शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय
समृद्धि र सुशासनका तगारा

अवसरलाई यथार्थमा बदल्न प्रयासरत छौँ (भिडियोसहित)

बुधबार, २७ जेठ २०८३

बाहिर बसेर हेर्दा जति सजिलो देखिन्छ, भित्र गएर काम गर्न त्यति सजिलो छैन । बाहिर बसेर मन्त्रालय चलाउने कुरा वा ६ महिनामा बजेट कार्यान्वयन गर्ने कुरा जति सहज लाग्छ, यथार्थमा कर्मचारीतन्त्र र शासकीय संरचनालाई ‘पर्फर्मेन्स इन्डिकेटर’ (कार्यसम्पादन सूचक) सँग जोडेर नतिजा निकाल्न निकै गाह्रो छ ।

सरहरूको कुरा सुन्दा र रामेश्वर सरको १० वटै बुँदा हेर्दा मलाई के लाग्छ भने नेपालमा संरचनाहरू त परिवर्तन भए तर प्रवृत्ति कहिल्यै परिवर्तन भएन । आज पनि हामी व्यक्तिवादी राजनीतिमा विश्वास गर्छौँ । जबसम्म व्यक्तिवादी राजनीति रहन्छ, पार्टी सिस्टम चल्न सक्दैन ।

रास्वपाले अहिले कोसिस गरिरहेको मुख्य कुरा राजनीतिलाई ‘वैज्ञानिक’ बनाउने हो । वैज्ञानिक भनेको तथ्यमा आधारित र मापनयोग्य हुनु हो । हाम्रा मन्त्रीहरूले मन्त्रालयमा के काम गर्नुभयो भन्ने कुरा उहाँहरूको कार्यसम्पादनसँग जोडेर मापन गरिन्छ ।

हाम्रो समाजको सबैभन्दा ठुलो दुर्भाग्य भनेको हामी जे कुरा पनि भावनात्मक रूपमा सोच्छौँ । देश बनाउने कुरा कुनै जादु वा चटक होइन, यो एउटा लामो प्रक्रिया हो । तर आजको समाजसँग धैर्यता छैन । पहिले दिनमा एक पटक आउने पत्रिका पढेर अर्को दिन कुरेर बस्ने मानिसहरू आज १५ मिनेट इन्टरनेट चलेन भने आत्तिने अवस्थामा पुगेका छन् ।

आजको नागरिकले विश्वभरि मानिसले गरेको असाधारण प्रगति देखेको छ । ऊ त्यो विकाससँग आफ्नै देशका स्रोत र साधनको तुलना गर्छ र रातारात नतिजा खोज्छ । आजको आजै नतिजा खोज्ने प्रवृत्तिका कारण विगतमा राजनीतिक दलहरूले गलत आश्वासन दिए र पूरा गर्न नसकेर असफल भए ।

हामीले स्पष्ट बुझेका छौँ, हामीले गर्ने राजनीति भनेको डेलिभरीसँग मात्र जोडिन्छ । यदि हामीले डेलिभरी गर्न सकेनौँ भने हाम्रो कुनै भविष्य छैन ।

हामी संयोगले मात्र आएका होइनौँ, यो एउटा सङ्कल्पसहितको उपस्थिति हो । मैले अघि पनि भनेँ कुनै पनि नयाँ सरकार वा नेतृत्व आउँदै गर्दा उसले पहिलो ३ देखि ६ महिनामा दिने भनेको पूर्ण नतिजा होइन, सही बाटोको सङ्केत हो । हामी सही दिशामा छौँ कि छैनौँ भन्ने कुराको सङ्केत हामीले दिइरहेका छौँ । नागरिकले हामीलाई कम्तीमा एक वर्ष त्यो बाटो सही छ कि छैन भनेर जाँच्न समय दिनुपर्छ ।

जहाँसम्म भूराजनीतिको कुरा छ, हामीले हाम्रो राष्ट्रिय हितलाई सर्वोपरी राखेर अगाडि बढ्ने हो । विगतमा दलहरूले नागरिकको भावनामाथि जुन किसिमको अनादर गरे, विकासको मोडलमा जस्तो भद्रगोल गरे, हामी त्यसलाई सच्याउन चाहन्छौँ । कुनै नीतिले १० वर्षपछि मात्र प्रतिफल दिन सक्छ भन्ने यथार्थ समाजलाई बुझाउने र तथ्यमा टेकेर इमानदार प्रयास गर्ने हाम्रो सङ्कल्प छ । चुनौतीहरू अवश्य छन्, तर नेपालका लागि असाधारण अवसरहरू पनि छन् । हामी तिनै अवसरहरूलाई यथार्थमा बदल्न प्रयासरत छौँ ।

भिडियो

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया