परराष्ट्र नीतिमा हीनताबोध त्याग्न आवश्यक छ : विज्ञ अधिकारी
सारांश
- परराष्ट्र मामिला तथा सुरक्षा विज्ञ इन्द्र अधिकारीले नेपालको परराष्ट्र कूटनीति सञ्चालनमा शासकहरू संवेदनशील भू-अवस्थितिबारे सचेत रहेको बताएकी छन् ।
- उनले नेपालले कानुनी रूपमा सार्वभौमसत्ता कायम राखे पनि व्यवहारिक रूपमा आफूलाई कमजोर प्रस्तुत गर्ने गरेको विश्लेषण गरिन् ।
- विज्ञ अधिकारीले पृथ्वीनारायण शाहको 'दुई ढुङ्गाबिचको तरुल' भन्ने उपदेशलाई परराष्ट्र नीतिको मूल मन्त्र बनाउनु हीनताबोधपूर्ण भएको टिप्पणी गरिन् ।
काठमाडौँ । परराष्ट्र मामिला तथा सुरक्षा विज्ञ इन्द्र अधिकारीले नेपालको परराष्ट्र कूटनीति सञ्चालनका क्रममा ऐतिहासिक कालदेखि नै शासकहरू यहाँको संवेदनशील भू–अवस्थितिबारे सचेत रहेको बताएकी छन् ।
नेपालको सार्वभौमसत्तालाई विभिन्न राजनीतिक प्रणालीहरूमा नेतृत्वले जोगाउँदै ल्याएको भए पनि कूटनीतिक अभ्यासमा कतिपय अवस्थामा ‘हीनताबोध’ झल्कने गरेको उनको विश्लेषण छ ।
अधिकारीका अनुसार नेपालले कानुनी रूपमा (डि–ज्युरे) आफ्नो सार्वभौमसत्ता कायम राखे पनि व्यवहारिक (डि–फ्याक्टो) रूपमा आफूलाई कमजोर वा ‘इन्फेरियर’ ढङ्गले प्रस्तुत गर्ने गरेको पाइएको छ । विशेष गरी पृथ्वीनारायण शाहको ‘दुई ढुङ्गाबिचको तरुल’ भन्ने उपदेशलाई सन्दर्भ जोड्दै उनले यस भाष्यले नेपाललाई स्वभावैले कमजोर र चलखेल गर्न नसक्ने राज्यका रूपमा चित्रण गरेको टिप्पणी गरिन् ।
नेपाललाई ‘बफर जोन’ (मध्यवर्ती क्षेत्र) मान्ने गरिएको विषयमा स्पष्ट पार्दै उनले नेपालले आफूलाई कहिल्यै पनि औपचारिक रूपमा ‘बफर स्टेट’ स्वीकार नगरेको जानकारी दिइन् । ‘बफर स्टेट’ हुनका लागि दुई ठुला र शक्ति राष्ट्रहरूबिच द्वन्द्व रोक्न सक्ने हैसियत भएको राज्य हुनुपर्ने र ती शक्ति राष्ट्रहरूले उक्त राज्यको सीमासम्म मात्र आफ्नो प्रभाव सीमित रहने गरी औपचारिक वा अनौपचारिक सहमति गरेको हुनुपर्ने उनको तर्क छ । नेपालको हकमा यस्तो कुनै पनि अन्तर्राष्ट्रिय मान्यता वा सहमति नरहेको उनले स्पष्ट पारिन् ।
उनले भनिन्- ‘त्यो समयको सन्दर्भमा उक्त भनाइको व्यवहारिक महत्त्व भए पनि यसलाई परराष्ट्र नीतिको मूल मन्त्र बनाइनु आफैँमा हीनताबोधपूर्ण छ । यसले हामीलाई सधैँ कमजोर र असुरक्षित महसुस गराउने भाष्य निर्माण गरेको छ ।’
वर्तमान सन्दर्भमा नेपाल सरकारले अवलम्बन गर्न खोजेको ‘बफर टु ब्रिज’ (मध्यवर्तीबाट पुल) को अवधारणामाथि चर्चा गर्दै अधिकारीले नेपालको भू–राजनीतिक संवेदनशीलतालाई अवसरमा बदल्नुपर्नेमा जोड दिए ।
दुई छिमेकी मुलुकका बिचमा सन्तुलित कूटनीति कायम गर्दै नेपालले आफ्नो सार्वभौम हैसियतलाई दृढतापूर्वक प्रस्तुत गर्नुपर्ने उनको सुझाव छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण