शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय
अदालत

व्यवसायी दिपक भट्ट र सुलभ अग्रवालको बयान सकिएन, न्यायिक हिरासतमा पठाइयो

शुक्रबार, २९ जेठ २०८३, १८ : ४०
शुक्रबार, २९ जेठ २०८३

सारांश

  • सम्पत्ति शुद्धीकरण कसुरमा व्यवसायी दीपक भट्टको बयान नसकिएपछि न्यायिक हिरासतमा पठाइएको छ ।
  • प्रतिवादी सुलभ अग्रवाल अस्वस्थ भएपछि उनको बयान स्थगन गरिएको छ र उनलाई पनि न्यायिक हिरासतमा पठाइएको छ ।
  • हिमालयन रि-इन्स्योरेन्स लगायतका कम्पनीहरूको रकम दुरुपयोग गरी सम्पत्ति शुद्धीकरण गरेको कसुरमा उनीहरूविरुद्ध मुद्दा दर्ता भएको छ ।

काठमाडौँ । सम्पत्ति शुद्धीकरण कसुरमा २६ अर्ब ६३ करोड भन्दा बढी बिगो दाबी गर्दै मुद्दा चलाइएका व्यवसायी दीपक भट्टको विशेष अदालतमा बयान नसकिएपछि न्यायिक हिरासतमा पठाइएको छ ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्य न्यायाधीशहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासमा बयान लिइएको थियो । शुक्रबार भट्टको बयान पूरा नभएपछि पुनः सोमबार पनि निरन्तर हुनेछ । बयान सकिएपछि थुनछेक हुनेछ।

त्यस्तै प्रतिवादी सुलभ अग्रवालको बयान शुक्रबार स्थगन गरिएको छ । बयानकै क्रममा उनी अस्वस्थ भएपछि बयान स्थगन गरिएको हो। अग्रवाललाई पनि न्यायिक हिरासतमा पठाइएकाे छ। अग्रवालको बयान स्थगन भएपछि दिउँसो १ः३० बजेबाट भट्टको बयान सुरु गरिएको थियो । सम्पत्ति शुद्धीकरण मुद्दामा दिपक भट्ट, शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल र शंकरलाल अग्रवाल, सन्दीप चाचन अग्रवाल र अमित मोर सहितलाई प्रतिवादी कायम गरिएको छ । सन्दीप चाचन ब्रोकिङ कम्पनी दलाल नम्बर ५५ को अध्यक्ष हुन् ।

हिमालयन रि–इन्स्योरेन्स सहितका कम्पनीहरूको रकम दुरुपयोग गरेर सम्पत्ति शुद्धीकरण गरेको कसुरमा उनीहरुविरुद्ध मुद्दा दर्ता गरेको हो । सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न दिपक भट्टलाई चैत १९ मा पक्राउ गरिएको थियो । शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल चैत २२ मा पक्राउ परेका थिए ।

मुद्दामा प्रतिवादी बनाइएका भट्टमाथि सम्पत्ति शुद्धीकरण बापत २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार, ५९ रुपैयाँ ६८ पैसा बिगो दाबी गरिएको छ। अदालतमा पेस भएको अभियोगपत्रअनुसार आर्थिक वर्ष २०७४/७४ मा आफ्नो स्वामित्वमा रहेको घर तथा जग्गाको पुनःमूल्यांकन गरी थप मूल्य  ३५ करोड ६८ लाख ८६ हजार २३ पैसा जोडेर सम्पत्तिमा कायम गरेको आरोप लगाइएको छ। 

इन्फिनिटी होल्डिंग्स प्रालिको आ.व. २०७७/७८ मा थप ४५ करोड पुँजी थप गरिएको अभियोग दाबी छ । त्यसैगरी आ.व. २०७९/८० मा पनि नौ करोड ५० लाख रुपैयाँ पुँजी थप गरेको देखिएको जनाइएको छ। 

यी रकम कर्जा अपचलन गरी बैकिङ कसुरमार्फत प्राप्त रकमबाट वृद्धि गरिएको दाबी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप