आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय
'टक फर्वार्ड'मा वरिष्ठ स्नायु तथा नसारोग विशेषज्ञ प्रा. डा. राजीव झा

‘अपरेसन थिएटरमा बिरामी सुतिरहेको बेला मलाई उसको परिवारको याद आउँछ’

मस्तिष्क नै शरीरको वास्तविक केन्द्र र कमान्डर हो : न्युरो सर्जन  प्रा. डा. राजीव झा
बुधबार, ०६ जेठ २०८३, ०८ : ००
बुधबार, ०६ जेठ २०८३

काठमाडौँ । एक सर्जन (शल्य चिकित्सक)को मनमा बिरामीको शल्यक्रिया गर्नुअघि के-कस्ता कुरा खेल्छन् होला ? 

रातोपाटी पडकास्ट ‘टक फर्वार्ड’मा सुरूमै यही प्रश्न सोधिँदा सोही दिनको बिहानै मात्रै करिब सय जना बिरामीको अवस्था बुझेर परामर्श दिएर आएका र अघिल्लो दिन केही बिरामीको शल्यक्रिया गरेका प्रा. डा. राजीव झा केहीबेर गम्भीर भए । किनकि सामान्यजस्तो लाग्ने यो प्रश्नको अन्तर्यलाई निकै गहिराइमा लिए वरिष्ठ स्नायु, नसा तथा मेरूदण्ड रोग विशेषज्ञ प्रा. डा. झाले । 

केहीबेर सोचेपछि एउटा लाइन जबर्जस्त बोले- ‘शल्यक्रिया भनेको एउटा युद्ध जस्तै हो ।’ अनि अगाडि भन्दै गए, ‘मानिसहरूलाई लाग्ला २६ वर्षदेखि यही काम गरिरहेको मान्छेलाई के होला र ? तर यथार्थ त्यस्तो छैन । मेरो लागि कुनै पनि अपरेसन सानो हुँदैन । जतिसुकै अनुभव भए पनि जतिसुकै माइनर भनिएपनि हामी त्यसलाई मेजर रूपमै लिन्छौँ  । शल्यक्रिया भनेको एउटा युद्ध जस्तै हो । युद्धमा जाँदा जसरी सिपाही सबै तयारीका साथ जान्छ, हामी पनि त्यसरी नै मानसिक र प्राविधिक रूपमा तयार हुन्छौँ ।‘

Dr Rajiv Jha

शल्यक्रियाका क्रममा कम्प्लिकेसन अर्थात् जटिलता कतिबेला आउँछ त्यो थाहा हुँदैन । त्यसका लागि उनकै शब्दमा ‘अदृश्य शत्रु’सँग लड्न एउटा शल्य चिकित्सक तयार रहनुपर्छ । 

उनलाई अझै सोधियो- शल्यक्रिया गर्नुअघि मनमा चाहिँ कस्ता कुरा खेल्छन् ? ‘उमेर बढ्दै जाँदा मलाई अब प्राविधिक कुराले भन्दा भावनात्मक कुराले बढी छुन्छ । अपरेसन थिएटरमा बिरामी सुतिरहेको बेला मलाई उसको परिवारको याद आउँछ,’ प्रा. डा. भन्छन्, ‘यदि केही तलमाथि भयो भने यो परिवारको अवस्था के होला ? ऊ घरको कमाउने मुख्य व्यक्ति हो कि ? उसको सानो बच्चा छ कि ? यस्ता कुराले मनमा अलि बढी दायित्वबोध गराउँछ ।‘

सर्जन (शल्य चिकित्सक)ले शल्यक्रियाअघि बिरामीका आफन्तसँग गरिने परामर्श निकै महत्त्वपूर्ण हुन्छ । २६ वर्षको आफ्नो चिकित्सकीय करिअरमा २३ हजार भन्दा बढी बिरामीको शल्यक्रिया गरिसकेका डा. झा कहिलेकाहीँ अस्पतालमा बिरामीको मृत्युका कारणले हुने तोडफोडका घटना हुनुमा आवश्यक सञ्चार र परामर्श अभावलाई लिन्छन् । 

‘जहाँ 'काउन्सिलिङ' कमजोर हुन्छ, त्यहाँ नै समस्या र तोडफोड हुने हो । अपरेसनभन्दा अगाडि परिवारसँग १०-१५ मिनेट समय दिएर हामी के गर्दैछौँ, कस्तो जोखिम छ र के नतिजा आउन सक्छ भन्ने प्रस्ट पारिदियो भने ९९ प्रतिशत समस्या आउँदैन,’ उनी आफ्नो अनुभव सुनाउँछन्, ‘विश्वासको वातावरण सञ्चारबाटै बन्ने हो ।‘

Dr Rajiv Jha1

दिनमा सयौं बिरामीलाई परामर्श दिन्छन् उनी । दैनिक औसतमा ५ देखि ८ वटा अपरेसन गर्छन् । अपरेसनका क्रममा कतिपय चुनौतीपूर्ण अवस्था पनि आउँछ । ‘भर्खरैको एउटा घटना म कहिल्यै बिर्सन्न । एकजना २० वर्षकी कलेज पढ्ने युवती मेरोमा आइन् । उनको दिमागमा एभीए  (नसाहरूको जटिल झुप्पो) को समस्या थियो । उनलाई छारे रोगको लक्षण देखिएपछि जाँच गर्दा यो पत्ता लागेको थियो । उनलाई यो कुरा बुझाउँदा उनी डाँको छोडेर रोइन् । मलाई पनि साह्रै नराम्रो लाग्यो,’ उनी सुनाउँछन् । 

त्यसपछि भारत जाने तयारी गरेको ती युवतीको परिवारलाई उताका चिकित्सकले डा. झासँगै अपरेसन गराउन सल्लाह दिए । अनि साढे ६ घण्टा लामो अपरेसन सफलतापूर्वक सम्पन्न भयो । ‘त्यो साढे ६ घण्टा लामो अपरेसन अत्यन्तै जोखिमपूर्ण अपरेसन थियो । सानो गल्तीले प्यारालाइसिस (पक्षघात) हुन सक्थ्यो । तर सफल भयो । आज ती नानी पूर्ण रूपमा स्वस्थ छिन् । यस्ता सफलताले दिने खुसी शब्दमा व्यक्त गर्न सकिँदैन,’ उनी सुनाउँछन् । 

डा. झाको पारिवारिक पृष्ठभूमि किसान हो । महोत्तरीमा हजुरबुबाको पालामा जग्गा-जमिन राम्रै थियो । हजुरबुबा आफ्ना सन्तानलाई पढाउनुपर्छ भन्ने कुरामा भने निकै सचेत थिए । उनका बुवाले स्कटल्यान्डबाट स्नातकोत्तर गरेका थिए, नेपालमा विभिन्न निकायमा रहेर काम गरे । बुवाको इच्छा नै थियो, राजीवलाई डाक्टर र भाइलाई इन्जिनियर बनाउने । बुवाको इच्छा अनुसार नै दुई दाजुभाइ आ-आफ्नो पेसामा आवद्ध भए ।  

डा. झाले रूसबाट मेडिकल अध्ययन गरे । त्यसपछि फर्केर वीर अस्पतालमा मेडिकल अफिसरको रूपमा काम गरे । 

Dr Rajiv Jha2

‘तर जब मेरो सरूवा न्युरो सर्जरी विभागमा भयो, त्यहाँ डा. उपेन्द्र देवकोटा सर हुनुहुन्थ्यो । त्यो समयमा न्युरो सर्जरी भनेको अत्यन्तै कडा र धेरै काम गर्नुपर्ने विभाग थियो । बिरामीहरूको भीड हुन्थ्यो, कति त पालो कुर्दाकुर्दै बित्थे,’ न्युरो सर्जरीतिर मोडिनुको कारण उनी खोल्छन्, ‘देवकोटा सरको कामप्रतिको निष्ठा र अनुशासनले मलाई तान्यो । उहाँले नै मलाई ‘तिमी न्युरो सर्जन बन्नुपर्छ’ भनेर मार्गदर्शन दिनुभयो । नेपालमा न्युरो सर्जन बन्न निकै संघर्ष गर्नुपर्छ । पाँच वर्षको डिग्रीका लागि मैले १२ वर्ष खर्चिएँ ।‘

प्रा. डा. राजीव झा देशकै जेठो तथा ठुलो सरकारी अस्पताल वीर अस्पताल र सुविधासम्पन्न तथा महँगोमध्येको निजी अस्पताल नर्भिक इन्टरनेसनल अस्पतालमा दुवैतर्फ न्युरो सर्जरी विभाग प्रमुख छन् । उनलाई आम प्रश्न सोधियो यी दुई ठाउँको उपचार पद्धतिमा के फरक छ ?

‘उपचारको गुणस्तरमा कुनै फरक छैन । म जुन हातले नर्भिकमा अपरेसन गर्छु, त्यही हातले वीरमा पनि गर्छु । वीरमा अत्याधुनिक प्रविधि र दक्ष जनशक्ति छ । फरक भनेको सुविधा र अनुभवमा मात्र हो,’ उनी सुनाउँछन्, ‘वीरमा भिड धेरै छ, बिरामीका आफन्तले भुइँमा सुत्नुपर्छ, सरसफाइमा चुनौती छ । नर्भिकमा सबै कुरा व्यवस्थित र सुविधासम्पन्न छ । तर जीवन बचाउने सवालमा दुवैतिर एउटै हो ।‘

उनी अगाडि भन्छन्, ‘मान्छेहरूले सरकारी अस्पताललाई गाली गर्छन्, तर विश्वास त्यसमै बढी पनि गर्छन् । वीरमा बिरामीको चाप हुनु भनेको त्यहाँको डाक्टर र सेवाप्रतिको विश्वास नै हो ।‘

अन्तर्वार्ताका क्रममा प्रा. डा. झाले मस्तिष्क र नसासम्बन्धी समस्याबारे केही जानकारी पनि दिए । ‘हेड इन्ज्युरी’ र ‘स्पाइनल इन्ज्युरी’को समस्या नेपालमा निकै देखिन्छ । सडक दुर्घटना यसको मुख्य कारण मानिन्छ । यद्यपि ट्राफिकको नियमको पालना र जनचेतना अभिवृद्धिका कारण यो समस्या भने कम भइरहेको उनी बताउँछन् । अहिले डरलाग्दो रूपमा बढिरहेको समस्या चाहिँ ‘ब्रेन स्ट्रोक’ (मस्तिष्कघात) ।

‘अहिले ब्रेन स्ट्रोक डरलाग्दो रूपमा बढिरहेको छ । यो खानपान, तनाव र अस्तव्यस्त जीवनशैलीको उपज हो,’ उनी भन्छन्, ‘मानिसहरू प्रेसर र सुगरको औषधि खान्छन्, तर जीवनशैली सुधार्दैनन् । ९० प्रतिशत स्ट्रोक त केबल अनुशासन र सन्तुलित जीवनशैलीले रोक्न सकिन्छ ।‘

Dr Rajiv Jha3

ढाड र घाँटीको नसा च्यापिने समस्या पनि व्यापक रहेको डा. झाको अनुभव छ । विशेषगरी धेरै समय कुर्सीमा बसेर काम गर्नेहरूमा यो समस्या बढी देखिन्छ । 

उनलाई एउटा चाखलाग्दो प्रश्न सोधियो- हामी सबै भावनाहरू मुटुबाट आउँछन् भन्छौँ । तर विज्ञानले त सबै कुरा मस्तिष्कले गर्छ भन्छ । आम मानिसले किन मस्तिष्कलाई केन्द्रमा नराखेर मुटुलाई केन्द्रमा राखेका होलान् ?

‘मुटुलाई धड्किन निर्देशन दिने पनि मस्तिष्क नै हो । मुटुको धड्कन बढ्नु वा कसैलाई माया गर्दा वा घृणा गर्दा उत्पन्न हुने भावना सबै मस्तिष्कका रसायन र हर्मोनहरूको खेल हो,’ प्रा. डा. वैज्ञानिक ढंगले बुझाउने कोसिस गर्छन्, ‘मस्तिष्क मृत भयो भने मुटु चलिरहे पनि मान्छे जीवित रहन सक्दैन । त्यसैले मस्तिष्क नै शरीरको वास्तविक केन्द्र र कमान्डर हो ।‘

विश्वका अधिकांश विकासोन्मुख देशमा स्वास्थ्य प्रणाली व्यवस्थित हुन नसकेको जनगुनासो हुन्छ । नेपाल पनि त्यसबाट पर हुने कुरै भएन । स्नायु तथा नसाजस्तो संवेदनशील रोगको उपचारका लागि चिकित्सक मात्रै दक्ष भएर हुँदैन, भौतिक पूर्वाधारदेखि प्रविधिसम्मका कुरा यसमा जोडिन्छन् । यसका लागि प्रा. डा. झा सरकारलाई आफ्नो सपना मिश्रित केही सुझाव पनि दिन्छन् । 

Dr Rajiv Jha5

‘सबैभन्दा पहिला त हामीलाई एउटा नेसनल न्युरो साइन्स इन्स्टिच्युट चाहिन्छ । जहाँ न्युरो सर्जरी, न्युरोलोजी, साइक्याट्री सबै सेवा एकै ठाउँमा होस् । अर्को कुरा, रेडियो सर्जरीजस्ता आधुनिक मेसिनहरू नेपालमा भित्र्याउन जरुरी छ, जसले गर्दा टाउको नचिरिकन ट्युमरको उपचार गर्न सकिन्छ,’ उनी भन्छन्, ‘अहिले यी सुविधाहरू नहुँदा बिरामीहरू भारत जान बाध्य छन् । साथै, सरकारी अस्पतालहरूमा 'रिह्याब सेन्टर' (पुनर्स्थापना केन्द्र) को ठुलो खाँचो छ । स्ट्रोक भएका बिरामीलाई अपरेसनपछि लामो समय फिजियोथेरापी चाहिन्छ, जुन धेरै महँगो छ ।‘

पडकास्टको अन्त्यतिर उनले नेपालको स्वास्थ्य सेवामा देखिएको वर्गीय खाडल पुर्न गर्नुपर्ने कामबारे पनि बताए । उनलाई यसको एउटै र निर्विकल्प उपाय स्वास्थ्य बिमा नै हो भन्ने लाग्छ । ‘बिरामी अस्पताल पुग्ने बित्तिकै उसले खल्ती छाम्नु नपरोस् । उसको उपचारको खर्च बिमाले बेहोर्ने सुनिश्चितता हुनुपर्छ,’ उनी भन्छन्, ‘जबसम्म स्वास्थ्य सेवा पैसासँग जोडिन्छ, तबसम्म विभेद रहिरहन्छ ।‘

हो पनि, बिमालाई प्रभावकारी बनाउने र अस्पतालहरूको व्यवस्थापन सुधार्ने हो भने नेपालमै विश्वस्तरीय उपचार सम्भव छ । प्रा. डा. झा भन्छन्, ‘हामी डाक्टरहरू त सिपाही हौँ, युद्ध लड्न तयार छौँ, मात्र राज्यले उचित मैदान र हतियार (उपकरण) को व्यवस्था गरिदिनुपर्छ ।‘  

भिडियो/फोटो : मनोज खड्का, आयुष धामी/रातोपाटी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खेम रिसाल
खेम रिसाल

खेम रिसाल रातोपाटीका कपी एडिटर हुन् ।

लेखकबाट थप