२ दशकमा ज्येष्ठ नागरिक दोब्बर, व्यवस्थापनमा गम्भीर हुन सुझाव
सारांश
- विगत दुई दशकमा नेपालमा ६० वर्षभन्दा माथिको जनसङ्ख्या दोब्बर भई २९ लाख ७७ हजार ३ सय १८ पुगेको छ ।
- स्वास्थ्य सेवाको उपलब्धता र आर्थिक अवस्था सुधारिएपछि औसत आयु बढेको छ, जसले गर्दा घरघरमा ज्येष्ठ नागरिकको सङ्ख्या बढेको छ ।
- ज्येष्ठ नागरिक सम्बन्धी समाचार सञ्चार माध्यममा न्यून मात्रामा प्रस्तुत हुने गरेको र यसलाई सुधार गर्न अक्षरको आकार बढाउने तथा ब्रेल लिपिमा प्रकाशन गर्ने सुझाव दिइएको छ ।
काठमाडौँ । नेपालमा ज्येष्ठ नागरिकको जनसङ्ख्या द्रुत गतिमा बढेकोले उनीहरूको व्यवस्थापनमा राज्यले तत्काल पहल थाल्नुपर्ने विज्ञहरूले बताएका छन् । विगत दुई दशकमा नेपालमा ६० वर्ष भन्दा माथिको जनसङ्ख्या दोब्बर भइसकेको र अझै पनि वृद्धिदर उच्च भएकोले परिवार र राज्य यसमा गम्भीर हुनुपर्ने सरोकारवाल विज्ञहरूको सुझाव छ ।
मनमोहन स्मृति प्रतिष्ठानले आयोजना शनिवार र आइतबार गरेको दुई दिने अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक सम्मेलनमा प्रस्तुतीकरण गरिएका चार वटा छलफल सत्रमा सहभागी विज्ञहरूले अब ज्येष्ठ नागरिकको जनसङ्ख्या गनेर मात्र बस्नु उपयुक्त नहुने बताएका छन् ।
त्रिभुवन विश्वविद्यालय जनसङ्ख्या अध्ययन केन्द्रीय विभागका सहप्राध्यापक डा.पदमप्रसाद खतिवडाले नेपालमा बच्चा पाउने दर कम भए पनि बच्चा पाउने उमेरको जनसङ्ख्या ठुलो भएकोले यो समूह क्रमशः बुढ्यौलीतर्फ प्रवेश गरिरहेकोले नेपालमा आगामी केही दशकसम्म नै ज्येष्ठ नागरिकको जनसङ्ख्या बढिरहने बताए । उनले ज्येष्ठ नागरिकलाई राज्यले हेरचाह गर्ने सामाजिक सुरक्षाका कार्यक्रम व्यापक रूपमा बिस्तार गर्नुपर्ने आवश्यकता रहेको पनि औँल्याएका छन् ।
‘नेपालमा ज्येष्ठ नागरिक सम्बन्धी नीति कार्यक्रम मनमोहन अधिकारीले सुरु गरेको ज्येष्ठ नागरिक भत्ताबाट सुरु हुन्छ ’ खतिवडाको प्रस्तुतिमा भनिएको छ ‘२०५८ देखि ०६५ को अवधिमा यसको संस्थागत विकास भएको छ भने २०७२ को संविधानले ज्येष्ठ नागरिकका हकका बारेमा संवैधानिक सुनिश्चितता कायम गरेको छ ।’
त्रिविका पूर्वप्राध्यापक विधान आचार्यले नेपालमा स्वास्थ्य सेवाको उपलब्धता,बढ्दो आर्थिक अवस्था आदिका कारण औषत आयु बढ्दै गएको बताएका छन् । २०३८ सालतिर नेपालीको औसत आयु ४९.८ वर्ष रहेकोमा हाल करिब ७० वर्ष पुगेको उनले जानकारी दिए । ‘औसत आयु बढ्नु खुसीको कुरा हो ।
यससँगै घरघरमै ज्येष्ठ नागरिकको सङ्ख्या थपियो । उनीहरूको हेरचाह अहिलेको प्रमुख चुनौती बन्न थालेको छ’ आचार्यले भने, ‘यो चुनौतीको असर ज्येष्ठ नागरिकको जीवनमा परेको छ । उनीहरुले थप हेरचाह पाउनुपर्ने बेलामा अपहेलित त भएका छैनन् यसमा सबै पक्षको ध्यान जान ढिला भइसकेको छ । ’

कपन बहुमुखी क्याम्पसका प्रमुख एवं जनसङ्ख्या अध्येता भूमिदत्त पौडेलले २०५८ सालको जनगणनामा ज्येष्ठ नागरिकको जनसङ्ख्या १४ लाख ७७ हजार ३सय ७९ रहेकोमा २०७८ मा यो सङ्ख्या दोब्बर भन्दा बढी भएर २९ लाख ७७ हजार ३ सय १८ पुगेको बताए ।
पौडेलका अनुसार नेपालको औसत जनसङ्ख्या वृद्धिदरको तुलनामा ज्येष्ठ नागरिकको वृद्धिदर झन्डै तीन गुणा बढी छ । हाल नेपालको औसत जनसङ्ख्या वृद्धिदर ०.९३ प्रतिशत छ भने ज्येष्ठ नागरिकको वृद्धिदर ३.२ प्रतिशत छ । कुल जनसङ्ख्याको १०.२ प्रतिशत मानिसहरू ६० वर्ष भन्दा माथिको उमेरका छन् ।
सम्मेलनमा पत्रकार तथा जनसङ्ख्या विश्लेषक चेतन अधिकारीले ज्येष्ठ नागरिक र मिडिया कभरेजका सन्दर्भमा कार्यपत्र प्रस्तुत गरेका थिए । अधिकारीको प्रस्तुतिमा ज्येष्ठ नागरिकका समाचार सञ्चार माध्यममा ज्यादै न्यून मात्रामा प्रस्तुत भएको उल्लेख गरिएको थियो । नेपालका टेलिभिजनहरूतर्फ नेपाल टेलिभिजन, सेभेन स्टार फोर केले ज्येष्ठ नागरिक सम्बन्धी अन्तरसंवाद नियमित गर्ने गरेको र यात्री मिडिया नामक युट्युब च्यानलले पनि यस्तो कार्यक्रम नियमित गर्ने गरेको उल्लेख गरेका थिए ।
अधिकारीले वैशाख १६ देखि २२ गते सम्मका सात दिन गोरखापत्र, अन्नपूर्ण र अनलाइन खबरमा प्रकाशित समाचारको अवस्था विश्लेषण गरेका थिए । जसमा सात दिनमा गोरखापत्र र अन्नपूर्ण पोस्टले ज्येष्ठ नागरिक सम्बन्धी एउटा पनि समाचार प्रकाशन गरेको पाइएन । दैनिक करिब ३ सय वटा समाचार प्रकाशन गर्ने अनलाइन खबरले एक सातामा ज्येष्ठ नागरिक सम्बन्धी जम्मा तीन वटा समाचार प्रकाशन गरेको उल्लेख गरेका थिए ।
ज्येष्ठ नागरिक सम्बन्धी समाचार भाइरल नहुने,यसमा रिपोर्टिङ गर्नका लागि कुनै पनि मिडिया हाउसले अलग्गै पत्रकारलाई जिम्मेवारी नदिने,ज्येष्ठहरूको मिडियामा पहुँच कम हुने आदि कारणले ज्येष्ठ नागरिक सम्बन्धी समाचार न्यून प्राथमिकतामा परेको उल्लेख गरेका छन् ।
अधिकारीले दैनिक पत्रिकाहरूलाई ज्येष्ठ नागरिक मैत्री बनाउन अक्षरको आकार बढाउन, केही विषयवस्तु ब्रेल लिपिमा प्रकाशन गर्न पनि सुझाव दिएका छन् । यसैगरी मल्टिमिडिया पनि ज्येष्ठ नागरिक मैत्री बनाउन उनको सुझाव छ ।
‘ज्येष्ठ नागरिक सम्बन्धी अथाह विषयवस्तु समाजमा छन् । त्यत्तिकै मात्रामा तथ्याङ्क र प्रतिवेदन पनि छन् तर तिनलाई सञ्चार माध्यमले न्यून मात्रामा मात्र कभर गरेका छन्’ अधिकारीले भनेका छन्, ‘ज्येष्ठ नागरिक मैत्री नीति बनाउन राज्यलाई सुझाव वा दबाब दिन पनि मिडियाको ठुलो भूमिका छ । ’
सम्मेलनमा कर्ण शाक्य, स्नेही सायमी, ललितपुर महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, बुढानीलकण्ठ नगरपालिकाकी उपमेयर अनिता लामा,डा.रमेशबाबु काफ्ले,डा।तारा काफ्ले,डा।गणेशमान गुरुङ लगायतले ज्येष्ठ नागरिकका विविध पक्षमा आफ्ना प्रस्तुतिहरू राखेका थिए ।
सम्मेलनमा जापान, चीन, बङ्गलादेश लगायतका देशका जनसङ्ख्या शास्त्री तथा प्राध्यापकहरूले आफ्नो देशको ज्येष्ठ नागरिक व्यवस्थापन सम्बन्धी तथ्य तथ्याङ्क पनि प्रस्तुत गरेका थिए । आयोजक प्रतिष्ठानका अध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारी र ज्येष्ठ नागरिकसँगै जोडिएर आउने नाम भएकोले यो सम्मेलनको सान्दर्भिकता रहेको बताए । उनले सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण