सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

‘समतामूलक समृद्धिबिना विकास अधुरो हुन्छ’

मङ्गलबार, ०५ जेठ २०८३, १९ : ५४
मङ्गलबार, ०५ जेठ २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले प्रतिनिधिसभामा सामाजिक न्याय, समतामूलक विकास र लोकतान्त्रिक मूल्यको पक्षमा आवाज उठाएका छन्।
  • उनले देशको सामाजिक तथा आर्थिक असमानता, मधेसमा दलित समुदायको अवस्था र युवाको वैदेशिक रोजगारीमा बढ्दो निर्भरतामाथि प्रश्न उठाएका छन्।
  • परियारले समन्यायिक विकास, समतामूलक समृद्धि र सामाजिक न्याय केन्द्रित सुशासनको आवश्यकतामा जोड दिँदै सरकार र प्रतिपक्षलाई सहकार्यका लागि आह्वान गरेका छन्।

काठमाडौँ  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले मंगलबार प्रतिनिधिसभामा सम्बोधन गर्दै सामाजिक न्याय, समतामूलक विकास र लोकतान्त्रिक मूल्यको पक्षमा सशक्त आवाज उठाएका छन्।

उनले जनक्रान्तिदेखि “जेनजी विद्रोह” सम्मका शहीदप्रति श्रद्धाञ्जली व्यक्त गरे भने सुनसरीदेखि दार्चुलासम्मका मतदाताप्रति कृतज्ञता प्रकट गरे। उनले आफू संसद्मा कुनै प्रतिशोध वा दलीय आग्रहका लागि नभई “नवपरिवर्तनको साक्षी” भएर उभिएको बताएका थिए।

परियारले संसद्लाई “जनताको सर्वोच्च जनप्रतिनिधिमूलक संस्था” भन्दै यसको गरिमा र ऐतिहासिक विरासत जोगाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे। विपक्षी दलका आशङ्कालाई “सकारात्मक खबरदारी” को रूपमा लिएको उल्लेख गर्दै उनले दृढतापूर्वक भने, “जय सर्वोच्च जनप्रतिनिधि संस्था, जय संसद्!”

उनले वर्तमान सरकारलाई “इतिहासकै अभूतपूर्व मत क्रान्तिले जन्माएको बलियो सरकार” को संज्ञा दिँदै सरकारको साझा लक्ष्य नेपाललाई “स्वाभिमानी र सम्मानजनक मध्य–आय भएको दक्षिण एसियाली राष्ट्र” बनाउनु रहेको बताए।

सम्बोधनका क्रममा उनले देशको विद्यमान सामाजिक तथा आर्थिक असमानतामाथि गम्भीर प्रश्न उठाए। उनले अझै पनि लाखौं नेपाली चरम गरिबीमा रहेको, मधेसका दलित समुदाय नागरिकता र जमिनबाट वञ्चित रहेको तथा वैदेशिक रोजगारीमा युवाको निर्भरता बढिरहेको तथ्य प्रस्तुत गरे।

“केवल विकास, विकास, विकास भनेर मात्रै पुग्दैन,” उनले भने, “हामीलाई समन्यायिक विकास, समतामूलक समृद्धि र सामाजिक न्याय केन्द्रित सुशासन चाहिन्छ।”

दलित समुदायमाथि हुने विभेद र हिंसाको प्रसङ्ग उठाउँदै उनले मनवीर सुनार, नवराज विश्वकर्मालगायतका घटनालाई स्मरण गरे। उनले राज्यले सामाजिक न्यायलाई प्राथमिकतामा राखेर पर्याप्त बजेट विनियोजन गर्नुपर्ने माग गरे।

सरकारले दलित समुदायसँग औपचारिक रूपमा माफी मागेको कदमलाई उनले “ऐतिहासिक र साहसिक” भन्दै स्वागत गरे। तर सामाजिक न्याय केवल भाषण र कागजमा सीमित हुन नहुने उनको भनाइ थियो।

सांस्कृतिक सहिष्णुता र विविधताको पक्षमा बोल्दै परियारले नेपाललाई “साझा आस्था र सहअस्तित्वको अनुपम भूमि” को रूपमा चित्रण गरे। हलेसी त्रिधाम, पशुपतिनाथ र विभिन्न धार्मिक–सांस्कृतिक परम्पराको उदाहरण दिँदै उनले विदेशी प्रभावबाट सामाजिक सद्भाव बिगार्ने प्रयासप्रति सचेत रहन आग्रह गरे।

सम्बोधनको अन्त्यमा उनले सरकार र प्रतिपक्षलाई सहकार्यका लागि आह्वान गर्दै भने, “आजको जस्तो अभूतपूर्व अवसर पटक–पटक आउँदैन। अब होस्टेमा हैँसे गर्दै अघि बढौँ, पछि फर्कने छुट छैन।”

उनको सम्बोधन संसद्मा सामाजिक न्याय, समावेशिता र नवपरिवर्तनको पक्षमा आएको स्पष्ट तथा भावनात्मक अभिव्यक्तिका रूपमा चर्चामा रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप