बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

पशुपतिको शवदाह मेसिन खरिद प्रकरण : १४ जनाविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित

सोमबार, १८ जेठ २०८३, १२ : ५७
सोमबार, १८ जेठ २०८३

सारांश

  • पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव डा. मिलनकुमार थापासहित १४ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित भएको छ।
  • प्रतिवादी पक्षका कानुन व्यवसायीले निवेदन दिएपछि विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य विदुर कोइरालाको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको मुद्दा स्थगित गरिएको हो।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिमा शवदाह मेसिन खरिद प्रकरणमा सदस्यसचिव थापासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव डा. मिलनकुमार थापासहित १४ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित भएको छ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य विदुर कोइरालाको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको भए पनि प्रतिवादी पक्षका कानुन व्यवसायीले निवेदन दिएपछि सुनुवाइ स्थगित गरिएको हो।

यस मुद्दामा तत्कालीन सदस्यसचिव डा. थापा, तत्कालीन निमित्त सदस्यसचिव राजुकुमार खत्री, तत्कालीन कार्यकारी निर्देशक घनश्याम खतिवडा, हालका उपनिर्देशक रेवतीरमण अधिकारी, तत्कालीन निमित्त उपनिर्देशक सिताराम रिसेल तथा इन्जिनियरहरू पशुपति ठाकुर, डेनिस उप्रेती, रमेश पुरीलगायतलाई प्रतिवादी बनाइएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ असार ८ गते पशुपतिमा शवदाह मेसिन खरिद प्रकरणमा सदस्यसचिव थापासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

आयोगका अनुसार भारतीय रुपैयाँ ३२ लाख ५० हजार मूल्य पर्ने शवदाह मेसिनलाई नेपाली रुपैयाँ १ करोड ५२ लाख मूल्यको देखाई तथा प्रचलित कानुनले दिएको छुटसमेत लागत अनुमानमा समावेश गरी अस्वाभाविक रूपमा बढी लागत अनुमान तयार गरिएको थियो।

अभियोगपत्रमा खरिद प्रक्रियाका लागि आवश्यक प्राविधिक कागजात तयार नगरेको, प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रिया नअपनाएको तथा स्थलगत निरीक्षणसमेत नगरेको उल्लेख छ।

यस्तै, ठेक्का सम्झौतामा उल्लेखित काम सम्पन्न नभईकनै १ करोड ८२ लाख रुपैयाँ अग्रिम भुक्तानी गरिएको अभियोग पनि आयोगले लगाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप