शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
क्रिकेट

डेब्यु खेलाडी अराफात मिन्हासको कीर्तिमानी बलिङसँगै पहिलो एक दिवसीय खेलमा पाकिस्तान ५ विकेटले विजयी

आइतबार, १७ जेठ २०८३, ०१ : १९
आइतबार, १७ जेठ २०८३

सारांश

  • पाकिस्तानले पहिलो एक दिवसीय खेलमा अस्ट्रेलियालाई ५ विकेटले पराजित गरेको छ ।
  • डेब्यु खेल खेलिरहेका स्पिनर अराफात मिन्हासले १० ओभरमा ३२ रन खर्चेर ५ विकेट लिँदै ऐतिहासिक कीर्तिमान बनाएका छन् ।
  • बाबर आजम र गाजी घोरीको साझेदारीमा पाकिस्तानले २०१ रनको लक्ष्य ४२.३ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

काठमाडौँ । युवा स्पिनर अराफात मिन्हासको कीर्तिमानधारी घातक बलिङ र बाबर आजम तथा गाजी घोरीको सन्तुलित ब्याटिङको मद्दतले पाकिस्तानले पहिलो एक दिवसीय खेलमा अस्ट्रेलियामाथि ५ विकेटको सहज जित दर्ता गरेको छ ।

रावलपिन्डीमा भएको खेलमा अस्ट्रेलियाले प्रस्तुत गरेको २०१ रनको लक्ष्यलाई पाकिस्तानले ४२.३ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो ।

मिन्हासको डेब्युमै ऐतिहासिक कीर्तिमान

आफ्नो एक दिवसीय डेब्यु खेल खेलिरहेका २१ वर्षीय देव्रेहाते स्पिनर अराफात मिन्हासले १० ओभरमा मात्र ३२ रन दिएर ५ विकेट लिँदै ऐतिहासिक कीर्तिमान बनाए । उनी पाकिस्तानका तर्फबाट एक दिवसीय डेब्यु खेलमै ५ विकेट लिने पहिलो बलर बनेका छन् । उनको सानदार स्पिन बलिङको अगाडि टस जितेर पहिले ब्याटिङ रोजेको अस्ट्रेलिया ४४.१ ओभरमा २०० रनमै समेटिएको थियो ।

अस्ट्रेलियाका लागि म्याट रेनशाले ६१ रन तथा म्याथ्यु सर्टले ५५ रनको अर्धशतकीय योगदान दिए पनि अन्य ब्याटर चल्न सकेनन् । ओपनर एलेक्स केरी ८ रनमा आउट भएपछि मैदान प्रवेश गरेका जोश इंग्लिस र मार्नस लाबुसेनलाई मिन्हासले लगातार बलमा पभेलियनको बाटो देखाएका थिए । त्यसपछि उनले क्यामरन ग्रीन र नेथन एलिसलाई समेत आउट गर्दै आफ्नो ५ विकेट पूरा गरे। पाकिस्तानका लागि अर्का स्पिनर अबरार अहमदले पनि उत्कृष्ट बलिङ गर्दै २ विकेट लिए ।

२०१ रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तानको सुरुवात पनि राम्रो हुन सकेन । प्रारम्भिक ब्याटरहरू माज सदाकत र साहिबजादा फरहान सस्तैमा आउट भएपछि टोली दबाबमा परेको थियो ।

तर, तेस्रो विकेटका लागि अनुभवी ब्याटर बाबर आजम र युवा विकेटकिपर–ब्याटर गाजी घोरीले १२७ रनको महत्त्वपूर्ण साझेदारी गर्दै पाकिस्तानको इनिङ्स सम्हाले । आफ्नो दोस्रो एक दिवसीय खेल खेलिरहेका घोरीले ९२ बलमा ६५ रन बनाउँदै आफ्नो पहिलो अन्तर्राष्ट्रिय अर्धशतक पूरा गरे । त्यस्तै, बाबर आजमले ९४ बलमा ६९ रनको योगदान दिए ।

खेलको अन्त्यतिर यी दुवै सेट ब्याटर नेथन एलिसको बलमा आउट भए पनि खेल पाकिस्तानको नियन्त्रणमा आइसकेको थियो । अन्ततः बलर मिन्हासले नै अविजित १८ रन बनाउने क्रममा छक्का प्रहार गर्दै पाकिस्तानलाई जितको रेखा पार गराए । अस्ट्रेलियाका लागि एलिसले ३ विकेट लिए पनि टोलीको हार टार्न पर्याप्त भएन ।

यस जितसँगै तीन खेलको एक दिवसीय शृङ्खलामा पाकिस्तानले १–० को अग्रता बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप