विश्वकपका १० सदाबहार र आइकोनिक जर्सी
सारांश
- विश्वकप फुटबलका १० सदाबहार र आइकोनिक जर्सीहरूको सूची प्रस्तुत गरिएको छ, जसमा क्यामरुनको २००२ को विवादित जर्सीदेखि पश्चिम जर्मनीको १९९० को क्लासिक डिजाइनसम्म समावेश छन्।
- डिजाइनर म्याथ्यु उल्फका अनुसार, जर्सीको आइकोनिक बन्नुमा बाल्यकालको प्रभाव, खेलाडीहरूको सुपरहिरो जस्तो छवि र जर्सी लगाउँदा भएका ऐतिहासिक घटनाहरूको भूमिका हुन्छ।
- आजकल धेरै जर्सीहरू बजारमा आउने र उपभोक्तावाद बढ्दै गएकाले कुनै एक जर्सीले साँचो अर्थमा 'आइकोनिक' मान्यता पाउन गाह्रो भएको छ।
कतिपयको भनाइमा मानिसको जीवनलाई विश्वकपको आधारमा नाप्न सकिन्छ। कलिलो उमेरदेखि किशोर अवस्था हुँदै त्यसभन्दा पछिसम्मको समयरेखा चार-चार वर्षको अन्तरमा कोरिएको हुन्छ। फुटबलका यादहरूको एउटा सँगालो–आफूलाई मन पर्ने टिम, पुजिने नायक र उनीहरूले लगाएका प्रतिष्ठित (आइकोनिक) जर्सीहरू।
आज हामी तिनै जर्सीहरूको चर्चा गर्दैछौँ। कथा बोल्ने ती जर्सीहरू। सदाबहार उत्कृष्ट कलाकृतिहरू। तर एउटा जर्सीको विरासतलाई कुन कुराले यति धेरै चीरस्थायी बनाउँछ त ?
म्याथ्यु उल्फलाई सन् २०१८ को विश्वकपमा नाइजेरियाको निकै लोकप्रिय जर्सी र विजेता फ्रान्सको जर्सी डिजाइन गर्ने व्यक्तिको रूपमा चिनिन्छ।
यी अमेरिकी डिजाइनरको पोर्टफोलियोमा पेरिस सेन्ट-जर्मेन, मेजर लिग सकर र नेसनल वुमन्स सकर लिगका थुप्रै टिमका साथै उनकै सह-स्थापनामा रहेको युनाइटेड सकर लिग क्लब ‘भरमोन्ट ग्रिन’ सम्म समावेश छन्। त्यसैले उनलाई जर्सीको बारेमा राम्रो ज्ञान छ।
उल्फ प्रस्ट पार्छन्, ‘मेरा धेरैजसो मन पर्ने फुटबल जर्सीहरू ९० को दशक र सन् २००० को सुरुवाततिरको मेरो बाल्यकालका हुन्। त्यो जीवनको यस्तो चरण हो जतिबेला खेलाडीहरू साँच्चै सुपरहिरो जस्ता लाग्छन् र उनीहरूका जर्सीहरू निकै जादुमयी लाग्छन्।’
‘मेक्सिको १९९८, अमेरिका १९९४, जर्मनी १९९० र १९९४, जापान १९९८, नाइकीको सन् २००२ को सेट, यहाँसम्म कि २००२ मा क्यामरुनको बाहुलाविहीन टिसर्ट। एउटा सानो बालकको रूपमा मलाई ती कति ठूला र भव्य लाग्थे भन्ने कारणले गर्दा मेरो मनमा यी विशेष जर्सीहरू हुन्।’
‘कुनै जर्सी लगाइरहेको बेला के घटना भयो भन्ने कुराले पनि त्यो जर्सीलाई आइकोनिक बनाउँछ। समय बित्दै जाँदा फुटबल जर्सीलाई हेर्ने र बुझ्ने हाम्रो दृष्टिकोण पनि परिवर्तन हुन्छ।’

यद्यपि उल्फको विचारमा आजकाल साँचो अर्थमा ‘आइकोनिक’ मान्यता पाउन गाह्रो छ। उनी थप्छन्, ‘परिदृश्य फेरिएको छ र विश्वव्यापी बजार पूर्ण रूपमा भरिभराउ छ।’
‘अहिले क्लब र देश दुवैका लागि यति धेरै टिम र यति धेरै नयाँ जर्सीहरू छन्, कुनै एउटा मात्र जर्सीले सबैलाई उछिन्दै अगाडि आउन साँच्चै गाह्रो छ।’
‘पोसाकको डिजाइनमार्फत राष्ट्रहरूको सौन्दर्य र संस्कृति प्रस्तुत भएको देख्नु प्रेरणादायी भए तापनि यसले उपभोक्तावादमाथि प्रश्न खडा गर्छ। उत्पादन चक्रको तुलनामा वास्तविक सांस्कृतिक अभिव्यक्ति कति छ र हामी कति छिटो यी कपडाहरू परिवर्तन गरिरहेका छौँ भन्ने कुरा यसले उब्जाउँछ।’
- विश्वकपका उत्कृष्ट १० आइकोनिक जर्सीको वरीयता
यही कुरालाई मनन गर्दै, हामी विगततर्फ फर्कंदै छौँ। जर्सीहरूको सम्झना गर्दा सधैँ एउटा पुरानो यादको स्वस्थ झल्को आउँछ–ती धमिलो बाल्यकालका यादहरू जसलाई एउटा सुनौलो पर्दामार्फत पुन: बाँचिन्छ।
९० को दशक र २००० को सुरुवातका गाढा प्रिन्ट र खुकुला जर्सीहरू वा ८० को दशकको अन्त्यतिरका डिजाइनहरू, जुन अहिले जीवनशैलीको अभिन्न अङ्ग बनेका छन्, लाई मात्र समावेश गर्न मन लाग्नु स्वाभाविक हो।
त्यसैले एउटै शैलीको मात्र बाहुल्य नहोस् भन्नका लागि यहाँ एउटा मापदण्ड तय गरिएको छ: एउटा विश्वकपबाट एउटा भन्दा बढी जर्सी समावेश गरिने छैन र एउटा देशको एउटा मात्र जर्सी हुनेछ।
१०. क्यामरुनको होम जर्सी, २००२
यो अलिकति विवादस्पद हुन सक्छ किनभने यो जर्सीले कहिल्यै विश्वकपमा प्रवेश पाएन। तर यही कुराले यसलाई अविस्मरणीय बनाउँछ।
क्यामरुनले अफ्रिका कप अफ नेसन्सका लागि बाहुलाविहीन (स्लिभलेस) जर्सी अपनाएको थियो तर सन् २००२ को प्रतियोगिता आउँदासम्म फिफाको सोच अर्कै थियो।

पूर्व मिडफिल्डर एरिक जेम्बा-जेम्बाले बीबीसी स्पोर्ट अफ्रिकासँग भनेका छन्, ‘अफ्रिकाका सबैजना त्यो जर्सी लगाउन चाहन्थे।’
सेरेना विलियम्सले समेत त्यसैबाट प्रभावित हुँदै उक्त प्रतिबन्धित जर्सीजस्तै देखिने पोसाक त्यो गर्मीयाममा फ्रेन्च ओपनमा लगाएकी थिइन्। यद्यपि पछाडि आफ्नो लक्की नम्बर २६ राख्ने उनको अनुरोधलाई आयोजकले अस्वीकार गरेका थिए।
यसको साटो, जापान र दक्षिण कोरियामा भएको विश्वकपका लागि पुमालाई डिजाइनमा बाहुला थप्न भनियो।

तर क्यामरुनका जर्सी डिजाइनरहरूले फिफा प्रमुखहरूलाई क्रुद्ध बनाएको यो अन्तिम पटक थिएन–दुई वर्षपछि, एउटै कपडा हुने गरी सर्ट र कट्टु सँगै सिलाइएको ‘वान्सी’ जर्सीलाई पनि फुटबलको सर्वोच्च निकायले प्रतिबन्ध लगाएको थियो।
९. इंग्ल्यान्डको अवे जर्सी, १९६६
तुरुन्तै चिन्न सकिने यो जर्सीलाई यस गर्मीयाममा इंग्ल्यान्डभरिका बार्बिक्यु र बियर गार्डेनहरूमा सजिलै देख्न सकिन्छ।

‘थ्री लायन्स’ को यो रातो जर्सी यसले प्रतिनिधित्व गर्ने कुराको कारण आइकोनिक छ–राष्ट्रको एक मात्र विश्वकप विजय, वेम्बली मैदानमा हात पारेको ऐतिहासिक जित, ज्योफ हर्स्टको ह्याट्रिक र त्यो बल जसले (सायद) गोललाइन पार गरेको थियो।
यसले तुरुन्तै बबी मुरले आफ्ना साथीहरूको काँधमा बसेर जुल्स रिमेट ट्रफी उठाइरहेको तस्बिर आँखा अगाडि ल्याइदिन्छ।

सन् १९८२ र १९९० का जर्सीहरू पनि प्रतिस्पर्धामा थिए तर सूचीमा इंग्ल्यान्डको एउटा मात्र जर्सी राख्नुपर्दा यही पर्न आउँछ।
८. फ्रान्सको होम जर्सी, १९८२
सन् १९८२ मा पश्चिम जर्मनीसँग सेमिफाइनलमा ब्यहोरेको हारलाई सम्झँदै फ्रान्सका कप्तान मिचेल प्लाटिनीले भनेका थिए, ‘त्यो मेरो सबैभन्दा सुन्दर खेल थियो। कुनै पनि चलचित्र वा नाटकले यति धेरै विरोधाभास र भावनाहरूलाई समेट्न सक्दैन। त्यो पूर्ण थियो। त्यो उत्कृष्ट थियो।’

गोलकिपर हेराल्ड सुमाकरले प्याट्रिक ब्याटिस्टनमाथि गरेको डरलाग्दो च्यालेन्ज, अतिरिक्त समयपछिको रोमाञ्चक ३-३ को बराबरी, विश्वकप इतिहासकै पहिलो पेनाल्टी सुटआउट।
सेभियाको चर्को गर्मीमा पनि फ्रान्स एकदमै शान्त र आकर्षक देखिएको थियो–त्यो सदाबहार होम जर्सीको मुख्य आकर्षण नै त्यही थियो।
७. नेदरल्यान्ड्सको होम जर्सी, १९७४
विद्रोही, जिद्दी, र एकदमै आकर्षक। जोहान क्रोएफ नेदरल्यान्ड्सको ‘टोटल फुटबल’ क्रान्तिका अनुहार थिए।
सन् १९७४ को विश्वकपमा आइपुग्दासम्म क्रोएफले आयाक्ससँग तीनवटा युरोपियन कप जितिसकेका थिए र दुई पटक बालोन डी’ओरबाट सम्मानित भइसकेका थिए। यही विश्वकप उनको सबैभन्दा प्रसिद्ध क्षणको साक्षी बन्यो।

डर्टमन्डको वेस्टफालेनस्टेडियनमा नेदरल्यान्ड्सले स्विडेनको सामना गर्दा 'क्रोएफ टर्न' को जन्म भएको थियो। यद्यपि ती लामो कपाल भएका प्लेमेकरले आफ्ना साथीहरूको भन्दा फरक जर्सी लगाएका थिए, जसका साथीहरूको बाहुलामा एडिडासका तीनवटा धर्सा (स्ट्राइप) थिए।
क्रोएफ भने पुमासँग अनुबन्धित थिए र उनले एडिडासको जुत्ता लगाउन पहिल्यै अस्वीकार गरिसकेका थिए–ब्रान्डहरू, खेलाडीहरू र डच फुटबलका हाकिमहरूबिचको टकराबपछि उनको जर्सीबाट एउटा धर्सा हटाउने निर्णय पनि गरिएको थियो।
क्रोएफले आफ्नो आत्मकथामा लेखेका छन्, ‘केएनभीबी (डच फुटबल संघ) ले खेलाडीहरूलाई नबताई एडिडाससँग सम्झौता गरेको थियो। उनीहरूलाई जर्सी आफ्नै भएकाले खेलाडीलाई सोध्न जरुरी छैन भन्ने लागेको थियो। 'तर यसबाट बाहिर निस्किएको टाउको मेरो हो,' मैले उनीहरूलाई भनेको थिएँ।’
६. क्रोएसियाको होम जर्सी, १९९८
डाभोर सुकर, फ्रान्स १९९८, काँधमा छरिएको रातो र सेतो चेक डिजाइन। उत्कृष्ट। उक्त ढाँचा (प्याटर्न) क्रोएसियाको राष्ट्रिय प्रतीक बन्न पुग्यो, र यसले उनीहरूलाई फुटबल मैदानमा तुरुन्तै पहिचान गर्न सकिने बनायो।

क्रोएसियाले युरो ९६ मा प्रभावित पारेको थियो र त्यहाँ पनि एउटा उत्कृष्ट जर्सी लगाएको थियो, तर सात वर्षअघि स्वतन्त्रता घोषणा गरेपछिको उनीहरूको पहिलो विश्वकप देशका लागि एउटा मार्मिक खेलकुद क्षण थियो।
सुकरले–रोबर्ट जार्नी, जोभोनोमिर बोबान, रोबर्ट प्रोसिनेकी लगायतसँग मिलेर–आफ्नो टोलीलाई सेमिफाइनलसम्म पुर्याए, जहाँ रियल म्याड्रिडका स्ट्राइकरले आयोजकविरुद्ध आफ्नो टोलीलाई १-० को अग्रता दिलाएका थिए। त्यसपछि लिलियन थुरामबाट प्रेरित फ्रान्सले पुनरागमन गर्दै जित निकाल्यो।

त्यतिकै आइकोनिक नीलो अवे जर्सी लगाएर क्रोएसियाले प्ले-अफमा नेदरल्यान्ड्सलाई हराउँदै तेस्रो स्थान हासिल गर्यो।
५. नाइजेरियाको होम जर्सी, २०१८
नाइजेरियाको २०१८ को जर्सी एउटा परिघटना (फेनोमेनन) थियो। यो मैदानमा कसले लगायो भन्ने आधारमा नभई सांस्कृतिक र फेसन वृत्तमा यसले कसरी प्रभाव पर्यो भन्ने कारणले तुरुन्तै आइकोनिक बनेको एउटा दुर्लभ उदाहरण हो।
३० लाख मानिसहरूले जर्सीको प्रि-अर्डर गरे र यो रिलिज हुनेबित्तिकै लन्डनको नाइकीको प्रमुख स्टोरबाहिर ग्राहकहरूको लाइन लागेको थियो।

डिजाइनर उल्फ बताउँछन्, ‘हामीले नाइजेरियाकै आफ्नै जर्सी इतिहासबाट प्रत्यक्ष रूपमा सन्दर्भ लिएका थियौँ। २००२ को जर्सी एउटा सन्दर्भ थियो–त्यो चम्किलो हरियो रङ म फिर्ता ल्याउन चाहन्थेँ। अनि हामीले स्पष्ट रूपमा १९९४-९५ को जर्सीबाट पनि प्रेरणा लियौँ।’
‘हाम्रो लक्ष्य हावाबाटै केही नयाँ आविष्कार गर्नु थिएन, देशको फुटबल पहिचानमा पहिल्यैदेखि जोडिएका धागोहरूलाई तान्नु थियो।’
‘धेरै हिसाबले समय एकदमै सही थियो। नाइजेरिया फेसन, सङ्गीत, कविता, कला, चलचित्र आदिमा विश्वव्यापी सांस्कृतिक क्षणको अनुभव गरिरहेको थियो। जर्सी त्यही लहरको बिचमा सार्वजनिक भयो, र लहर बढ्दै गएको हुनाले यसले प्रभाव पारेको जस्तो लाग्छ।’
‘यसलाई सँगै ल्याउने नाइकीको सम्पूर्ण टोलीलाई यसको श्रेय जान्छ। एउटा मात्र डिजाइनरको कारणले जर्सी यति ठूलो परिघटना बन्दैन। धेरै मानिसहरूले धेरै विचारशील र विस्तृत काम गरेकाले यो एउटा परिघटना बन्छ।’
४. ब्राजिलको होम जर्सी, १९७०
संसारको फुटबलमा सायदै अर्को कुनै देश होला जुन एउटा रङको यति ठूलो पर्याय होस् जति ब्राजिल छ।

ग्रेनी र पुराना भिडिओ फुटेजहरूमा पनि उनीहरूको १९७० को पहेँलो (क्यानेरी-येल्लो) जर्सी जीवन्त र आकर्षक देखिन्छ। मेक्सिकोको घाममा त्यो जर्सी लगाउने विश्वविजेता खेलाडीहरूका लागि यो एकदमै सुहाउँदो थियो। पेले, कार्लोस अल्बर्टो, रिभेलिनो, जाइर्जिन्हो।
हरेक विश्वकपमा देखाइने पुराना भिडिओ क्लिपहरू हेर्दा तपाईं आफैँ एज्टेका स्टेडियममा बसेर ती उत्कृष्ट ब्राजिलियनहरूले इटालीलाई हराएको हेरिरहेको भान हुन्छ–उनीहरूको त्यो सुन्दर र साधारण पहेँलो जर्सी फुटबलको लोककथाको एउटा उत्कृष्ट कलाकृति हो।
३. अमेरिकाको अवे जर्सी, १९९४
अमेरिकाले १९९४ को विश्वकप आयोजना गर्ने जिम्मा पाएपछि अमेरिकी सकरका पूर्व अध्यक्ष एलन रथेनबर्ग सम्झन्छन्, ‘हाम्रो सिमानाबाहिर विश्वका अधिकांश फुटबल समर्थकहरूमा धेरै शंका थियो। उनीहरू टाउको कन्याउँदै सोचिरहेका थिए, यो फुटबल नखेल्ने देशले कसरी यस्तो आयोजना गर्न सक्छ?’
खेलाडीहरू–जसमध्ये धेरैजसो व्यावसायिक क्लबहरूको प्रतिनिधित्व गर्नुको सट्टा अमेरिकी केन्द्रीय सम्झौतामा थिए–आफूहरू हाँसोको पात्र बन्न चाहँदैनथे।

तर जब एडिडासले प्रतियोगिताको लागि जर्सी सार्वजनिक गर्यो, निडर सेन्टर ब्याक एलेक्सी लालास र उनका साथीहरूलाई उनीहरूसँग मजाक गरिएको जस्तो लाग्यो।
स्टोन-वास गरिएको डेनिम (जिन्स) जस्तो देखिने कपडामा ठूला-ठूला ताराहरू छापिएको उक्त जर्सी विशुद्ध अमेरिकी त हुन सक्थ्यो, तर फुटबलको दृष्टिकोणबाट यो असाध्यै भड्किलो थियो र टोलीलाई आफूहरू हाँसोको पात्र बन्ने डर थियो। कमसेकम प्रस्ताव गरिएको रङ्गीचङ्गी जर्सी भने लागू भएन।
यद्यपि, यो आइकोनिक बन्न पुग्यो र यसलाई लगाउने खेलाडीहरू तथा उनीहरूलाई आदर्श मान्ने समर्थकहरू दुवैले यसलाई मन पराए। यसमा निस्सन्देह त्यो प्रतियोगितामा अमेरिकाको प्रदर्शनले पनि मद्दत गर्यो, जहाँ उनीहरू अन्तिम १६ मा अन्तिम विजेता ब्राजिलसँग पराजित हुँदै बाहिरिएका थिए।
यो जर्सी शीर्ष तीनमा पर्नु सायद यसपालि गर्मीयाममा विश्वकप अमेरिका फर्कन लागेको कुराबाट प्रभावित हुन सक्छ–तर १९९४ अविस्मरणीय जर्सीहरूको प्रतियोगिता थियो।
२. अर्जेन्टिनाको अवे जर्सी, १९८६
सन् १९८६ मा इंग्ल्यान्डविरुद्ध अर्जेन्टिनाको विश्वकप क्वाटरफाइनल जित इतिहासकै दुई सबैभन्दा प्रसिद्ध गोलहरूको साक्षी बन्यो–डिएगो म्याराडोनाको ‘ह्यान्ड अफ गड’ र आफ्नै हाफबाट बल अगाडि बढाउँदै गरेको त्यो जादुमयी र रोक्नै नसकिने ड्रिबल।
तर त्यो दिन अर्जेन्टिनाले लगाएको जर्सीको कथा पनि त्यत्तिकै रोचक छ।

इंग्ल्यान्डको सेतो जर्सीसँग नजुधोस् भनेर फिफाले अर्जेन्टिनालाई आफ्नो गाढा नीलो दोस्रो जर्सी लगाउनु पर्ने जानकारी दियो। तर उरुग्वेविरुद्धको अघिल्लो जितमा, मेक्सिकोको उकुसमुकुस गर्मीमा खेलाडीहरूले त्यो जर्सी भारी र सास फेर्न गाह्रो हुने खालको महसुस गरेका थिए।
जर्सी निर्माता ‘ले कोक स्पोर्टिफ’ सँग यसको विकल्प थिएन। त्यसैले भनिन्छ, प्रशिक्षक कार्लोस बिलार्डोले नयाँ जर्सी खोज्न मेक्सिको सिटीको नक्कली सामानका लागि प्रसिद्ध क्षेत्र ‘टेपिटो’ मा आफ्ना कर्मचारी पठाएका थिए।
त्यहाँबाट ल्याइएका डिजाइनहरूमा अन्तिम निर्णय म्याराडोनाले गरेको बताइन्छ। उनले त्यो अमर भनाइ व्यक्त गरेका थिए, ‘यो कति राम्रो जर्सी छ, कार्लोस। यही जर्सी लगाएर हामी अङ्ग्रेजहरूलाई हराउनेछौँ।’

अर्जेन्टिनाले इंग्ल्यान्डको सामना गर्नुअघिको २४ घण्टा जर्सी व्यवस्थापकहरूले ती जर्सीहरूमा नम्बर र राष्ट्रिय प्रतीक सिलाउन बिताएका थिए।
छत्तीस वर्षपछि, इंग्ल्यान्डका मिडफिल्डर स्टिभ हजले त्यो दिन म्याराडोनासँग साटेको जर्सी लिलामीमा राखे। त्यो ७१ लाख पाउन्डमा बिक्री भयो।
१. पश्चिम जर्मनीको होम जर्सी, १९९०
पहिलो नम्बरमा एउटा उत्कृष्ट ‘क्लासिक डिजाइन’ छ, एउटा यस्तो जर्सी जसलाई सङ्कलकहरूले निकै खोज्छन् र जसलाई नयाँ पुस्ताका जर्सीहरूका लागि मार्गदर्शकको रूपमा निरन्तर प्रस्तुत गरिन्छ–१९९० विश्वकपको पश्चिम जर्मनीको आइकोनिक जर्सी।
बीबीसी वर्ल्ड सर्भिसको ‘स्पोर्टिङ विटनेस’ सँग कुरा गर्दै ‘ए कल्चर अफ किट्स’ का लेखक जोन ब्लेयरले भनेका छन्, ‘यसलाई त्यसअघिको सन्दर्भबाट हेर्नुपर्छ, जतिबेला जर्सीहरू डिजाइनको हिसाबले निकै सादा र सरल हुन्थे। यो आफ्नो युगको एउटा साँच्चै उत्कृष्ट नमुना, एउटा विजेता टोली र पहिलो पटक साँच्चिकै प्रभावकारी डिजाइन अगाडि आउनुको संयोजन हो।’

यद्यपि, विश्वकपअघि यो जर्सीलाई झन्डै रद्द गरिएको थियो। यसलाई पहिलो पटक युरो ८८ मा लगाइएको थियो, जहाँ आयोजक टोली सेमिफाइनलमा पराजित भएको थियो।
मुख्य प्रशिक्षक फ्रान्ज बेकेनबाउरले हस्तक्षेप गर्दै आफूले पुरानै डिजाइन राख्न चाहेको बताएपछि डिजाइनर इना फ्रान्जम्यानले नयाँ डिजाइनमा काम गर्न सुरु गरिसकेकी थिइन्।
एडिडासका लागि टेनिस पोसाक पनि डिजाइन गर्ने र आफैँमा फुटबल समर्थक नरहेकी फ्रान्जम्यानलाई राष्ट्रिय टोलीको जर्सीमा ‘सानो क्रान्ति’ ल्याउने जिम्मेवारी दिइएको थियो।
उनले भनिन्, ‘केही रङ प्रयोग गर्ने विचार लिएर होर्स्ट डास्लर (संस्थापक एडोल्फका छोरा) आफैँ आएका थिए, त्यसैले जर्मन रङहरू प्रयोग गर्नु स्वाभाविक थियो।’
डास्लरको मृत्यु सन् १९८७ मा भयो। त्यसैले उनले पश्चिम जर्मनीले विश्वकप उचालेको र इटालिया ९० मा सबैको ध्यान खिचेको देख्न पाएनन्। फ्रान्जम्यानका लागि यो निकै महत्त्वपूर्ण क्षण थियो, यद्यपि वास्तविक प्रशंसा भने दशकौँ पछि मात्र प्राप्त भयो।
उनले थपिन्, ‘वर्षौँपछि यो जर्सी एउटा उत्कृष्ट कलाकृति बन्यो। मानिसहरूको यसप्रतिको चासो देख्दा मलाई निकै गर्व लाग्छ। सबैजना यसको पछाडिको कथा जान्न चाहन्छन्।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण