बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

मानव बेचबिखन र साइबर अपराध नियन्त्रणमा नेपाल र थाइल्यान्डबिच सहकार्य सुद‌ृढ बनाउने सहमति

शुक्रबार, ०१ जेठ २०८३, १८ : ३८
शुक्रबार, ०१ जेठ २०८३

काठमाडाैँ । थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओली र रोयल थाई पुलिसको विशेष कार्यदलका निर्देशक प्रहरी महानिर्देशक थचाई पितानीलाबुतबिच शुक्रबार बैंककमा भेटवार्ता भएको छ। 

बैंककस्थित नेपाली दूतावासमा भएको भेटमा मानव बेचबिखन, तस्करी, अनलाइन स्क्यामिङ र साइबर अपराध जस्ता क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप मजबुत बनाउने विषयमा विस्तृत छलफल भएको हो।

भेटका क्रममा दुवै पक्षले क्षेत्रीय र विश्वव्यापी रूपमा मानव बेचबिखनको बदलिँदो प्रवृत्तिबारे समीक्षा गरेका छन्। विशेष गरी मानव तस्करहरूले थाइल्याण्डलाई ट्रान्जिट पोइन्टका रूपमा प्रयोग गर्दै पर्यटकीय भिसाको दुरुपयोग गरिरहेको विषयमा गम्भीर विचार–विमर्श भएको छ। प्रहरी महानिर्देशक थचाईले दूतावासबाट मानव बेचबिखनसम्बन्धी सूचना प्राप्त हुनासाथ थाई प्रहरीले तत्काल कारबाही अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

राजदूत ओलीले थाइल्याण्ड र छिमेकी मुलुकहरूमा बेचिएका नेपाली नागरिकहरूको उद्धार तथा स्वदेश फिर्तीमा रोयल थाई पुलिसले पुर्‍याएको सहयोगको प्रशंसा गरे। दुवै पक्षले छिमेकी देशहरूमा बढ्दो अनलाइन स्क्यामिङ अपरेसनका बारेमा छलफल गर्दै त्यस्ता केन्द्रहरूमा बेचिएका व्यक्तिहरूको उद्धारका लागि निकट सहकार्यको आवश्यकतामा जोड दिएका छन्।

भेटमा साइबर अपराध र तस्करीले निम्त्याएका गम्भीर चुनौतीहरूका बारेमा पनि छलफल भएको थियो। ट्रान्सनेशनल अपराधहरू विरुद्ध प्रभावकारी रूपमा लड्न दुवै देशका सुरक्षा निकायहरूबिच सहकार्य बलियो बनाउने सहमति भएको छ। 

दुवै पक्षले कानुन कार्यान्वयन गर्ने निकायहरूबिच गुप्तचरी र सूचना आदानप्रदानलाई संस्थागत गर्ने र नेपाल एवं थाइल्याण्डका प्रहरी संस्थाहरूबिच क्षमता अभिवृद्धिका क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता जनाएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप