हतासादेखि ऐतिहासिक जितसम्मको यात्रा
सारांश
- क्रिस्टियानो रोनाल्डोले अल-नासरका लागि साउदी प्रो लिगको उपाधि जितेका छन्, जुन उनको क्लब करियरको आठौं च्याम्पियनसिप जित हो।
- रोनाल्डोको मध्यपूर्व यात्रा आकर्षक कमाइ र साउदी अरबको राष्ट्रिय परियोजनाको 'पोस्टर ब्वाइ' बन्ने उद्देश्यले प्रेरित थियो, तर उनले गोल गरे पनि सुरुमा कुनै ठूलो ट्रफी जित्न सकेनन्।
- विभिन्न दबाब, विवाद र प्रतिद्वन्द्वीहरूको गुनासोका बाबजुद रोनाल्डोले डामाकविरुद्ध दुई गोल गर्दै अल-नासरलाई लिग उपाधि दिलाए, जसले उनको व्यक्तिगत र व्यावसायिक महत्वलाई पुनः स्थापित गर्यो।
पर्खाइको घडी समाप्त भएको छ। क्रिस्टियानो रोनाल्डोले अन्ततः सफलता हासिल गरेका छन्।
उनले अल–नासरबाट साउदी प्रो लिगको उपाधि जितेका छन्। यो खबरले पक्कै पनि धेरै मानिसहरूलाई खासै फरक नपार्न सक्छ। अरू कतिपयलाई त यो कुराले रुष्ट पनि बनाउन सक्छ। तर, सबैभन्दा चासोको विषय चाहिँ अल–नासरबाट पहिलो ठुलो ट्रफी उचाल्न पाउनु रोनाल्डोका लागि कति महत्त्वपूर्ण थियो भन्ने हो।
उनी फुटबल इतिहासमै सबैभन्दा धेरै उपाधि जित्ने खेलाडीहरूमध्ये एक हुन्। यसअघि इङ्गल्याण्ड, स्पेन र इटालीमा थुप्रै लिग उपाधिहरू हात पारिसकेका उनी पाँच पटकका बालोन डी‘ओर विजेता पनि हुन्। यति हुँदाहुँदै पनि, बिहीबार राति अल–नासरले डामाकलाई निर्णायक रूपमा पराजित गरेपछि उनले यसरी खुसीयाली मनाए, मानौँ उनले यसअघि कहिल्यै कुनै लिगको उपाधि जितेकै थिएनन्।
यद्यपि, उनले त्यसरी खुसीयाली मनाउनुको कारण बुझ्न त्यति गाह्रो छैन। रोनाल्डोको क्लब करियरको यो आठौँ च्याम्पियनसिप जित्न उनका लागि हालसम्मकै कठिन साबित भयो ।
- आकर्षक कमाइको कदम
सन् २०२३ मा मध्यपूर्व जाने रोनाल्डोको अप्रत्याशित कदम पक्कै पनि फुटबलसँग मात्र जोडिएको थिएन। यो पैसा कमाउने दुवै पक्षको आपसी चाहनाबाट पनि प्रेरित थियो।

पोर्चुगलका यी अन्तर्राष्ट्रिय खेलाडीलाई अल–नासरमा आबद्ध हुन कीर्तिमानी पारिश्रमिक दिने वाचा गरिएको थियो। अर्कोतर्फ, अल–नासरले पनि ‘रोनाल्डो प्रभाव’ बाट करोडौँ कमाउने अपेक्षा गरेको थियो।
तत्कालीन समयमा अल–नासरका अध्यक्ष मुसाली अल–मुअम्मरले भनेबमोजिम पृथ्वीकै सबैभन्दा चर्चित अनुहारको आगमन क्लबका लागि ‘नाफाको दृष्टिकोणले व्यावसायिक रूपमा फाइदाजनक’ हुनेवाला थियो।
यद्यपि, अल–नासर साउदी अरबको पब्लिक इन्भेष्टमेन्ट फण्ड (पीआईएफ) को स्वामित्वमा थियो र अहिले पनि छ। पीआईएफले यो ऐतिहासिक सम्झौतालाई समर्थन गर्नुको पछाडि विशेष कारण थियो। साउदी अरब आफ्नो देशलाई हेर्ने दृष्टिकोण बदल्न, अर्थतन्त्रमा विविधीकरण ल्याउन र पूर्वाधारको कायापलट गर्ने उद्देश्यसहितको महत्त्वाकांक्षी राष्ट्रिय परियोजनाको ‘पोस्टर ब्वाई’ रोनाल्डोलाई बनाउन चाहन्थ्यो।
रोनाल्डोले पक्कै पनि आफ्नो तर्फको सम्झौताको सर्त इमानदारीपूर्वक पालना गरे। गोल नगरेको समयमा उनी साउदी अरबको तारिफ गरिरहेका हुन्थे। उनको यो युगान्तकारी ट्रान्सफर र त्यहाँ प्रस्ताव गरिएको भारी पारिश्रमिकले अन्य उच्चस्तरका खेलाडीहरूलाई पनि पहिले खासै नाम नसुनिएको साउदी प्रो लिग (एसपीएल) मा उनीसँगै जोडिन आउन महत्त्वपूर्ण भूमिका खेल्यो।
रोनाल्डोका लागि एउटै मात्र समस्या के भइदियो भने साउदी अरबमा उनले गोल त गरिरहेका थिए, तर वास्तवमा कुनै ट्रफी भने जित्न सकिरहेका थिएनन्। र, यो साँच्चै नै एउटा ठुलो विषय बनेको थियो।
- हताश अवस्था
रोनाल्डोको बारेमा जसुकै टिप्पणी गरे पनि जितप्रतिको उनको दृढ इच्छाशक्तिमाथि भने प्रश्न उठाउन सकिँदैन। खेलको इतिहासमा उनीभन्दा व्यावसायिक खेलाडी सायदै कोही होला। आफ्नो पेसाप्रतिको उनको समर्पण अद्वितीय छ भने उनको कडा फिटनेस दिनचर्या आफैँमा एउटा किंवदन्ती बनिसकेको छ।
म्यानचेस्टर, मड्रिड र टुरिनमा जस्तै उनले फेरि एकपटक आफ्नो कार्यशैलीले नयाँ सहकर्मीहरूलाई मन्त्रमुग्ध बनाए। अपेक्षाकृत कमजोर लिगमा उनले सहजै गोल गर्नु कुनै आश्चर्यको कुरा थिएन, तर उनले कुनै ठुलो ट्रफी भने हात पार्न सकिरहेका थिएनन्। यसले उनलाई स्पष्ट रूपमा चोट पुर्याइरहेको थियो।
२०२२–२३ को साउदी प्रो लिगको उपाधि होड चलिरहँदा रोनाल्डो झन्-झन् हताश र निराश देखिन्थे। एक महिनाको अवधिमा हामीले उनलाई अल–नासर २–० ले अगाडि हुँदा पनि रिसले बल प्रहार गरेको, पानीको बोतलमा लात्ती हानेको, आफ्नै बेन्चतर्फ आक्रोश पोखेको, विवादास्पद निर्णयमा झोँक चलेको, सेल्फी खिच्न चाहने विपक्षी टोलीका एक सदस्यलाई धकेलेको, जर्सी साट्न अस्वीकार गरेको र रेस्लिङ शैलीमा विपक्षी खेलाडीलाई लडाएको देख्यौँ।

सबैभन्दा अविस्मरणीय घटना त अप्रिल १८ मा किङ फहद इन्टरनेसनल स्टेडियममा भएको २–० को हारपछि देखियो। खेल सुरु हुनुअघिदेखि नै लियोनेल मेस्सीको नाम लिएर जिस्काइरहेका अल–हिलालका समर्थकहरूतर्फ फर्केर उनले अश्लील इसारा गरेको देखियो। त्यसपछि साउदी प्रो लिगका कतिपय समर्थकहरूले उनलाई लिगबाटै निकाल्नुपर्नेसम्मको माग राखेका थिए।
- ‘अध्याय सकियो...’
रोनाल्डोको चिडचिडापनलाई प्रस्ट पार्न विभिन्न कारणहरू अगाडि सारिएका थिए। जसमा उनकी प्रेमिका जोर्जिना रोड्रिग्वेज साउदी अरबमा खुसी नभएको र त्यसैको परिणामस्वरुप उनीहरूको सम्बन्ध धरापमा परेको भन्ने जस्ता भ्रामक समाचारहरू पनि समावेश थिए।
वास्तविकतामा भने रोनाल्डो रुडी गार्सियासँग खुसी थिएनन्। यो पोर्चुगिज खेलाडी रियाद आइपुग्दा रोमाका पूर्व प्रशिक्षकको नेतृत्वमा अल–नासर लिगको शीर्ष स्थानमा थियो। यद्यपि, रोनाल्डो गार्सियाको रणनीतिबाट असन्तुष्ट रहेको र अप्रिल २०२३ मा ती फ्रान्सेली प्रशिक्षकलाई बर्खास्त गर्नमा उनले प्रमुख भूमिका खेलेको चर्चा चलेको थियो।
दुर्भाग्यवश, त्यसपछिका दुई प्रशिक्षकहरू लुइस क्यास्ट्रो र स्टेफानो पिओलीको नेतृत्वमा पनि अल–नासरले खासै राम्रो प्रदर्शन गर्न सकेन। सन् २०२५ मा सकिन लागेको आफ्नो सम्झौता रोनाल्डोले नवीकरण गर्ने विषयमा गम्भीर शङ्का उत्पन्न भएको थियो।
यतिसम्म हल्ला चलेको थियो, उनले अल–नासर छाडेर पीआईएफकै लगानी रहेको अर्को क्लब अल–हिलालमा आबद्ध हुन सक्छन्। अमेरिकामा गत ग्रीष्म ऋतुमा भएको क्लब विश्वकपमा अल–हिलालको प्रतिनिधित्व गर्न उनले त्यसो गर्न सक्ने आकलन गरिएको थियो।
आफ्नो टोली एसियाली च्याम्पियन्स लिगमा छनोट हुन असफल भएको सिजनको अन्तिम खेलपछि रोनाल्डोले सामाजिक सञ्जालमा लेखेका पनि थिए, ‘अध्याय सकियो।’
तर, त्यसको ठिक एक महिनापछि रोनाल्डोले अल–नासरमा आफ्नो कथा अझै जारी रहने खुलासा गरे। खेलकुद इतिहासकै सबैभन्दा आकर्षक मानिएको सम्झौतामा हस्ताक्षर गरेपछि उनले इन्स्टाग्राममा लेखे, ‘उही जोस, उही सपना। सँगै मिलेर इतिहास रचौँ।’
अब भने उनीहरू वास्तवमै त्यसो गर्न सफल भएका छन्। यसमा उच्च स्तरका केही अन्य खेलाडीहरूको आगमनको भूमिकालाई पनि कम आँक्न मिल्दैन।
- जेसस र ‘द फ्याब फोर’
२०२३–२४ को साउदी प्रो लिग उपाधिको नजिक पनि रोनाल्डो पुग्न नसक्नुको मुख्य कारण जोर्गे जेसस नै थिए। यी पोर्चुगिज प्रशिक्षककै नेतृत्वमा अल–हिलालले एउटै खेल नहारी १०० अङ्कको कीर्तिमानी सफलता हासिल गरेको थियो।
त्यसैले, अर्को वर्ष आफ्ना प्रमुख प्रतिद्वन्द्वीले जेसससँग बाटो अलग गर्ने निर्णय गरेपछि अल–नासरले कुनै ढिलाइ गरेन। किङ्डम एरिना छाडेको एक महिना नबित्दै फ्लामेङ्गो र बेन्फिकाका पूर्व प्रशिक्षकलाई क्लबले नियुक्त गरिहाल्यो।
जेससले पनि रोनाल्डो क्लबमै रहने निर्णयले आफूलाई अल-नासर आउन प्रेरित गरेको खुलासा गरेका थिए। उनी स्वयं रियादमै बस्न चाहन्थे।

पक्कै पनि, अल–नासरको महत्त्वाकांक्षी ‘समर रिक्रुटमेन्ट’ योजनाले पनि यसमा मद्दत गर्यो। उनीहरूले २०२५–२६ को सिजनअघि टोलीलाई निकै बलियो बनाउने वाचा गरेका थिए। रोनाल्डो र साडियो माने पहिल्यै रहेको अग्रपङ्क्तिमा किंग्सले कोमान र जोआओ फेलिक्सलाई भित्र्याएर क्लबले आफ्नो वाचा पूरा गरेरै छाड्यो।
आफ्नै शैलीको ‘द फ्याब फोर’ (चार उत्कृष्ट खेलाडी) सहित जेससको नेतृत्वमा पुनर्जागृत अल–नासरले सिजनको सनसनीपूर्ण सुरुवात गर्यो। क्लबले सुरुवाती १० वटै लिग खेल जित्यो।
२० गोल र लिगकै सर्वाधिक १३ असिस्टसहित सिजन अन्त्य गरेका फेलिक्सले एसपीएलको आधिकारिक वेबसाइटलाई भनेका थिए, ‘हामी सबै गुणस्तरीय खेलाडी हौँ। हामी चारै जना सँगै खेल्दा र हाम्रो तालमेल राम्रो हुँदा नतिजा पनि राम्रो आउँछ।’
उनले थपे, ‘हामी सबै सँगै हुनु राम्रो कुरा हो। कुनै दिन एक जनाले राम्रो गर्न नसक्दा बाँकी तीन जनाले गर्छन्। वा दुई जनाले राम्रो नगर्दा अरू दुई जनाले गरेर टोलीलाई मद्दत गर्छन्।’
‘मलाई लाग्छ, जब हामी चारै जना उत्कृष्ट लयमा हुन्छौँ, साउदी अरबमा हामीलाई कसैले रोक्न सक्दैन।’
दुर्भाग्यवश, नयाँ वर्षको सुरुवातसँगै फेलिक्स र उनको टोलीका लागि परिस्थिति बिग्रँदै गयो। लगातार चार खेलमा जितविहीन बन्दा अल–नासरले १० अङ्क गुमायो।
रोनाल्डोको हडताल
अल–नासरको खस्किँदो लयका कारण रोनाल्डोले क्लबका मालिकहरूबाट ‘विन्टर ट्रान्सफर विन्डो’ मा केही नयाँ खेलाडीहरू ल्याइने पूर्ण अपेक्षा गरेका थिए। जेसस पनि जनवरीको अन्त्यअघि केही नयाँ अनुहार टोलीमा देख्ने आशामा थिए। तर, क्लबको बजेट सीमितताका कारण कुनै कुराको ग्यारेन्टी छैन भन्ने कुरामा प्रशिक्षक जानकार थिए।
उपाधि दाबेदार अल–हिलाललाई भने यस्तो कुनै समस्या थिएन। उनीहरूले अल–इतिहादबाट करिम बेन्जेमालाई अनुबन्ध गरे। सिजनको मध्यमा भएको यो अप्रत्याशित कदमले रोनाल्डोलाई क्रुद्ध बनाएको खबर बाहिरियो। पीआईएफको स्वामित्वमा रहेका कतिपय क्लबले अरूले भन्दा बढी सुबिधा पाएको उनले महसुस गरेका थिए। फलस्वरुप, अल–नासरका कप्तान हडतालमै उत्रिए। उनले अल–रियाद र अल–इतिहादविरुद्धको लगातार दुई एसपीएल खेल खेल्न अस्वीकार गरे।
रोनाल्डोले साउदी अरेबियन फुटबलको निष्पक्षतामाथि प्रश्न उठाएको कुरालाई लिगले गम्भीर रूपमा लिनु अस्वाभाविक थिएन। लिगका एक प्रवक्ताले भने, ‘साउदी प्रो लिग एउटा सरल सिद्धान्तमा आधारित छ। प्रत्येक क्लब एउटै नियमअन्तर्गत स्वतन्त्र रूपमा सञ्चालित छन्।’
‘क्लबहरूको आफ्नै सञ्चालक समिति, आफ्नै व्यवस्थापन र आफ्नै फुटबल नेतृत्व हुन्छ। खेलाडी अनुबन्ध, खर्च र रणनीतिका निर्णयहरू दिगोपन र प्रतिस्पर्धात्मक सन्तुलन सुनिश्चित गर्न बनाइएको आर्थिक खाकाभित्र रहेर क्लबहरू आफैँले गर्छन्। यो खाका लिगभर समान रूपमा लागू हुन्छ।’
‘आगमनदेखि नै क्रिस्टियानो अल–नासरसँग पूर्ण रूपमा जोडिएका छन् र क्लबको वृद्धि र महत्त्वाकांक्षामा महत्त्वपूर्ण भूमिका खेलेका छन्। कुनै पनि उत्कृष्ट प्रतिस्पर्धीजस्तै उनी जित्न चाहन्छन्। तर कुनै पनि व्यक्ति जतिसुकै महत्त्वपूर्ण किन नहोस्, उसले आफ्नो क्लबभन्दा बाहिरको निर्णय गर्न सक्दैन।’
‘हालैका ट्रान्सफर गतिविधिहरूले त्यो स्वतन्त्रतालाई स्पष्ट रूपमा देखाउँछन्। एउटा क्लबले एक निश्चित तरिकाले आफूलाई बलियो बनायो। अर्कोले फरक दृष्टिकोण अपनायो। ती स्वीकृत आर्थिक मापदण्डभित्र रहेर लिइएका क्लबका आफ्नै निर्णयहरू थिए।’
‘लिगको प्रतिस्पर्धात्मकताले आफैँ बोल्छ। शीर्ष चार टोलीबीच केही अङ्कको मात्र फरक हुनुले उपाधिको दौड निकै रोमाञ्चक छ भन्ने देखाउँछ। सन्तुलनको यो स्तरले प्रणालीले सोचेअनुरूप नै काम गरिरहेको स्पष्ट पार्छ।’
रोनाल्डोको पुनरागमनमा एसपीएलको यो भनाइले कत्तिको भूमिका खेल्यो भन्न गाह्रो छ। उनले फेब्रुअरी १४ मा आफ्नो एकल विरोध किन अन्त्य गरे भनेर कहिल्यै प्रस्ट पारेनन्। सुरुमा उनले खेल्न किन अस्वीकार गरेका थिए भन्ने कुरा त झन् परकै विषय भयो।
पक्कै पनि मुख्य कुरा उनी फर्कनु नै थियो। उनको अनुपस्थिति एसपीएलका लागि जनसम्पर्क (पीआर) को दृष्टिकोणले ठूलो विपत्ति थियो। यद्यपि, उनको बहिष्कारको अन्त्य हुनुको अर्थ रोनाल्डोसँग जोडिएका विवादको अन्त्य हुनु भने थिएन।

- ‘हामी कसलाई पछ्याइरहेका छौँ?’
अल–नासरले उपाधिको दाबेदारीलाई कायम राखिरहँदा उनका केही प्रतिद्वन्द्वीहरूले लिग लिडरलाई अधिकारीहरूबाट विशेष ग्राह्यता दिइएको भन्दै गुनासो गर्न थाले।
अप्रिल ७ मा तेस्रो स्थानको अल–अहलीलाई अल–फाइहाले १–१ को बराबरीमा रोकेपछि इभान टोनीले आफ्नो टोलीविरुद्ध दिइएका दुई ‘दिनजस्तै छर्लङ्ग’ पेनाल्टी निर्णयहरूबारे असन्तुष्टि पोखे। ठुला निर्णयहरू अल–अहलीको विपक्षमा जाँदा कसलाई फाइदा पुग्छ भनेर सोधिएको प्रश्नमा एसपीएलका सर्वाधिक गोलकर्ताले जवाफ दिए, ‘हामीलाई थाहा छ कसलाई फाइदा पुग्छ। हामी कसलाई पछ्याइरहेका छौँ? मलाई अझ गहिरिएर बोल्न लगाउने हो भने म बोल्न सक्छु। यसले मलाई अप्ठ्यारोमा पार्न सक्छ, तर म जस्तो छ त्यस्तै बोल्ने मान्छे हुँ।’
त्यही राति टोनीले सामाजिक सञ्जालमा लेखे, ‘यहाँ के कुराबाट प्रभावित भइरहेको छ भन्ने स्पष्ट छ।’ उनका सहकर्मी गालेनो झन् आक्रामक सुनिए। एसपीएलले अल–नासरलाई ‘अहिले नै ट्रफी सुम्पिए पनि हुन्छ’ भन्दै उनले दाबी गरे। ती ब्राजिलियन खेलाडीले लेखे, ‘उनीहरू त्यही चाहन्छन्। उनीहरू जुनसुकै हालतमा पनि हामीलाई च्याम्पियनसिपबाट बाहिर निकाल्न चाहन्छन्। उनीहरू एउटा व्यक्तिलाई ट्रफी सुम्पन चाहन्छन्। यो हाम्रो क्लबप्रतिको पूर्ण अनादर हो।’
लिगकै सबैभन्दा महत्त्वपूर्ण खेलाडीलाई उपाधि सुम्पन अधिकारीहरूलाई आदेश दिइएको छ भन्ने जस्ता खुल्लमखुल्ला आरोपहरूबाट रोनाल्डो पक्कै पनि रुष्ट थिए।
‘यो लिगमा आउने पहिलो व्यक्ति म नै हुँ र अरू मेरै कारणले यहाँ आएका हुन्। त्यसैले उनीहरूले लिगको सम्मान गर्नुपर्छ। यो परियोजनाको सम्मान गर्नुपर्छ। रेफ्रीहरूको सम्मान गर्नुपर्छ। कहिलेकाहीँ उनीहरूले उत्कृष्ट निर्णय लिन नसक्लान्, तर उनीहरू पनि मानिस हुन्, उनीहरूबाट पनि गल्ती हुन्छ,’ रोनाल्डोले आफ्ना पूर्व युनाइटेड सहकर्मी रियो फर्डिनान्डलाई भनेका थिए।
‘त्यसैले, मलाई लाग्छ एसपीएलले एउटा ठूलो बैठक राखेर केही नियमहरू बनाउनुपर्छ। यदि त्यसो भएन भने आउँदा वर्षहरूमा लिग निरन्तर रूपमा अगाडि बढ्छ जस्तो मलाई लाग्दैन।’
बाह्य शक्तिहरूबाट अल–अहली वा अन्य प्रतिद्वन्द्वीहरू नभई वास्तवमा अल–नासर नै पीडित भइरहेको दाबी गर्दै रोनाल्डोले बहिष्कारअघि उठाएको मुद्दालाई फेरि ब्युँताए।
‘हामीलाई थाहा छ मैदानभित्र जित्नका लागि हामीले अझ कडा सङ्घर्ष गर्नुपर्छ। किनभने अन्य क्लबहरूसँग मैदानबाहिरको शक्ति छ भन्ने हामीलाई अवगत छ। सत्य यही हो। यो एउटा तथ्य हो,’ उनले घोषणा गरे।
‘तर म अहिले त्यसबारे बोल्न चाहन्न। म सिजनको अन्त्यमा धेरै कुराहरूको बारेमा बोल्नेछु। किनकि म धेरै हप्तादेखि मौन बसेको छु।’
- दबाबमा धरमराउँदै?
रोनाल्डोको स्वभाव नै त्यस्तै छ। उनले अप्रिलको अन्त्यमा टोनी र उनको टोलीविरुद्धको खेलमा २–० को महत्त्वपूर्ण जितमा गोल गर्दै अल–अहलीका आरोपहरूको जवाफ दिए। यद्यपि, ब्रेन्डन रोजर्सको अल–कादसियासँगको ३–१ को अप्रत्याशित हारले अल–हिलाललाई अङ्क दूरी कम गर्ने मौका दियो। यसले गत हप्ता अल–नासरविरुद्ध उपाधिको छिनोफानो गर्ने सम्भावित खेलको वातावरण तयार गर्यो।
जितले अल–नासरलाई शीर्ष स्थानमा फराकिलो अग्रता दिलाउने थियो। उनीहरू च्याम्पियन बन्नबाट केही सेकेन्ड मात्र टाढा थिए। तर, गोलकिपर बेन्टोको दुर्भाग्यपूर्ण आत्मघाती गोलले अल–हिलाललाई बराबरीको उपहार दियो। मैदानबाट बाहिरिइसकेका रोनाल्डोले बेन्चमा बसेर निराश हुँदै मुस्कुराउनु बाहेक केही गर्न सकेनन्। अल–नासरका समर्थकहरू भने आफ्नो टोलीले फेरि अर्को उपाधि गुमाउने डरले त्रस्त थिए।

गोलअरेबियाका डेपुटी चिफ एडिटर हैथम अलहल्मौश भन्छन्, ‘अल–नासरले जित्छ भनेर वास्तवमा कसैले पत्याएका थिएनन्। उपाधि जित्नुअघि उनीहरूको छवि इन्टर, एथ्लेटिको मड्रिड वा आर्सनलको जस्तै थियो। ठूलो टोली र धेरै समर्थक भए पनि उनीहरू साउदी प्रो लिगको अन्तिम खुड्किलोमा पुगेर चुक्नका लागि चिनिन्थे। रोनाल्डोलाई अनुबन्ध गरेपछि यो अवस्था तुरुन्तै परिवर्तन हुन्छ भन्ने धेरैको सोच थियो। तर त्यसो भएन।’
‘रोनाल्डो मात्र नभई साडियो माने, मार्सेलो ब्रोजोभिच र रोनाल्डोपछि आएका अन्य चर्चित खेलाडीहरूको उपस्थिति हुँदाहुँदै पनि उनीहरूले लिग, कप वा एसियाली च्याम्पियन्स लिग जित्न सकेका थिएनन्। उनीहरूसँग केही उत्कृष्ट साउदी खेलाडीहरू पनि थिए, तर उनीहरूले सफलताको रेखा पार गर्न सकिरहेका थिएनन्। त्यसैले, यो टोलीको चरित्रमाथि नै प्रश्न उठ्न थाल्यो। सिजनको अन्तिम चरणमा पुगेपछि उनीहरूले दबाब झेल्न नै सकेनन्।’
गत शनिबार राति एएफसी च्याम्पियन्स लिग टु (युरोपा लिगको एसियाली संस्करण) को फाइनलमा जेससको टोली गाम्बा ओसाकासँग स्तब्ध भएपछि अल–नासर फेरि एकपटक दबाबमा धरमराउने डर झन् बढ्यो।
त्यो बेलासम्म रोनाल्डोसमेत मुस्कुराउन छाडिसकेका थिए। खेलको अन्त्यमा ४१ वर्षीय यी खेलाडी आफ्ना अन्य सहकर्मीहरूसँग उपविजेताको पदक लिन जानुको साटो सिधै टनेलतर्फ लागे। साउदी अरेबियन फुटबलमा सबैभन्दा ठूलो ‘बोटलर्स’ अर्थात अन्तिममा पुगेर चुक्ने टोलीको रूपमा रहेको क्लबको छवि बदल्न आफूले अझै केही गर्न नसकेको यथार्थ बुझ्न उनी अल–नासरमा पर्याप्त समय बिताइसकेका थिए।
- लक्ष्य पूरा
यस्तै उच्च तनाव, संशय र सुक्ष्म निगरानीको वातावरणबीच अल–नासर बिहीबार राति एसपीएल सिजनको अन्तिम खेलमा डामाकविरुद्ध मैदानमा उत्रिएको थियो। घरेलु टोलीलाई राम्ररी थाहा थियो, यो जितले उपाधि पक्का गर्नेछ। र यसपटक भने उनीहरूले लक्ष्य पार गरेरै छाडे।
कर्नरमार्फत मानेले महत्त्वपूर्ण सुरुवाती गोल गरे। पेनाल्टी बक्सको छेउबाट उत्कृष्ट गोल गर्दै कोमानले अल–नासरलाई केही राहत दिए। तर रेलिगेसनको दबाबमा रहेको विपक्षी टोलीले पेनाल्टीमार्फत एक गोल फर्काएपछि, स्वाभाविक रूपमै रोनाल्डोले खेलको कमान्ड सम्हाले।
यी पोर्चुगिज खेलाडीले बक्सभित्र रहेका धेरै खेलाडीहरूलाई छल्दै बललाई सिधै नेटको दायाँ कुनामा पुर्याएर गोल गरे र अग्रता ३–१ बनाए। त्यसपछि खेल सकिन मात्र नौ मिनेट बाँकी रहँदा नजिकैबाट सानदार फिनिसिङ गर्दै उनले खेलको जित र उपाधि दुवै पक्का गरे।

आफ्नो दोस्रो गोलपछि मैदानको मध्यभागमा फर्कंदै गर्दा रोनाल्डोका आँखा रसाउन थालेका थिए। उनलाई थाहा थियो, काम अन्ततः फत्ते भएको छ। ढिलै भए पनि उनको मिसन पूरा भएको छ। आगमनको तीन वर्षभन्दा बढी समयपछि उनी अन्ततः एउटा ‘ठूलो’ ट्रफी हात पार्न गइरहेका थिए। अन्तिम सिट्टी बज्नु केही समयअघि मात्र दर्शकहरूको ‘स्ट्यान्डिङ ओभेसन’ बिच मैदान छाडेपछि उनी पूर्ण रूपमा भावविह्वल भए।
बाहिरबाट हेर्ने धेरै दर्शकहरू उनको आँसु देखेर छक्क परे। रोनाल्डोले एसपीएल उपाधि जित्नु फराकिलो फुटबल जगत्का लागि खासै ठूलो अर्थ नराख्ने कुरा हुन सक्छ, तर रोनाल्डोका लागि भने यसको अर्थ संसार जितेसरह थियो।
अलहल्मौश भन्छन्, ‘रोनाल्डोले साँच्चै अल–नासर र साउदी अरबमा आफ्नो विरासतको वास्ता गर्छन् या गर्दैनन् भनेर मानिसहरू बहस गरिरहेका हुन्थे। उनलाई केवल आफ्नो र आफूले कमाइरहेको पैसाको मात्र चिन्ता छ भन्ने तर्क पनि हुन्थ्यो। तर ठूला खेलहरूमा हार व्यहोरेपछि उनी रोएको हामीले पहिल्यै देखिसकेका थियौँ। उनी साँच्चै क्लब र समर्थकहरूलाई मन पराउँछन् जस्तो देखिन्छ। उनी हामीले सोचेभन्दा पनि धेरै घुलमिल भएका छन्। उनी अहिले टोलीका आंशिक मालिक पनि हुन् र उनी साउदी संस्कृतिमा रमाउँछन् पनि।’
‘पक्कै पनि उनका आफ्नै व्यक्तिगत लक्ष्यहरू छन्। जस्तै, १,००० गोल पूरा गर्ने वा आफ्ना छोरासँग व्यावसायिक फुटबल खेल्ने। यो सम्भावना धेरै नजिक छ। क्रिस्टियानो जुनियरलाई यसै गृष्म ऋतुमा अल–नासरको सिनियर टोलीमा समावेश गरिन सक्छ। साउदी अरबमा फुटबल क्रान्तिको अनुहारको रूपमा उपाधि दिलाउनुपर्ने दबाब पनि उनीमाथि थियो।’
‘तर मलाई लाग्छ, विशुद्ध व्यक्तिगत स्तरमा यो उनको लागि धेरै महत्त्वपूर्ण थियो। हो, पैसा राम्रो छ, उनको जीवनशैली राम्रो छ र सबै कुरा उनीकै वरिपरि घुम्छ। तर, अन्ततोगत्वा उनी एक अविश्वसनीय रूपमा प्रतिस्पर्धी स्वभाव भएका व्यक्ति हुन्। एक उत्कृष्ट व्यावसायिक खेलाडी जसले जितबाहेक अरू केही चाहँदैन।’
‘यसै कारणले गर्दा धेरै तटस्थ समर्थकहरूले उनलाई साँच्चिकै समर्थन गरिरहेका थिए। उनी यहाँ आउनुभन्दा अघि उनको स्तरभन्दा धेरै तल रहेको लिगप्रति उनले देखाएको जुनून र प्रतिबद्धताका लागि उनी यसको हकदार थिए। तपाईं रोनाल्डोको प्रशंसक नभए तापनि खेलपछि उनी रोएको दृश्यले तपाईंलाई उनको बारेमा जान्नुपर्ने सबै कुरा बताउँछ जस्तो मलाई लाग्छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण