शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
समाचार

....त्यसपछि सचिव पुष्करलाई रिहा गर्न आदेश आयो !

कानुनी आधारबिना नै पक्राउ गरिएकोमा असन्तुष्टि
शुक्रबार, २२ जेठ २०८३, १८ : ४५
शुक्रबार, २२ जेठ २०८३

सारांश

  • उपराष्ट्रपतिको कार्यालयमा कार्यरत सचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्रीलाई राजदूत नियुक्तिबारे म्यासेज पठाएको आरोपमा प्रहरीले पक्राउ गरी सोधपुछपछि रिहा गरेको छ।
  • पुष्करले प्रधानमन्त्रीलाई 'राजदूत पदमा नियुक्ति गरिदिनुभए आभारी हुने थिएँ' भन्दै म्यासेज पठाएका थिए।
  • प्रधानमन्त्रीको सचिवालयले पुष्करले चेन अफ कमान्ड मिचेर व्यक्तिगत स्वार्थका लागि म्यासेज पठाएको दाबी गरेको छ।

काठमाडौँ । उपराष्ट्रपतिको कार्यालयमा कार्यरत सचिव कृष्णहरि पुष्कर कार्यालयको काम सकेर शुक्रबार घर फर्किँदै थिए। कार्यालयबाट निस्कँदा नै उनलाई प्रहरीले पछ्याएको थियो। 

कपनस्थित घर नजिकै पुग्नासाथ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएका एकजना डीएसपी नेतृत्वको टोलीले उनको गाडी रोक्यो। प्रहरीले उनलाई भन्यो, ‘तपाईं हामीसँग जानुपर्ने भयो।’

पुष्कर छक्क परे। प्रहरीले उनलाई लैजानुपर्ने कुनै कारण थिएन। उनले सोधे, ‘के विषय हो र?’

अफिसमै पुगेर कुरा गर्ने प्रहरीको अडानपछि उनी उपत्यका अपराध अनुसन्धान कार्यालय जान राजी भए। त्यहाँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहँदा उनीसँगै काम गरेका एसएसपी सन्तोष खड्का कार्यालय प्रमुख थिए। त्यसैले पुष्करलाई टेकुस्थित महाशाखामा जान असहज भएन। टेकुमा लगेर प्रहरीले उनलाई प्रधानमन्त्री बालेन्द्र शाहलाई पठाएको म्यासेजबारे सोधपुछ गर्‍यो। लामो समय सोधपुछ गरेपछि राति १० बजे मात्र उनलाई पत्नी आभा श्रेष्ठको जिम्मा जमानीमा रिहा गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका अधिकृतहरू बताउँछन्।

पुष्करले प्रधानमन्त्री शाहलाई एउटा म्यासेज पठाएका रहेछन्। आफ्नो गृहजिल्ला महोत्तरी नै घर भएका शाहलाई उनले ‘राजदूत नियुक्ति’बारे म्यासेज पठाएका हुन्।

अनुसन्धानमा संलग्न एकजना अधिकृतका अनुसार म्यासेजमा उनले लेखेका थिए, ‘म अवकाशमा जाँदै छु, राजदूत पदमा हजुरले नियुक्ति गरिदिनुभए आभारी हुने थिएँ।’

राजदूत नियुक्तिका लागि सरकारले करिब दुई साताअघि दरखास्त आह्वान गरेको थियो। म्यासेजमा उनले थप लेखेका थिए, ‘सम्माननीयज्यू, दरखास्त फारम भरौँ कि के गरौँ, मार्गनिर्देशन पाऊँ।’

पुष्करले कुनै देशको नाम नै तोकेर भने राजदूत मागेका थिएनन्। प्रधानमन्त्रीको मोबाइलमा सो म्यासेज आएपछि उनको सचिवालयले पुष्करलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको थियो। उनलाई जरुरी पक्राउ पुर्जी दिएर स्वास्थ्य परीक्षणका लागि अस्पताल पठाउन लागिएको थियो। 

स्वास्थ्य परीक्षणपछि उनलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राख्ने तयारी थियो। तर, जरुरी पक्राउ पुर्जी थमाएर अनुसन्धान कार्यालयको गेटबाट अस्पतालतर्फ लैजाँदै गर्दा पुष्कर सवार गाडीलाई पुनः फिर्ता बोलाइएको अधिकृतहरू बताउँछन्। उपत्यका अपराध अनुसन्धान कार्यालयका एकजना अधिकृत भन्छन्, ‘कता के कुरा भयो, त्यसपछि रिहा गर्न आदेश आयो।’

पुष्करलाई कानुनी आधारबिना नै पक्राउ गरिएकोमा प्रहरीका उच्च अधिकृतहरू पनि सन्तुष्ट छैनन्। पुष्कर तत्कालीन सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयको सचिव हुँदा बालेन्द्र शाह काठमाडौँ महानगरको मेयर थिए। त्यसबेला उनीहरूबिच कुराकानी हुने गरेको प्रहरीसँगको सोधपुछमा पुष्करले बताएका छन्। 

पुष्करकी पत्नी आभा श्रेष्ठसँग पनि प्रधानमन्त्री शाहको चिनजान र कुराकानी हुने गरेको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए। पुष्कर अर्थ सचिव हुँदा तत्कालीन मेयर शाहले उनीसँग बजेटबारे कुराकानी गर्ने गरेका थिए। तर, अहिले प्रधानमन्त्री भएपछि राजदूत हुन ‘फारम भरौँ कि नभरौँ’ भनेर प्रश्न गर्दा पक्राउ नै गर्नुपर्ने अवस्था किन आयो भन्नेबारे धेरैले प्रश्न उठाएका छन्।

यता, प्रधानमन्त्रीको सचिवालयले भने पुष्करले ‘चेन अफ कमान्ड’ मिचेर व्यक्तिगत स्वार्थका लागि प्रधानमन्त्रीलाई म्यासेज पठाएको जिकिर गरेको छ। पुष्कर मुख्यसचिव बन्ने प्रतिस्पर्धामा थिए। तर, तात्कालीन सुशीला कार्की सरकारले २०८२ मङ्सिर ९ मा सुमनराज अर्याललाई मुख्यसचिव नियुक्त गरेपछि उनले सो अवसर गुमाएका थिए। सचिव पुष्कर असारको चौथो साता अवकाशमा जाँदै छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप