आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय
३३ औँ मदन–आश्रित स्मृति

‘टनकपुरको सवालमा गिरिजाप्रसादले ढाँटेपछि मदनले आन्दोलन थाल्नुभयो’

आइतबार, ०३ जेठ २०८३, ०८ : १२
आइतबार, ०३ जेठ २०८३

सारांश

  • २०५० साल जेठ ३ गते दासढुंगा जिप दुर्घटनामा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र जीवराज आश्रितको मृत्यु भएको थियो, जसको सत्यतथ्य अहिलेसम्म सार्वजनिक भएको छैन ।
  • नेता प्रदीप ज्ञवालीका अनुसार मदन भण्डारीको लोकप्रियताको मुख्य कारण कम्युनिस्ट आन्दोलनको लोकतान्त्रीकरण, राष्ट्रियताप्रतिको अडान र अद्भुत वाककला थियो ।
  • तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले टनकपुर सन्धिबारे ढाँटेपछि मदन भण्डारीले त्यस विरुद्ध आन्दोलनको नेतृत्व गरेको र उहाँको मृत्युको रहस्य अझै खुल्न नसकेको ज्ञवालीले बताएका छन् ।

काठमाडौं । आज ३३ औँ मदन–आश्रित स्मृति दिवस । २०५० साल जेठ ३ गते दासढुंगा जिप दुर्घटना हुँदा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र जीवराज आश्रितको त्रिशूलीमा मृत्यु भयो । तीनवटा आयोग बने तर उक्त घटनाको सत्यतथ्य भने अहिलेसम्म सार्वजनिक भएको छैन । नेपाली राजनीतिमा मदनको योगदान र उनको मृत्युका सवालमा मदन–आश्रित प्रतिष्ठानका अध्यक्ष तथा एमाले नेता प्रदीप ज्ञवालीसँग रातोपाटीले कुराकानी गरेको छ । प्रस्तुत छ नेता ज्ञवालीसँग गरिएको संवाद ः

मदन भण्डारीलाई तपाईँले पहिलो पटक कसरी, कहाँ र कहिले भेट्नुभयो ? बताइदिनुस् न ?

मदन भण्डारीलाई आकलझुकल देखे पनि उहाँसँग मेरो सविस्तार कुराकानी भएको २०४६ साल भदौमा सिराहाको सर्रे अम्बासमा भएको चौथो महाधिवेशनमा हो । म पनि त्यहाँ प्रतिनिधि थिएँ । केही इस्युहरूमा उहाँसँग हाम्रो गम्भीर छलफल भएको थियो । खासगरी ’मूल कार्यनीतिक नारा’ के बनाउने भन्ने सन्दर्भमा त्यतिबेला पार्टीभित्र तीनवटा विचार उठेका थिए । जसमा सीपी मैनाली ’पार्टी स्वतन्त्रता’ मात्रै भनेर जानुपर्छ भन्ने पक्षमा हुनुहुन्थ्यो । तर, त्यसले पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलीय व्यवस्थाको स्थापनाको मूल भावलाई बोक्दैनथ्यो, त्यो अधुरो हुन्थ्यो । अर्कोतर्फ, केही साथीहरू ’संविधानसभाको माग’ गरेर जानुपर्छ भन्नेमा हुनुहुन्थ्यो । तर, त्यसले नेपाली कांग्रेस र वामपन्थीहरूको सहकार्यको ढोका बन्द गरिदिन्थ्यो । किनभने नेपाली कांग्रेस संविधानसभामा जाने सम्भावना नै थिएन ।

त्यो स्थितिमा सबभन्दा उपयुक्त ’पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलीय व्यवस्थाको स्थापना’लाई मूल नारा बनाउनुपर्छ भन्ने थियो । त्यस विषयमा मदनसँग लामो छलफल भएको मलाई सम्झना छ । उहाँ पनि त्यही पक्षमा हुनुहुन्थ्यो । तर, नेताहरूको बीचमा एक खालको सम्झौता जस्तो भएर संविधानसभातिर जाने कि भन्ने आशय प्रकट भएपछि र अध्यक्ष मण्डलले त्यस्तो प्रस्ताव गरेपछि, सबैभन्दा पहिले केपी ओलीले त्यसको विरोध गर्नुभयो । त्यसपछि ’यो बाटो गलत हुन्छ’ भनेर हामी सबैले पनि विरोध गर्‍यौँ ।

त्यो क्रममा मदनसहित अध्यक्ष मण्डलमा रहनुभएका धेरै साथीहरूसँग बहस भएको म सम्झन्छु । मेरो पहिलो भेटघाट त्यही हो ।

चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव चयन भएपश्चात नेपालको राजनीति र पार्टीमा उहाँको भूमिका कस्तो रह्यो ?

चौथो महाधिवेशनले अन्ततः पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलीय व्यवस्थाको स्थापनाका निम्ति संयुक्त संघर्ष र जनआन्दोलन गर्ने कार्यदिशा पारित गरेको थियो । त्यही महाधिवेशनमा उहाँ महासचिव चयन हुनुभयो । त्यो महाधिवेशनको अर्को महत्व के छ भने, पहिलो चोटि जनवादी व्यवस्थामा पनि बहुदलीय प्रणाली अवलम्बन गर्ने कुरा हामीले चौथो महाधिवेशनबाटै पारित गरेका हौँ । त्यही कुरा पछि ’जनताको बहुदलीय जनवाद’का रूपमा विकसित भयो ।

त्यसपछि हामीले मनमोहन अधिकारीले नेतृत्व गर्नुभएको मार्क्सवादीसँग एकता गरेर २०४७ सालको आन्दोलन सफल भएपछि नेकपा एमाले बनायौँ । त्यतिबेला पार्टीभित्र केही दुविधा र मतभेदहरु पनि थिए ।

कस्ता कस्ता मतभेदहरु थिए ?

जस्तो कि पार्टी पूरै खुला गरेर जाने कि एउटा पङ्क्ति खुला र अर्को भूमिगत रहने भन्ने थियो । अनि पार्टीकै नाममा चुनाव लड्ने कि कुनै मोर्चा बनाएर लड्ने भन्ने पनि थियो । जस्तै अहिले मसालले पार्टीलाई भूमिगत राख्छ र राष्ट्रिय जनमोर्चाको नाममा चुनाव लड्छ, त्यसै गर्ने कि भन्ने बहसहरू भएका थिए । तर ती सबै कुरामा मदनले एकदमै प्रस्ट पारेर ’हामी पार्टीकै नाममा जानुपर्छ र जनताको बीचमा पार्टीलाई स्थापित गर्नुपर्छ’ भन्नुभयो । ’भोलि केही जोखिम भयो भने पनि त्यसबाट बचाउने भनेको सचेत जनताले नै हो । यदि तपाईँले पार्टीलाई खोपाको देउता बनाउनुभयो भने जनताले कसरी बचाउँछन् ?’ भन्दै उहाँले नै पार्टी खुला गर्ने कुराको अगुवाइ गर्नुभयो र अन्ततः त्यही निर्णय भयो । पछि उहाँले पार्टीलाई लोकप्रिय बनाउन देशव्यापी अभियान पनि चलाउनुभयो । २०४८ सालको निर्वाचनपछि उहाँ देश दौडाहामा निस्कनुभयो ।

२०४८ को चुनावअघि उहाँ त्यति धेरै चिनिनुहुन्थेन ?

उहाँ पार्टी प्रवक्ताको रूपमा २०४७ साल वैशाखमै सार्वजनिक हुनुभएको जस्तो मलाई सम्झना छ । तर महासचिव भनेर हामीले खुलाएका थिएनौँ । उहाँ औपचारिक रूपमा पार्टीको महासचिवका रूपमा खुलेको चाहिँ २०४७ साल कात्तिक २५ गते हो । त्यतिबेला नेपाल अधिराज्यको संविधान २०४७ जारी भइसकेपछि त्यसका बारेमा प्रस्ट पार्न टुँडिखेलको खुला मञ्चमा हामीले आमसभा आयोजना गरेका थियौँ । त्यो संविधानमा हाम्रा आलोचनाका २७ वटा बुँदाहरू थिए । ती बुँदाहरूसहित यो संविधान किन महत्त्वपूर्ण छ र हाम्रा असहमतिहरू के–के हुन् भन्नेबारे प्रस्ट पार्न उहाँले पार्टी महासचिवको रूपमा पहिलो सम्बोधन गर्नुभएको थियो । उहाँ सार्वजनिक भएको पनि सायद त्यही बेला हो ।

भनेपछि महासचिवका रूपमा मदन त्यहीँ टुँडिखेलको सभाबाट सार्वजनिक हुनुभएको हो ?

महासचिवका रूपमा त्यही बेला हो । अरू बेला त कार्यक्रममा मान्छेले देख्थे तर प्रवक्ता भनेर चिन्थे । तर उहाँ मदन भण्डारी हो र पार्टीको महासचिव हो भन्ने कुरा चाहिँ २०४७ साल कात्तिक २५ गते नै खुलेको हो ।

तपाईँले चिनेको र सङ्गत पनि गरेको आधारमा मदन भण्डारी त्यति छिटो लोकप्रिय हुनुको कारण चाहिँ के थियो भन्ने लाग्छ ?

उहाँका तीन–चारवटा अद्भुत क्षमताहरू थिए । पहिलो, उहाँको सबभन्दा ठुलो योगदान नै ’जनताको बहुदलीय जनवाद’ हो । त्यतिबेला कम्युनिस्ट आन्दोलन संसारभरि ठुलो चुनौतीबाट गुज्रिरहेको थियो । खासगरी संसारको पहिलो समाजवादी देश सोभियत संघ १९९१ मा ढल्यो । त्यहाँ समाजवाद मात्र ढलेन, देश नै १५ टुक्रामा विभाजित भयो । त्यसपछि सोभियत संघकै भरोसामा चलेका पूर्वी युरोपका आठवटा देशमा पनि समाजवादी सत्ताहरू कोल्याप्स भए । पुँजीवादी जगतबाट ’अब समाजवाद र कम्युनिस्टहरू सकिए’ भन्ने जबरजस्त हावा चलेको बेला थियो । त्यो बेलामा पनि उहाँले यो सङ्कट मार्क्सवादको सङ्कट नभएर सोभियत सङ्घले बनाएको एकदलीय र अधिनायकवादी ढाँचाको सङ्कट हो भन्नुभयो । उहाँले भन्नुभयो— ’हामी त्यो ढाँचा अवलम्बन गर्दैनौँ, हामी बहुदलीय प्रतिस्पर्धा र जनमतकै माध्यमबाट सत्तामा जान्छौँ ।’

कम्युनिस्ट आन्दोलनलाई जसरी लोकतान्त्रीकरण गर्नुभयो, त्यो उहाँको ठुलो योगदान थियो । त्यसले उहाँलाई कम्युनिस्ट आन्दोलनको संकटको मसिहा र मार्गदर्शक जस्तो बनायो । नेपालमा त कम्युनिस्टहरू लोकप्रिय छँदै थिए, २०४६ को आन्दोलनमा रगत बगाउने पनि यिनै थिए । तर काठमाडौँका दुई ठाउँबाट बहालवाला प्रधानमन्त्रीलाई हराएर चुनाव जितेपछि संसारलाई नै एउटा प्रेरणा मिल्यो । त्यसैले न्यूजवीकले ’नेपालमा कार्ल मार्क्स जीवितै छन्’ भनेर उहाँको अन्तर्वार्ता समेत छाप्यो । तैपनि मदन लोकप्रिय हुनुको मुख्य कारण कम्युनिस्ट आन्दोलनको लोकतान्त्रीकरणमा पुर्‍याएको योगदान नै हो ।

दोस्रो कारण, उहाँको राष्ट्रियताप्रतिको अदम्य अडान हो । टनकपुरको सवालमा जब विवाद भयो र गिरिजाप्रसाद कोइरालाले ’सन्धि होइन, समझदारी मात्र हो’ भनेर ढाँट्नुभयो, त्यस विरुद्धको आन्दोलनको नेतृत्व मदनले गर्नुभयो । उहाँले नेपालको प्राकृतिक स्रोत र स्वाभिमानको गर्वका साथ अगुवाइ गर्नुभयो । जसरी नाकाबन्दीको प्रतिवाद गर्दा केपी ओली पलपुर हुनुभयो, त्यसैगरी टनकपुरको संघर्षले मदनलाई राष्ट्रवादी नेता बनायो ।

तेस्रो कुरा, उहाँको अद्भुत वाककला हो । उहाँले एकदमै कलात्मक र मान्छेको हृदयमा पस्ने गरी जनताकै भाषामा बोल्नुहुन्थ्यो । उहाँको वक्तृत्वकलाले पनि लोकप्रिय बनाउन भूमिका खेल्यो । तर राम्रो बोलेर मात्र होइन, उहाँ लोकप्रिय हुनुमा उहाँको राम्रो विचार, राष्ट्रियता र लोकतन्त्रका निम्ति गरेको योगदान मुख्य कारण हुन् ।

त्यसवेला मुलुकमा भर्खर प्रजातन्त्र आएको थियो । कांग्रेस प्रतिस्पर्धी थियो । प्रतिस्पर्धी दलहरूलाई हेर्ने उहाँको दृष्टिकोण चाही कस्तो हुन्थ्यो ?

२०४६ सालको आन्दोलन अगाडि नै कांग्रेससँग सहकार्य गरेर अगाडि बढ्नुपर्छ नत्र पञ्चायत ढाल्न सकिँदैन भन्ने मान्यताको पक्षपाती हुनुहुन्थ्यो उहाँ । त्यही कार्यदिशा हामीले चौथो महाधिवेशनबाट पारित गर्‍यौँ । त्यसपछि उहाँ काठमाडौँ आउनुभयो र गणेशमान सिंहसँग सम्पर्क भयो । गणेशमानजीले ’संयुक्त आन्दोलन त गर्ने, तर तपाईँ कम्युनिस्टहरू अनेकौँ नाममा हुनुहुन्छ, कोसँग गर्ने ? भनेपछि मदनकै पहलमा सहाना प्रधानको नेतृत्वमा ’संयुक्त वाम मोर्चा’ बन्यो । विभिन्न दलहरूलाई मिलाएर मोर्चा बनाउन उहाँले अगुवाइ गर्नुभयो । फेरि उहाँको गणेशमानजीसँग पनि एकदमै राम्रो ट्युनिङ मिल्थ्यो । २०४६ को आन्दोलन सफल पार्न उहाँको महत्त्वपूर्ण भूमिका छ ।

त्यसवेला गणेशमान र गिरिजाप्रसादबिच त खासै मिलाप थिएन, कसरी तालमेल मिलाइएको थियो ।

हो । आन्दोलन सफल भएपछि कांग्रेसमा क्रमशः गिरिजाप्रसाद कोइराला हावी हुनुभयो । उहाँ कम्युनिस्टसँग सहकार्यको पक्षमा हुनुहुन्नथ्यो । २०४८ को चुनावमा मदनले लोकतन्त्रको रक्षाका निम्ति ’कम्तीमा १० वर्ष हाम्रो समझदारी र सहकार्य कायम राखौँ, चुनावमा पनि १० जना शीर्ष नेता उठेका ठाउँमा तालमेल गरौँ’ भन्ने प्रस्ताव राख्नुभयो ।

त्यो प्रस्ताव मदनकै थियो ?

मदनकै थियो । तर कांग्रेसले त्यो सुन्नै चाहेन । किनभने उसलाई कम्युनिस्टहरू जित्दैनन् भन्ने लागेको थियो । १५ सालको बहुमतको धङधङी पनि थियो र सोभियत संघ ढलेपछि नेपालमा पनि कम्युनिस्टहरू सिद्धिए भन्ने उनीहरूलाई परेको थियो । अन्तिममा उपाय नलागेपछि उहाँले ’केही नभए पनि धरानमा हाम्रो अध्यक्ष मनमोहन अधिकारीका लागि छोडिदिनुस्, हामी कृष्णप्रसाद भट्टराईलाई छोड्छौँ’ भन्नुभयो ।

कांग्रेसले त्यो प्रस्ताव पनि मानेन होइन ?

मानेन । मदनले अन्तिम समयसम्म त्यो प्रस्ताव राख्नुभएको थियो । त्यो नमानेपछि वास्तवमै अस्वस्थ प्रतिस्पर्धा पनि सुरु भयो । त्यसअघि गिरिजाप्रसाद कोइरालाले एउटा घटनालाई लिएर ’माले, मसाले, मण्डले एकै हुन्’ भन्नुभयो ।

गिरिजाप्रसादले उग्र कम्युनिस्ट विरोधी साेच लिएपछि चुनाव अगाडि देखि नै टसल सुरु भइसकेको थियो । चुनावमा न्यूनतम सद्भाव कायम राख्ने कुरा पनि कांग्रेसले नमानेपछि एक्लाएक्लै लडियो । पछि कांग्रेसले बहुमतको सरकार बनायो र सुरुदेखि नै कर्मचारीमाथि कारबाही, टनकपुर सम्झौता र आन्दोलनकारीमाथि दमन गर्न थाल्यो । यसरी सरकारसँग हाम्रो दूरी बढ्दै गयो ।

मदन बितेको ३३ वर्ष भयो, तर उहाँलाई सम्झनेहरू उत्तिकै छन् । तपाईँहरू पटक–पटक सरकारमा जानुभयो, उहाँकै पत्नी राष्ट्रपति पनि बन्नुभयो । तर दासढुंगा दुर्घटना वा षड्यन्त्रको सत्यतथ्य अहिलेसम्म सार्वजनिक हुन नसक्नुको कारण के होला जस्तो लाग्छ ?

madan jibraj

त्यो घटनापछि सुरुमा अनिल आयोग बन्यो । तर त्यो ’बायस’ छ भनेर हामीले सडकमा आन्दोलन गर्‍यौँ । आन्दोलनमा धेरै हाम्रा साथीहरू मारिनुभयो । पछि सरकारले त्रिलोक प्रताप राणाको नेतृत्वमा अर्को आयोग बनायो, जसलाई हामीले स्वीकार गर्‍यौँ । यता नागरिक स्तरमा पद्मरत्न तुलाधर र पार्टीबाट केपी ओलीको नेतृत्वमा आयोग बनेका थिए ।

यी तीनटै आयोगले यसलाई सामान्य दुर्घटना भनेका छैनन् । त्रिलोक प्रताप राणा आयोगले समेत के भन्यो भने, मदनको ’भिसरा’ (खष्कअभचब) परीक्षण गर्न लण्डन पठाइएको थियो, तर त्यो सही ढंगले सुरक्षित नराखिएकाले यथार्थ रिपोर्ट आउन सकेन । त्यसैलाई आधार बनाएर उसले ’अहिलेसम्मको अध्ययनले षड्यन्त्र वा हत्या भन्न मिल्दैन’ भन्दै जेनेरलाइज गर्‍यो । तर उसले ’भिसरा किन सुरक्षित राखिएन ?’ भन्ने ठुलो प्रश्नवाचक चिन्ह चाहिँ खडा गरेको थियो । पद्मरत्न तुलाधर र केपी ओलीको आयोगले त षड्यन्त्रकै पुस्ट्याइँ गरेको छ ।

सारमा, यो स्वाभाविक मृत्यु होइन भन्ने नै थियो । त्यो ठाउँ स्वाभाविक दुर्घटना हुने खालको पनि होइन । चालक सकुशल बाहिर आउनु, उसको शरीर र कपडा समेत नभिज्नु र कुनै गम्भीर चोट नलाग्नु तर अरु दुईजनाको तत्काल मृत्यु हुनु स्वाभाविक होइन ।

अहिलेसम्म किन पत्ता लागेन भन्ने सन्दर्भमा दुईटा कुरा हेर्नुपर्छ । पहिलो, उच्च स्तरका राजनीतिक हत्याहरू संसारभरि नै जटिल बन्ने गरेका छन्। अमेरिकामा जोन एफ केनेडीको हत्याको सम्पूर्ण तथ्य अहिलेसम्म बाहिर आएको छैन, जबकि केनेडी परिवार नै राजनीतिमा शक्तिमै छ। भारतमा इन्दिरा गान्धी र राजीव गान्धीका कतिपय कुराहरू अझै रहस्यमै छन्। यस्ता हत्यामा प्रयोग हुने शक्ति देशको अनुसन्धान निकायभन्दा बलियो र चलाख हुँदो रहेछ ।

दोस्रो, हाम्रो अन्तिम सूत्र अमर लामा थिए, तर उनलाई पनि रहस्यमयी ढंगले हत्या गरियो । माओवादीले अमर लामालाई किन मार्नुपर्थ्यो ? मदनप्रति माया र अमर लामाप्रति घृणा थियो भने त उनलाई समातेर प्रहरीलाई बुझाउनुपर्ने थियो ताकि प्रमाण नष्ट नहोस् । यसले झन् बढी प्रश्न खडा गरेको छ । त्यसैले रहस्य पत्ता लाग्न नसकेको यथार्थ हो । हाम्रो प्रयास पनि कतिपय सन्दर्भमा अपुरो भयो होला, तर कुनै न कुनै दिन यो रहस्यको पर्दा उद्घाटित हुनैपर्छ भन्ने मलाई विश्वास छ ।

कतिपयले भन्ने गरेका छन् कि पार्टीकै तर्फबाट केपी ओलीको नेतृत्वमा बनेको आयोगको प्रतिवेदन समेत सार्वजनिक भएन, बास्तविकता पनि त्यही हो ?

त्यो प्रतिवेदन त्यतिबेलै सार्वजनिक र प्रिन्ट भएको हो । पछि बरु त्यसको ओरिजिनल कपी लाइब्रेरीमा भेटिएन भन्ने कुरा मैले पनि सुनेको हुँ । त्यसको अपडेट त मलाई छैन, तर उहाँले तयार पार्नुभएको प्रतिवेदन मैले अध्ययन गरेको छु ।

तपाईंले अध्ययन गर्दा सार के पाउनुभएको थियो ?

सारमा, यो स्वाभाविक मृत्यु होइन भन्ने नै थियो । त्यो ठाउँ स्वाभाविक दुर्घटना हुने खालको पनि होइन । चालक सकुशल बाहिर आउनु, उसको शरीर र कपडा समेत नभिज्नु र कुनै गम्भीर चोट नलाग्नु तर अरु दुईजनाको तत्काल मृत्यु हुनु स्वाभाविक होइन । गाडी जहाँबाट झरेको छ, ती सबै परिस्थिति शंकास्पद छन् भन्ने नै त्यसमा छ ।

त्यो प्रतिवेदन कति लामो थियो भन्ने याद छ ?

ठ्याक्कै साइजको त मलाई आइडिया भएन ।

मदनले प्रतिपादन गरेको जबजलाई एमालेले मार्गदर्शक सिद्धान्त मानेको छ । तर पार्टीभित्र एक पक्षले त्यो सिद्धान्त अनुसरण नगरेको भन्ने चर्चा पनि सुनिन्छ । यस्तोमा मदन र एमालेको हालको अवस्थालाई कसरी हेर्नुहुन्छ ?

मदनले प्रतिपादन गर्नुभएको ’जबज’ले नेपालको राजनीतिक परिवर्तनमा ठुलो मार्गदर्शन गरेको छ । गणतन्त्र स्थापना, माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन, कांग्रेसलाई सामाजिक न्यायका मुद्दामा समर्थन गर्ने बनाउन र समाजवाद उन्मुख संविधान निर्माण गर्न यसको वैचारिक भूमिका छ । एमालेको मार्गदर्शक सिद्धान्त नै ’जबज’ र मदन भण्डारी पथप्रदर्शक हुनुहुन्छ । कहिलेकाहीँ व्यवहारमा कमजोरी भए होलान्, तर हाम्रो नियत, मनसाय र सिद्धान्तको सच्चाईमा कुनै समस्या छैन ।

तपाईंले त मदनलाई न्याय नै गरेको भाव व्यक्त गर्नुभयो । तर केही समयअघि पार्टी अध्यक्षले मदनप्रति नै वितृष्णा फैलाउने खालको अभिव्यक्ति दिनुभएको थियो । उहाँमाथि ’सहकारी ठगको आरोप लागेको’ र ’बहुविवाह गरेको’ जस्ता कुराहरूमा कतिको सत्य हुन् ?

त्यो अभिव्यक्तिको ’फुल टेक्स्ट’ हेर्नुभयो भने प्रस्ट हुन्छ । ती शब्दहरू त्यो सन्दर्भमा जरुरी थिए कि थिएनन् भन्नेमा छलफल होला । तर त्यतिबेलाको सन्दर्भ के थियो भने, नेतृत्वमाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उहाँ (अध्यक्ष)ले ’हरेक युगमा नेताहरू विरुद्ध भ्रामक प्रचार हुन्छन्’ भन्न खोज्नुभएको हो । मदन जस्तो प्रभावशाली नेतालाई पनि त्यतिबेला यस्ता गलत आरोप लगाइएको थियो भन्ने उहाँको आशय हो । उहाँले ’मदनले त्यसो गर्नुभएको थियो’ भन्नुभएको होइन, बरु ’मदनलाई समेत यस्ता आरोप लगाइयो’ भन्नुभएको हो ।

मदनलाई त्यस्ता आरोप लागेका पनि थिए कि ?

थिए । जस्तो कि, भूमिगत कालमा भोकमरी हुँदा किसानहरूले साझाको भकारी फोरेर अन्न बाँडेका थिए । त्यसमा मदन भण्डारीलाई जोडेर झुट्टा मुद्दा लगाइएको थियो । गणेशमानजीले समेत ’दुलोबाट फुत्त निस्केका’ भन्नुभएको थियो । नेताहरूको चरित्र हत्या गर्न कसरी दुष्प्रचार र ’मिसइन्फर्मेसन’ फैलाइन्छ भन्ने उदाहरणका रूपमा उहाँले त्यो कुरा भन्नुभएको हो । मदनकै जयन्तीमा त्यो भन्नु जरुरी थियो वा थिएन भन्ने बहसको विषय हुन सक्छ ।

अन्त्यमा, तपाई व्यक्तिगत रूपमा मदन भण्डारीलाई कसरी सम्झिनुहुन्छ ?

उहाँ अद्वितीय मेधा र प्रतिभा भएको, समयको पदचाप बुझ्न सक्ने, अत्यन्तै निष्ठावान् र देशभक्त नेता हो । उहाँले एकचोटी भन्नुभएको थियो— देशका निम्ति आवश्यक पर्छ भने सांसद पद त के, जीवनकै राजीनामा दिन तयार छौं । त्यसैले उहाँ हामी सबैको मेन्टर, मार्गदर्शक र प्रेरणाको स्रोतका रूपमा सम्झन चाहन्छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप