मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

माइतीघरमा छताछुल्ल न्यायका याचना : फरक कथा, एउटै व्यथा

मङ्गलबार, ०२ असार २०८३, १७ : २५
मङ्गलबार, ०२ असार २०८३

सारांश

  • माइतीघर मण्डलामा विभिन्न घटनाका पीडितहरू उपचार खर्च, क्षतिपूर्ति, बलात्कारपछिको जिम्मेवारी र हत्या मुद्दामा न्याय माग्दै धर्नामा बसेका छन्।
  • देविका खनालले वडाध्यक्षले गराएको दुर्घटनाको उपचार खर्च र क्षतिपूर्ति माग गरेकी छन् भने शर्मिला शाहीले बलात्कारपछिको सन्तानको जिम्मेवारीको माग गरेकी छन्।
  • दलित अधिकारकर्मी प्रकाश टमाटाले अन्तरजातीय विवाहका कारण अजित मिजारको हत्यामा न्याय मागिरहेका छन् भने कृष्णमाया उप्रेतीले १३ वर्ष पुरानो बलात्कार मुद्दामा न्यायको माग गर्दै धर्ना दिएकी छन्।

काठमाडौँ । काठमाडौंको माइतीघर मण्डला सरकारलाई खबरदारी गर्ने र न्याय माग्ने थलोको रुपमा परिचित छ। यतिबेला यही थलोमा विभिन्न घटनाका पीडित न्यायको माग गर्दै धर्नामा बसेका छन्।

धर्नामा बसेका सबैका आ–आफ्नै पीडा छन्। कसैले दुर्घटनापछि उपचार खर्च नपाएर छटपटिनु परेको छ भने कोही बलात्कृत भएर अपमानजनक जीवन बिताउन बाध्य छन्। हत्या र वर्षौं पुराना मुद्दामा न्याय खोज्दै पीडितहरू सडकमा पीडकको तस्बिरसहित ब्यानर टाँगेर धर्नामा उत्रिएका छन्।

सुनसरीको इनरुवा नगरपालिका–६ की देविका खनाल २१ दिनदेखि माइतीघरमा धर्नामा छिन्। २०८१ सालमा वडाध्यक्ष सुमन थापाले दुर्घटना गराएपछि उपचारको जिम्मेवारी नलिएको उनको आरोप छ। दुर्घटनापछि स्थानीयवासीले अस्पताल पुर्‍याए पनि आफूले आवश्यक सहयोग नपाएको उनको गुनासो छ।

दुर्घटनाका कारण अपांगता भएको उल्लेख गर्दै उनले उपचार खर्च, क्षतिपूर्ति र दोषीमाथि कानुनी कारबाहीको माग गरेकी छन्। स्थानीय तहदेखि विभिन्न निकायमा न्यायको खोजी गर्दा सुनुवाइ नभएपछि संघीय सरकारको ढोका घचघच्याउन माइतीघर आउन बाध्य भएको उनले बताइन्।

प्रमुख जिल्ला अधिकारीले समेत वडाध्यक्ष थापासँग मिलेर पाँच लाख रुपैयाँमा कुरा मिलाउन दबाब दिएको उनको भनाइ छ। दुर्घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न र पीडितलाई क्षतिपूर्ति दिलाउन उनले माग गरिन्। देविकाले भनिन्, ‘न्यायको माग गरी माइतीघरमा धर्ना बसेको २१ दिन भइसक्यो। तर पनि सरकारले अपराधीलाई कारबाही गरेको छैन। किन कारबाही भएको छैन ? भर्खरै गृहमन्त्री आउनुभएको छ, अब उहाँको आश छ। उहाँकै आशमा म सडकमा बसिरहेको छु।’

त्यसैगरी तीन महिनाको शिशु काखमा बोकेर शर्मिला शाही सात दिनदेखि माइतीघरमा धर्ना दिइरहेकी छन्। आफूलाई शरीर बन्धक बनाएर जबरजस्ती करणी गरिएको आरोप लगाउँदै उनले बलात्कारबाट जन्मिएको सन्तानको पालनपोषणको जिम्मेवारी पीडक पक्षले लिनुपर्ने माग राखेकी छन्।

आरोपित नेपाल प्रहरीका कर्मचारी हुन्। उनी हाल जबरजस्ती करणी र शरीर बन्धक सम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा छन्। बच्चाको जन्मदर्ता र भविष्यको जिम्मेवारीसमेत पीडक परिवारले वहन गर्नुपर्ने शाहीको माग छ। उनले भनिन्, ‘धेरैले भन्छन् काम गर्न जा। सानो बच्चा छाडेर म कहाँ काम गर्न जानू। तीन महिनाको सुत्केरी मान्छे को काम गर्न जान्छ ?’

अर्कोतर्फ दलित अधिकारकर्मी प्रकाश टमाटा अन्तरजातीय विवाहका कारण ज्यान गुमाएका अजित मिजारको न्यायका लागि धर्नामा सहभागी भएका छन्। उनका अनुसार काभ्रेका मिजारलाई अन्तरजातीय विवाह गरेकै कारण धादिङमा लगेर हत्या गरिएको थियो।

घटनामा प्रहरी प्रशासनको समेत लापरबाही रहेको आरोप लगाउँदै उनले दशक बितिसक्दा पनि पीडित परिवारले न्याय नपाएको बताए। अजितले न्याय नपाउन्जेलसम्म निरन्तर धर्नामा बस्ने उनको अडान छ।

टमाटाले भने, ‘हत्या गरेर गाडिएको लास १० वर्षदेखि टिचिङ अस्पतालमा छ। अन्तरजातीय बिहे भएकै कारण अजित मिजारलाई मार्ने, अहिलेसम्म अदालतले न्याय पनि नदिने, प्रहरी प्रशासनले मतलब नगर्ने गरेका छन्। कहिलेसम्म दलितहरू अन्तरजातीय विवाहको कारण मारिनुपर्ने हो ? न्याय पाउन कति समय कुर्नुपर्ने हो ?’

माइतीघरमा कृष्णमाया उप्रेती पनि १३ वर्षअगाडिको बलात्कार मुद्दामा न्यायको माग गर्दै धर्नामा बसेकी छन्। सर्वोच्च अदालतले समेत आफूलाई उचित न्याय नदिएको उनको गुनासो छ। नेत्रप्रसाद तिमिल्सिनाले २०७० सालमा आफूमाथि बलात्कार गरेको उनले बताइन्।

आफूले न्याय नपाएसम्म माइतीघरमै धर्ना दिने उनको भनाइ छ। न्याय नपाए आफूले आत्महत्या गर्ने र त्यसको जिम्मेवार अदालत र सरकार हुनुपर्ने उनले चेतावनी दिइन्। आफ्नो गोपनीयताको हकलाई समेत त्यागेर न्यायका लागि सडकमा आउनुपर्ने स्थितिले नेपालमा न्यायको अवस्था कस्तो छ भन्ने प्रस्ट पार्ने उनको तर्क छ।

उनले भनिन्, ‘जो अहिले नयाँ प्रधानन्यायाधीश हुनुहुन्छ, उहाँले नै २०८१ साल साउन २१ गते गरेको फैसला हो। फैसला गर्दाखेरि प्रतिवादीको गुमराहमा परेर गर्नुभयो। मलाई नै उल्टो दोषी देखाउनुभएको छ।’ आफू हरेक स्थानमा अपमानित हुनुपरेको उल्लेख गर्दै उनले यस्तो स्थितिको अन्त्य हुनुपर्ने माग गरिन्।

माइतीघरमा धर्ना दिनेहरूको कथा र पीडा फरक–फरक भए पनि उनीहरूको एउटै माग निष्पक्ष न्याय हो। सडकमा उठेको यो आवाज प्रतिनिधि सभामा समेत प्रवेश पाएको छ। मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले विभिन्न माग राखेर धर्नामा बसेका पीडितहरूको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप