‘२० लाख बजेट नपाउँदा २ अर्बको नाट्यशालाको सपना गुम्यो’
सारांश
- वरिष्ठ कलाकार निशा शर्मा ३० वर्षपछि 'एक मुठी बादल' फिल्ममार्फत दर्शकमाझ फर्कन लागेकी छन् ।
- उनले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपतिबाट कार्यकाल नसकिँदै बिदा हुनुपरेकोमा सरकारको कार्यशैलीप्रति गुनासो गरेकी छन् ।
- प्रतिष्ठानमा रहँदा २ अर्बको नाट्यशाला बनाउने योजनाका लागि २० लाख बजेट नपाएको उनले बताइन् ।
निशा शर्मा नेपाली रङ्गमञ्चकी वरिष्ठ कलाकार हुन् । दशकौँदेखि नाटकको मञ्चमा आफ्नो जीवन्त अभिनय पस्कँदै आएकी शर्मा हालै मञ्चन भएको त्रिदेशीय नाटक उत्सवमा ‘अक्षता’मा सशक्त भूमिकाका साथ देखिएकी थिइन् ।
रङ्गमञ्चमा निरन्तर सक्रिय रहे पनि फिल्मको पर्दाबाट भने उनी लामो समय ओझेल परिन् । यसअघि फिल्म ‘परिभाषा’मा देखिएकी उनी ३० वर्षपछि ‘एक मुठी बादल’ मार्फत कमब्याक गर्दैछिन् । शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको यस फिल्ममार्फत दर्शकमाझ फर्कन पाउँदा उनको बेग्लै उत्साह र खुसी छ ।
उनी नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी निवर्तमान कुलपति हुन् । सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी ल्याएको पछिल्लो निर्णयसँगै उनी कुलपतिको जिम्मेवारीबाट बाहिरिएकी हुन् । आफ्नो कार्यकाल बाँकी छँदै पदमुक्त हुनुपर्दा उनी व्यक्तिगत रूपमा विचलित वा दुःखी भने छैनन् । तर, सरकारको कार्यशैलीप्रति उनको गुनासो छ । एउटा जिम्मेवार पदमा बसेर काम गरिरहेको व्यक्तिलाई बिदा गर्दा न्यूनतम शिष्टाचार र स्पष्टीकरणको मौकासमेत नदिइएको उनको चित्त दुखाइ छ । यी नै अभिनेत्री शर्मासँग रातोपाटीले गरेको कुराकानीको सम्पादित अंश :
- ३० वर्षपछि फिल्ममा फर्किनु भएको छ, यत्रो लामो समय फिल्म उद्योगबाट किन टाढिनुभयो ?
म फिल्मबाट पूरै टाढिएको त होइन, तर मलाई चित्तबुझ्दो कामै मिलेन । फिल्मका लागि अफर त निरन्तर आउँथ्यो । कहिले स्क्रिप्ट मन परेन, कहिले निर्देशकको काम गर्ने शैलीसँग तालमेल मिलेन । म अलि छानेर काम गर्ने स्वभावकी पनि छु । बिचमा ‘पानी फोटो’ भन्ने फिल्ममा काम गर्ने कुरा भएको थियो, तर स्वास्थ्यका कारण मैले त्यो प्रोजेक्ट छोड्नुपर्यो । मुख्य कुरा, मलाई मेरो अभिनयको कदर हुने र दर्शकले केही पाउने खालको भूमिकाको खोजी थियो, जुन अहिले ‘एक मुठी बादल’मा पाएँ । त्यसैले पनि करिब ३० वर्षपछि फिल्ममा काम गरेँ ।
_IlbJYLFNWV.jpg)
- लामो समयपछि फिल्ममा देखिँदा चुनौतीहरू के कस्ता छन् ?
जेनजी पुस्ताका लागि म नयाँ हुँ, उहाँहरूले म र मेरो अभिनयलाई कसरी लिनुहुन्छ भन्ने छ । अहिले प्रविधिको हिसाबले त धेरै ठूलो परिवर्तन आएको रहेछ । पहिला–पहिला हामीले काम गर्दा ‘बुम’ (साउन्ड रेकर्डर) समातेर हिँड्नुपर्थ्यो, अहिले सबै कुरा आधुनिक र सहज भएको छ । अहिलेको प्रविधि धेरै फास्ट छ । त्यस्तै, काम गर्ने शैलीमा पनि परिपक्वता आएको रहेछ । पहिला अनुभवको भरमा फिल्म बनाइन्थ्यो, अहिलेका युवा निर्देशकहरू पढेर र अध्ययन गरेर आउनुभएको छ । निर्देशकहरूको काममा परिपक्वता देखिन्छ ।
- ‘एक मुठी बादल’मा तपाईँलाई कुन रूपमा भेट्न सक्छौँ ?
– फिल्ममा म एउटा ‘आमा’को भूमिकामा छु । रोचक कुरा के छ भने, यस फिल्ममा पात्रहरूको नाम विशेष छैन, बरु सम्बन्धका आधारमा नामकरण गरिएको छ । जस्तै: जेठी छोरी, माइली छोरी, कान्छी छोरी, ज्वाइँसाहेब । म सबैको आमाको रूपमा प्रस्तुत भएकी छु । यो एउटा सशक्त आमाको पात्र हो । सामान्यतया बुबाले घरको भौतिक संरचना बनाउँछन् भनिन्छ, तर त्यो घरलाई माया, ममता र भावनाले जोडेर ‘साँचो घर’ बनाउने काम आमाको हुन्छ । यस फिल्मको आमाले पनि आफ्नो परिवारलाई त्यसरी नै सम्हालेकी छिन् ।
- लामो ग्यापपछि फिल्ममा देखिन ‘एक मुठी बादल’ किन नै रोज्नुभयो ?
–धेरै समयदेखि फिल्ममा देखिँदा फिल्म केही विशेष हुनुपर्छ भन्ने थियो । फिल्मका निर्माता समीप्यराज तिमिल्सिना र निर्देशक सहारा शर्मालाई भेटेर फिल्मको सोच र कथा सुनेपछि निकै मनपर्यो । ‘एक मुठी बादल’ व्यावसायिक नाचगान मात्र भएको फिल्म होइन, एउटा गम्भीर ‘आर्ट मुभी’ हो । यसले हाम्रो समाजको पारिवारिक कथालाई निकै नजिकबाट समेटेको छ । म रंगमञ्चको मान्छे भएकाले मलाई कथावस्तुले नछोई काम गर्न गाह्रो हुन्छ । यो फिल्मले मलाई त्यो सन्तुष्टि दियो ।
_3X32WMWZB9.jpg)
- शीर्षक ‘एक मुठी बादल’, देखाउन खोजिएको चाहिँ के हो ?
–शीर्षक निकै प्रतीकात्मक छ । मान्छेका सपनाहरू बादल जस्तै हुन्छन्, जसले निरन्तर आकार र रङ फेरिरहन्छन् । हामीले सपना देख्छौँ, तर ती सधैँ पूरा हुँदैनन् । मलाई त सपनाहरू आरुको फूल जस्तो लाग्छ— फुल्दा कति सुन्दर देखिन्छन्, तर हावाको एक झोक्काले सबै भुईँमा झारिदिन्छ । बादल विशाल देखिन्छ तर मुठीमा अटाउँदैन । यो फिल्म पनि त्यस्तै अपूरा सपना र जीवनका उतारचढावको कथा हो ।
- फिल्ममा ३० वर्षपछि अभिनय गरे पनि नाटकमा त सधैँ सक्रिय हुनुहुन्थ्यो । नाटक र फिल्ममध्ये कुन विधामा बढी मज्जा आउँछ ?
–मेरो आत्मा त नाटकमै बसेको छ । म नमरुन्जेल नाटक गरिरहन्छु । नाटकमा काम गर्दा एउटा कलाकारको भावना बिचमा टुट्दैन, एउटै प्रवाहमा अघि बढ्छ । दर्शकको अगाडि उभिएर प्रत्यक्ष प्रतिक्रिया पाउनुको मज्जा शब्दमा वर्णन गर्न सकिँदैन । फिल्ममा ‘कट’ र ‘रिटेक’ हुन्छ, तर नाटकमा एकैपटकमा सबै देखाउनुपर्छ, जसले कलाकारलाई बढी निखार्छ ।
_Lz1Oism5wM.jpg)
- अचेल नेपाली फिल्ममा थिएटरका कलाकारहरूको वर्चस्व छ नि ?
–यो त निकै खुसीको कुरा हो । थिएटरका कलाकारहरू एउटा चरित्रमा डुब्नका लागि निकै मेहनत र रिसर्च गर्छन् । उनीहरू अभिनयमा परिपक्व भइसकेका हुन्छन् । फिल्ममा आउँदा उनीहरूले त्यो चरित्रलाई न्याय गर्न सक्छन् भन्ने विश्वास निर्माण भएको छ । अर्को कुरा, फिल्ममा नाम, दाम, चर्चा सबै छ ।
- नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपतिबाट कार्यकाल नसकिँदै बिदा हुनुपर्यो नि ?
म यसलाई नकारात्मक रूपमा लिन्नँ । सरकार परिवर्तनसँगै राजनीतिक नियुक्तिहरू खारेज हुनु हाम्रो देशको चलन जस्तै भइसक्यो । तर मेरो एउटै गुनासो के हो भने, हामीलाई बोलाएर तपाईँहरूले के–के काम गर्नुभयो र के–के योजना बाँकी छन् भनेर सोध्न सम्म सोधिएन । १० मिनेटको समय दिएर हाम्रो कामको समीक्षा गरिदिएको भए हुन्थ्यो । म पैसा खुवाएर वा कसैको चाकडी गरेर कुलपति भएको थिइनँ, मेरो क्षमताका आधारमा मलाई त्यो जिम्मेवारी दिइएको थियो । पहिलाका सरकारले नियुक्ति दिएका सबैजना निकम्माहरू, नपढेलेखेका, पैसा खुवाएर झोलेहरू नै हुन् भन्ने होइन । मलाई त फोन आयो, ल तपाईँको नाम कुलपतिमा सिफारिस भएको छ, तपाईँ भोलि शपथ खान आउनु भनेर । म छक्क परेँ । भोलिपल्ट गएँ, शपथ खाएँ । मेरो पैसा खुवाउने औकात छैन, न मैले कसैको झोला बोकेको थिएँ । सबैलाई एउटै दृष्टिले हेर्नु गलत हो । त्यहाँ रहँदा मैले निकै राम्रो काम गरेको पनि छु । निकै राम्रा योजनाहरू अघि सारेकी थिएँ ।
_TaQQc2BsWP.jpg)
- प्रतिष्ठानमा छँदा तपाईंले अघि सार्नुभएको तर पूरा हुन बाँकी योजना पनि थिए र ?
– धेरै थिए । सबैभन्दा महत्त्वपूर्ण त, भारतीय राजदूतावासको सहयोगमा करिब २ अर्बको लागतमा एउटा अत्याधुनिक अन्तर्राष्ट्रिय स्तरको नाट्य हल बनाउने योजना थियो । त्यसका लागि २० लाख रुपैयाँको डीपीआर चाहिन्थ्यो । मैले तीन वर्षसम्म मन्त्रालय धाएँ, तर त्यो २० लाख बजेट पाउन सकिनँ । २० लाख खर्च नगर्दा अर्बौँको वैदेशिक लगानी गुम्ने स्थिति आयो । कला र संस्कृतिलाई नबुझ्ने मन्त्री भएपछि काम गर्न निकै गाह्रो हुन्छ । संस्कृति नै पर्यटनको जग हो, तर यहाँ यो कुरा बुझिएको छैन ।
- अन्त्यमा, ‘एक मुठी बादल’को पर्खाइमा रहेका दर्शकलाई के भन्न चाहनुहुन्छ ?
– म सबैलाई यो फिल्म एकपल्ट हेर्न आग्रह गर्छु । यो फिल्म हेरेपछि तपाईंले कतै न कतै आफूलाई त्यहाँका पात्रहरूसँग जोड्नुहुनेछ । विशेष गरी युवा पुस्ता र आमाबुबाहरूका लागि यसले एउटा छुट्टै सन्देश दिनेछ । हामीले आफ्ना सपना र सम्बन्धहरूलाई कसरी हेरिरहेका छौँ भन्ने कुरा यसले महसुस गराउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम बजेट विवाद कायमै, सहमतिविना धनगढी फर्किए मुख्यमन्त्री शाह
-
त्रिभुवन विश्वविद्यालयद्वारा भारतका विभिन्न विश्वविद्यालयबाट प्राप्त उपाधिको समकक्षता रद्द
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान
-
ललितपुरमा रोकेर राखेको ट्रकमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु
-
लालिगुराँस बहुउद्देश्यीय सहकारीको जग्गा लिलामी प्रक्रिया सुरु
-
पुँजी बजारलाई आर्थिक विकासको ‘इन्जिन’ बनाउन सांसद राणाको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण