शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

वाल्मीकि विद्यापीठको नक्कली पत्र बनाएर विदेशीलाई भिसा दिलाउने विरुद्ध लिखत किर्तेमा अनुसन्धान

बिहीबार, २८ जेठ २०८३, २३ : १६
बिहीबार, २८ जेठ २०८३

सारांश

  • वाल्मीकि विद्यापीठको नक्कली पत्र प्रयोग गरी विदेशीलाई अध्ययन भिसा दिलाएको आरोपमा दुई जना पक्राउ परेका छन् ।
  • उनीहरूले १० जना विदेशीका लागि शिक्षा मन्त्रालयमार्फत भिसा आवेदन दिएका थिए, जसमध्ये ८ जनाले भिसा पाइसकेका छन् ।
  • नक्कली कागजातको आधारमा भिसा सिफारिस भएको भेटिएपछि अध्यागमन विभागले छानबिन गरी लिखत किर्ते मुद्दामा अनुसन्धान सुरु गरेको छ ।

काठमाडौँ । भृकुटीमण्डपमा सञ्चालित वाल्मीकि विद्यापीठको नक्कली पत्र बनाएर विदेशी नागरिकलाई ‘अध्ययन भिसा’ दिलाएको आरोपमा दुई जना पक्राउ परेका छन् । पर्साको वीरगन्ज महानगरपालिका–९ घर भएका सुबोध शुक्ल र चिनियाँ महिला वाङ्ग जिन्काओ पक्राउ परेका हुन् । उनीहरूलाई बिहीबार पक्राउ गरिएको अध्यागमन विभागका निर्देशक टीकाराम ढकालले रातोपाटीलाई बताए ।

चिनियाँ महिलाबारे विभागले नै अनुसन्धान गरिरहेको छ । सुबोध शुक्ललाई लिखत किर्ते मुद्दामा अनुसन्धान गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयमा पठाइएको निर्देशक ढकालले बताए । उनले भने, ‘नक्कली कागजातको आधारमा भिसा सिफारिस गरेको भेटिएको छ, त्यसबारे अनुसन्धान गर्न प्रहरीमा पत्राचार गरेका छौँ ।’

आरोपीहरूले नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत सञ्चालित वाल्मीकि विद्यापीठको नक्कली पत्र बनाएर १० जना विदेशीका लागी शिक्षा मन्त्रालय मार्फत भिसा आवेदन दिएका थिए । ६ जना चिनियाँ, १ कोरियन र १ जना रसियन नागरिकको लागी शिक्षा तथा खेलकुद मन्त्रालयको सहसचिव स्तरीय निर्णयबाट ‘भिसा दिन उपयुक्त’ भनेर पत्राचार गरिएको थियो । तर, अध्यागमन विभागले शङ्का लागेर परीक्षण गर्दा शिक्षा मन्त्रालयमा विद्यापीठको तर्फबाट पेस भएको पत्र नै फर्जी भेटिएको हो । शिक्षा मन्त्रालयबाट सचिव स्तरीय निर्णयबाट अध्ययन भिसाको लागी अध्यागमन विभागमा पठाउने गरिन्छ । सचिव नहुँदा उनले अधिकार प्रत्यायोजन गरेका सहसचिवले त्यसबारे निर्णय गर्छन् ।

balmiki

मन्त्रालयको पत्रको आधारमा ३ पटकमा ८ जनाले भिसा पाएका थिए । विभागका निर्देशक ढकालले भिसा लिएका विदेशीको खोजी गरिने र भिसा रद्ध गर्ने प्रक्रिया सुरु गरिएको बताए । उनले भने, ‘छुट्टा छुट्टै भिसा माग गर्न आएपछि हामीले शङ्का गरेर त्यसबारे अनुसन्धान सुरु गरेका थियौँ ।’

सुरुमा दुई जना, त्यसपछि तीन–तीन जना र अन्तिम पटक दुई जना विदेशी सिफारिस अनुसार भिसा लिन विभागको कार्यालयमा पुगेका थिए । शिक्षा मन्त्रालयले उनीहरूलाई भिसा दिन भन्दै जेठ २१ मा सिफारिस गरेको थियो । भिसा सिफारिस भएका केही विदेश ७ वर्षअघि देखी नेपाल आउने गरेको भेटिएको छ ।

घटना सार्वजनिक भएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले त्यसबारे छानबिन गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको छ  । भिसा सिफारिस गर्दा शिक्षा मन्त्रालयले भेरिफाइ नगरेको अध्यागमन विभागले गरेको प्रारम्भिक छानबिनबाट थाहा भएको छ । विदेशीहरूलाई भिसा सिफारिस गर्दा विद्यापीठको पत्रसँगै ७० हजारको नगदी रसिद पनि पेस गरिएको थियो । सबै कागजात नक्कली बनाएको निष्कर्ष सहित विभागको पत्रको आधारमा प्रहरीले लिखत किर्ते कसुरमा अनुसन्धान सुरु गरेको छ ।

विदेशीहरूले आचार्य पढ्न भनेर भिसा मागेका थिए । वाल्मीकि विद्यापीठ संस्कृत भाषा पढाई हुने शिक्षण संस्था हो । पक्राउ परेका शुक्लले यसअघि पनि भिसा सिफारिस सहित विदेशी नागरिकलाई अध्यागमन विभागमा लैजाने गरेको स्वीकार गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप