बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

१६औँ केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड जेठ २० देखि काठमाडौँमा हुने

मङ्गलबार, ०५ जेठ २०८३, १२ : २३
मङ्गलबार, ०५ जेठ २०८३

सारांश

  • राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा १६औँ केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता जेठ २० देखि २२ गतेसम्म काठमाडौँमा हुने भएको छ ।
  • यस प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी ६ वटा खेल विधा समावेश गरिएका छन् ।
  • राखेप सदस्य-सचिव रामचरित्र मेहताले प्रतियोगितालाई व्यवस्थित, मर्यादित र सहभागितामूलक बनाउनुपर्नेमा जोड दिएका छन् ।

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने १६औँ केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता आगामी जेठ २० देखि २२ गतेसम्म काठमाडौँमा आयोजना हुने भएको छ । 

प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन समितिका संयोजक समेत रहेका राखेप सदस्य–सचिव रामचरित्र मेहताको अध्यक्षतामा बसेको बैठकले प्रतियोगिताको मिति तय गर्दै उक्त निर्णय गरेको हो ।

यस पटकको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा विभिन्न ६ वटा खेल विधालाई समावेश गरिएको छ । प्रतियोगिता अवधिभर खेलाडीहरूले एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु खेलमा आफ्नो उत्कृष्ट क्षमता प्रदर्शन गर्दै प्रतिस्पर्धा गर्ने छन् । 

खेलको मिति र तयारीबारे छलफल गर्न आयोजित उक्त बैठकमा खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्मा, सम्बन्धित खेलका राष्ट्रिय सङ्घका प्रतिनिधिहरू र मुख्य प्रशिक्षकहरूको उपस्थिति रहेको थियो ।

बैठकलाई सम्बोधन गर्ने क्रममा राखेप सदस्य–सचिव रामचरित्र मेहताले विद्यालय तहको जगका रूपमा रहेको यो प्रतियोगितालाई अत्यन्त व्यवस्थित, मर्यादित र सहभागितामूलक बनाउनु पर्नेमा विशेष जोड दिएका छन् । उनले प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न सम्बन्धित सबै पक्षलाई जिम्मेवारीपूर्वक तयारीमा जुट्न समेत निर्देशन दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप