सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

एमाले नेताहरूको कार्यविभाजन कि विशेष महाधिवेशन ?

बिहीबार, ३१ वैशाख २०८३, १६ : १३
बिहीबार, ३१ वैशाख २०८३

सारांश

  • नेकपा एमालेले ११औं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको ५ महिना बितिसक्दा पनि नेताहरूको कार्यविभाजन गर्न सकेको छैन।
  • विधान अनुसार गठन गर्नुपर्ने केन्द्रीय कमिटी, पोलिटव्युरो र स्थायी कमिटी जस्ता महत्त्वपूर्ण सांगठानिक संरचनाहरू समेत अहिलेसम्म बन्न सकेका छैनन्।
  • पार्टीभित्र युवा पुस्ताले नेतृत्व परिवर्तन र विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान चलाइरहेका छन्।

काठमाडौँ । गत पुसमा ११औँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको नेकपा एमालेले ५ महिना बित्दा पनि नेताहरूको कार्यविभाजन गरेको छैन ।

२०८२ मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको एमाले महाधिवेशन पुस ३ काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न भएको थियो । महाधिवेशनले १९ पदाधिकारीसहित ३०१ जना केन्द्रीय सदस्य निर्वाचित गरेका थियो ।

विधान अनुसार एमालेले अहिलेसम्म पनि पार्टीका महत्त्वपूर्ण सांगठानिक संरचना गठन गर्न सकेको छैन । एमाले विधानमा केन्द्रीय कमिटी, पोलिटव्युरो, स्थायी कमिटी र केन्द्रीय पदाधिकारी रहने व्यवस्था छ । केन्द्रीय कमिटीको एक तिहाइ सदस्य रहेको पोलिटव्युरो र त्यसको ३३ प्रतिशत रहनेगरी स्थायी कमिटी गठन गर्नुपर्ने व्यवस्था विधानमा छ । त्यतिमात्रै होइन, एमालेले केन्द्रीय सदस्यहरूको समेत अहिलेसम्म कार्यविभाजन भएको छैन ।

महाधिवेशनलगत्तै फागुन २१ को निर्वाचनमा लागेको एमालेले केही नेतालाई निर्वाचन प्रयोजनका लागि भन्दै अस्थायी जिम्मेवारी दिएको थियो । उक्त जिम्मेवारी पनि फागुन २१ को निर्वाचन सकिएसँगै खारेज भएको छ भने सबै केन्द्रीय सदस्य बेरोजगारजस्तै भएका छन् ।

‘हाम्रो पार्टी अहिले प्यारालाइज्ड जस्तै भएको छ । पार्टीमा कसैलाई पनि परिभाषित जिम्मेवारी छैन’, एमालेका एक केन्द्रीय सदस्यले रातोपाटीसँग भने, ‘कांग्रेस, नेकपा, रास्वपाले चुनावको समीक्षा गरेर अर्को चुनावको तयारी थालिसके, तर हाम्रो अझै प्रतिनिधि सभा चुनावकै समीक्षा भएको छैन ।’

ती नेताका अनुसार अध्यक्ष केपी शर्मा ओली हिरासतमा हुँदा पार्टी पनि हिरासतमै पुगेको अवस्था थियो । ‘ओली शोकमा पर्दा पार्टी पनि शोकमै रह्यो र अहिले ओली बिरामी हुँदा पार्टी पनि विरामी अवस्थामै छ,’ उनले भने ।

एमाले उपमहासचिव लेखराज भट्टचाहिँ परिस्थितिबस पार्टीले औपचारिक निर्णय गर्न नसकेको बताउँछन् । ‘महाधिवेशनपछि निर्वाचनमा लाग्नुपर्ने भयो । निर्वाचनमा लागियो । त्यसपछि अध्यक्ष शोकमा पर्नुभयो । त्यसबाट सामान्य अवस्थामा फर्कन नपाउँदै उहाँलाई सरकारले गिरफ्तार गर्‍यो । त्यसलगत्तै शल्यक्रिया गर्नुपर्ने भयो’, उपमहासचिव भट्टले भने, ‘विभिन्न परिस्थितिबस घटनाहरू हुदै जाँदा पार्टीका सांगठानिक संरचनाहरूलाई पूर्णता दिन नसकिएको हो, नियत नै राखेर होइन ।’

उपमहासचिव भट्टका अनुसार अझै पनि अध्यक्ष ओली स्वस्थ भइसकेका छैनन् । ‘उहाँ अझै पनि पूर्ण स्वस्थ भइसक्नुभएको छैन । तैपनि सचिवालय बैठक बसेर केन्द्रीय कमिटी बैठक राख्नेबारे छलफल हुँदैछ ।’ उनले अब बस्ने बैठकले केही महत्त्वपूर्ण निर्णय गर्न सक्ने बताए ।

एमाले केन्द्रीय सदस्य माधव ढुंगेलका अनुसार अब बस्ने केन्द्रीय समिति बैठकले नेताहरूको स्थयी कार्यविभाजन गर्नेछ । ‘निर्वाचनअघि चुनावी प्रयोजनका लागि अस्थायी जिम्मेवारी दिइएको थियो । त्यो जिम्मेवारी निर्वाचन सकिएसँगै खारेज भएको छ’, ढुंगेलले भने, ‘अब बस्ने केन्द्रीय कमिटीले नेताहरूको स्थायी जिम्मेवारी पनि तोक्नेछ ।’

एमालेले प्रदेश र जिल्ला इन्चार्जको अस्थायी जिम्मेवारीमात्र दिएको छ ।

जिम्मेवारी कि विशेष महाधिवेशन ?

फागुन २१ मा भएको निर्वाचनमा पार्टी नराम्ररी पराजित भएपछि नेकपा एमालेभित्र नेतृत्व परिवर्तनको आवाज उठ्दै आएको छ । निर्वाचनमा पार्टीले हार बेहोर्नुमा वर्तमान नेतृत्वको पूर्ण असफलता भएको भन्दै त्यसको ठोस विश्लेषण हुनुपर्ने माग युवा पुस्ताले गर्दै आएका छन् ।

उनीहरूले वर्तमान नेतृत्वबाट आगामी दिनमा पार्टी चल्न नसक्ने ठहरसहित पार्टी रुपान्तरण र नेतृत्व हस्तान्तरण जरुरी भएकाले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर अभियान नै चलाएका छन् । पार्टीका युवा, विद्यार्थीले यस्तो अभियान चलाए पनि अध्यक्ष ओली नेतृत्व छाड्न तयार छैनन् ।

पार्टीभित्रका युवा पुस्ताले नेतृत्व छाड्न दबाब दिएको बुझेका ओली विशेष महाधिवेशनको माग समेत औचित्यहीन भएको बताउँदै आएका छन् ।

‘केको विशेष महाधिवेशन ? नियमित महाधिवेशन भएको ६ महिना पनि भएको छैन । पार्टीमाथि राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा आक्रमण जारी छ’, अध्यक्ष ओलीले आफू निकटका नेताहरूलाई भन्ने गरेका छन्, ‘यस्तो बेला पार्टी र यही नेतृत्वलाई एकतावद्ध बनाएर लैजानुको विकल्प छैन ।’

तर विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर अभियान चलाइरहेका एमाले निकट राष्ट्रिय युवा संघका उपमहासचिव उपेन्द्र शाही अब बस्ने पार्टी सचिवालय बैठकमै महाधिवेशनबारे छलफल हुने दाबी गर्छन् ।

‘सचिवालय बैठकमा सचिवालय सदस्यहरूले पार्टीको विशेष महाधिवेशन नभनेर नियमित महाधिवेशनको कुरा उठाउनुहुन्छ’, शाहीले भने, ‘पार्टी रुपान्तरण र नेतृत्व परिवर्तनको मुद्दा थप बलियो बन्दै जान्छ ।’

उनले पार्टी रुपान्तरण नभए एमालेलाई अस्तित्व जोगाउन कठिन पर्ने भन्दै यसको जानकारी शीर्ष नेताहरूलाई समेत भइसकेको बताए । ‘एमाले पार्टी जोगाउने हो भने परिवर्तन जरुरी छ’, उनले भने, ‘अरु कुनै उपाय नै छैन ।’

विशेष महाधिवेशनको पक्षमा अभियान चलाइरहेका अनेरास्ववियुका उपमहासचिव कमल जोशीले यसअघि पार्टी बैठक कुर्न नेताहरूले आग्रह गरेको भन्दै सचिवालय बैठकपछि आफूहरू पनि थप निर्णयमा पुग्ने बताए । उनले सचिवालय बैठकले पार्टी पुनर्गठन गर्ने सङ्केत नगरे देशभर पुनर्गठनको पक्षमा अभियान चलाउने तयारी भएको पनि बताए ।

‘एमाले सचिवालय बैठक जेठ २ गते बोलाइएको छ । त्यो बैठकले पार्टी पुनर्गठनको पक्षमा निर्णय गर्छ भन्ने हाम्रो विश्वास हो’, जोशीले भने, ‘यदि पुनर्गठनको पक्षमा निर्णय गरेन भने हामी देशैभर पुनर्गठनको मुद्दा बोकेर अभियान चलाउँछौँ ।’

हालको पार्टी केन्द्रीय नेतृत्व विघटन गरेर नयाँ ढंगले अघि बढ्नुको विकल्प नभएको जोशीको दाबी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप