विजय मल्लको राजनीतिक जीवन
सारांश
- विजय मल्ल सानैदेखि क्रान्तिकारी स्वभावका थिए र राणा शासनको विरोधमा सक्रिय थिए ।
- उनलाई १९९७ सालमा राणा विरोधी पर्चा बाँडेको आरोपमा जेल सजाय सुनाइएको थियो ।
- २०१७ सालमा राजा महेन्द्रले काङ्ग्रेसको तखता पल्टाएपछि उनले राजनीतिबाट सन्न्यास लिएका थिए ।
विजय मल्ल सानैदेखि क्रान्तिकारी स्वभावका थिए । उनी आफ्ना दाजु गोविन्दबहादुर मल्लका कथा पढेर पनि क्रान्तिप्रति थप आकर्षित थिए । गोविन्द मल्लले राणाका डरले राणाकै विरोध गर्नका लागि ‘गोठाले’ उपनाउँ राखेका थिए ।
१९९७ सालमा राणाको विरोधमा लेख्दा गोविन्द मल्ललाई जेल हालिएको थियो । त्यसपछि भवानी भिक्षुले ‘शारदा’मा छापिएको ‘उसको भाले’ कथाका लेखक गोविन्दबहादुर मल्ल मेटेर ‘गोठाले’ लेखिदिएका थिए । यसै प्रसङ्गमा विजय मल्लले भने— ‘मेरो दाइको नाउँको पछाडि ‘गोठाले’ झुन्ड्याएर भिक्षुले राम्रो काम गरे । नत्र मेरो दाइ पनि सहिद बन्थे ।’
दरबार हाईस्कुलमा पढ्दा विजय मल्लका सहपाठी रामप्रसाद नेपाल थिए । तिनै नेपाल दाइको नाउँ हो— रामहरि शर्मा । त्यसैले मल्लको रामहरिसँग पनि आउजाउ हुन थालेको थियो । त्यसै बेला अर्थात् १९९७ सालमा रामहरिले मल्ललाई राणाको विरोधको पर्चा दिएका थिए ।
पर्चा बाँडेपछि मल्ललाई काठमाडौँ बस्न त्राहिमाम् भएको थियो । अनि उनले आफ्ना बुबालाई सबै कुरा बताएर भने— ‘म शारदा दाइ पढेकै ठाउँमा पढ्न जान पाऊँ । त्यस बेला मल्लका काका सिद्धिबहादुरका छोरा शारदा मल्ल कोलकातामा स्नातक पढ्दै थिए । अनि ऋद्धिबहादुरले अनुमति दिएपछि मल्ल स्कुले शिक्षा पढ्न कोलकातातिर लागेका थिए ।
विजय मल्ल गोपालप्रसाद रिमालको नेपाल प्रजा पञ्चायतमा रातोदिन सक्रिय थिए । २००३ सालको कुरा हो— क्रान्तिकारी गोपालप्रसाद रिमालको नेतृत्वमा मल्ल पनि रिमालकृत भजन गाउँदै मठमन्दिर पुगेका थिए । त्यो भजन केवल राणाका विरोधमा नै केन्द्रित थियो । त्यो बेहोरा थाहा पाएर रिमाल कैदी भए । अनि राणाका सेनाले विजय मल्ललाई भने केरकार गरेर छाडेका थिए ।
विजय मल्ल आफ्नो बुताले भ्याएसम्म आगो भएर राणाकै विरोधमा लागे । उनको शैलीलाई ठीक पार्नेहेतु २००४ सालमा पद्मशमशेरले हुकुम दिए— ‘ऋद्धिबहादुर मल्लको माइलो छोरालाई थुन्नु !’ उनलाई आमसभा गर्न उकास्ने दोष देखाएर दुई वर्षको जेल सजाय सुनाइएको थियो । जेलभित्र उनलाई नेल र हतकडी लगाइएको थियो । त्यस बेला यिनको अंश सर्वस्व गर्ने राणा सरकारले हुकुम दिएको थियो ।
२००७ सालको क्रान्तिपछि विजय मल्लहरूको सल्लाहले ‘नेपाल प्रजा पञ्चायत’ विघटन गरी यसलाई नेपाली काङ्ग्रेसमा समाहित गरियो । अनि मल्ल पनि काङ्ग्रेसका सक्रिय नेता भएका थिए भनाð । केही समयपछि उनी नेपाली काङ्ग्रेसको काठमाडाð शाखाको मुख्य नेतासमेत भए । उनी काङ्ग्रेसी नेताका भरपर्दो, इमानदार र विश्वासपात्रमा चिनिएका थिए ।
२००७ सालको क्रान्ति सफल भएपछि राजा त्रिभुवनले तनहुँका काङ्ग्रेसी गभर्नर श्रीभद्र शर्मा, विजय मल्ल, गोपालदास श्रेष्ठ र त्रिपुरवर सिंहलाई बोलाएर राजनीतिक विमर्श गरेका थिए । त्यस बेला भएको छलफल नेपाली काङ्ग्रेसको बैठकमा बीपीले राख्न लगाएका थिए । त्यस बैठकमा बीपी कोइरालाले भनेका थिए— ‘विजय मल्ल, श्रीभद्र शर्मा, गोपालदास श्रेष्ठ र त्रिपुरवर सिंहजस्ता इमानदार, विद्वान् र कर्तव्यनिष्ठ व्यक्तिहरू नेपाली काङ्ग्रेसमा हुनु भनेको काङ्ग्रेसको बढोत्तर हुनु हो ।’
विजय मल्लले नेपाली काङ्ग्रेसमा बौद्धिक खुराक पस्किरहे । उनले आफ्नो योगदानले आफूलाई उच्चकोटिमा दाखिल गराइरहे । उनी राजनीतिज्ञ मात्र नभएर विशिष्ट कोटिका साहित्यकार पनि हुन् भन्ने ठहर गरेर बीपी कोइरालाले उनलाई २०१६ सालमा काङ्ग्रेसको मुखपत्र ‘नेपाल पुकार’को सम्पादक पनि बनाइएको थियो ।
२००७ सालपछि विजय मल्लहरू राजाको राजकाजलाई सघाउन तल्लीन थिए । उनको कामले राजा त्रिभुवन पनि खुसी थिए । परिणामस्वरूप २०११ वैशाख १ गते राजा त्रिभुवनबाट गठन भएको सल्लाहकार सभामा विजय मल्ल पनि माननीय सदस्य भएका थिए । त्यति बेला महाकवि लक्ष्मीप्रसाद देवकोटा पनि राजाबाटै सो सभाको माननीय सदस्यमा मनोनीत भएका थिए । यी दुवै जना कट्टर देशभक्त भएकाले यिनीहरू राष्ट्र, राष्ट्रियता र राजनेताकै वकालत गर्थे । प्रायः साहित्यकै चर्चा, विमर्श र छलफलमा पनि यिनीहरूको दिनचर्या सकिएको हुन्थ्यो ।
२०१७ सालमा राजा महेन्द्रले काङ्ग्रेसको तखता पल्टाएपछि धेरै नेताको मुटु कामेको थियो । अनि मल्ल पनि हठात् रूपमा दुलोभित्र छिरेका थिए । त्यस घडी उनले भूमिगत जीवनमा नै ‘अनुराधा’ उपन्यास लेखेका थिए । त्यो उपन्यास लेखिसक्नासाथ अर्थात २०१७ साल फागुन १७ गते उनी जेलखाना पुगे । प्रा.गोपीकृष्ण शर्माका अनुसार ‘मल्ल कैदी भएको सूचना रानी रत्नराज्यका कानमा पुगेको थियो । रानी रत्नचाहिँ मल्लका पूर्व सहपाठी पनि थिइन् । त्यसैले २०१८ साल वैशाख १९ गते मल्ल जेलखाना मुक्त भए । त्यस बेला उनीसितै भूपी शेरचन, दौलतविक्रम विष्ट र पोषण पाण्डे पनि जेलमुक्त भएका थिए ।’ अनि त्यसै दिन मल्लले घोषणा गरेका थिए— ‘आजैदेखि मैले राजनीतिबाट संन्यास लिएको छु ।’
हुन त विजय मल्लको राजनीतिक पृष्ठभूमि उच्चस्तरीय थियो । उनी झन्डा, डन्डा र ढुङ्गा बोक्ने राजनीतिक कर्मी थिएनन् । उनी बौद्धिक राजनीतिज्ञमा सुपरिचत थिए । उनीबारे नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले लेखेका थिए— ‘२००७ सालपछि गणेशमान सिंहपछाडिका काठमाडाðमा तीन जना अत्यन्त ठूला नेता थिए— त्रिपुरवर सिंह, गोपालदास श्रेष्ठ र विजयबहादुर मल्ल । नेपालमा प्रजातन्त्र ल्याउनमा उनीहरू तिनै जनाको ठूलो भूमिका थियो । उनीहरूको त्यो योगदानको इतिहासलाई कालले पनि मेटाउन सक्तैन ।’
त्यति बेला नेपाली काङ्ग्रेसका राजनीतिज्ञहरूलाई विजय मल्लको साहित्यिक जीवनका बारे उति थाहा थिएन । यदि कसैकसैले उनी सिर्जना पनि गर्छन् भन्ने थाहा पाएका थिए भने पनि उनलाई राजनीतिज्ञकै हिसाबमा हेर्ने गर्थे । उनको राजनीतिक तराजु नै भारी थियो । उनको त्यही व्यक्तित्वबारे उनका घनिष्ठ मित्र श्रीभद्र शर्माले लेखेका छन्— ‘विजय मल्ललाई साहित्यकारभन्दा पनि काङ्ग्रेसको असल कार्यकर्ताको हिसाबले हेथ्र्यौं । पछि मात्र थाहा भयो उनी साहित्यकारका रूपमा स्थापित भइसकेका रहेछन् ।’
विजय मल्ल राजनीतिज्ञ भए तापनि साहित्यलाई राजनीतितिर कहिले धकेलेनन् र राजनीतिलाई पनि साहित्यमा प्रवेश गराएनन् । उनको यो नीतिको काङ्ग्रेसका बुद्धिजीवीहरूले पनि प्रशंसा गरेका थिए । यसै परिवेशमा पुरुषोत्तम बस्नेतले लेखे— ‘२०१७ सालको उत्तरार्धसम्म विजय मल्ल आफ्ना दुई समानान्तर व्यक्तित्वलाई सँगै लिएर अगाडि आइरहनुभएको थियो । उहाँको एउटा व्यक्तित्व थियो साहित्यकार र अर्को थियो राजनीतिज्ञ । तर यी दुई व्यक्तित्वलाई उहाँले कहिल्यै एउटासित अर्कोको भेटघाट हुन दिनुभएन । एकबाट अर्कोलाई अतिक्रमण हुन दिनुभएन ।’
राजनीतिमा रहुन्जेल विजय मल्लले निष्ठाकै राजनीति गरे । देशको चौतर्फी विकास र जनकल्याण नै राजनीतिको मूलमन्त्र हुनुपर्ने कुरामा उनी दृढ थिए । अनि जनतालाई झुक्याउने राजनीतिज्ञको पनि उनी कट्टर विरोधी थिए । खासमा उनको भावना र राजनीतिको धरातल बेग्लाबेग्लै देखिएकाले राजनीतिप्रति उनको वितृष्णा बढ्दै जान थालेकै थियो । साथै साहित्यलेखनमा उनको रुचिले बढोत्तरी पाउन थालेको पनि थियो । यी विविध कारणले नै उनले राजनीतिलाई तिलाञ्जली दिएका थिए । अनि त उनले दोहोर्याएर जनमाझ भनेका थिए— ‘मैले राजनीतिबाट सँन्यास लिएको छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कटुवा पेस्तोल र गोलीसहित सैलुन सञ्चालकसहित ३ जना पक्राउ
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण