बारामा रास्वपाको बैठकमा लफडाः सांसदहरूलाई आफ्नै कार्यकर्ताले गरे दुर्व्यवहार (भिडियोसहित)
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बारामा आयोजित बैठकमा पूर्वजिल्ला संयोजक चन्दन स्वर्णकारलाई कारबाही गरेको विषयमा असन्तुष्ट कार्यकर्ताहरूले सांसदहरूविरुद्ध प्रदर्शन गर्दा तनाव उत्पन्न भएको छ ।
- कार्यकर्ताहरूको विरोध र दुर्व्यवहारपछि प्रहरीले चारै जना सांसदलाई बैठकस्थलबाट निकालेर सुरक्षित स्थानमा पुर्याएको छ ।
- स्वर्णकारलाई कारबाहीका लागि सांसदहरूले सिफारिस गरेको र त्यसपछि उनको सदस्यता खारेज गरिएपछि पुराना कार्यकर्ताहरू रुष्ट बनेका थिए ।
कलैया । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बारामा आयोजित विस्तारित बैठकमा विवाद र तनाव उत्पन्न भएको छ । जिल्लाका पूर्वसंयोजक चन्दन स्वर्णकारलाई गरिएको कारबाहीको विषयलाई लिएर असन्तुष्ट कार्यकर्ताहरूले निर्वाचित सांसदहरूविरुद्ध प्रदर्शन गरेपछि बैठकमा लफडा भएको हो ।
पार्टीका पुराना कार्यकर्ता र सांसदहरूबिच विवाद बढेर स्थिति तनावग्रस्त बनेपछि प्रहरीले हस्तक्षेप गरी चारै जना सांसदहरूलाई सुरक्षित स्थानमा पुर्याएको छ ।
बारा रास्वपाका पूर्वसंयोजक चन्दन स्वर्णकारलाई जिल्लाबाट निर्वाचित चारै जना सांसदले कारबाही गर्न केन्द्रमा लिखित पत्र पठाएपछि यो विवाद सुरु भएको हो । सांसदहरूले चुनावका बेला स्वर्णकारले आफूहरूलाई नसघाएको आरोप लगाउँदै आएका थिए । सोही असन्तुष्टिका कारण गत वैशाख ३० गते चारै जना सांसदले स्वर्णकारलाई कारबाहीका लागि केन्द्रीय कमिटीमा सिफारिस गरेका थिए ।
उक्त सिफारिसका आधारमा स्वर्णकार निलम्बनमा परेपछि पार्टीका पुराना कार्यकर्ताहरू रुष्ट बनेका थिए । शनिबार कलैयामा आयोजित विस्तारित बैठकमा सोही विषयलाई लिएर पुराना पक्षका कार्यकर्ताहरूले सांसदहरूको विरोध गर्दै बैठक स्थलबाट बाहिर निकालेका थिए ।
बैठकमा सहभागी रास्वपाका स्थानीय नेताका अनुसार अन्य पार्टीबाट आएर सांसद बनेकाहरूले पुराना र निष्ठावान् कार्यकर्ताहरूलाई उपेक्षा गरेको गुनासो बढेको छ । ती नेताले भने, ‘विभिन्न पार्टीबाट आएर माननीय भएकाहरूले पुराना तथा युवा कार्यकर्ताहरूलाई साथ दिएनन् भन्ने गुनासो यहाँ व्यापक थियो । त्यसैले पुराना कार्यसमितिका सदस्यहरूले सांसदहरूप्रति विरोध जनाएका हुन् ।’
असन्तुष्ट कार्यकर्ताहरूको दुर्व्यवहार र विरोध प्रदर्शनपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै प्रहरीले चारै जना सांसदहरूलाई बैठक स्थलबाट निकालेर सुरक्षित रूपमा स्थानीय एक होटलमा पुर्याएको छ ।
यस घटनाका सम्बन्धमा पार्टीको केन्द्रीय नेतृत्वबाट हालसम्म कुनै आधिकारिक प्रतिक्रिया आइसकेको छैन ।
पार्टीको केन्द्रीय अनुशासन आयोगको सिफारिसमा गत वैशाख ३० गते बसेको केन्द्रीय समितिको बैठकले स्वर्णकारको सदस्यता खारेज गर्ने निर्णय गरेको थियो । केन्द्रीय कार्यालय संगठन विभागका सचिव शंकर श्रेष्ठद्वारा जेठ ६ गते प्रेषित पत्रमार्फत उक्त निर्णयको आधिकारिक जानकारी गराइएको छ ।
पार्टीको यस कदमप्रति कडा आपत्ति जनाउँदै स्वर्णकारले सामाजिक सञ्जालमार्फत आफ्नो आक्रोश पोखेका थिए । आफूलाई अन्यायपूर्ण तरिकाले हटाइएको दाबी गर्दै उनले यसलाई ‘राजनीतिक हत्या’ को संज्ञा दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस : सहुलियत दिने र अवैध आयात रोक्ने प्रतिबद्धता
-
प्रदर्शनको सुरुवातमा ‘गौँथली’लाई कस्तो रह्यो दर्शकको साथ र प्रतिक्रिया ?
-
शैलेश्वरी कोटीहवन महायज्ञ : धार्मिक परम्परा, संरक्षण र साझा दायित्व
-
शनिबार र आइतबार धेरै भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
-
देशका २५ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
‘लज्जावती’को पहिलो गीत 'दिलको मोटर' सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण