शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
फोटो

उजाड टुँडिखेललाई हराभरा बनाउने अभियान : सुरु भयो दुबो रोप्ने काम

सोमबार, १८ जेठ २०८३, ०९ : ४०
सोमबार, १८ जेठ २०८३

सारांश

  • राजधानीको ऐतिहासिक टुँडिखेललाई हरियाली, व्यवस्थित र वातावरणमैत्री बनाउन दुबो रोप्ने अभियान सुरु गरिएको छ।
  • काठमाडौँ महानगरपालिका, नेपाली सेना र सम्बन्धित निकायको सहकार्यमा वर्षौँदेखि धूलो उड्ने र घाँसविहीन रहेको टुँडिखेललाई हराभरा बनाइनेछ।
  • दुबो रोपणसँगै सिँचाइ, संरक्षण र व्यवस्थापनको काम गरिनेछ, जसले काठमाडौँको सहरी क्षेत्रमा धूलो नियन्त्रण र वातावरणीय सन्तुलनमा मद्दत पुग्नेछ।

काठमाडौँ। राजधानीको मुटुमा रहेको ऐतिहासिक तथा खुला सार्वजनिक क्षेत्र टुँडिखेललाई थप हरियाली, व्यवस्थित र वातावरणमैत्री बनाउने उद्देश्यका साथ विशेष अभियान सुरु गरिएको छ। 

‘टुँडिखेल हरियाली कार्यक्रम’ अन्तर्गत टुँडिखेलको खुला मैदानमा दुबो रोप्ने कामको औपचारिक सुरुवात गरिएको हो।

tudikhel dubo (1)

काठमाडौँ महानगरपालिका, नेपाली सेना तथा अन्य सम्बन्धित निकायहरूको आपसी समन्वय र सहकार्यमा टुँडिखेलको खुला क्षेत्रमा दुबो रोप्न थालिएको हो। वर्षौँदेखि अत्यधिक धूलो उड्ने, घाँसविहीन रहने र कतिपय स्थानमा उजाड देखिने टुँडिखेलको स्वरूपलाई परिवर्तन गरी हराभरा बनाउन यो अभियान अघि बढाइएको हो। 

tudikhel dubo (2)

कार्यक्रम अन्तर्गत टुँडिखेलको विभिन्न भागमा क्रमशः हरियो दुबो विस्तार गर्दै लगिने योजना छ। यस कार्यले टुँडिखेलको समग्र सौन्दर्यलाई बढाउने मात्र नभई काठमाडौँको मुख्य सहरी क्षेत्रमा धूलो नियन्त्रण गर्न र वातावरणीय सन्तुलन कायम राख्न समेत ठुलो मद्दत पुग्नेछ। यसबाट सर्वसाधारणले स्वच्छ, हरियाली र रमणीय खुला स्थानको आनन्द लिन पाउने अपेक्षा गरिएको छ।

tudikhel dubo (3)

सम्बन्धित निकायका अनुसार दुबो रोपेर मात्र नछोडिने र यसको दिगोपनका लागि नियमित सिँचाइ, उचित संरक्षण र दीर्घकालीन व्यवस्थापनको काम पनि सँगसँगै गरिनेछ। हाल वर्षायाम सुरु हुन लागेकाले यो समय दुबो रोप्नका लागि प्राविधिक रूपमा सबैभन्दा उपयुक्त मानिन्छ। त्यसैले दुबो सजिलै सरोस् र राम्रोसँग फैलियोस् भन्ने उद्देश्यले अहिले कामलाई तीव्र गतिमा अगाडि बढाइएको छ।

tudikhel dubo (4)

टुँडिखेल काठमाडौँ उपत्यकाकै सबैभन्दा प्रमुख र ऐतिहासिक खुला क्षेत्रका रूपमा स्थापित छ। जहाँ महत्त्वपूर्ण राष्ट्रिय समारोह, विभिन्न सांस्कृतिक कार्यक्रम, खेलकुद गतिविधिहरू सञ्चालन हुनुका साथै सर्वसाधारणले दैनिक रूपमा घुमफिर र आराम गर्ने गर्छन्। पछिल्ला वर्षहरूमा टुँडिखेलको संरक्षण, सौन्दर्यीकरण र यस खुला क्षेत्रको उपयोगितालाई थप प्रभावकारी तथा नागरिकमैत्री बनाउन चौतर्फी माग उठ्दै आएको थियो। 

tudikhel dubo (5)tudikhel dubo (6)tudikhel dubo (7)tudikhel dubo (8)tudikhel dubo (9)tudikhel dubo (10)tudikhel dubo (11)tudikhel dubo (12)tudikhel dubo (13)tudikhel dubo (14)tudikhel dubo (15)tudikhel dubo (16)tudikhel dubo (17)tudikhel dubo (18)

तस्बिर : सुर्याम्स उप्रेती/ नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप