रियलमा एम्बाप्पे र प्रशिक्षक अर्वेलोआबिच खटपट : मलाई चौथो रोजाइको फरवार्ड भनियो
सारांश
- रियल म्याड्रिडका स्ट्राइकर केलियन एम्बाप्पेले प्रशिक्षक अल्भारो अर्वेलोआले आफूलाई टोलीको 'चौथो फरवार्ड' भनेको खुलासा गरेका छन्।
- रियल ओभिडोविरुद्धको खेलमा बेन्चमा राखिएपछि फ्रान्सेली कप्तान एम्बाप्पेले यस्तो असन्तुष्टि व्यक्त गरेका हुन्।
- प्रशिक्षक अर्वेलोआले भने एम्बाप्पेले आफ्नो कुरा गलत बुझेको र जोखिम लिन नचाहेको बताएका छन्।
म्याड्रिड । रियल म्याड्रिडका स्टार स्ट्राइकर केलियन एम्बाप्पेले प्रशिक्षक अल्भारो अर्वेलोआले आफूलाई टोलीको ‘चौथो फरवार्ड’ भनेको खुलासा गरेका छन्।
रियल ओभिडोविरुद्धको खेलमा बेन्चमा राखिएपछि फ्रान्सेली कप्तान एम्बाप्पेले यस्तो असन्तुष्टि व्यक्त गरेका हुन्।
तिघ्राको चोटबाट निको भएर मैदान फर्किएका एम्बाप्पे बिहीबार ओभिडो विरुद्धको २–० को जितमा ६९औँ मिनेटमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका थिए। तर सान्टियागो बर्नाबेउमा उपस्थित रियलका रुष्ट समर्थकहरूले उनलाई सिट्टी बजाएर स्वागत गरेका थिए।
गत हप्ता बार्सिलोनाले एल क्लासिको जित्दै स्पेनिस ला लिगाको उपाधि कब्जा गर्दा एम्बाप्पे फिट नभएको भन्दै मैदान उत्रिएका थिएनन्। सोही समयमा उनी बिदा मनाउन सार्डिनिया गएपछि समर्थकहरूले उनको प्रतिबद्धतामाथि प्रश्न उठाउँदै आलोचना गरिरहेका छन्।
ओभिडोविरुद्धको खेलमा प्रशिक्षक अर्वेलोआले भिनिसियस जुनियर, फ्रान्को मस्टान्टुओनो र गोन्जालो गार्सियालाई आक्रमणको जिम्मेवारी दिएका थिए। खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै एम्बाप्पेले भने, ‘म १०० प्रतिशत ठिक छु, तर प्रशिक्षकले मलाई मस्टान्टुओनो, भिनिसियस र गोन्जालोपछि टोलीको चौथो फरवार्ड भएको बताएकाले म खेलिनँ।’
एम्बाप्पेले मैदान प्रवेश गरेपछि जुड बेलिङ्घमलाई दोस्रो गोलका लागि पास उपलब्ध गराएका थिए। उनले थपे, ‘अन्ततः मैले बेन्चमा बस्ने निर्णय स्वीकार गरे र जति समय पाएँ त्यसमा खेलेँ।’
चोटका बेला घुम्न गएको विषयमा उनले क्लबको अनुमति लिएरै गएको र यस परिस्थितिलाई आफूले सहजै बदल्न सक्ने दाबी गरे। यता प्रशिक्षक अर्वेलोआले भने एम्बाप्पेले आफ्नो कुरा गलत बुझेको बताएका छन्। उनले चार दिनअघि बेन्चमा समेत बस्न नसक्ने खेलाडीलाई आजै सुरुवातमै मैदान उतारेर जोखिम लिन नचाहेको प्रस्ट पारे।
अर्वेलोआले आइतबारको खेलमा एम्बाप्पे नै पहिलो रोजाइको फरवार्ड हुने जानकारी पहिले नै दिइसकेको दाबी गरे। उनले भने, ‘यो जीवन-मरणको खेल थिएन, त्यसैले मैले जोखिम लिन चाहिनँ।’
यस सिजन ४२ खेलमा ४१ गोल गरिसकेका एम्बाप्पे नखेल्दा दुखी हुनु स्वाभाविक भएको प्रशिक्षकको भनाइ छ। रियलका लागि यो सिजन निकै कष्टकर रहेको छ, जहाँ जनवरीमा जाभी अलोन्सोको स्थानमा अर्वेलोआ आएका थिए।
लगातार दोस्रो वर्ष कुनै ठुलो उपाधि जित्न नसकेपछि क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले चुनावको घोषणा समेत गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीको बजेट खर्च हालसम्मकै कमजोर, बल्लबल्ल फर्स्ट डिभिजन
-
बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन
-
जनसाङ्ख्यिकीय सङ्क्रमणको कोणबाट युवाका आकाङ्क्षा र राज्यको दायित्व
-
टाइफुन ‘बाभी’को कहर : चीनमा ९ लाखभन्दा बढी विस्थापित
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु
-
गणेश नेपाली घटनापछि सडकबाट हराए नगर प्रहरी, फेरि बढ्यो अव्यवस्थित पार्किङ (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण