मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

एसियाली खेलकुद छनोट : नेपाली महिला क्रिकेट टोली आज चीनसँग भिड्दै

बुधबार, १३ जेठ २०८३, १० : ०२
बुधबार, १३ जेठ २०८३

सारांश

  • नेपाली महिला क्रिकेट टोलीले एसियाली खेलकुद छनोट प्रतियोगिता अन्तर्गत आज चीनसँग आफ्नो पहिलो खेल खेल्दैछ।
  • यो खेल मलेसियाको क्वालालम्पुरमा नेपाली समय ११:४५ बजे सुरु हुनेछ।
  • प्रतियोगितामा राम्रो लयमा रहेको नेपालले चीनलाई पराजित गर्दै सुखद सुरुवात गर्ने लक्ष्य राखेको छ।

काठमाडौँ । सन् २०२६ मा जापानमा आयोजना हुने एसियाली खेलकुदमा छनोट हुने लक्ष्यसहित नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले आज आफ्नो अभियान सुरु गर्दैछ। 

एसियन गेम्स महिला टी–२० छनोट अन्तर्गत समूह ‘बी’ को आफ्नो पहिलो खेलमा नेपालले आज चीनको सामना गर्न लागेको हो। यो खेल मलेसियाको क्वालालम्पुरस्थित बायोमास ओभल मैदानमा ११:४५ बजे सुरु हुँदैछ।

मलेसियाले मे २६ देखि ३१ सम्म महिला टी–२० छनोटका सबै खेलहरू बायोमास ओभलमै आयोजना गर्दैछ। यस छनोट प्रतियोगितामा सहभागी छ वटा टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा हङकङ, मलेसिया र थाइल्यान्ड छन् भने समूह ‘बी’ मा नेपालसहित चीन र इन्डोनेसिया रहेका छन्। 

राउन्ड रोबिन लिगपछि प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। फाइनल पुग्ने दुई टोली र तेस्रो स्थानको प्लेअफ जित्ने एक गरी कुल तीन टोलीले जापानको आइची–नागोयामा हुने एसियाली खेलकुद २०२६ का लागि स्थान पक्का गर्नेछन्। 

आयोजक जापान तथा आईसीसीका पूर्ण सदस्य राष्ट्रहरू बङ्गलादेश, भारत, पाकिस्तान र श्रीलङ्का यसअघि नै प्रतियोगिताका लागि स्वतः छनोट भइसकेका छन्।

नेपाली टोली अहिले उत्कृष्ट लयमा रहेको छ। आईसीसी महिला टी–२० वरीयतामा ९५ रेटिङसहित २२औँ स्थानमा रहेको नेपालले आफ्ना पछिल्ला पाँचवटै टी–२० अन्तर्राष्ट्रिय खेलमा जित हात पारेको छ।

बलियो टोलीको रूपमा हेरिएको नेपालसँग खेलको नतिजा बदल्न सक्ने थुप्रै खेलाडीहरू छन्। यस प्रतियोगितामा नेपालकी शीर्ष क्रमकी आक्रामक ब्याटर सम्झना खड्का र उत्कृष्ट लयमा रहेकी दायाँहाते तीव्र गतिकी बलर कविता कुँवरको प्रदर्शनलाई चासोका साथ हेरिएको छ। सम्झनाले सुरुवाती बलदेखि नै बलरमाथि दबाब बढाउन सक्छिन् भने कविताले बलिङमा नेपालका लागि महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। 

टोलीको नेतृत्व नियमित कप्तान इन्दु बर्माले गर्नेछिन् भने उप–कप्तानको जिम्मेवारी पूजा महतोलाई दिइएको छ।  टोलीमा अनुभवी खेलाडीहरू सिता राना मगर र रुबिना क्षेत्रीसँगै बिन्दु रावल, सम्झना खड्का, रुबी पोद्दार, कविता जोशी, कविता कुँवर र रिया शर्मा रहेका छन्।

त्यस्तै अनु कठायत, मनीषा उपाध्याय, सोनी पाख्रिन र सिमाना केसीले पनि राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। मुख्य टोलीका अतिरिक्त क्यानले चार जना खेलाडीलाई वैकल्पिक सूचीमा राखेको छ। वैकल्पिक खेलाडीहरूमा सावित्री धामी, सोमु विष्ट, सना प्रवीण र लक्ष्मी साउद रहेका छन्।

यता, चीनले भने छनोट प्रतियोगितामा विजयी सुरुवात गरिसकेको छ। आफ्नो पहिलो खेलमा इन्डोनेसियालाई ३ विकेटले पराजित गर्दै चीन अङ्क तालिकाको शीर्ष स्थानमा छ। उक्त खेलमा इन्डोनेसियाले पूरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा ८२ रन मात्र बनाएको थियो। इन्डोनेसियाका लागि नि पुतु आयु नन्दा सकारिनीले ४६ बलमा ५ चौकासहित सर्वाधिक ३७ रन बनाएकी थिइन्। 

८३ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा चीनले सुरुवाती तीन विकेट छिट्टै गुमाएर दबाब झेलेको थियो। तर, मिङ्ग्यु झुले ३८ बलमा ३२ रन बनाउँदै जितको आधार तय गरेकी थिइन्। वाङ हुइइङ र सिन्यु चेनको साथ पाएको चीनले अन्तिम ओभरमा सात विकेट गुमाएर लक्ष्य भेट्टाएको थियो। बलिङतर्फ चीनकी मा रुइकेले दुई विकेट लिएकी थिइन्।

बायोमास ओभल मैदानको तथ्याङ्क हेर्दा यहाँ महिला टी–२० मा पहिलो इनिङ्सको औसत स्कोर ९५ र दोस्रो इनिङ्सको ७० रन रहेको छ, जसले यहाँ ब्याटिङ गर्न त्यति सहज नहुने सङ्केत गर्छ। 

आजको खेलका लागि चिनियाँ टोलीमा काई युझी, जियापिङ ली, मा रुइके, झाओ यिहान, सि वेनयान, वाङ हुइइङ, गोङ युटिङ, वेई हाइटिङ, पेङ लिआङ्गु, मिङ्ग्यु झु र वेन सिनान रहेका छन्। 
लगातारको जितले उच्च मनोबलमा रहेको नेपाल आज चीनलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने दाउमा रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप