वैशाखमा बढ्यो चामल र दालको भाउ, तरकारीमा ३३४ प्रतिशतसम्म महँगी
सारांश
- वैशाख महिनामा चामल, दाल, र अण्डा जस्ता दैनिक उपभोग्य वस्तुको मूल्य बढेको छ।
- तरकारीको मूल्यमा अत्यधिक उतारचढाव देखिएको छ, जसमा घिउ सिमीको मूल्य ३३४ प्रतिशतसम्मले बढेको छ।
- अन्तर्राष्ट्रिय बजारमा डलरको मजबुती र पेट्रोलियम पदार्थको मूल्यवृद्धिले गर्दा बजारमा अस्वाभाविक मूल्यवृद्धि भएको छ।
काठमाडौँ । बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य उकालो लाग्ने क्रम वैशाख महिनामा पनि जारी छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सार्वजनिक गरेको वैशाख महिनाको मूल्य विश्लेषण प्रतिवेदनले चैतको तुलनामा चामल, दाल, अण्डा लगायतका वस्तुको मूल्य बढेको देखाएको छ।
- चामल र दालको भाउ उकालो लाग्यो
चैत महिनामा सामान्य घटेको वा स्थिर रहेको दालको मूल्य वैशाखमा भने बढेको छ। विभागको प्रतिवेदन अनुसार चैत महिनाको तुलनामा वैशाखमा सबै प्रकारका चामल र दालको मूल्यमा वृद्धि भएको छ। कच्चा पदार्थको मूल्यवृद्धि, भारतीय बजारको प्रभाव र ढुवानी लागत बढेका कारण खाद्यान्न महँगिएको हो।
- तरकारीमा भारी उतारचढाव, घिउ सिमीको मूल्य ३३४% ले बढ्यो
वैशाख महिनामा हरियो तरकारीको मूल्यमा अत्यधिक उतारचढाव देखिएको छ। विभागका अनुसार केही मौसमी तरकारीको मूल्य ३३४ प्रतिशतसम्मले बढेको छ।
सबैभन्दा धेरै घिउ सिमीको मूल्य ३३४.७९ प्रतिशतले बढेको छ। त्यसैगरी, तने बोडी २५० प्रतिशत, लौका १६५ प्रतिशत, लाम्चो फर्सी हरियो १३८.८९ प्रतिशत र हाइब्रिड काँक्रोको मूल्य १२५ प्रतिशतले बढेको छ।
यद्यपि, आलु (रातो), राजमा, तोफु, इमिली जस्ता वस्तुको मूल्य भने वैशाखभर स्थिर छ।
- अण्डा र फलफूल पनि महँगियो, मासु स्थिर
माछा र मासुको मूल्य समग्रमा स्थिर रहे पनि वैशाख महिनामा अण्डाको मूल्य भने बढेको छ। फलफूलतर्फ केराको मूल्यमा उच्च उतारचढाव आएको छ भने स्याउ, अनार, सुन्तला जस्ता फलफूलको मूल्यमा पनि सामान्य वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ।
- मूल्य बढ्नुको मुख्य कारण डलर र इन्धन
बजारमा अस्वाभाविक मूल्यवृद्धि हुनुमा अन्तर्राष्ट्रिय बजारमा डलरको मजबुती र पेट्रोलियम पदार्थको मूल्यलाई मुख्य कारण मानिएको छ।
वैशाख २ गते पेट्रोलको मूल्य २१९ रुपैयाँ र डिजेल २३७ रुपैयाँ प्रतिलिटर सम्म पुगेको थियो। यद्यपि वैशाख १७ गते घटेर पेट्रोल २१७ र डिजेल २२५ रुपैयाँ कायम भए पनि समग्र ढुवानी भाडा महँगो पर्न गएको छ।
त्यसैगरी, अमेरिकी डलरको बिक्री दर वैशाख २१ गते १५२.१६ रुपैयाँसम्म पुगेको थियो, जसले गर्दा आयातित वस्तुहरूको मूल्य बढाउन मद्दत गरेको छ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्विट्जरल्याण्ड र कोलम्बियाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
-
सुरु भयो स्वीट्जरल्याण्ड र कोलम्बियाबिचको खेल, कसले मार्ला बाजी ?
-
पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप
-
मे महिनामा अमेरिकी व्यापार घाटा एक वर्षयताकै उच्च
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण