सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
च्याम्पियन्स लिग फाइनल

आर्सनलले जित्दा लन्डनभन्दा बढी खुसी किन अफ्रिकामा हुन्छ?

१५ करोडले हेर्दै छन् आज रातिको च्याम्पियन्स लिग फाइनल, अधिकांश दर्शक अफ्रिकाबाट
शनिबार, १६ जेठ २०८३, १८ : ००
शनिबार, १६ जेठ २०८३

सारांश

  • आर्सनलले २२ वर्षपछि प्रिमियर लिग जितेपछि केन्या, इथियोपिया, युगान्डा र नाइजेरिया जस्ता अफ्रिकी देशहरूमा समर्थकहरूको ठूलो उत्सव मनाइयो।
  • १९९० को दशकमा प्रिमियर लिगको अफ्रिकाभर प्रसारण विस्तार र २००० मा डीएसटीभीको सुपरस्पोर्ट च्यानलले फुटबललाई घर, बार र चोकहरूमा पुर्‍यायो।
  • प्रशिक्षक आर्सेन वेङ्गरले अफ्रिकी खेलाडीहरूलाई अनुबन्ध गरेर आर्सनललाई खुला, विश्वव्यापी र भविष्यमुखी क्लबको रूपमा स्थापित गरे, जसले अफ्रिकामा यसको लोकप्रियता बढायो।

आज आर्सनलले च्याम्पियन्स लिगको फाइनल जितेमा, अफ्रिकाभर उत्सवको माहोल हुने अपेक्षा गर्न सकिन्छ। २२ वर्षपछि पहिलो पटक गत हप्ता प्रिमियर लिगको उपाधि जितेपछि देखिएका दृश्यहरूलाई हेर्दा यो उत्सव विशाल हुने निश्चित छ।

केन्या, इथियोपिया, युगान्डा र नाइजेरियाका सहरका केन्द्रहरूमा उत्साहित समर्थकहरू सडकमा ओइरिएका थिए। बोको हरामको बिगबिगीका कारण बढ्दो असुरक्षाका बाबजुद, नाइजेरियाको जाम्फारा राज्यमा समेत मानिसहरूले सडकमा निस्केर उत्सव मनाए।

बाहिरबाट हेर्दा स्वाभाविक प्रश्न उठ्छः उत्तर लन्डनको एउटा क्लब कसरी अफ्रिकी लोकप्रिय संस्कृतिमा यति गहिरो रूपमा जोडिन पुग्यो?

सबैभन्दा नाटकीय दृश्यहरू केन्यामा देखिए, जहाँ गत हप्ता दशौँ हजारदेखि लिएर केही अनुमानअनुसार दशौँ लाख मानिसहरू रातो आर्सनल जर्सी लगाएर समुद्रजस्तो भिडका साथ सडक र राजमार्गमा ओइरिए। यो दृश्य पहिले कहिल्यै देखिएको थिएन। समर्थकहरू बिजुलीका खम्बामा चढे, झन्डा फहराए र क्लबका गीतहरू गाए। यी गीतमध्ये केही स्थानीय भाषामा रचना गरिएका संस्करणहरू पनि थिए। यातायात पूर्ण रूपमा अवरुद्ध भयो। सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको एक भिडियोमा एक समर्थकले यो जितलाई ‘संसारको सम्पूर्ण घृणालाई पराजित गर्ने विजय’ भनेका थिए। उत्साहित समर्थकहरू दिवङ्गत केन्याली विपक्षी नेता, पूर्वप्रधानमन्त्री तथा आर्सनलका कट्टर समर्थक राइला ओडिङ्गाको समाधिमा समेत श्रद्धाञ्जली दिन पुगे।

तर, केन्या मात्र यस्तो उदाहरण थिएन। युट्युब र टिकटकमा इथियोपियाभरिका समर्थकहरूले राजधानी अदिस अबाबालाई कार परेड, नारा लगाउने भिड र सडकबिच दौडिने युवाहरूको उत्सवस्थल बनाएका भिडियोहरू प्रशस्तै छन्। अर्को भिडियोमा एक हजुरआमा आर्सनल जर्सीमा आफ्ना नातिहरूसँगै उत्सव मनाइरहेकी देखिन्छिन्। देशमा ठुलो सङ्ख्यामा रहेका म्यानचेस्टर युनाइटेडका समर्थकहरूले भने यो दृश्य केवल हेरेर बस्नुपरेको थियो।

arsenal-2

युगान्डामा, हजारौँ मानिसहरू कम्पालाको आर्सनल समर्थकको बलियो क्षेत्र ‘न्साम्ब्या’मा भेला भए र विशाल स्क्रिनमा खेल हेरेपछि ‘विम्बिसा आर्सनल’ नामक रातभर चलेको कन्सर्टमा सहभागी भए। एक समर्थकले उपस्थित हुन नसक्नेहरूका लागि उक्त कार्यक्रमको प्रत्यक्ष प्रसारण गरे। अन्य ठाउँमा, चर्च वा मस्जिद जाने उपासकहरूले आर्सनल–थिमका पहिरन लगाएर विजयका लागि भगवान्लाई धन्यवाद दिए। अफ्रिकाभर देखिएको यस्तो स्वतःस्फूर्त ऊर्जा कसैका लागि पनि आश्चर्यको विषय थिएन।

यसको एउटा मुख्य कारण १९९० को दशकमा अफ्रिकाभर भएको प्रिमियर लिग प्रसारणको विस्तार हो। सन् १९९२ मा लिग सुरु भएपछि म्यानचेस्टर युनाइटेड, लिभरपुल र चेल्सी जस्ता क्लबहरूले अफ्रिकामा समर्थक आधार बनाएका थिए। तर, निर्णायक परिवर्तन सन् २००० मा आयो, जब दक्षिण अफ्रिकी स्याटेलाइट नेटवर्क ‘डीएसटीभी’ ले प्रिमियर लिगको प्रसारण अधिकार लियो र ‘सुपरस्पोर्ट’ च्यानलमार्फत सब–सहारन अफ्रिकाभर खेलहरूको प्रत्यक्ष प्रसारण गर्न थाल्यो। अचानक केन्यादेखि नाइजेरिया र इथियोपियासम्मका घर, बार र दर्शक भेला हुने चोकहरूमा साप्ताहिक रूपमा यी खेलहरू उपलब्ध भए।

यी फुटबल बारहरू अनौपचारिक भेटघाट स्थल बने। समर्थक क्लबहरू बने, जसमा चुनाव, वार्षिक बैठक र भव्य उत्सवहरू समेत हुन्थे। अनायासै भए पनि, सुपरस्पोर्ट र डीएसटीभीले गैर–राजनीतिक प्रकृतिको एक प्रकारको ‘प्यान–अफ्रिकानिज्म’ चेतना (अफ्रिकी मूलको एकबद्धताको चेतना) निर्माण गर्न मद्दत गरे, जुन साझा दर्शक संस्कृतिमा आधारित थियो। तर, अफ्रिकी र अफ्रिकी मूलका खेलाडीहरू इङ्गलिस क्लबहरूमा खेले पनि, यो नयाँ फुटबल संस्कृति अझै पूर्ण रूपमा आफ्नो प्रतीकात्मक घरमा स्थापित भइसकेको थिएन।

यो परिवर्तन भने प्रशिक्षक आर्सेन वेङ्गरको आगमनसँगै भयो। सन् १९९६ मा जापानी लिगबाट आर्सनलमा आएका यी प्रसिद्ध प्रशिक्षकले अङ्ग्रेजी फुटबलमा त्यस्तो समयमा प्रवेश गरे, जतिबेला अफ्रिकी खेलाडीहरू दुर्लभ मानिन्थे। वेङ्गरले त्यो अवस्था पूर्ण रूपमा परिवर्तन गरिदिए। सन् २०१८ मा उनी क्लब छोड्दासम्म, आर्सनल प्रिमियर लिगमा अफ्रिकी फुटबलको उदय र लन्डनको अफ्रिकी डायस्पोराको प्रतीक बनिसकेको थियो।

Arsenal 22

सन् १९५७ मा आर्सनलले दक्षिण अफ्रिकाका श्वेत खेलाडी ड्यानी ले राउक्सलाई अनुबन्ध गरेको थियो। उनले १९५७–५८ को सिजन क्लबका लागि खेले। वेङ्गरको पहिलो अफ्रिकी अनुबन्ध भने लाइबेरियाली स्ट्राइकर क्रिस्टोफर व्रेह थिए, जसको मोनाकोमा वेङ्गरअन्तर्गतको सफलताले अफ्रिकी प्रतिभाप्रतिको वेङ्गरको विश्वासलाई बलियो बनाएको थियो। क्रिस्टोफर व्रेह, जर्ज वेहका नातेदार थिए, जसले पनि मोनाकोमा वेङ्गरसँगै खेलेका थिए र पछि आफ्नो शानदार फुटबल करियरपछि लाइबेरियाका राष्ट्रपति बने।

वेङ्गरको नेतृत्वमा दुई दर्जनभन्दा बढी अफ्रिकी मूलका खेलाडीहरूले आर्सनलको प्रतिनिधित्व गरे। जसमा लौरेन, प्याट्रिक भिएरा, कोलो टुरे र न्वानक्वो कानु जस्ता स्टार खेलाडीहरू समावेश थिए। यस पहिचानले आर्सनललाई खुला, विश्वव्यापी, रङ्गभेदविरोधी र भविष्यमुखी क्लबको रूपमा स्थापित गर्न मद्दत गर्‍यो। धेरै समर्थकहरूका अनुसार, यी मूल्य–मान्यताहरू आफ्नै राजनीतिक प्रणालीहरूमा बरु कम देखिन्छन्।

फुटबल उत्सवहरू राजनीतिक दबाबबाट केही क्षणका लागि पाइने उन्मुक्ति जस्ता पनि हुन्छन्। जहाँ राजनीति प्रायः अभिजात वर्ग (एलिट) हरूको सौदाबाजी जस्तो लाग्छ र निर्वाचनहरू मत किन्ने अभ्यासमा सीमित हुन्छन्, त्यहाँ यस्तो स्वतःस्फूर्त सडक कब्जाले वास्तविक सामूहिकताको अनुभूति दिन्छ। छोटो समयका लागि नै किन नहोस्, सडकहरू साधारण मानिसहरूको कब्जामा हुन्छन्।

यो सत्य हो कि रुवान्डाका राष्ट्रपति पल कागामे जस्ता अधिनायकवादी व्यक्तिहरू पनि आर्सनलका समर्थक हुन्, र क्लबको रुवान्डासँगको प्रायोजन सम्बन्धले यसको छवि केही जटिल पनि बनाएको छ। तर, यसले आर्सनलले अफ्रिकी महादेश, डायस्पोरा तथा अश्वेत पहिचानमा उत्पन्न गर्ने ऊर्जालाई भने किमार्थ घटाउँदैन।

द गार्जियन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सन हेनरी ज्याकब्स
सन हेनरी ज्याकब्स
लेखकबाट थप