शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्री बालेन्द्र साह संसद्को अङ्ग हुन् कि कुनै टापुका सम्राट ? : केसी

बिहीबार, ०७ जेठ २०८३, १३ : ४५
बिहीबार, ०७ जेठ २०८३

सारांश

  • प्रमुख प्रतिपक्ष दलका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन्द्र साह संसद्को अभिन्न अङ्ग जस्तो आफूलाई अनुभूति नभएको टिप्पणी गरेका छन्।
  • उनले प्रधानमन्त्री साहलाई मुलुकको नभई कुनै छुट्टै टापुको सम्राट जस्तो देखिएको जिकिर गरे।
  • सांसद केसीले सरकारले विपद् व्यवस्थापनमा गहिरोसँग ध्यान दिन आवश्यक रहेको कुरामा पनि जोड दिएका छन्।

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन्द्र साह संसद्को अभिन्न अङ्ग जस्तो आफूलाई अनुभूति नभएको टिप्पणी गरेका छन्। 

बिहीबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले प्रधानमन्त्री संसद्को अङ्ग हो कि होइन भनेर प्रश्न समेत गरेका हुन् । 

उनले प्रधानमन्त्री साहलाई मुलुकको नभई कुनै छुट्टै टापुको सम्राट जस्तो देखिएको जिकिर पनि गरे। विपद् व्यवस्थापनमा सरकार गम्भीर हुनुपर्ने बेला गृहमन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री साह संसद्मा नआएकोमा नेता केसीको आपत्ति थियो।

उनले भने, ‘सम्माननीय प्रधानमन्त्री नै अहिले गृहमन्त्री हुनुहुन्छ र विपद्को विषय गृह मन्त्रालयले गम्भीरतापूर्वक लिने विषय हो, अब उहाँ नै गृहमन्त्री हुनुहुन्छ, उहाँ स्वयं आफू यो संसद्को अङ्ग हो कि होइन? सभामुखजी मैले चाहीँ थाहा पाएको छैन है, उहाँ भिन्दै साम्राज्यको कहीँको टापुको सम्राट हो कि यो संसद्को पनि अभिन्न अङ्ग हो? त्यतातिर पनि म ध्यानाकर्षण गराउन चाहन्छु ।’  

उनले अगाडि थपे, ‘यो गम्भीर विषयमा सरकारले गहिरोसँग ध्यान दिनुपर्ने र विगत वर्षहरूमा भएको बेथितिबाट मात्रै थिति बसाल्न सक्दैनौँ, हरेक बेथितिबाट थिति बसाल्ने एउटा निश्चित अवधारणासहित कार्यगत योजनाबाट मात्रै हामी नयाँ कुराको निर्माण गर्न सक्छौँ।’ 

सांसद केसीले सरकारले विपद् व्यवस्थापनमा गहिरोसँग ध्यान दिन आवश्यक रहेको कुरामा पनि जोड दिएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप