सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

तलब वृद्धिमा विभेद गरियो, विकास खर्च निकै कम छ : रोकाय

सोमबार, ०१ असार २०८३, १७ : १९
सोमबार, ०१ असार २०८३

सारांश

  • प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद कृष्णबहादुर रोकायले आगामी आर्थिक वर्षको बजेटमा प्रशस्त कमजोरी रहेको बताएका छन्।
  • उनले सरकारले ल्याएको बजेट व्यावहारिक रूपमा कार्यान्वयन गर्न नसकिने गरी महत्त्वाकाङ्क्षी रहेको र उत्पादनमुखी क्षेत्रलाई बेवास्ता गरी राजस्व संकलनलाई मात्र जोड दिएको आरोप लगाए।
  • सांसद रोकायले बजेटमा विकास खर्च कम हुनु, ऋणको भार बढ्नु, तलब वृद्धिमा विभेद हुनु र बेरोजगारी समस्या समाधानका लागि ठोस कदम नचाल्नु जस्ता कमजोरी औँल्याए।

काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका राष्ट्रिय सभा सांसद कृष्णबहादुर रोकायले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा प्रशस्त कमजोरीहरू रहेको बताएका छन्। 

सोमबार राष्ट्रिय सभा बैठकमा सरकारको नयाँ बजेटमाथिको छलफलमा भाग लिँदै उनले यस्तो कुरा बताएका हुन्।

सांसद रोकायले सरकारले व्यावहारिक रूपमा कार्यान्वयन नै गर्न नसकिने गरी महत्त्वाकाङ्क्षी बजेट ल्याएको जिकिर गरे। सरकारले आन्तरिक उत्पादन बढाउनुभन्दा पनि राजस्व संकलनलाई मात्रै राष्ट्रिय आयको मुख्य स्रोतका रूपमा देखाउने प्रयास गरेको भन्दै उनले आपत्ति जनाए। उत्पादनमुखी क्षेत्रलाई बेवास्ता गरेर राजस्वमुखी बन्नु मुलुकको अर्थतन्त्रको दिगो विकासका लागि उचित नभएको उनको भनाइ थियो।

बजेटका प्राविधिक तथा राजनीतिक कमजोरीहरू औँल्याउँदै उनले संसद्मा भने, ‘बजेटका प्रशस्त कमजोरीहरू छन्। जस्तै विकास खर्च धेरै कम छ। ऋणको भार बढ्दै गएको देखिन्छ। नेपालको विगतका वर्षहरूमा पुँजीगत खर्चहरू गर्न नसक्ने अवस्था देखिएकाले कार्यान्वयनमा नै मुख्य चुनौती देखिन्छ। तलब वृद्धिमा विभेद गरिएको छ। राजनीतिक दृष्टिकोणले हेर्दा यो बजेटले राजस्व संकलनलाई मुख्य स्रोतको रूपमा देखाएको छ।’

सांसद रोकायले देशको मुख्य समस्याका रूपमा रहेको बेरोजगारी समाधान गर्न र युवाहरूका लागि नयाँ रोजगारीको अवसर सिर्जना गर्न बजेटले कुनै पनि ठोस कदम चाल्न नसकेको भन्दै दुःख व्यक्त गरे।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप