सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
एसियन गेम्स छनोट

वर्षाले प्रभावित फाइनलमा नेपाल बन्यो च्याम्पियन

सोमबार, २५ जेठ २०८३, १५ : ४७
सोमबार, २५ जेठ २०८३

सारांश

  • वर्षाले प्रभावित एसियन गेम्स छनोटको फाइनलमा हङकङलाई डकवर्थ-लुइस नियम अनुसार १९ रनले हराउँदै नेपाल च्याम्पियन बनेको छ ।
  • हङकङले प्रस्तुत गरेको १ सय ८९ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ११.३ ओभरमा २ विकेट गुमाएर १ सय १४ रन बनाउँदा वर्षाले खेल रोकिएको थियो ।
  • नेपालका लागि कुशल भुर्तेलले ६५ रनको उत्कृष्ट पारी खेले भने शेर मल्लले ४ विकेट लिएर हङकङलाई १ सय ८८ रनमा रोक्न महत्वपूर्ण भूमिका खेले ।

काठमाडौँ । वर्षाले प्रभावित एसियन गेम्स छनोटको फाइनल खेलमा हङकङलाई पराजित गर्दै नेपाल विजयी बनेको छ । हङकङलाई डकवर्थ एन्ड लुइस स्टर्न (डीएलएस) मेथडबाट १९ रनले हराउँदै नेपाल च्याम्पियन बनेको हो ।

हङकङले नेपालसामु जितका लागि १ सय ८९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा नेपालले ११.३ ओभरमा २ विकेटको क्षतिमा १ सय १४ रन बनाउँदा खेल वर्षाले प्रभावित बनेको थियो ।

नेपालका लागि रोहित पौडेल २४ बलमा ३५ रन तथा कप्तान दीपेन्द्र सिंह ऐरीले ९ रन बनाएर खेलिरहेका थिए । यसअघि, ओपनर कुशल भुर्तेलले ४० बलमा ६५ रन जोडेका थिए । उनले ८ चौका र ३ छक्का प्रहार गरे । आशिफ शेख भने शून्य रनमा आउट भएका थिए ।

सिंगापुरको सिंघा ओभल मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८८ रन बनाएको थियो । खेलमा नेपालले दोस्रो ओभर नै सफलता पाएको थियो । ओपनर निजाकत खान मात्र २ रन बनाएर शेर मल्लको शिकार बने । तेस्रो ओभरमा करन केसीले बाबर हायातलाई शून्य रनमा पभेलियन फर्काए ।

त्यसपछि ओपनर अंशुमन राथले शिव माथुरसँग मिलेर हङकङको पाली सम्हाले । माथुरले २१ बलमा २६ रन बनाएपछि उनी शेर मल्लको बलमा बोल्ड हुन पुगे । 

राथले त्यसपछि विकेटकिपर साहिद वासिफसँग अर्धशतकीय साझेदार गर्दै ३९ बलमा ८४ रन जाडे । राथले ४५ बलमा ८० रनको योगदान दिए। उनले ६ चौका र ६ छक्का प्रहार गर्दै मल्लद्वारा क्याच आउट हुन पुगे ।

वासिफले पनि तीव्र गतिमा अर्धशतक पूरा गर्दै २८ बलमा ५५ रन बनाए । उनले यसक्रममा ७ चौका र ३ छक्का प्रहार गरे । कप्तान यासिम मुर्तजाले ९ रन जोडे भने नसरुल्लाह रानाले ८ रन बनाए।

नेपालका लागि शेर मल्लले घातक बलिङ गरे । उनले ४ ओभर बलिङ गर्दै ३२ रन खर्चेर ४ विकेट लिए । करन केसीले ४ ओभरमा ४५ रन खर्चेर २ विकेट हात पारे । सन्दीप लामिछानेको नाममा १ विकेट रह्यो ।

कप्तान दीपेन्द्र सिंह ऐरीको लागि आजको खेल निकै महत्त्वपूर्ण रहेको थियो । यो खेल उनको १०० औँ टी–२० अन्तर्राष्ट्रिय खेल हो ।  नेपाल र हङकङ यसअघि नै एसियन गेम्सका लागि छनोट भइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप