मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

मृतकलाई बाबु बनाएर नागरिकता दिलाउने ५ जना दोषी ठहर

३ महिना कैद र जरिवानाको फैसला
सोमबार, १८ जेठ २०८३, २० : ५०
सोमबार, १८ जेठ २०८३

सारांश

  • विशेष अदालतले मृतकलाई बाबु बनाएर झुठा विवरणका आधारमा नागरिकता दिलाउने ५ जनालाई दोषी ठहर गरेको छ ।
  • अदालतले पाँचै जनालाई ३ महिना कैद र १० हजार १ रुपैयाँ जरिवाना सजाय सुनाएको छ ।
  • सोही मुद्दामा आरोपित तत्कालीन कर्मचारी प्रेम बहादुर खवासले भने सफाइ पाएका छन् ।

काठमाडौँ । मृतक व्यक्तिको नामलाई बाबु कायम गरी झुठा विवरणका आधारमा नेपाली नागरिकता दिलाउने कार्यमा संलग्न ५ जनालाई विशेष अदालतले दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष न्यायाधीश श्री सुदर्शनदेव भट्ट र सदस्य न्यायाधीश विदुरको इजलासले सोमबार उक्त फैसला सुनाएको हो ।

झुठा लिखत तयार गरी भ्रष्टाचार गरेको अभियोगमा अदालतले रामेश्वर यादव (अहिर), राजेशकुमार कहार, मिना चौधरी, आलम जोल्हा र आएशा जोल्हा (भारतीय नागरिक) लाई दोषी ठहर गर्दै कैद र जरिवानाको सजाय सुनाएको हो ।

अदालतले पाँचै जनालाई जनही ३ महिना कैद र १० हजार १ रुपैयाँ जरिवाना हुने फैसला सुनाएको छ । साथै, अपराध पीडित संरक्षण ऐन, २०७५ बमोजिम रामेश्वर, राजेश र मिनाबाट जनही ४०० रुपैयाँ तथा आलम र आएशाबाट जनही ८०० रुपैयाँ पीडित राहत कोषमा भराउने फैसला भएको छ ।

सोही मुद्दामा दाङका इलाका प्रशासन कार्यालय लमहीका तत्कालीन प्रमुख प्रेम बहादुर खवासले भने सफाइ पाएका छन् । उनले अन्य प्रतिवादीहरूले पेस गरेको जन्म प्रमाणित पत्र, मृत्यु दर्ता र नाता प्रमाणितका आधारमा नागरिकता जारी गरेको देखिएको र उनको बदनियत पुष्टि नभएको भन्दै अदालतले उनलाई निर्दोष ठहर गरेको हो ।

के थियो घटना ?

अभियोगपत्र अनुसार सनउल्ला जोल्हाको मृत्यु २०३८ साल वैशाख १५ गते नै भइसकेको थियो । तर, प्रतिवादी रामेश्वर यादवले सनउल्लाको मृत्यु भइसकेपछि २०३९ साल फागुन २५ गते जन्मिएका आलम जोल्हालाई मृतककै छोरा भनी प्रमाणित गरिदिएका थिए । सोही आधारमा आलमलाई नेपाली नागरिकता दिलाउन सिफारिससमेत गरिएको थियो ।

यस्तै, अर्का प्रतिवादी आएशा जोल्हाले आफू आलमको दिदी भएको भनी सनाखत गरेकी थिइन् । घटनालाई थप पुष्टि गर्न मिना चौधरीले मृतकको वास्तविक मृत्यु मिति सच्याएर २०४१ साल वैशाख १५ गते कायम गरी मृत्यु दर्ताको प्रतिलिपि उतारेकी थिइन् भने राजेशकुमार कहारले सो झुठा विवरण प्रमाणित गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप