कम्युनिस्ट आन्दोलन जनताको हृदयमा फेरि धड्किन चाहन्छ भने...
कुनै समय थियो, कम्युनिस्ट आन्दोलनका सहिद, योद्धा र अग्रज नेताहरूको स्मृतिसभा केवल कार्यक्रम हुँदैनथ्यो, त्यो जनभावनाको उभार हुन्थ्यो । त्यहाँ आँखा रसाउँथे, मुटु गर्जिन्थे, प्रतिबद्धताले नयाँ ऊर्जा पाउँथ्यो । सहिदका तस्बिर अगाडि उभिँदा मानिसहरूले आफ्नै भविष्य, आफ्नै सङ्घर्ष र आफ्नै सपनालाई पुनः एक पटक साक्षात्कार गर्थे ।
तर, आज दृश्य फेरिएको छ । स्मृति सभाका कुर्सीहरू खाली देखिन्छन् । श्रद्धाञ्जलीका शब्दहरू औपचारिक सुनिन थालेका छन् । कतिपय ठाउँमा त बेवास्ता र अपमानजनक प्रवृत्तिसमेत देखापर्न थालेका छन् । यो केवल मानिसहरूको संवेदनशीलता हराएको घटना होइन । यो कम्युनिस्ट आन्दोलनभित्र गहिरिँदै गएको वैचारिक, नैतिक र राजनीतिक सङ्कटको नाङ्गो यथार्थ हो ।
कम्युनिस्ट आन्दोलनले समानता, त्याग, श्रम, नैतिकता र जनताको मुक्तिको सपना देखायो । हजारौँ युवाले यही सपनाका लागि जेल–नेल भोगे । यातना सहे र जीवन बलिदान गरे । तर जब आन्दोलनको नेतृत्व स्वयं सत्ता, सम्पत्ति, गुट र व्यक्तिगत स्वार्थमा अल्झिन थाल्यो, तब जनताले प्रश्न गर्न थाले, ‘जसका नाममा आन्दोलन भयो, उनीहरूको आदर्श कहाँ हरायो ?’
भाषणमा क्रान्ति र व्यवहारमा विलासिता देखिएपछि स्मृतिसभाहरू पनि श्रद्धाको मञ्चभन्दा राजनीतिक अभिनय जस्ता देखिन थाले । जब विचार जीवनमा देखिँदैन, तब नाराले मानिसको हृदय छुन सक्दैन । आजको समाज उपभोगको संस्कृतिबाट निर्देशित छ । त्यागभन्दा सुविधा, सङ्घर्षभन्दा सफलता, आदर्शभन्दा व्यक्तिगत लाभलाई महत्त्व दिने मानसिकता तीव्र रूपमा फैलिएको छ ।
पुँजीवादी बजारले मानिसलाई नागरिकभन्दा उपभोक्ता बनाइरहेको छ । यस्तो वातावरणमा सहिदको बलिदान, आन्दोलनको इतिहास र सामूहिक सपनाको मूल्य क्रमशः ओझेलमा पर्दै गएको छ । नयाँ पुस्तालाई सङ्घर्षको कथा सुनाइयो, तर त्यसको संवेदना हस्तान्तरण गरिएन । परिणामतः इतिहास किताबभित्र सीमित भयो, चेतनामा होइन ।
दुःखद पक्ष के छ भने कतिपय स्मृतिसभाहरू स्वयं गुटीय शक्ति प्रदर्शनका मञ्च बन्न पुगेका छन् । श्रद्धाञ्जली भन्दा उपस्थितिको गणना महत्त्वपूर्ण हुन थालेपछि कार्यक्रमको आत्मा हराउन थालेको छ । जब सहिदको नाममा पनि राजनीतिक भागबण्डा र स्वार्थको गन्ध आउँछ, तब आम कार्यकर्ता र जनताको मनमा वितृष्णा पैदा हुनु अस्वाभाविक होइन ।
मानिसहरू सहिदलाई सम्मान गर्न चाहन्छन्, तर स्वार्थ प्रदर्शनको हिस्सा बन्न चाहँदैनन् । जनताको पीडा नबुझ्ने, जीवित कार्यकर्ताको सम्मान नगर्ने र सहिद परिवारलाई केवल भाषणमा सम्झिने प्रवृत्तिले नेतृत्वप्रतिको विश्वास कमजोर बनाएको छ ।
मानिसहरू आज सोधिरहेका छन्, ‘जसले जीवित सङ्घर्षकर्ताको आँसु पुछ्न सकेन, उसले सहिदप्रति सच्चा सम्मान कसरी गर्छ ?’ यही प्रश्नले स्मृतिसभाप्रतिको आत्मीयता घटाएको छ । श्रद्धा तब मात्र जीवित रहन्छ, जब व्यवहारमा मानवीयता बाँच्छ ।
कम्युनिस्ट आन्दोलनको मूल आत्मा सङ्घर्ष, अनुशासन, त्याग र सामूहिक प्रतिबद्धता हो । तर आन्दोलन क्रमशः सत्ताकेन्द्रित र पदमुखी बन्दै जाँदा सङ्घर्षशील संस्कृतिको स्थान अवसरवादी मानसिकताले लिन थाल्यो । जब आन्दोलनको केन्द्र विचार होइन पद बन्छ, तब स्मृति पनि बोझ लाग्न थाल्छ । बलिदानको इतिहास केवल भाषणको विषय बन्छ, जीवनको प्रेरणा होइन ।
स्मृतिसभामा घट्दो जनउपस्थिति केवल कार्यक्रम व्यवस्थापनको कमजोरी होइन । यो आन्दोलनभित्रको वैचारिक शिथिलता, नैतिक विचलन, संगठनात्मक विघटन र जनविश्वास सङ्कटको गम्भीर सङ्केत हो ।
कम्युनिस्ट आन्दोलनले फेरि जनताको हृदयमा स्थान बनाउन चाहन्छ भने सहिदको स्मृतिलाई केवल फूल चढाउने औपचारिकतामा सीमित राखेर पुग्दैन । स्मृति सभालाई आत्मसमीक्षा, वैचारिक पुनर्जागरण, सङ्घर्षशील संस्कृतिको पुनर्निर्माण र नयाँ पुस्तालाई इतिहाससँग जोड्ने जीवित राजनीतिक विद्यालय बनाउनुपर्छ ।
किनकि सहिदहरू केवल तस्बिर होइनन्, उनीहरू अधुरा सपनाका जीवित आवाज हुन् । र, जब आन्दोलनले आफ्ना सहिदको सम्मान गर्न छोड्छ, त्यसदिन आन्दोलनको आत्मा नै कमजोर हुन थाल्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराटनगरको फोहर व्यवस्थापन ठेक्कामा किचलो
-
राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएन : अध्यक्ष विश्वकर्मा
-
३ देश, ४८ टोली र नयाँ नियमसहित इतिहासकै सबैभन्दा ठुलो फुटबल महोत्सव
-
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता
-
निर्देशक देउजा र अभिनेत्री सिंहलाई ‘छायाछवि चलचित्रकर्मी रजत सम्मान’ प्रदान गरिने
-
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानुन कार्यान्वयनमा चुनौती : महान्यायाधिवक्ता कँडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण