मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

हुम्लाको नेप्का गाउँमा बाढीले विद्यालयदेखि गोठ र भेडाबाख्रा पुरिए

बुधबार, ०६ जेठ २०८३, ०९ : २९
बुधबार, ०६ जेठ २०८३

सुर्खेत । हुम्लाको नेप्का भन्ने गाउँमा गएराति बाढीका कारण विद्यालयदेखि गोठहरू र भेडाबाख्रा पुरिएको विवरण आएको छ । चंखेली गाउँपालिका—५ मा पर्ने उक्त नेप्का गाउँमा गएराति परेको भीषण वर्षाका कारण ठुलो धनमालको क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक शंकर खड्काले गएराति पौने ११ बजेतिर भारी वर्षाका कारण बाढी आएको रातोपाटीलाई बताए ।

‘यो सदरमुकामबाट निकै टाढा र मुगु जिल्लासँग सिमाना जोडिएको उक्त विकट गाउँ हो,’ उनले भने, ‘बाढीले स्थानीय एउटा विद्यालय, भेडा बाख्राका गोठहरू र खेतीयोग्य जमिन पुरिएको कुरा आएको छ ।’ साथै, प्रारम्भिक जानकारी अनुसार १–२ वटा घरमा पनि क्षति पुगेको उनले बताए ।

‘घटनामा मानवीय क्षति केही भएको छैन, स्थानीय बासिन्दाहरू सुरक्षित रहेको कुरा हामीलाई भन्नुभएको छ,’ उनले थप भने, ‘भौगोलिक रूपमा अत्यन्तै विकट र सडक पहुँच नभएकोले वास्तविक विवरण आएको छैन ।’

उनका अनुसार, बुधबार बिहान ५ बजे नै प्रहरी टोली घटनास्थलतर्फ प्रस्थानगरिसकेको छ । सदरमुकामबाट ५ घण्टा गाडीको यात्रा र त्यसपछि ६ घण्टाको पैदल दूरीमा रहेको नेप्का पुग्न प्रहरीलाई समय लाग्ने भएकाले क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको उनले बताए ।

उनका अनुसार, सदरमुकाममा वर्षा थिएन । नेप्का क्षेत्रमा भारी वर्षा र असिनाले आएको रहेछ ।

चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले ४ वटासम्म गोठहरू र ६० भन्दा बढी भेडाबख्रा पुरिएको बताए । 

साथै, एउटा विद्यालयको भवन क्षतिग्रस्त भएको छ ।

‘अन्त खासै पानी आएको थिएन हावाहुरीमात्रै आएको थियो,’ उनले रातोपाटीसँग भने, ‘नेप्कालाई मात्रै केन्द्रबिन्दु बनाएर पानी आयो ।’

यद्यपि घटनाबारे विस्तृत विवरण अझै आउन बाँकी रहेको उनले बताए । उनका अनुसार, प्रहरी त्यहाँ पुग्न एक दिन लाग्छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप