परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
सारांश
- परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि चीन पुगेका छन् ।
- भारत भ्रमणबाट फर्केका मन्त्री खनाल ६ दिनपछि शनिबार मध्यराति चीन प्रस्थान गरेका हुन् ।
- यो भ्रमणलाई 'सन्तुलित कूटनीति' को रूपमा लिइएको छ भने कतिपयले चीनको संशयलाई मेटाउन यो भ्रमण भएको तर्क गरिरहेका छन् ।
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि चीन पुगेका छन् । जेठ २४ गते भारत भ्रमणबाट फर्केका मन्त्री खनाल ६ दिनपछि शनिबार मध्यराति चीन प्रस्थान गरेका हुन् ।
चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्यसमेत रहेका चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी चीन भ्रमणमा गएका हुन् ।
बेइजिङ एयरपोर्टमा मन्त्री खनाललाई चिनियाँ विदेश मन्त्रालयका अधिकारी तथा चीनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत रोशन खनालले स्वागत गरेका थिए ।
भारतबाट फर्के लगतै चीन भ्रमणमा गएका कारण मन्त्री खनालको यो भ्रमणलाई चासोपूर्वक हेरिएको छ । धेरैले यो भ्रमणलाई ‘सन्तुलित कूटनीति’ को रूपमा लिएका छन् भने कतिपयले चीनको संशयलाई मेटाउन यो भ्रमण भएको तर्क गरिरहेका छन् ।
नेपालमा भएको पछिल्लो राजनीतिक घटनाक्रमबारे चीनले विभिन्न माध्यमबाट चासो व्यक्त गर्दै आइरहेको थियो ।
भ्रमणको क्रममा यी विषय अवश्य उठ्ने नेपाल–चीन मैत्री संघका पूर्वअध्यक्ष विपिन आचार्यले बताए । ‘चीनलाई लागेको कुरा परराष्ट्रमन्त्री खनालबाट स्पष्ट हुनेछ । नेपालमा अमेरिकी चासो, जेनजी आन्दोलनमा टीओबीको संलग्नता लगायतका विषयमा चीनले जिज्ञासा राख्न सक्ने सम्भावना छ,’ उनले भने, ‘वर्तमान सरकारको विदेश नीति के–कस्तो रहन्छ भन्नेमा पनि उनीहरूको चासो छ ।’
बालेन नेृतत्वमा सरकार बनिसकेपछि लगातार नेपालमा अमेरिकाको उच्चस्तरीय भ्रमण भएको छ । नेपालमा अमेरिकी कूटनीतिज्ञहरूको चहलपहल बढेको छ । हालै सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र परराष्ट्रमन्त्री खनालले भारतको भ्रमण गरेका छन् ।
चीनका लागि पूर्वनेपाली राजदूत टंक कार्कीले भारत भ्रमण लगतै चीनको भ्रमण हुनु नेपालका लागि सकारात्मक कुरा रहेको बताए । ‘नेपालले दुवै छिमेकी देशसँग राम्रो सम्बन्ध राख्नुपर्छ । कसैलाई काखा, कसैलाई पाखाको व्यवहार गर्नुहुँदैन,’ उनले भने, ‘त्यो सम्बन्धको फाइदा लिन पनि सक्नुपर्छ ।’
उनले नेपालका दुई छिमेकी सुपर पावर देश रहे पनि त्यसबाट नेपालले फाइदा लिन नसकेको बताए ।
कुनै पनि देशसँग वैचारिकभन्दा पनि राज्य–राज्यबिच सम्बन्ध भएमा मात्र फाइदा लिन सकिने पूर्वराजदूत कार्कीको भनाइ छ । देशहरूसँग दलगत सम्बन्धले कुनै फाइदा नहुने प्रस्ट पार्दै उनले विगतका सरकारले दलको आइडियोलोजी अनुसार सम्बन्ध राखेको कारण खासै फाइदा लिन नसकेको जिकिर गरे । अब त्यस्तो नहोस् भन्नेमा उनले सरकार र सत्तारुढ दल रास्वपालाई सचेतसमेत गराए ।
नेपाल चाइना फ्रेन्डसीप फोरमका संयोजक डा. कल्याणराज शर्माले बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेपछि नेपालबाट चीनमा पहिलो उच्चस्तरीय भ्रमण भएकाले यसलाई महत्त्वका साथ हेरिएको बताए । भारत भ्रमण सकेर आएलगत्तै परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जानु कूटनीतिक सन्तुलन नमुना भएको उनको भनाइ छ । यो भ्रमणले दुई देशबिचको सम्बन्ध थप सुदृढ हुने उनले दाबी गरे ।
परराष्ट्रमन्त्री खनालको औपचारिक भ्रमण भएकाले नेपाल–चीनबिच कार्यान्वयनमा रहेका विभिन्न परियोजनाको बारेमा पनि छलफल हुनसक्छ । पुरानो परियोजनाको विषयमा चर्चा र बीआरआई लगायतको विषयमा पनि कुराकानी हुनसक्ने शर्माले बताए ।
केही दिनअघि नेपाल–चीन सहयोग कार्यक्रम तथा आयोजना कार्यान्वयन सहजीकरण संयन्त्रको बैठक नेपालमा बसेको थियो । सो बैठकमा नेपालमा जारी चीनको परियोजनाको बारेमा छलफल भएको थियो ।
सन् २०२४ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणको क्रममा बीआरआई फ्रेमवर्कमा हस्ताक्षर गरेका थिए । त्यसमा १० वटा आयोजना अघि बढाउने सहमति दुई देशबिच भएको थियो । तर विभिन्न कारणले धेरैजसो आयोजना अलपत्र अवस्थामा छन् । ती आयोजना के–कस्तो अवस्थामा छन् भन्नेबारे परराष्ट्रमन्त्रीको भ्रमणका क्रममा चीनले चासो राख्ने चर्चा छ । नेपालमा चिनियाँ अनुदान, सहुलियतपूर्ण ऋणमा सञ्चालित आयोजनाहरूको बारेमा पनि छलफल हुने बताइएको छ ।
स्यफ्रुबेँसी–रसुवागढी राजमार्ग मर्मत तथा सुधार आयोजना, चिलिमे–रसुवागढी–केरुङ २२० केभी प्रसारण लाइन आयोजना, नेपाल–चीन अन्तरदेशीय रेलमार्ग आयोजना, काठमाडौँ चक्रपथ सुधार आयोजना, टोखा–छहरे सुरुङ मार्ग र हिल्सा–सिमकोट सडकजस्ता आयोजनाको बारेमा छलफल हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
स्रोतका अनुसार छलफलपछि केही समझदारीपत्रमा हस्ताक्षरसमेत हुनेछ । त्यसका लागि नेपालले आवश्यक तयारी गरिसकेको छ । सम्झौताका सम्बन्धमा चीनको चाहनामा पनि धेरै कुरा निर्भर हुने मन्त्रालयका एक अधिकारीले बताए ।
चीनस्थित नेपाली दूतावासले लगानी सम्मेलन आयोजना गर्दैछ । त्यस सम्मेलनको मुख्य अतिथि परराष्ट्रमन्त्री खनाल रहने छन् । चिनियाँ व्यवसायीहरूलाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सोमबार चीन र नेपाली प्रतिनिधिमण्डलबिच दुई पक्षीय छलफल हुनेछ । सोही छलफलमा दुई देशबिचको सम्बन्ध तथा विकास निर्माणका कार्यबारे छलफल हुने बताइएको छ ।
परराष्ट्रमन्त्री खनाल फर्केपछि चीनबाट नेपालमा एउटा उच्चस्तरीय भ्रमण हुने बताइएको छ । त्यसको तयारी दुवै देशका दूतावासले सुरु गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानकाे नवनिर्वाचित कार्यसमितिले गर्यो शपथ ग्रहण
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण