काठमाडौँमा ‘अर्बान फ्लड’ को जोखिम : महानगरद्वारा ७४ जोखिमयुक्त स्थान पहिचान
सारांश
- काठमाडौँ महानगरपालिकाले मनसुनजन्य विपद् व्यवस्थापनका लागि सुरक्षा निकाय र सरोकारवाला संघसंस्थासँगको सहकार्यमा क्षमता अभिवृद्धि तालिम तथा कृत्रिम अभ्यास कार्यक्रम सम्पन्न गरेको छ।
- महानगरपालिकाको 'हजार्ड म्यापिङ' अनुसार ७४ स्थान मनसुनजन्य विपद्को उच्च जोखिममा रहेका छन्, जहाँ समुदायलाई लक्षित गरी सचेतना र तयारीका कार्यक्रम सञ्चालन गरिनेछ।
- यस्ता अभ्यासले विपद्को समयमा 'फर्स्ट रेस्पोन्डर'को क्षमता विकास गर्ने, सुरक्षा निकायको कार्यक्षमता अभिवृद्धि गर्ने, समन्वय सुधार गर्ने र स्थानीय स्रोतसाधनको प्रभावकारी प्रयोगमा जोड दिने अपेक्षा गरिएको छ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मनसुनजन्य विपद् व्यवस्थापन र पूर्व तयारीलाई प्रभावकारी बनाउन सुरक्षा निकाय तथा विभिन्न सरोकारवाला संघ–संस्थाको सहकार्यमा क्षमता अभिवृद्धि तालिम तथा कृत्रिम अभ्यास कार्यक्रम सम्पन्न गरेको छ।
महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौँमा बढ्दो सहरीकरण र ढलान प्रक्रियाले ‘अर्बान फ्लड’ (सहरी बाढी) को जोखिम निम्त्याएको बताउँदै विपद्को समयमा जनधनको क्षति न्यूनीकरण गर्न यो कार्यक्रम आयोजना गरिएको जानकारी दिइन्।
महानगरपालिकाले गरेको ‘हजार्ड म्यापिङ’ अनुसार महानगरभित्रका ७४ स्थान मनसुनजन्य विपद्को उच्च जोखिममा रहेका छन्। ती क्षेत्रमा समुदायलाई लक्षित गरी विशेष सचेतना र तयारीका कार्यक्रम सञ्चालन गरिने कार्यवाहक प्रमुख डंगोलले बताइन्। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, नेपाल स्काउट, रेडक्रस र विद्यार्थीको सहभागितामा सञ्चालित यस तालिमले विपद्को समयमा ‘फर्स्ट रेस्पोन्डर’ को क्षमता विकास गर्ने अपेक्षा गरिएको छ।
उद्धार कार्यमा सुरक्षा निकाय र स्थानीय समुदायबिचको निरन्तर सहकार्यले मात्रै सम्भावित जोखिमलाई कम गर्न सकिने उनले उल्लेख गरिन्। कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘विपद्को समयमा सधैँ प्राविधिक पूर्वाधार उपलब्ध नहुन सक्छ, यस्तो अवस्थामा स्थानीय स्तरमा उपलब्ध स्रोत र साधनको अधिकतम प्रयोग गरी उद्धार कार्यलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा यो सिमुलेशनले विशेष जोड दिएको छ।’
उनले पुल्चोक क्याम्पस (आईओई) ले प्रदर्शन गरेको प्रविधिको प्रशंसा गर्दै विपद् व्यवस्थापनमा प्रविधि र नवप्रवर्तनको भूमिका महत्त्वपूर्ण हुने बताइन्।
सशस्त्र प्रहरी बल, नेपालका वरिष्ठ उपरीक्षक (एसएसपी) ध्रुवबहादुर कार्कीले यस्ता अभ्यासले सुरक्षा निकायको कार्यक्षमता अभिवृद्धि गर्नुका साथै विपद्को समयमा प्रभावकारी परिचालनमा मद्दत पुग्ने बताए।
कार्कीका अनुसार यसले सुरक्षा जनशक्तिको आत्मविश्वास बढाउने, उपलब्ध प्रविधि र उपकरणको सही प्रयोग सिकाउने र समुदायमा सुरक्षाको प्रत्याभूति दिलाउने काम गर्छ। उनले विपद्को समयमा विभिन्न निकायहरूबिच हुन सक्ने समन्वयको अन्योल हटाउन र भूमिका स्पष्ट पार्न यस्ता अभ्यास निर्णायक हुने उल्लेख गरे। हाल मनसुन नजिकिएकाले सशस्त्र प्रहरीको ध्यान विशेष गरी मनसुनजन्य विपद् व्यवस्थापनमा केन्द्रित रहेको उनले स्पष्ट पारेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार्सिलोनाबाट अन्सु फातीको स्थायी बिदाइः ११ मिलियन युरोमा मोनाकोमा अनुबन्ध
-
सशक्त फ्रान्सविरुद्ध संयमित स्वीडेन
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण