चिनियाँ विद्यार्थीहरूले बनाए विश्वकै ठुलो रिमोट–कन्ट्रोल कागजी विमान
सारांश
- चीनको सेनझेन झिली माध्यमिक विद्यालयका विद्यार्थीहरूले रिमोट-कन्ट्रोलबाट चल्ने विश्वकै सबैभन्दा ठुलो कागजी विमान बनाएर नयाँ कीर्तिमान कायम गरेका छन् ।
- करिब छ महिनाको मेहनतपछि तयार भएको यो विमानको पखेटाको फैलावट ६.०६ मिटर र लम्बाइ ५.०६ मिटर छ ।
- यस महिनाको सुरुमा गरिएको परीक्षण उडानमा विमान करिब १५ मिनेटसम्म आकाशमा उड्न सफल भएको थियो ।
बेइजिङ । चीनको सेनझेन झिली माध्यमिक विद्यालयका विद्यार्थीहरूले रिमोट–कन्ट्रोलबाट चल्ने विश्वकै सबैभन्दा ठुलो कागजी विमान बनाएर नयाँ कीर्तिमान कायम गरेका छन् ।
कक्षा १६ का ग्रेड १ का विद्यार्थी झु जुनजिएको नेतृत्वमा रहेको टोलीले करिब छ महिनाको मेहनतपछि विशाल आकारको पूर्ण रूपमा सञ्चालनयोग्य रिमोट–कन्ट्रोलबाट चल्ने कागजी विमान तयार गरेको हो । उक्त विमानको पखेटाको फैलावट ६ दशमलव शून्य ६ मिटर र लम्बाइ ५ दशमलव शून्य ६ मिटर रहेको छ ।
यस महिनाको सुरुमा गरिएको परीक्षण उडानमा विमान करिब १५ मिनेटसम्म आकाशमा उड्न सफल भएको थियो । त्यसपछि विमानलाई सुरक्षित रूपमा जमिनमा अवतरण गरियो । परियोजनाका प्रमुख डिजाइनर तथा पाइलट झु जुनजिएका अनुसार टोलीको लक्ष्य साधारण कागजी विमानका आधारभूत सिद्धान्तलाई आधुनिक इन्जिनियरिङ प्रविधिसँग जोडेर स्थिर र अत्यन्त ठुलो आकारको विमान बनाउनु थियो । ‘हामीले सामान्य कागजी विमानको सिद्धान्त प्रयोग गरेर प्रविधिको सहयोगमा ठुलो आकारको तर स्थिर विमान निर्माण गर्ने सोच बनाएका थियौँ,’ उनले भने ।
गत वर्ष अक्टोबरमा टोलीले चीनको एउटा अन्तर्राष्ट्रिय विमान डिजाइन प्रतियोगितामा राष्ट्रिय कीर्तिमानसहित उपाधि जितेको थियो । यही सफलताले टोलीलाई अझ ठुलो परियोजना हात पार्ने आत्मविश्वास दियो । अनुसन्धानपछि उनीहरूले ६ मिटरभन्दा ठुलो मानवरहित रिमोट–कन्ट्रोलबाट चल्ने कागजी विमान त्यसबेला अस्तित्वमा नरहेको पत्ता लगाए । त्यसपछि टोलीले रिमोट–कन्ट्रोलबाट चल्ने विश्वकै सबैभन्दा ठुलो कागजी विमान बनाउने लक्ष्य लियो ।
विद्यालयको मोडल विमान क्लबका प्रशिक्षक जाउ गुओयुनका अनुसार परियोजनाको सबैभन्दा कठिन पक्ष यसको विशाल आकार थियो । ‘यति ठुलो विमानमा पखेटाको कोणमा एक डिग्रीको परिवर्तन वा गुरुत्व केन्द्रमा एक सेन्टिमिटरको हेरफेरले पनि उडानको स्थिरता र उचाइमा प्रत्यक्ष प्रभाव पार्छ,’ उनले बताए ।
टोलीका सदस्यहरूको औसत उमेर केवल १६ वर्ष भए पनि उनीहरूले विमान निर्माणका जटिल प्राविधिक चुनौतीहरू सफलतापूर्वक समाधान गरेका थिए । विमान बनाउन उनीहरूले हल्का तौलको केटी बोर्ड सामग्री प्रयोग गरे । तर आकार बढ्दै जाँदा सामग्री बाङ्गिने समस्या देखियो । त्यसको समाधानका लागि टोलीले महत्त्वपूर्ण भागहरूमा कार्बन फाइबर स्ट्रिप प्रयोग गरी संरचनालाई मजबुत बनायो । यसले विमानलाई हल्का तौल र उच्च मजबुतीबीच सन्तुलन कायम गर्न मद्दत गरेको थियो ।
- तीन चरणमा डिजाइन परिमार्जन
सुरुमा टोलीले एक मिटर लामो सामान्य मोडललाई सिधै छ गुणा ठुलो बनाउने योजना बनाएको थियो । तर त्यो डिजाइन प्रभावकारी नभएपछि उनीहरूले तीन चरणसम्म मोडल परिमार्जन गरे । अन्ततः ५ मिटरभन्दा बढी लम्बाइ र ६ मिटरभन्दा बढी पखेटा फैलावट भएको नयाँ डिजाइन छनोट गरियो । यसले विमान नियन्त्रण गर्न सजिलो बनायो ।
झु जुनजिएका अनुसार यो परियोजना केवल विश्व कीर्तिमानका लागि मात्र नभई चिनियाँ युवाको वैज्ञानिक तथा प्राविधिक नवप्रवर्तन क्षमताको प्रतीक पनि हो । ‘हामी यो परियोजनालाई चिनियाँ युवाको वैज्ञानिक र प्राविधिक सृजनशीलताको प्रतीक बनाउन चाहन्छौँ, जसले विश्वसामु हाम्रो बौद्धिकता र स्वतन्त्र नवप्रवर्तन क्षमता प्रदर्शन गर्छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दृष्टिविहीन बालबालिकाका लागि निर्मित आवासीय भवन सम्पन्न गर्न नेपाल लाइफ इन्स्योरेन्सको सहयोग
-
जनकपुरको रामानन्द र पिडारी चोक सवारी दुर्घटनाको अति जोखिममा
-
कुकुरको खाना भनेर अस्ट्रेलिया पठाउन लागिएको अवैध चुरोट त्रिभुवन विमानस्थलबाट बरामद
-
सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो
-
जीडब्ल्युएम ओरा ५ ईभीमा आफ्नै अत्याधुनिक प्रविधिको ब्याट्री प्रयोग
-
बजेट कार्यान्वयनबारे अर्थ मन्त्रालयले जारी गर्यो ३७ बुँदे मार्गदर्शन (पूर्णपाठ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण