चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण संसद्मा प्रस्तुत : अर्थतन्त्र ३.८५ प्रतिशतले विस्तार हुने अनुमान
सारांश
- चालू आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण अनुसार नेपालको अर्थतन्त्र ३.८५ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ।
- सर्वेक्षण अनुसार कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २४ प्रतिशत र गैर-कृषि क्षेत्रको ७६ प्रतिशत रहने अनुमान छ।
- विप्रेषण आप्रवाह ३७.७ प्रतिशतले बढेर १४ खर्ब ५० अर्ब पुगेको छ र विदेशी विनिमय सञ्चिति १८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ।
काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले सङ्घीय संसद्मा चालू आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गरेका छन्। आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता र क्षेत्रीय द्वन्द्वका बाबजुद नेपालको समष्टिगत आर्थिक सूचकहरूमा सुधार देखिएको र सामाजिक क्षेत्रमा सन्तोषजनक प्रगति भएको बताए।
उनले प्रस्तुत गरेको आर्थिक सर्वेक्षण अनुसार चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ३.८५ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ। विश्व अर्थतन्त्र ३.१ प्रतिशतमा खुम्चने प्रक्षेपण भइरहेका बेला नेपालको यो वृद्धिदरलाई सकारात्मक मानिएको छ। मुलुकको अर्थतन्त्रको कुल आकार ६६ खर्ब पुग्ने र नेपालीको प्रतिव्यक्ति कुल राष्ट्रिय आय १,५३५ अमेरिकी डलर पुग्ने प्रक्षेपण गरिएको छ। प्रदेशगत रूपमा बागमती र गण्डकी प्रदेशको वृद्धिदर राष्ट्रिय औसतभन्दा माथि रहे पनि अन्य प्रदेशको वृद्धिदर भने औसतभन्दा न्यून रहने देखिएको छ।
अर्थमन्त्रीले संसद्मा पेस गरेको सर्वेक्षण अनुसार कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २४ प्रतिशत र गैर–कृषि क्षेत्रको ७६ प्रतिशत रहने अनुमान छ। आर्थिक गतिविधिमा बागमती प्रदेशको दबदबा कायम छ, जसले कुल गार्हस्थ्य उत्पादनमा ३६.७ प्रतिशत योगदान पुर्याएको छ। यद्यपि, प्रमुख खाद्यान्न बाली धानको उत्पादनमा भने ४.२० प्रतिशतले संकुचन आई ५७ लाख ५ हजार मेट्रिक टनमा सीमित भएको सर्वेक्षणले देखाएको छ।
अर्थमन्त्री वाग्लेले संसद्मा आर्थिक सर्वेक्षण पेस गर्दै चालू आर्थिक वर्षको फागुनसम्ममा सङ्घीय राजस्व ३.२ प्रतिशतले वृद्धि भएको जानकारी दिए। उनका अनुसार सरकारी खर्च १०.४ प्रतिशतले बढे पनि पुँजीगत खर्च (विकास खर्च) मा भने उल्लेख्य सुधार हुन सकेको छैन। सरकारको कुल सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुगेको छ, जुन कुल गार्हस्थ्य उत्पादनको ४३.६ प्रतिशत हो। यसै वर्ष सरकारले ३ खर्ब सार्वजनिक ऋण परिचालन गरेको छ।
वाग्लेले सर्वेक्षण पेस गर्दै देशको बाह्य क्षेत्र निकै बलियो देखिएको बताएका छन्। उनका अनुसार विप्रेषण आप्रवाह (रेमिट्यान्स) ३७.७ प्रतिशतले बढेर १४ खर्ब ५० अर्ब पुगेको छ। विदेशी विनिमय सञ्चिति ३४ खर्ब १४ अर्ब पुग्दै ऐतिहासिक उचाइमा पुगेको छ, जसले १८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ। यद्यपि, व्यापार घाटा ११.२ प्रतिशतले बढेर १० खर्ब ९८ अर्ब पुग्नु अर्थतन्त्रको लागि चुनौती बनेको छ।
आर्थिक सर्वेक्षण अनुसार प्रविधिमैत्री भुक्तानीमा उल्लेख्य प्रगति भएको छ। फागुन महिनासम्म क्यूआर कोडमार्फत हुने कारोबार १ खर्ब २५ अर्ब नाघेको छ। यस्तै, सन् २०२५ को सार्वभौम क्रेडिट रेटिङमा नेपालले ‘BB-’ स्टेबल आउटलुक प्राप्त गरेको छ, जसले अन्तर्राष्ट्रिय स्तरमा नेपालको साख सुध्रिएको सङ्केत गर्छ। मुद्रास्फीति (महँगी) भने नियन्त्रणमै रहेको छ, जुन औसत २.१३ प्रतिशत छ।
मानव विकासका सूचकहरूमा नेपालले प्रगति गरेको छ। मानव विकास सूचकाङ्क ०.६२२ र नेपालीको औसत आयु ७१.३ वर्ष पुगेको छ। स्वास्थ्य क्षेत्रमा मातृ मृत्युदर प्रति लाख १५१ र ५ वर्षमुनिको बाल मृत्युदर प्रति हजार ३३ मा झरेको छ। शिक्षातर्फ आधारभूत तहको खुद भर्ना दर ९७.८ प्रतिशत पुगेको छ भने स्वास्थ्य बीमा र सामाजिक सुरक्षा कोषमा नागरिकको आबद्धता बढ्दो क्रममा रहेको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो एजेन्सी
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
-
अष्ट्रेलियाका उच्च प्रतिनिधिमण्डलको नेपाल भ्रमण सम्पन्न, द्विपक्षीय सहकार्य विस्तारमा जोड
-
‘शान्तिपूर्ण समाजका लागि समुदाय-प्रहरी साझेदारी अपरिहार्य’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण