बागमतीमा एचआइभीका ८ हजार भन्दा बढी संक्रमित
सारांश
- बागमती प्रदेशमा हालसम्म ८ हजार ३२८ जनामा एचआईभी संक्रमण पुष्टि भएको छ ।
- नेपालमा एचआईभी संक्रमण दर घट्दो क्रममा देखिए पनि नियन्त्रण, परीक्षणको पहुँच विस्तार र संक्रमितलाई उपचारमा राख्ने चुनौती कायमै छ ।
- एचआईभी संक्रमण न्युूनीकरणका लागि क्रियाशील संस्था एड्स हेल्थ केयर फाउण्डेशन (एएचएफ) नेपालले एचआईभी संक्रमितहरुलाई आर्थिक सामाजिक रूपमा सहयोग गर्नुपर्नेमा जोड दिएको छ ।
मकवानपुर । नेपालमा एचआईभी संक्रमणको दरमा क्रमिक सुधार देखिएको छ । संक्रमितहरू एचआईभीलाई सामान्य रूपमा दिन थालेका छन् भने संक्रमण दर पनि कमी आएको देखिन्छ ।
नेपाल सरकारले सन् २०३० सम्ममा एड्स महामारीलाई अन्त्य गर्ने लक्ष्यका साथ ‘राष्ट्रिय एचआईभी रणनीतिक योजना २०२१–२०२६’ कार्यान्वयन गरिरहेको अवस्थामा बागमती प्रदेशमा भने जोखिम कायमै रहेको देखिन्छ । संक्रमितहरूले सामान्य रूपमा लिए पनि संक्रमणको अवस्था अनुसार केही समूह र क्षेत्रहरू अझै उच्च जोखिममा रहेका छन् ।
स्वास्थ्य निर्देशनालय बागमती प्रदेश हेटौँडाका अनुसार नेपालमा हाल कुल ३४ हजार ३३७ जना व्यक्ति एचआईभी संक्रमित रहेको अनुमान गरिएको छ ।
वयस्क जनसंख्यामा एचआईभीको संक्रमण दर ०.१३ प्रतिशत रहेको निर्देशनालयले जनाएको छ । नेपालमा औसत दैनिक १.७ व्यक्ति संक्रमित हुने गरेका छन् । सन् २००० मा ५ हजार ५४५ पुगेको नयाँ संक्रमणको संख्या सन् २०२४ मा ६१४ मा झर्नुलाई उपलब्धि मानिएको छ ।
प्रदेशमा एचआईभी संक्रमण दर अघिल्ला वर्षहरूका तुलनामा घट्दो क्रममा देखिएको पनि संक्रमण नियन्त्रण, परीक्षणको पहुँच विस्तार र संक्रमितलाई निरन्तर उपचारमा राख्ने चुनौती अझै कायम रहेको स्वास्थ्य निर्देशनालय हेटौँडाकी जनस्वास्थ्य प्रशासक सञ्जु राईले जानकारी दिइन् । कुनै समय समाजमा अत्यधिक डर, भ्रम र सामाजिक बहिष्कारसँग जोडिने एचआईभी संक्रमण अब बिस्तारै सामान्य बन्दै गएको उनले बताइन् । आधुनिक उपचार पद्धति, जनचेतनाको वृद्धि र नियमित औषधि सेवनका कारण एचआईभी संक्रमित व्यक्तिहरू सामान्य जीवन बिताउन सक्षम बन्दै गएको उनले बताइन् ।
उनका अनुसार, धेरै संक्रमित व्यक्ति रोजगारी, पारिवारिक जिम्मेवारी र सामाजिक गतिविधिमा सक्रिय रूपमा सहभागी रहेका छन् भने समयमै परीक्षण गरी उपचार सुरु गरेमा एचआईभी संक्रमित व्यक्तिले अन्य मानिससरह सामान्य जीवन बिताउन सक्ने अवस्था बनेको छ ।
निर्देशनालयको तथ्याङ्कअनुसार प्रदेशमा आर्थिक वर्ष २०७९/०८० मा ८८३ जनामा संक्रमण पुष्टि भएको थियो भने उक्त संख्या आर्थिक वर्ष २०८०/०८१ मा घटेर २०८ मा झरेको थियो । यद्यपि, हालसम्म प्रदेशमा ८ हजार ३२८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
संक्रमितमध्ये ७ हजार १०४ जना उपचार सेवामा आबद्ध छन् भने ६ हजार ७० जनामा भाइरल लोड दबिएको अवस्था रहेको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०८१/०८२ मा आमाबाट बच्चामा संक्रमण रोकथाम (पीएमटीसीटी) सेवाअन्तर्गत बागमती प्रदेशमा एक लाख १९ हजार ६१७ जनालाई परामर्श सेवा मिलेको थियो । तीमध्ये ९४ हजार ९९२ जनामा परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
एचआईभी परीक्षण तथा परामर्श (एचटीसी) सेवाअन्तर्गत आर्थिक वर्ष २०८१/०८२ मा मात्रै प्रदेशभर १ लाख १९ हजारभन्दा बढीले परामर्श लिएकोमा ९४ हजार ९ सय ९२ जनाको परीक्षण गरिएको थियो, जसमा १३ जनामा मात्रै पोजेटिभ रिपोर्ट देखिएको निर्देशनालयले जनाएको छ।
संक्रमण दर घट्दै गएको देखिए पनि सामाजिक व्यवहार, परीक्षणमा ढिलाइ, उपचारमा लापरबाही तथा दुर्गम क्षेत्रमा सेवा पहुँचको कमीले एचआईभी नियन्त्रण अभियानमा अझै कठिनाइ भएको उनको भनाई छ । एचआईभी संक्रमितका लागि प्रदेशभर हाल १८ वटा (एआरटी) सेवा केन्द्र, ६ वटा (ओएसटी) सेवा केन्द्र तथा काठमाडौँ र चितवनमा दुई वटा भाइरल लोड परीक्षण केन्द्र सञ्चालनमा रहेको उनले बताइन् ।
एचआईभी संक्रमण न्युूनीकरणका लागि क्रियाशील संस्था एड्स हेल्थ केयर फाउण्डेशन (एएचएफ) नेपालका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाले एचआईभी संक्रमितहरूलाई आर्थिक सामाजिक रूपमा सहयोग गर्नुपर्छ । एचएफएच मार्फत् आर्थिक क्षमता नभएका व्यक्तिलाई समेत आधुनिक उपचार र सहयोग भन्ने उद्देश्यसहित एचआईभी संक्रमित लक्षित कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।
स्वास्थ्य निर्देशनालयका अनुसार, सन् २०२६ सम्म ‘९५–९५–९५’ लक्ष्य हासिल गर्ने योजना रहे पनि हाल वाग्मती प्रदेशका ८६ प्रतिशत संक्रमितले मात्रै आफ्नो स्वास्थ्य अवस्था थाहा पाएका छन् । संक्रमितमध्ये ९७ प्रतिशत नियमित उपचारमा आबद्ध छन् भने उपचारमा रहेका ८५ प्रतिशतको शरीरमा संक्रमणको असर नियन्त्रणमा आएको छ।
जिल्लागत रूपमा हेर्दा काठमाडौँमा सबैभन्दा बढी ४ हजार २०५ जना एआरटी सेवामा छन् भने चितवनमा १ हजार २२३ जना रहेका छन् । रसुवा र रामेछापमा एआरटी सेवामा रहेका संक्रमितको संख्या शून्य देखिएको छ । नेपालमा एचआईभी संक्रमण सुईद्वारा लागूपदार्थ प्रयोग गर्नेहरू, महिला/ पुरुष यौनकर्मी, तेस्रो लिंगी, यौनकर्मी र वैदेशिक रोजगारमा जाने पुरुष श्रमिकहरू रहेका छन् । एआरटी सेवा लिनेहरूमध्ये ६६ प्रतिशत घरायसी काम गर्ने महिला, बालबालिका र अन्य पहिचान नभएका समूह रहेका छन् भने १५ प्रतिशत वैदेशिक रोजगारबाट फर्केका श्रमिकहरू रहेका छन् ।
भौगोलिक रूपमा तराईका राजमार्ग आसपासका जिल्लाहरू, काठमाडौँ उपत्यका, पोखरा र सुदूरपश्चिमका पहाडी जिल्लाहरूलाई एचआईभीको ‘एपिडेमिक जोन’ को रूपमा वर्गीकरण गरिएको छ । प्रदेशमा एचआईभी नियन्त्रणका लागि संस्थागत पूर्वाधार तयार गरिएको निर्देशक डा. नरेन्द्र झाले जानकारी दिए । उनका अनुसार हाल १३ वटा जिल्लाका विभिन्न अस्पताल र स्वास्थ्य केन्द्रहरू मार्फत सेवा प्रवाह भइरहेको छ । प्रदेशमा हाल १८ वटा एआरटी केन्द्रहरू सञ्चालनमा रहेका छन् । जसमा ६ वटा ओएसटी साइटहरू (काठमाडौँ, ललितपुर, भक्तपुर र चितवनमा) रहेका छन् भने १६ वटा प्रारम्भिक शिशु निदान सङ्कलन केन्द्रहरू र २ वटा भाइरल लोड परीक्षण केन्द्रहरू (काठमाडौँ र चितवनमा) रहेका छन् ।
उनका अनुसार संक्रमितहरू एआरटी उपचारमा भर्ना हुनुअघि नै सम्पर्कविहीन हुने दर बढ्दो रहेको छ । परीक्षण किटहरूको नियमित आपूर्ति नहुनु, संक्रमित महिला तथा बालबालिकाहरूका लागि पर्याप्त स्वास्थ्य बीमा र सामाजिक सुरक्षाको अभाव हुनु लगायतका चुनौती कायमै रहेको उनले बताए । आगामी दिनमा भाइरल लोड परीक्षण सेवाको विस्तार, आमाबाट बच्चामा हुने संक्रमण पूर्ण रूपमा अन्त्य र सरकारी लगानी वृद्धि गर्दै दक्ष जनशक्ति परिचालन गर्नुपर्ने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालकै सबैभन्दा ठुलो च्यारिटी साइकलिङ अभियान, तस्बिरमा हेर्नुहोस्
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण