मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

फलफूलको रोगकिरा नियन्त्रणमा विषादीको विकल्पमा ‘जैविक झोल’ प्रयोग

सोमबार, ०४ जेठ २०८३, १० : ११
सोमबार, ०४ जेठ २०८३

म्याग्दी । म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वत कार्यक्षेत्र रहेको राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना जोमसोममार्फत फलफूलबालीको रोगकिरा नियन्त्रणमा विषादीको विकल्पमा ‘जैविक झोल’ प्रयोग गर्न थालिएको छ ।

स्थानीय जडीबुटी र घाँसको मिश्रणबाट तयार पारिएको जैविक झोललाई परियोजनाले ‘इपिफाइटिक ल्याक्टिक एसिड ब्याक्टेरिया’ नामकरण गरेको छ । परियोजनाका प्रमुख भरतराज गौतमले कार्यालयको स्याउ बगैँचामा गत वर्ष परीक्षण गरिएको जैविक झोल यसपालिदेखि मुस्ताङका किसानको स्याउ बगैँचामा प्रयोग गर्न थालिएको जानकारी दिए । 

उनका अनुसार ५० प्रतिशत तितेपातीमा बाँकी कोते, झिम्सी र राईघाँसलाई मिसाइ ओखलमा कुटेपछि निचोरेर बनाएको झोललाई तीन दिनसम्म ३० डिग्री सेल्सियस तापक्रममा राखेपछि अमिलिन्छ । एक केजी घाँसबाट तीन लिटरसम्म झोल निकाल्न सकिन्छ । एक बोतल झोललाई ४० लिटर सफा पानीमा मिसाएर बिरुवामा छर्कन सकिन्छ ।

यसरी उत्पादन भएको जैविक झोलमा बोटबिरुवाका लागि आवश्यक पर्ने मित्र जीव सक्रिय हुने र दुस्मन जीव भाग्ने अथवा नष्ट हुने क्षमता रहेको परियोजनाका प्रमुख गौतमले बताए। गौतमले दुई वर्षअघि जापानमा अध्ययनको सिलसिलामा सिकेको जैविक झोल बनाउने सीप र प्रविधिलाई पोखराको कास्कीकोटस्थित कुखुरा फार्ममा पनि प्रयोगमा ल्याएका थिए । 

मुस्ताङमा परीक्षण सफल भएको जैविक झोललाई परियोजना लागू भएको म्याग्दी, पर्वत र बागलुङका सुन्तला बगैँचामा पनि प्रयोगका लागि किसानहरुलाई तालिममार्फत सीप सिकाउने परियोजनाका प्राविधिक गणेश जिसीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप