरम्भ गरेका थिए । सुरुसुरुमा उनका रचना मिलाइदिने स्रष्टाचाहिँ भवानी भिक्षु नै थिए । उनलाई लेख्नै पर्छ भनेर घचघच्याउने पनि भिक्षु नै थिए । त्यति बेला भिक्षुको गुन्टा नै मल्लको घरमा थियो । त्यहीँ बसेर उनी खान्थे, सुत्थे र ‘शारदा’को सारा प्रुफ हेर्ने गर्थे । 

विजय मल्लको मन पर्ने विषय कथा श्रवण थियो । त्यसैले उनी सानैदेखि कथा सुन्न जोरगणेश प्रेस धाउँथे । त्यस प्रेसका कम्पोजिटर गोकुलदास तण्डुकार कथा भन्ने गर्थे । त्यसैले मल्ल उनको कथा सुन्न सधैँ उनैसित झुम्मिन्थे । बाल्यकालमा नै तण्डुकारको कथा सुनेर उनी कथालेखनमा आकृष्ट भएका थिए । 

त्यसपछि उनले कथा साहित्यलेखनमा ध्यान दिन थालेका थिए । त्यसबारे मल्लले उत्तम कुँँवरसित भनेका थिए, ‘गोकुलदासले दन्त्यकथा सुनाउँथ्यो, हामी केटाकेटी झुम्मिन्थ्यौँ, पछि आफ्ना बच्चा साथी वरिपरि राखी आफैँले दन्त्यकथा बनाई सुनाउन थालेँ, यसरी कथा बनाउन सुरु गरेँ ।’

विजय मल्लको कवितामा पनि रस थियो । कविताको कृति तयार भएपछि उनले पं.श्यामदास वैष्णवलाई पाण्डुलिपि जिम्मा लगाएका थिए । उनको कवितासङ्ग्रहको सम्पादन पं.श्यामदास वैष्णवले गरेका थिए । साथै सो कृतिको आवरण चित्र पनि वैष्णवले नै बनाएका थिए ।

विजय मल्ल सुरुदेखि नै ‘हुने बिरुवाको चिल्लो पात’ थिए । उनको पहिलो कृति ‘विजय मल्लका कविता’ हो र यो २०१६ सालमा प्रकाशित भएको थियो । त्यस कृतिको भूमिका लेख्ने क्रममा सिद्धिचरण श्रेष्ठले लेखेका थिए— ‘छन्द र अलङ्कारमा मात्र कवितालाई नबाँधी जोरदार गद्यद्वारा आफ्नो अभिव्यक्ति गर्ने कविको रूपमा विजय मल्ललाई हामीले पाइरहेका छौँ । उनका रचनामा विश्वासको भावना झङ्कृत हुन्छ, वर्तमान जीवनको करुण चित्रण तथा भावीको मङ्गलमय रूपको झाँकी पाइन्छ । विश्वबन्धुत्व, मानवकल्याणको भावनामा जोड दिई कवि परिवर्तन चाहन्छ ।’

विजय मल्लको साहित्यिक व्यक्तित्व लोभिलो र गर्विलो थियो । उनको लेखनकला नै आकर्षक थियो । उनको लेखनीका बारे उनकी अन्तरी छोरी प्रा.डा.उमा श्रेष्ठले लेखेकी छिन्, ‘मेरा बुबा लेखनमा व्यस्त रहँदा म भने नजिकै बसेर घण्टौँसम्म हेरिरहन्थेँ । मेचमा बसेर कुनै कथा, नाटक वा उपन्यास लेखिरहँदा उहाँको एउटा हातमा मार्कर कलम र अर्को हातमा चुरोट हुन्थ्यो । 

२०१६ सालदेखि नै विजय मल्लको काव्यात्मक व्यक्तित्वको चर्चापरिचर्चा हुन थालेको थियो ।

चुरोट खाँदाखाँदै नजिकै भएकी कुनै छोरीलाई उहाँले कालो कफी बनाउन लगाउनुहुन्थ्यो । हामी पनि तत्कालै भनेको मानेर कफी बनाइदिन्थ्यौँ । जाँगर चलेका बेला कफीलाई निकै बेर घोलेर तात्तातो र फिँजैफिँज भएको कफी बनाइदिन्थ्यौँ । तर धेरैजसोचाहिँ एक कप तातो पानीमा कफी घोलेर सामान्य पेय बनाइदिन्थ्यौँ । 

पटकपटक कफी पिउँदै बुबा कल्पनाको गहिराइमा पुगेर साहित्यसृजनमा व्यस्त भइरहँदा कहिलेकाहीँ त उहाँ आफ्ना छोरीहरूको नामसमेत बिर्सिनुहुन्थ्यो । कथानकको मोडमा आएको परिवर्तनसँगै उहाँको मुखाकृतिमा एक प्रकारको परिवर्तन भइरहेको र डायरीका पानामा द्रुतगतिमा कलम दगुरेको म नियालिरहन्थेँ । उहाँ लेखनमै हराउनुहुन्थ्यो । उहाँ अक्षर पनि साह्रै राम्रा लेख्नुहुन्थ्यो ।’

२०१६ सालदेखि नै विजय मल्लको काव्यात्मक व्यक्तित्वको चर्चापरिचर्चा हुन थालेको थियो । युगकवि सिद्धिचरण श्रेष्ठले उनका कविताका बारे लेखेपछि अरूहरूले पनि उनका कविता पढेर गम्न थाले, चिन्तन गर्न थाले र लेख्न, धुरिन थाले । वास्तवमा समकालीन पुस्तालाई काव्यात्मक हाँक दिन सक्ने, चुनौती दिन सक्ने र नेतृत्वसमेत दिन सक्ने उनीभित्र प्रबल खुबी थियो । 

मानवतावादी, अस्तित्ववादी र स्वच्छन्दतावादी दृष्टिकोणभित्रै जोधा, यौन र मनोविज्ञान उनका रचनाका विशेषता हुन् । उनका ती एकएक धारालाई समीक्षक डा.दुर्गाबहादुर घर्तीले विवेचना गरेका पनि छन् । यसै क्रममा उनले मल्लबारे विशेष प्रकाश पारेका पनि छन्— ‘विजय मल्लका कविता विचारप्रधान छन् । तिनमा विशेष गरी आजका मान्छेले भोग्नुपरेको अस्तित्वको सङ्कट प्रस्तुत गरिएको पाइन्छ । 

दोस्रो विश्वयुद्धपछि शक्तिशाली मुलुकहरूबिच जुन शीतयुद्ध चर्कियो, त्यसले तेस्रो विश्वयुद्धको त्रास पनि उत्पन्न गर्‍यो । आणविक हातहतियारको आविष्कार, शक्तिशाली देशहरूका बिच होडबाजी, विश्वको ध्रुवीकरणजस्ता कारणले मानवीय अस्तित्व समाप्त हुने परिस्थितिको सिर्जना हुन थाल्यो । त्यस प्रकारको विश्वजनीन परिस्थितिको अभिव्यक्ति विजय मल्लका कवितामा पाइन्छ ।’ 

विजय मल्लले नेपाली भाषा र नेपाल भाषासाहित्यमा कलम चलाएर उनी सधैँ आफूलाई पाठक र समीक्षकका हृदयमा पुर्‍याउन सफल भए । आदिकवि भानुभक्त आचार्यदेखि आजका पुस्तासम्मको लेखाजोखा गर्ने हो भने मल्ल सुयोग्य स्रष्टा मात्र नभएर भाग्यमानी कोटिमा दरिएका लेखकमध्ये एक जना कुशल रचनाकार पनि हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्रराज प्रसाई
नरेन्द्रराज प्रसाई
लेखकबाट थप